Home नेपाल तथा विश्व समाचार मन्दिर छिर्‍यो विवाद

मन्दिर छिर्‍यो विवाद

E-mail Print PDF
AddThis Social Bookmark Button

केपी ढुंगाना/नयाँ पत्रिका
काठमाडौं, १७ पुस (2009-01-02,Friday)

सर्वोच्च अदालतले 'नवनियुक्त दुईजना पुजारीलाई पूजा गर्न नदिन' अन्तरिम आदेश जारी गरेकै दिन बिहीबारै विरोध प्रदर्शनका बीच ढोकाको ताल्चा काटेर नवनियुक्त पुजारीलाई पशुपति मन्दिरमा प्रवेश गराइएको छ । सशस्त्र प्रहरी र नेपाल प्रहरीको सुरक्षाघेरामा मन्दिरको पश्चिमढोकामा लगाउने गरिएको ताल्चा काटेर पशुपति क्षेत्र विकास कोषका पदाधिकारीहरूले मूलपुजारीमा नियुक्त गरिएका डा. विष्णुप्रसाद दाहाल र शालिकराम ढकाललाई प्रवेश गराएका हुन् । पुजारीहरूलाई मन्दिर प्रवेश गराउन पहरागण, सशस्त्र प्रहरी र नेपाल प्रहरीले आधा घन्टा पशुपति मन्दिरका सबै ढोका बन्द गराएर परिसरबाट सबै भक्तजनलाई बाहिर निकालेका थिए ।

मन्दिरको नित्य पूजामा रहेका भारतीय मूलभट्ट महाबलेश्वर र सहायक भट्टहरू पिरामचन्द्र र कृष्ण भट्टले दिएको राजीनामा स्वीकृत गरी उनीहरूको स्थानमा दुईजना नेपालीलाई नियुक्त गरेपछि पशुपतिमा विवाद बढ्दै गएको थियो ।

मन्दिरका सहयोगी राजभण्डारी र स्थानीयहरूले पुजारी नियुक्ति अपारदर्शी र राजनीतिबाट प्रेरित रहेको भन्दै विरोध जनाएपछि विवाद बढ्दै गएको हो । कोष पदाधिकारीहरूले बिहान ११ बजेअगाडि नै नवनियुक्त पुजारीलाई मन्दिर प्रवेश गराउने तयारी गरेका थिए । तयारीअनुसार नै गुप्तवासमा रहेका दुईजना पुजारीलाई परम्पराअनुसार ११ शिवालयको दर्शन गराई दक्षिणगेटबाट मन्दिरमा प्रवेश गराउन कोष पदाधिकारी बिहानैबाट क्रियाशील थिए ।

तर, कोषको निर्णयलाई कानुनी चुनौती दिन अदालत पुगेका राजभण्डारीहरूले भने बिहानैबाट सांकेतिक रूपमा विरोध गर्दै बिहान चार बजे खोल्नुपर्ने ढोका डेढ घन्टा ढिलो खोलेका थिए । मन्दिरको नित्य पूजाका लागि मूलभट्टलगायतका अन्य सहयोगी भट्ट मन्दिरमा नआएपछि बिहान ९ बजेबाट मध्याह्न २ बजेसम्म चल्ने पूजासमेत हुन सकेन ।

मन्दिरका मूलभट्टले रुद्राक्षको शिरमाला दिएर नयाँ पुजारीलाई दक्षिणढोकाबाट मन्दिर प्रवेश गराउने परम्परा थियो । तर, मूलभट्ट महाबलेश्वर मन्दिर आएनन् । यहीबीचमा पालोवाला भण्डारी दुर्गालाल राजभण्डारी आफ्नो जिम्मेवारीअनुसार मन्दिरका ढोकाहरूमा ताल्चा मारेर हिँडे । केही राजभण्डारी अदालतको फैसला सुन्नका लागि सर्वोच्च अदालत गएका थिए भने केही कोषको कामको विरोध गर्दै मन्दिरको मूलगेटमा धर्नामा बसेका थिए । धर्नामा स्थानीय बुद्धिजीवी र नागरिकहरूसमेत सहभागी थिए ।

माओवादी निकट विभिन्न भ्रातृ संगठनका कार्यकर्ताले मन्दिर परिसर घेरेर धर्नामा बसेका केही व्यक्तिलाई कुटपिटसमेत गरेको आरोप लगाइएको छ । कुटपिटबाट भरत जंगम र गोपाल सुवेदी घाइते भएका छन् । मुख्य मन्दिरमा ताल्चा काटेर पुजारी प्रवेश गरे पनि पुजारीका सहयोगी राजभण्डारी भने मन्दिरमा गएनन् । परम्परागत रूपमा मन्दिरको सबै जिम्मा राजभण्डारीको हुन्छ । सहयोगीहरूको अनुपस्थितिका कारण बिहीबार बेलुकाको नित्य पूजा हुन सकेन । राजभण्डारीको अनुपस्थितिमा कोष अधिकारीले मन्दिरको ढोका आफैं बन्द गराएर साँचो विसेट नाइकेलाई दिएका छन् ।

पशुपति परिसरको सुरक्षामा सशस्त्र प्रहरी, नेपाल प्रहरी र पहरागणका प्रहरी खटाइएको छ । यसअगाडि मन्दिरभित्रको सबै सुरक्षामा प्रहरी निरीक्षकको कमान्डमा पहरागणका प्रहरी खटिने गरेका थिए । कोषको विशेष आग्रहमा सशस्त्र प्रहरीका डिएसपीको कमान्डमै एक युनिट मन्दिरको सुरक्षामा खटिएको छ भने महानगरीय प्रहरी प्रभाग गौशालाले समेत मन्दिरको सुरक्षामा खटिने प्रहरीको संख्या बढाएको छ ।

कोष पदाधिकारीले ताल्चा काटेर नवनियुक्त पुजारीलाई मन्दिर प्रवेश गराए पनि विवाद साम्य हुने संकेत देखिएको छैन । कोष पदाधिकारीको विरोधमा राजभण्डारीहरू मन्दिरमा नजाने निर्णयमा पुगेका छन् भने नागरिक समाज आन्दोलनमा उत्रिने तयारीमा छ ।

कोष सञ्चालक परिषद्का पूर्वसदस्य नरोत्तम वैद्यले अदालतको फैसलाको बारेमा जानकारी दिँदादिँदै सुरक्षाकर्मीको सहयोगमा कोष अधिकारीले मन्दिरको ताल्चा काटेर गम्भीर त्रुटि गरेको दाबी गरे । उनले भने, 'आपसी सहमतिमा समस्याको समाधान गर्न सकिने थियो तर यो तरिका भएन, दादागिरी भयो ।' उनले नेपाली पुजारी नियुक्ति भएकोमा आपत्ति नभएको तर प्रक्रिया गलत भएको भन्दै आक्रोश पोखे, 'हामी प्रचण्डका चेलाहरूलाई पुजारीको रूपमा स्वीकार गर्न सक्दैनौँ ।'

यता, कोषका सदस्यसचिव परमानन्द शाक्यले अदालतको लिखित फैसला आफूहरूसँग आइनपुगेकाले परम्परागत रूपमा पुजारीलाई मन्दिर प्रवेश गराएको दाबी गरे । उनले भने, 'अदालतको आदेश लिखित रूपमा आएपछि जे गर्नुपर्ने हो गर्छौँ ।' उनले भट्टहरूलाई भड्काएर राजभण्डारीहरूले वातावरण बिगारेको आरोप लगाए । शाक्यको कथन थियो, 'भण्डारीहरूको व्यवहार हेर्दा अब मन्दिरमा उनीहरूको आवश्यकताबारे कोष पुनर्विचार गर्न बाध्य भएको छ ।' कोषले प्रक्रिया पुर्‍याएर पुजारी नियुक्त गरेको दाबी गर्दै उनले कोष आफ्नो अडानमा कायम रहेको र मन्दिरको पूजा निरन्तर हुने जनाए ।

शिवशरण राजभण्डारीले मन्दिरको मुख्य जिम्मेवारी बोकेका भण्डारीहरूलाई पाखा लगाएर कोषले विधिको शासनको खिल्ली उडाएकाले अब भण्डारीहरूले मन्दिरको हिफाजत गर्न नसक्ने बताए ।

 

Latest News