काठमाडौं। निजी क्षेत्रको नम्बर एक टेलिभिजन च्यानल भन्न रुचाउने कान्तिपुर टेलिभिजनको एउटा विवादास्पद समाचारमूलक कार्यक्रमका कारण दर्जनौं स्थापित पत्रकारहरूले शिर निहुर्याएर हिँड्नुपर्ने भएको छ। कान्तिपुर टेलिभिजनमा राति १० बजे प्रसारण हुने 'कान्तिपुर आज' भन्ने कार्यक्रमले पत्रकारिताको खिल्ली उडाउँदै तस्करीको पक्षपोषण गर्ने र अवैध धन्दासमेत गर्न थालेपछि कान्तिपुरका पत्रकारहरूले व्यवस्थापनको ध्यानाकर्षण गराएको स्रोतले जनाएको छ।
कान्तिपुर आजले समाचारको सामान्य सिद्धान्त र पत्रकारिताको आचारसंहिताको समेत खिल्ली उडाउँदै समाचारका नाममा मनपरी गर्न थालेपछि कान्तिपुरकै साख गिर्न थालेको छ, तर पनि 'कान्तिपुर आज'को टिम भने महाप्रबन्धक गणेश अग्रवालले छाडेका असनको साँढेजस्तै भएको चर्चा कान्तिपुर परिसरमा चलेको छ। त्यसो त, 'कान्तिपुर आज'को टिममा गणेश अग्रवाल स्वयं छन्। उनी आफूलाई बेतलबी भन्छन्। कतै आजलाई भजाएर महाप्रबन्धकले समेत बजारबाट असुल्न छुट दिएका त होइनन् भन्ने प्रश्नसमेत कान्तिपुरकर्मीहरूले नै गर्न थालेका छन्। सो टिमलाई मार्गनिर्देशन गर्नेमा भूषण दाहाल र सुरेश पौडेल छन्। 'कान्तिपुर आज'को क्यामेरा जनसम्पर्क हुने सरकारी कार्यालय तथा आर्थिक कारोबार हुने क्षेत्रतिरमात्र सोझिन थालेको र दर्शक तथा विभिन्न निकायबाट 'कति पैसा दिए हाम्रो पनि प्रसारण हुन्छ?' भन्दै कान्तिपुर टीभीको कार्यालयमा फोन गर्न थालेपछि अब त अति भयो भनेर पत्रकारहरूले हालै महाप्रबन्धक अग्रवाललाई घेराउ गरेको बताइएको छ। कान्तिपुर टीभीका समाचार प्रमुख तीर्थ कोइराला, समाचार संयोजक जगत नेपालसहित सुरेन्द्र पाण्डे, भुवन केसी, दीपेन्द्र वान्तवा, केदार कोइराला, योपेश प्रधान, विश्नाथ आचार्यलगायतका पत्रकारहरूले महाप्रबन्धकलाई घेरेपछि उनले 'ठीक छ, म हेरेर छानबिन गर्छु' भन्ने जवाफ दिएका थिए। त्यसो त, कान्तिपुर आजको टिम तातोपानी भन्सार र थानकोटमा अवैध सामान छुटाउनसमेत सामेल भएको चर्चाले कान्तिपुरमा राम्रो बजार पाएको छ। तातोपानीमा ट्रकका अवैध सामान छुटाउन कान्तिपुर आजको टिम तातोपानी पुगेको भन्दै समाचार संयोजक जगत नेपालले महाप्रबन्धकको ध्यानार्षण गराएको र उनलाई केदार कोइरालाले समेत साथ दिएको चर्चा कान्तिपुर टीभीमा छ।
महाप्रबन्धक अग्रवालसँगको भेटमा समाचार प्रमुख तीर्थ कोइरालाले कान्तिपुर आजले समाचारको हुर्मत लिने काम गरेको, पत्रकारिताकै बद्नामी गरेको भन्दै सिंगो टेलिभिजन र समाचार शाखाको बद्नाम नहोस् भनेर चेतावनी दिएको कान्तिपुर स्रोतले जनाएको छ। पछिल्लो समयमा कान्तिपुर आजले समाचारका नाममा मानिसहरूलाई ब्ल्याकमेलिङ गर्न थालेपछि समाचार शाखामा काम गर्ने पत्रकार र क्यामेरामेनहरूले ठाउँ–ठाउँमै लज्जित हुनुपरेको गुनासो गरेका छन्। समाचारको सामान्य सिद्धान्त नबुझेका र पत्रकार आचारसंहितासमेत थाहा नपाएका व्यक्तिहरूलाई कान्तिपुर आजमा भक्कुको राँगो बनाएर छाडिएको टिप्पणी टेलिभिजनका कर्मचारीहरूले गरेका छन्। सो कार्यक्रममा काम गर्नेहरू विगतमा पत्रकारिता नगरेका र प्रकाश सुवेदीको रजतपट कार्यक्रममा फिल्मी समाचार बनाउनेहरू छन्। तर ती सबै गैरपत्रकारहरूले हाल सूचना विभागबाट पत्रकार परिचयपत्र लिएका छन्। यता, कान्तिपुर आजका एक 'पत्रकार'ले हालै तातोपानी पुगेर अवैध सामान बोकेको ट्रक छुटाउनेदेखि करोडौंको अवैध चामल तस्करी गर्नेको पक्षमा लबिङ गर्नसमेत भ्याएको चर्चाले कान्तिपुर टेलिभिजनमा खैलाबैला मच्चाएको छ। कान्तिपुर आजका संवाददाता दिवाकर ज्ञवालीले तस्करीको सामान छुटाउन भन्सार, आन्तरिक राजस्व विभाग र राजस्व अनुसन्धान विभागका अधिकारीहरूलाई समेत ब्ल्याकमेलिङ गरेपछि उनको बारेमा टेलिभिजनमा महाप्रबन्धक गणेश अग्रवालसम्म उजुरी पुगेको स्रोतले जनाएको छ। स्रोतका अनुसार गत मंसिर १७ गते सर्लाही र गौरबाट मूल्य फरक गरेर ल्याइएका दुई ट्रक चामल राजस्व अनुसन्धान विभागले थानकोटमा समातेको थियो। वासमती चामलको मूल्य ११ रुपैयाँ, १२ रुपैयाँ प्रतिकेजी भनेर बिलबीजक बनाइएको भेटिएपछि कारबाहीका लागि समातिएका ती ट्रक छुटाउन चामल तस्करको पक्ष लिएर कान्तिपुर आजका रिपोर्टर दिवाकर ज्ञवाली सम्बद्ध कार्यालयहरूमा गएपछि यसको खुलासा भएको हो। विभिन्न कार्यालय प्रमुखहरूले 'तपाईंका पत्रकार तस्करीका सामान छुटाउनका लागि हामीसँग ब्ल्याकमेलिङ गरिरहेका छन्, यो पत्रकार आचारसंहितामा पर्छ कि पर्दैन?' भनेर अग्रवाललाई प्रश्न गरेको स्रोतले जनाएको छ। पछिल्लो समयमा कान्तिपुर आजको टिम राम्रो आर्थिक कारोबार हुने कार्यालय प्रमुखहरूलाई ब्ल्याकमेलिङ गर्ने कार्यमा संलग्न भएको गुनासो सबैतिरबाट गइरहेको छ।