काठमाडौं, पुस २१ - सत्तारुढ दल एमालेले नेपाली सेनाको भर्ना प्रक्रियामा रोक लगाउने प्रधानमन्त्री र विभागीय मन्त्रीको कार्यप्रति असहमति जनाउँदै नियमित भर्ना प्रक्रियामा विवाद नगर्न आग्रह गरेको छ । सो पार्टीको मंगलबार बसेको केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री र विभागीय मन्त्रीले नेपाली सेना विवादमा पर्ने किसिमका सार्वजनिक अभिव्यक्ति दिएको र नियमित भर्ना प्रक्रियामा रोक लगाएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
एमालेले सेना र सरकारबीच द्वन्द्व हुँदा देशको संवेदनशील सुरक्षा अंग विवादमा पर्ने तथा त्यसको मनोवलमा नकारात्मक असरपर्ने किसिमका अभिव्यक्ति र कार्यले शान्ति प्रक्रियामा प्रतिकुल असर पर्ने ठहर गरेको छ ।उसले नेपाली सेनाको नियमित भर्ना प्रक्रियामा विवाद सिर्जना हुने कुनै कामकारवाही नगर्न सरकारको ध्यानाकर्षण गराएको छ । साथै एमाले बैठकले त्रिवि पीडितका नाममा संचालित अराजक गतिविधिले त्रिवि अनिश्चितकालका लागि बन्दभएकोमा चिन्ता जनाएको छ । बैठकमा घटनामा संलग्न अराजक तत्वलाई नियन्त्रण गर्न पीडितका नाममा प्रस्तुत गरिएका मागका सम्बन्धमा नेपाल सरकारको तर्फबाट आफ्नो दृष्ट्रिकोण स्पष्ट गर्न,विश्वविद्यालयको शान्ति सुरक्षाको भरपर्दो प्रत्याभुतिगरी बन्द विश्वविद्यालयको संचालन गर्न सरकारसँग माग गरको छ ।