Home नेपाल तथा विश्व समाचार पुजारी नियूक्तिको भ्रम चिर्न जागरण अभियानः स्वेतपत्र जारी

पुजारी नियूक्तिको भ्रम चिर्न जागरण अभियानः स्वेतपत्र जारी

E-mail Print PDF
AddThis Social Bookmark Button

काठमाडौँ, पुस २१ गते । संस्कृति तथा राज्य पुनर्संरचनामन्त्री गोपाल किराँतीले पशुपतिनाथको पुजारी राख्दा प्रचलित विधिविधान यथाशक्य पालना गरिएको बताउनुभएको छ । पशुपति क्षेत्र विकास कोषका अध्यक्षसमेत रहनुभएका मन्त्री किराँतीले केही बाँकी भए विचार गर्न सकिने बताउनुभयो । मन्दिरमा मूल पुजारीको काम गर्दै आउनुभएका भारतीय पुजारीले चार महिनाअगाडि स्वास्थ्यको कारण देखाई राजीनामा दिनुभएपछि कोषले नियुक्त गरेको नेपाली पुजारीको विषयलाई लिएर विगत केही दिनदेखि मन्दिरका भण्डारीहरूले असन्तुष्टि व्यक्त गर्दै आएका छन् ।

विवादले राजनीतिक रूप लिने सम्भावना बढेपछि सोमबार 'यसबारेका भ्रम' हटाउन कोषले आयोजना गरेको 'जागरण अभियान-१' को र्‍यालीलाई सम्बोधन गर्दै उहाँले भारतीय भट्टहरूलाई आफूले नहटाएको बताउनुभयो । "हामीले (भट्टहरूलाई) हटाएका होइनौँ । राजीनामा स्वीकृत गरेका मात्र हौँ" मन्त्री किराँतीले भन्नुभयो, "अझै पनि मन्दिरमा एकजना भारतीय पुजारी हुनुहुन्छ । हटाएको भए उहाँलाई पनि त हटाइनुपथ्र्यो ? "मिडियामा नित्य पूजा रोकिएको भनी आएको समाचार सत्य नभएको उहाँले बताउनुभयो । कोषका सदस्यले मन्दिरमा नियमित रूपमा नित्य पूजा भइरहेको जानकारी दिएको बताउँदै उहाँले त्यही काम नरोकियोस् भनेर मन्दिरमा लगाइएको ताला काट्न लगाइएको बताउनुभयो पुजारी राख्दा मन्दिरका भण्डारीसँग पनि छलफल गरिएको जानकारी दिँदै उहाँले घटनालाई मोडेर "शान्ति खलबल्याउने चेष्टा भएको" बताउनुभयो । यसबारे सबै स्पष्ट हुनुपर्ने बताउँदै किराँतीले आवश्यक परे माघ ७ गते पशुपतिबाट काठमाडाँैको चक्रपथवरिपरि र २७ गते महाकालीबाट मेचीसम्म जागरण अभियान चलाउने बताउनुभयो ।

घटनाबारे स्पष्ट पार्न पशुपति क्षेत्र विकास कोष सञ्चालक परिषद्ले सोमबार श्वेतपत्र जारी गरेको छ । पुजारीहरूले दिएको राजिनामापत्रको बेहोरासमेत उल्लेख गरिएको श्वेतपत्रमा "नवनियुक्त पुजारीलाई मन्दिर प्रवेश गराउने र दीक्षा दिने सम्बन्धमा पूर्व पुजारी र कोषका पदाधिकारीहरूबीच छलफल एवं सहमति भएको" उल्लेख गरिएको छ । श्वेतपत्रमा उल्लेख भएअनुसार उत्तर मुहारका पुजारी श्रीकृष्ण योग भट्टले गत भदौ ६ गते कोषसमक्ष दिएको राजिनामा पत्रमा "मेरो स्वास्थ्य पटकपटक बिग्रेर श्रीभगवान्को पूजा निरन्तर रूपले गर्न बाधा परिरहेको छ । त्यसैले म आत्माले श्रीपशुपतिनाथको नित्य पूजा राम्ररी गर्न नसकिरहेकाले पदबाट निवृत्त हुन चाहन्छु" भनिएको छ । त्यस्तै मूल पुजारी श्रीमहाबलेश्वर भट्टले कात्तिक ९ गते दिएको राजिनामापत्रमा "मेरो शारीरिक अस्वस्थताका कारण श्रीको सेवामा संलग्न हुन नसक्ने भएकाले श्रीपशुपतिनाथको मूल पुजारीबाट राजिनामा पेस गरेको छु" उल्लेख गरिएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुरु भएको करिब सात सयजनाको र्‍यालीबीच श्वेतपत्र वाचन गर्दै मन्त्री किराँतीले पशुपति मन्दिरमा भक्तजनहरूबाट अर्पण गरिँदा आएको भेटीघाटीलाई पारदर्शी बताउन विभिन्न प्रतिनिधि एवं दर्शनार्थीको रोहबरमा दैनिक गणना गरी आम्दानी बाँध्ने कार्य प्रारम्भ गरिएको बताउनुभयो । लामो समयदेखि मन्दिरमा सङ्कलन हुने 'भेटिघाटी' अपचलन हुँदै आएको जनगुनासो रहेको छ । सोमबार पशुपतिनाथ र वासुकी मन्दिरमा ३९ हजार ३४४ रुपियाँ नगद भेटी चढेको छ । सर्वोच्च अदालतले पुरानै पुजारीबाट मन्दिरको पूजा सञ्चालन गराउन आदेश दिएको छ । तर मन्त्री किराँतीले आफ्नो निर्णय नबदलिने बताउँदै आउनुभएको छ ।

कोषले जारी गरेको श्वेतपत्र सर्वोच्चमा पनि पेस गरिएको कोषका सदस्य नयन सुब्बाले जानकारी दिनुभएको छ यसैबीच धार्मिक क्षेत्रमा राजनीतिक हस्तक्षेप भएको भन्दै केही युवाले पशुपतिको जयबागेश्वरीमा सोमबार टायर बालेर प्रदर्शन गरेका छन् । प्रदर्शनकारीले ग.१च ४४१८ को महिन्द्रा जिप तोडफोड गरेका छन् । शोरुमबाट निकालेर घर लाने क्रममा प्रदर्शनकारीले हानेको तीनवटा इँटाले गाडीको अगाडिपट्टीको सिसा पूर्ण रूपमा क्षति भएको ड्राइभर मिलन केसीले बताउनुभयो । प्रदर्शन भइरहेको देखेपछि गाडी फर्काउन खोज्दाखोज्दै ढुङ्गा प्रहार भएको उहाँले बताउनुभयो ।

 

Latest News