HongKongNepali.com, The Next Media

Tuesday
Nov 21st
Home नेपाल तथा विश्व समाचार नवनिर्वाचित जनप्रतिनिधिलाई कलम र डायरी बोक्न क्षेत्रीय प्रशासक शर्माको आग्रह

नवनिर्वाचित जनप्रतिनिधिलाई कलम र डायरी बोक्न क्षेत्रीय प्रशासक शर्माको आग्रह

E-mail Print PDF
AddThis Social Bookmark Button

रूद्र श्रीसमगर

पोखरा, २ असार

भर्खरै मात्र सरुवा भइ आएका पश्चिमाञ्चलका क्षेत्रीय प्रशासक बेगेन्द्रराज शर्माले नवनिर्वाचित जनप्रतिनिधिहरूलाई कलम र डायरी बोक्न आग्रह गर्नुभएको छ । 

बागलुङ जिल्लाका नवनिर्वाचित जनप्रतिनिधिहरूको सम्मानमा बागलुङ समाज पोखराले शुक्रबार आयोजना गरेको कार्यक्रममा बोल्दै क्षेत्रीय प्रशासक शर्माले जनप्रतिनिधिहरूलाई अध्ययनशील बन्न समेत आग्रह गर्नुभयो । ‘खै मैले त तपाईहरूको हातमा कलम र डायरी त देखिनँ’, क्षेत्रीय प्रशासक शर्माले भन्नुभयो, ‘जनप्रतिनिधिहरूको हातमा कलम र डायरी हुनु अनिवार्य छ, कसैले केही सुझाव दिए भने रेडर्क राख्नु जरुरी हुन्छ ।’

आफूले भनेका कुरालाई निर्देशन नठान्न आग्रह गर्दै उहाँले भन्नुभयो, ‘यो मेरो यहाँहरूलाई कुनै निर्देशन होइन, मात्र आग्रह हो, सुझावका रूपमा लिइदिनुहोला, अध्ययनशील बन्दिनुस्, कलम र डायरी हातमा लिइदिनुस् ।’ अहिलेको अवस्थामा आत्तिनु र मात्तिनु दुवै गलत हुने भन्दै शर्माले जनप्रतिनिधिहरूले परिपक्वता देखाउने बेला आएको बताउनुभयो ।

‘अब यहाँहरू केन्द्र सरकारको आश गर्ने होइन, आफैं सम्भावनाको खोजी गर्ने हो’, शर्माले भन्नुभयो, ‘बागलुङबासीले परिपक्व नेतृत्व चाहेका छन्, म आफैं पनि बागलुङे भएका नाताले पनि यो भन्दैछु ।’ विकास, निर्माणलगायतका स्थानीय सरोकारका कार्य गर्न स्थानीय तह स्वतन्त्र भएको उल्लेख गर्दै बागलुङको कुश्मीसेरा घर भएका क्षेत्रीय प्रशासक शर्माले अहिले तत्काल सबै कुरा सम्भव नभएको स्पष्ट पार्नुभयो ।

कार्यक्रममा बागलुङ नगरपालिकाका प्रमुख जनक पौडेल, गलकोट नगरपालिकाका प्रमुख भरत शर्मा, ढोरपाटन नगरपालिकाका प्रमुख देवकुमार नेपाली, जैमिनी नगरपालिकाका प्रमुख इन्द्रलाल पौडेल, ताराखोला गाउँपालिकाका अध्यक्ष प्रकाश घर्तीमगर, बरेङ गाउँपालिकाका अध्यक्ष कृष्णप्रसाद पौडेल, निसीखोला गाउँपालिकाका अध्यक्ष तारानाथ पौडेल, तमानखोला गाउँपालिकाका अध्यक्ष जोकलाल बुढामगर, गलकोट नगरपालिकाकी उपप्रमुख रेनुका काउचामगर, बागलुङ समाज पोखराका निवर्तमान अध्यक्ष एवं सांग्रिला डेभलपमेन्ट बैंकका अध्यक्ष प्रा.डा. रविन्द्रप्रसाद श्रेष्ठ, बागलुङ समाज पोखराका पूर्व अध्यक्ष प्रा. अमृतलाल श्रेष्ठ, बागलुङ समाज पोखरा बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष शान्ता गिरीलगायतले बोल्नुभएको थियो ।

बागलुङ समाज पोखराका अध्यक्ष जयबहादुर क्षत्रीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव विक्रम थापामगर र उपाध्यक्ष कुलचन्द्र शर्माले स्वागत गर्नुभएको थियो ।

 

 

Add your comment

Your name:
Subject:
Comment:

Latest News