Home नेपाल तथा विश्व समाचार नेपाली भूमिमा भारतीय सैनिक क्याम्प

नेपाली भूमिमा भारतीय सैनिक क्याम्प

E-mail Print PDF
AddThis Social Bookmark Button

इलामको सीमावर्ती क्षेत्रमा भारतले नेपाली भूभाग मिचेर सीमा सुरक्षा बल (एसएसबी) को क्याम्प राखेको छ । दसजगा क्षेत्रको अन्तर्राष्ट्रिय सीमा नियमलाई समेत उल्लंघन गरी एसएसबीले केही दिनदेखि धमाधम क्याम्प बनाउन थालेको हो ।

अन्तु गाविस वडा नं. ८ मा पर्ने छब्बिसे क्षेत्रको करिब २० रोपनीभन्दा बढी नेपाली भूभाग भारतीय पक्षले मिचेको छ । पशुपतिनगर गाविसमा पर्ने पुलखोलामा पनि नेपाली भूभाग मिचेर क्याम्प खडा गरिएको छ । हाल अस्थायी क्याम्प रहेको सो स्थानमा स्थायी क्याम्प राख्ने तयारीसमेत भइरहेको छ ।

भारतीय वन कार्यालयले स्थायी क्याम्प निर्माणका लागि नेपालतर्फको भूभाग नापेर एसएसबी मुख्यालयलाई प्रतिवेदन दिएपछि एसएसबीले धमाधम क्याम्प स्थापना थालेको हो । एसएसबीले स्थायी क्याम्प निर्माणका लागि तार-बेरा गर्न खम्बाखुट्टीसमेत गाडिसकेको छ । ७२/५ नम्बर सीमास्तम्भनजिकै बेस क्याम्प निर्माणका लागि नेपाली भूभागमा बार-बेरा गर्न लागिएको हो ।

नेपाली भूभागमा अस्थायी क्याम्प निर्माण गरी बस्न सुरु गरिसकेका २९औं खोपरेल बटालियन '' कम्पनी ओकाइटी एसएसबी पोस्टका इन्चार्ज जेएस सेरावतले समेत सो भूभाग नेपाली भूमिमा पर्ने स्विकारेका छन् । आफूहरूले नेपाली भूभाग भएको बताउँदा-बताउँदै भारतीय वन कार्यालयले स्थायी क्याम्प निर्माण गर्न एसएसबी मुख्यालयलाई सिफारिस गरेको उनको भनाइ छ ।

'
हामीले दसगजा क्षेत्र (नो मेन्स लेन्ड) र नेपालतर्फको भूभाग भएको बताएका थियौं,' उनले भने, 'तर, सुकिया रेन्जपोस्टले भारतीय भूभाग भएको जिकिर गर्दै नेपाली भूभाग प्रयोग गर्न सिफारिस गरे ।' उक्त नेपाली क्षेत्रको क्याम्पमा अहिले ३० जना एसएसबीका सुरक्षाकर्मीलाई तैनाथ गरिएको छ ।

नेपालमा संविधानसभाको चुनावका वेला अस्थायी क्याम्प बनाएर राखिएको एसएसबी क्याम्पलाई स्थायी रूपमा निर्माण गर्न लागिएको खबर पाएपछि मंगलबार इलामबाट स्थानीय प्रशासन, प्रहरी र राजनीतिक दलका नेताहरूले सीमा क्षेत्रको अवलोकन गरेका छन् । टोलीमा संलग्न सहायक प्रमुख जिल्ला अधिकारी रेवतीरमण पोख्रेलले एसएसबी क्याम्पका इन्चार्ज जेएस सेखावतलाई निर्माण कार्य तत्काल रोक्न अनुरोध गरेका थिए । 'हामीले अवलोकनपछि ठूलो क्षेत्रफलको नेपाली भूभाग अतिक्रमण भएको पायौं,' पोखरेलले भने, 'जिल्ला प्रशासन कार्यालय इलामले सीमा अतिक्रमण रोकी सीमा क्षेत्रको व्यवस्थापनका लागि गृह मन्त्रालयलाई आजै (मंगलबार) नै पत्रचार गरेको छ ।'

स्थलगत निरीक्षणमा पुगेको स्थानीय प्रशासन, प्रहरी र राजनीतिक दलका नेताहरूले नेपाली भूभाग भारतीय पक्षले निरन्तर अतिक्रमण गर्दै आए पनि सरकार अझै गम्भीर नभएको बताए । हिलेनजिकैको दुई सहायक सीमास्तम्भसमेत हराएको पाइएको सो निरीक्षण टोलीले जनाएको छ । निरीक्षण टोलीमा संलग्न एमालेका उपसचिव नरेन्द्र भट्टराईले सीमा अतिक्रमण रोक्न सरकारले तत्काल पहल गर्नुपर्ने बताए ।
 

Latest News