Home नेपाल तथा विश्व समाचार कांग्रेस केन्द्रीय समितिको बैठकमा अर्ली महाधिवेशनको माग

कांग्रेस केन्द्रीय समितिको बैठकमा अर्ली महाधिवेशनको माग

E-mail Print PDF
AddThis Social Bookmark Button

२४ अप्रिल २०१८, कांग्रेस केन्द्रीय समितिको चुनावी समीक्षा बैठकमा युवा नेताहरूले ‘अर्ली महाधिवेशन’ को माग गर्दै नेतृत्वको आलोचना गरेका छन् ।

९ चैतबाट जारी बैठक अन्तिमतिर आइपुग्दा ६ जना युवा नेताले ‘निर्वाचन समीक्षा र आगामी कार्यदिशा’ नाममा संयुक्त लिखित प्रस्ताव पेस गर्दै नेतृत्व परिवर्तनमा जोड दिए ।युवा समूहकोे नेतृत्व गरिरहेका केन्द्रीय सदस्य गगन थापाले ५१ पृष्ठको लिखित धारणा पेस गरेका हुन् । सो समूहमा चन्द्र भण्डारी, धनराज गुरुङ, प्रदीप पौडेल, गुरुराज घिमिरे र बद्री पाण्डे छन् ।

 

लिखित धारणामार्फत उनीहरूले महाधिवेशनमार्फत अहिलेकै नेतृत्वको निरन्तरता खोज्नु भनेको जनादेश र मतादेशलाई नबुझिएको हुने भन्दै नेतृत्वको विकल्प खोज्नुपर्नेमा जोड दिएका हुन् ।अवसरको प्रयोग गर्न नसक्दा कांग्रेस पराजय भएको भन्दै सो अवधारणामा व्याख्या गरिएको छ । उनीहरूले कांग्रेसको मत घट्नुका काराणसमेत बुँदागत रूपमा प्रस्तुत गरेका छन् ।

‘२०४८ सालयता जसरी विचार र संगठनमा ढोका बन्द भए, त्यसरी नेतृत्वमा रहेका पुराना मान्छेको स्वाभाविक बहिर्गमन र नयाँ मान्छेको आगमन नहुनाले एजेन्डा, विचार र क्षमताको दृष्टिले पार्टी जमेको पोखरीजस्तो भएको छ,’ लिखित धारणामा उल्लेख छ ।

संविधान जारी भएपछिको असन्तुष्टिको सम्बोधन गर्न नसक्नु, भारतीय नाकाबन्दीमा मौन रहनु, संविधान निर्माणपछि सरकार गठनमा देखिएको कमजोरी, सरकारमा रहँदा गरेका क्रियाकलापलगायतका कारण कांग्रेसले निर्वाचनमा पराजय भोगेको बताइएको छ । प्रस्तावमा तत्काल महासमितिको बैठक बोलाउनुपर्ने र त्यसलगत्तै १४औं महाधिवेशनको कार्यतालिका बनाएर अघि बढ्नुपर्नेमा जोड दिइएको छ ।

संसारमा कम्युनिस्टहरू समाप्तिको अवस्थामा पुग्नै लाग्दा कांग्रेसकै नीति र दर्शनको पछाडि हात समाएर संसदीय अभ्यासमा आएका दलहरू कांग्रेसको नेतृत्वको व्यवहारका कारण अघि बढेको र एक जना नेताको व्यवहार र कार्यशैलीका कारण पार्टी नै सिकार बन्नुपरेको भन्दै सभापति देउवाको आलोचना गरिएको छ ।

कांग्रेसले नयाँ मतदातालाई आकर्षित गर्ने किसिमका कार्यक्रम ल्याउन नसकेको, नेतृत्वले युवाहरूको चाहनालाई पार्टी सञ्चालनका क्रममा अटेर गरेको, जनताको भावनाभन्दा फरक तरिकाबाट निर्णय गर्दै अघि बढेका कारण राजनीतिमा विजय भएर पनि निर्वाचनमा पराजय भोग्नुपरेको निष्कर्ष लिखित धारणामार्फत यूवा समूहले दिएका छन् ।

कम्युनिस्टको गठबन्धन के होला भनेर ध्यान दिनुभन्दा पनि अहिलेका मतदाता जोगाएर कम्तीमा १५ लाख भोट पार्टीका पक्षमा थप्नेगरी अहिलेदेखि नै तयारीसहित अघि बढ्न नेतृत्वलाई सुझाएका छन् ।विगतका दिनमा जनताको अपेक्षालाई पूरा गर्नेभन्दा पनि निराश बनाएका कारण निर्वाचन हारिएको युवा नेताहरूले बुझाएको लिखित प्रस्तावमा उल्लेख छ ।