Home नेपाल तथा विश्व समाचार सरकारले नेकपा "विप्लव" समूहको गतिविधि नियन्त्रण गर्न कडा निर्देशन

सरकारले नेकपा "विप्लव" समूहको गतिविधि नियन्त्रण गर्न कडा निर्देशन

E-mail Print PDF
AddThis Social Bookmark Button

१३ अगष्त २०१८, नेपाल कम्युनिस्ट पार्टी "विप्लव" समूहको गतिविधि नियन्त्रण गर्न सरकारले कडा रुपमा प्रस्तुत हुन निर्देशन दिएको छ।

सुरक्षा निकायका प्रमुखहरुको निरन्तर बिफ्रिङपछि सरकारले विप्लव समूहको गतिविधिमा कडा निगरानी राख्न थालेको हो। विप्लव समूहको गतिविधिबारे सुरक्षा निकायका प्रमुखहरूले प्रधानमन्त्री केपी शर्मा ओलीलाई बिफ्रिङ गरेका छन्।

 

प्रधामन्त्री ओलीसहित गृहमन्त्री रामबहादुर थापालाई तीनवटै सुरक्षाका अंगका प्रमुखले विप्लव समूहको गतिविधिप्रति सरकार बेलैमा सचेत रहनुपर्ने राय दिएका छन्। बिफ्रिङपछि प्रधानमन्त्री ओलीले गृहमन्त्री थापा र सुरक्षा निकायका प्रमुखहरुलाई पश्चिम नेपाललगायत भागमा विप्लव समूहको गतिविधिले त्रास उत्पन्न गराएकाले निस्तेज पार्न कडा रुपमा प्रस्तुत हुन निर्देशन दिएका छन्।

काठमाडौं जिल्ला अदालतले चन्दा असुलीको आरोपमा पक्राउ परेका नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ लाई थप ३ दिन थुनामा राख्न अनुमति दिएको छ। विश्वकर्मा चन्दा असुलीको आरोपमा चालक र सहयोगीसहित साउन २२ गते दक्षिणकाली नगरपालिका १ चाल्नाखेलबाट पक्राउ परेका थिए।

उनीमाथि थप अनुसन्धानका लागि महानगरीय प्रहरी परिसर काठमाडौंले १५ दिनको समय माग गरेपनि अदालतले थप ३ दिन थुनामा राख्न अनुमति दिएको हो। ७ करोड रुपैयाँ चन्दा असुलेको आरोपमा उनीमाथि चन्दा असुल ऐन अन्तर्गत अनुसन्धान भइरहको काठमाडौं प्रहरी प्रमुख एसएसपी विश्वराज पोखरेलले जानकारी दिए। उनका अनुसार विश्वकर्मामाथि अनुसन्धानका लागि यसअघि अदालतले ५ दिनको समय दिएको थियो।

यसैबीच विश्वकर्माको रिहाइको माग गर्दै आजै सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरण रिट दायर भएको छ। विश्वकर्माका छोरा नरेन्द्रबहादुर सिंह विश्वकर्माले गैरकानुनी रुपमा थुनामा राखेको भन्दै गृह मन्त्रालय, काठमाडौं जिल्ला अदालत, प्रहरी प्रधान कार्यालय र महानगरीय प्रहरी परिसर काठमाडौंलाई विपक्षी बनाई रिट दायर गरेका हुन्।

 

 

Latest News