Home नेपाल तथा विश्व समाचार गणतन्त्रकालीन पुस्ताले चक्र बास्तोलालाई चिन्नै पाएनन्

गणतन्त्रकालीन पुस्ताले चक्र बास्तोलालाई चिन्नै पाएनन्

E-mail Print PDF
AddThis Social Bookmark Button

१५ अक्टोवर २०१८, गणतन्त्रकालीन पुस्ताले चक्र बास्तोलालाई चिन्न र बुझ्नै पाएनन् ।

किनकी २०६४ को चुनावमा पराजय लगत्तै उनी अचेत भए । त्यसैले नयाँ पुस्ताले उनका राम्रा र नराम्रा गुणको चर्चा गर्न पाएन । पञ्चायत र बहुदलीय व्यवस्था भोगेको सचेत पुस्ताले चाहिँ उनलाई कांग्रेसको एक हक्की र बौद्धिक नेताको रुपमा चिनेको छ ।

 

चक्रप्रसाद बास्तोला पनि ५ वर्षदेखि गुमनाम थिए । तर, मस्तिष्कघातले थला पार्नुअघि भने उनले सक्रिय, क्रान्तिकारी र राजकीय जिम्मेवारीमा रहेर चार दशक लामो राजनीतिक जीवन बिताए ।नेताका दुःख विशेषतः दुई प्रकारका हुन्छन् । पहिलोः जिउँदो हुन्जेल गाली, मरेपछि आरतीको थाली । दोस्रोः जिउँदो हुन्जेल गुमनाम, मरेपछि गुणगान ।

चक्र बास्तोलले जतिबेला राजनीति शुरु गरे, त्यो बेला देशमा उनी जस्ताले बोल्न पाउने अवस्था थिएन । बनारस हिन्दू विश्वविद्यालयमा पढ्दापढ्दै बास्तोला कांग्रेस राजनीतिमा जोडिएका थिए । कांग्रेस नेतृत्वमा भएको विमान अपहरणदेखि सशस्त्र संघर्षको लागि हतियार संकलन जस्ता काममा उनी संलग्न थिए ।

विमान अपहरणको बेला भारतबाट सबै चाँजोपाँचो सुशील कोइराला र चक्र बास्तोलाले मिलाएका हुन् ।पछि दुवैजना पक्राउ परेर ३ वर्ष जेल बसे ।  कांग्रेसले नेपालमा पञ्चायतविरुद्ध गरेको सशस्त्र संघर्षका लागि हतियार संकलनको काम पनि बास्तोलाको नेतृत्वमा भएको थियो । ती हतियार पछि बंगाली पृथकतावादीलाई दिइएका थिए

पाकिस्तानबाट बंगलादेश अलग हुन लागेको थियो । भारतका समाजवादी नेता जयप्रकाश नारायणको आग्रहमा बास्तोलाजी लगायतले संकलित हतियार बंगालीलाई दिए ।

भारतीयहरुले त्यसबेला दिइएका हतियारसहित थप गरेर बंगालीले नेपाली कांग्रेसलाई फिर्ता गर्ने भनेका थिए । तर, न त लगेका हतियारको पैसा आयो न त हतियार नै फिर्ता आए । जे होस चक्र बास्तोल खतरा मोल्न सक्ने क्रान्तिकारी थिए ।

२०२९ सालमा वीपी कोइरालाको पहलमा तरुण दल पुनर्गठन गर्ने कुरा भयो । बनारसको बबुरी भन्ने गाउँको एउटा स्कूलमा तरुण दलको भेला भएको थियो । त्यो भेलामा नेपालबाट गोपालमान श्रेष्ठ, गोपाल राई लगायत पनि गएका थिए । बनारसमा त्यसको चाँजोपाँजो शैलजा आचार्य, भीमवहावदुर तामाङ र चक्र बास्तोलाले मिलाएका थिए ।

दुःखद संयोग मान्नुपर्छ कि निर्वासनमा बसेर कांग्रेसको क्रान्तिको आधार बनाउने शैलजा, भीमवहादुर र चक्र तीनै जना अब यो संसारमा रहेनन् । चक्र बास्तोला शैलजा आचार्यका बहिनी ज्वाईं पनि थिए । दुई छोरी जन्मिएपछि शैलजाकी बहिनीको निधन भयो । पछि बास्तोलाले दोस्रो बिहे गरे ।

शैलजा वीपी र गिरिजाकी भान्जी भएकाले उनको ज्वाइ भएपछि बास्तोलको नाता कोइराला परिवारसँग जोडिएको थियो । त्यसैले पनि कांग्रेसको आन्तरिक राजनीतिमा बास्तोला प्राय कोइराला पक्षमै उभिए । यद्यपि, गिरिजाप्रसादका गलत कुराको विरोधमा उभिँदा कहिलेकाहिँ उनी कोइराला क्याम्पबाटै आउट हुन्थे ।

२०४६ सालको जनआन्दोलनको सफलतापछि बास्तोला निर्वासनबाट स्वदेश फर्किए । २०४८ सालको आम निर्वाचनमा झापा क्षेत्र नम्बर ३ बाट उम्मेदवार बन्दा उनी तत्कालिन नेकपा एमालेका चर्चित नेता राधकृष्ण मैनालीसँग निकै फराकिलो मतान्तरमा पराजित भए ।

झापा क्रान्तिका अगुवा केपी शर्मा ओली, सीपी मैनाली, राधाकृष्ण मैनाली जस्ता नेताहरु झापाली जनताबीच स्थापित थिए । तर, निर्वासनमा बसेर प्रजातन्त्रको लागि संघर्ष गरेका बास्तोलाको झापामा न त संगठन थियो, न जनमत नै । चुनाव हारे पनि उनी गिरिजाप्रसाद प्रधानमन्त्री हुँदा भारतको राजदूत बने ।

तर, राजदूत कार्यकाल पूरा नगर्दै २०५१ सालको मध्यावधी निर्वाचनमा पुनः झापा ४ बाट चुनाव लड्न फर्किए । त्यो चुनावमा भने उनले नेकपा एमालेका नारायणसिंह राजवंशीलाई करीव ३ सय मतले पराजित गरेर संसदमा आए । त्यतिबेला झापाबाट चुनाव जित्ने उनी एक मात्र कांग्रेस उम्मेदवार थिए । त्यो कार्यकालमा उनी पटकपटक मन्त्री भए ।

२०५६ सालको आम निर्वाचनमा पनि उनी झापा ४ बाटै एमालेका युक्तप्रसाद भेटवाललाई २६ मतले पराजित गरेर संसदमा आए । तर, २०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा तत्कालिन माओवादीकी धर्मशीला चापागाईसँग उनी पराजित भए । त्यही नै उनले लडेको अन्तिम चुनाव बन्यो ।

कुनै बेला गिरिजाप्रसाद कोइरालाको दूतका रुपमा विद्रोही माओवादीका नेताहरु प्रचण्ड र बाबुराम भट्टराईसँग वार्ता गर्ने हैसियतमा रहेका बास्तोला दिल्लीको गुडलिस्टमा भने थिएनन् । त्यहि कारण पछिल्ला दिनमा कोइरालाले बास्तोलाको साटो अन्य नेताहरुलाई अघि सारेका थिए ।

२०६२÷६३ को जनआन्दोलनयता बास्तोला राष्ट्रियताको चिन्ता गर्न थालेका थिए । भारतले मध्यस्थता गरेर ल्याइएको गणतन्त्रलाई राजनीतिक दलले सही रुपमा प्रयोग नगर्ने हो भने देश विदेशीहरुको क्रिडास्थल बन्न सक्ने चिन्ता उनी व्यक्त गर्थे । उनी भारतसँग सधैं होशियार थिए ।

कांग्रेसमा गम्भिर बिचलन आएको भन्दै पछिल्लो समय भीमवहावदुर तामाङ, चक्र बास्तोल, नरहरी आचार्यहरु लगायत मिलेर तेस्रो धार बनाउँदै थिए । तर, २०६९ साल बास्तोला मस्तिष्कघातको शिकार भएर थला परेसँगै यो सुधार अभियान पनि थला पर्यो ।