Home नेपाल तथा विश्व समाचार नेकपाको शीर्ष तहमा नयाँ अन्तरविरोध

नेकपाको शीर्ष तहमा नयाँ अन्तरविरोध

E-mail Print PDF
AddThis Social Bookmark Button

२० फेबु्रवरी २०१९, सत्तारुढ नेकपाको शीर्ष तहमा नयाँ अन्तरविरोध देखा परेको छ ।

पार्टी एकतालाई अन्तिम टुंगो लगाउन गठन गरिएको कार्यदलमा मुखरित बनेको यो अन्तरविरोधले शीर्ष तह ९ सचिवालय मा समेत प्रभाव पारेको छ । अन्तरविरोध समाधानका लागि सचिवालय र कार्यदलको संयुक्त बैठक बोलाइएको छ ।

 

नेकपाभित्र केपी ओली समूहले पार्टी एकता टुंग्याउने विषयमा अनिच्छा देखाउन थालेको र एकतालाई टार्ने काम गरिरहेको आरोप गैरसंस्थापन पक्षले लगाएको छ । पछिल्लो समय अध्यक्ष प्रचण्डसमेत केपी ओलीबाट टाढिन थालेपछि ओली समूहले एकता प्रक्रियालाई लम्ब्याउने रणनीति बनाएको स्रोतको दाबी छ ।

पार्टी एकतासम्बन्धी कार्यदलको प्रतिवेदनमाथि फागुन ९ गते बस्ने संयुक्त बैठकमा छलफल हुँदैछ । तर, ९ सदस्यीय सचिवालयमा मात्र होइन, कार्यदलमै समेत ओली पक्ष अल्पमतमा पर्ने स्थिति देखा परेको माधव नेपाल समूहको दाबी छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले अर्का अध्यक्ष प्रचण्डलाई साथमा लिएर आफूखुशी निर्णय गर्दै आएको गुनासो माधव नेपाल, झलनाथ खनाल र वामदेव गौतम लगायतले चुनावमा उम्मेद्वार घोषणाकै बेलादेखि गर्दै आइरहेका थिए । यसैवीच, माधवकुमार नेपाल र नारायणकाजी श्रेष्ठ विदेश गएका बेला प्रदेश कमिटीका पदाधिकारी तोक्ने निर्णय सचिवालयले गर्‍यो, जसले गर्दा नेकपाको शीर्षतहमा विवाद चुलियो ।

नेकपाको सचिवालयमा ९ जना नेताहरु छन् । अध्यक्षद्वय केपी ओली र प्रचण्डका साथै माधवकुमार नेपाल, झलनाथ खनाल, वामदेव गौतम, विष्णु पौडेल, रामबहादुर थापा बादल, नारायणकाजी श्रेष्ठ, ईश्वर पोखरेल मिलेर नेकपाको सचिवालय बनेको छ ।

नेकपामा कार्यदलसम्बन्धी चर्केको विवादको अन्तर्यमा पार्टी एकता प्रक्रियालाई स्थायी कमिटीले टुंगो लगाउने कि अधिकारको केन्द्रीकरण गर्ने भन्ने रहस्यले काम गरिरहेको स्रोत बताउँछ ।प्रधानमन्त्री ओलीले सचिवालयको मात्रै बैठक राख्न खोजिरहेको अवस्थामा सचिवायल र कार्यदलको संयुक्त बैठक माधव नेपाल समूहकै जोडबलमा बोलाइएको स्रोतको दाबी छ । यस्तो संयुक्त बैठक बस्न ओली समूहले भित्री मनले अनिच्छा गरिरहेको दाबी समेत माधव नेपाल पक्षका नेताहरुले गरेका छन् ।

नेकपाको विधानमा स्थायी कमिटीभन्दा तल र केन्द्रीय कमिटीभन्दा माथि पोलिटब्यूरो कमिटी गठन गर्न सकिने प्रावधान छ । केन्द्रीय कमिटी आकार ठूलो रहेको हुनाले तत्कालै महत्वपूर्ण निर्णयहरु गर्नका लागि पोलिटब्यूरो आवश्यक रहेको माधव नेपाल, झलनाथ र वामदेव गौतम लगायतका नेताहरुको तर्क छ । तर, ओली समूहले अल्पमतमा पर्न सकिने डरका कारण पोलिटब्यूरो कमिटी गठन गर्न अनिच्छा प्रकट गरिरहेको नेकपा स्रोत बताउँछ ।

प्रधानमन्त्री केपी ओलीका हरेक कदमहरुमा साथ दिँदै आएका अर्का अध्यक्ष प्रचण्ड पनि पार्टी एकता, पोलिटब्यूरो गठनलगायतका मुद्दाहरुमा माधव नेपाल र झलनाथ खनालको नजिक आइपुगेका छन् । यसले गर्दा कार्यदलमार्फत पार्टी एकता प्रक्रिया टुंगो लगाउनुपर्छ भन्ने ईस्युमा ओली पक्ष भारी अल्पमतमा परेको छ ।

प्रचण्डले ओलीसँग विमति राखिसकेपछि अब सचिवालयको संरचनामा प्रचण्ड र माधव नेपालतिर ५ जना छन् भने ओलीतिर ३ जना मात्र छन् । बादल अहिलेसम्म वीचमै छन् । उनले ओलीलाई नै साथ दिए पनि सचिवालयमा ओली अल्पमतमै पर्छन् ।

पार्टी एकता प्रक्रियालाई कसरी टुंगो लगाउने भन्ने ईस्युका आधार ओली र प्रचण्डवीच मत बाझिएसँगै सचिवालयमा जस्तै ९ सदस्यीय कार्यदलमा पनि केपी ओली पक्ष अल्पमतमा परेको छ । कार्यदलमा ओलीसित विष्णु पौडेल, रघुवीर महासेठ र शंकर पोखरेलसमेत ४ जना मात्रै छन् । अर्को कित्तामा चाहिँ बादललाई नजोड्दा पनि ५ जना पुग्छन् ।

कोमल ओलीजस्ता मापदण्ड नपुगी प्रदेश कमिटीमा ल्याइएकाहरुलाई हटाउने र १० प्रतिशत सहवरणको सिद्धान्त अनुसार छुटेकाहरुलाई प्रदेशमा समायोजन गरिनुपर्ने रायसहितको प्रतिवेदन कार्यदलले तयार पार्ने मत पनि बैठकमा आयो ।

यसरी दुईखाले मतहरु आएको हुनाले सोही व्यहोरा उल्लेख गरेर आंशिक प्रतिवेदन शीर्ष नेतृत्वलाई दिने अनि पोलिटब्यूरो लगायतका विषयमा छलफल गर्न संयोजक बादलले अर्को बैठक बोलाउने ६ गतेको बैठकमा सहमित भएको 

गृहमन्त्रीसमेत रहेका बादलले सहमतिको स्पिरिट नबुझेर कार्यदलको बैठक नराखेका हुन् या केपी ओली, विष्णु पौडेल र शंकर पोखरेलको पक्षमा लागेर बैठक टारेका हुन् भन्ने अझैसम्म स्पष्ट हुन नसकेको माधव नेपाल पक्षका नेताहरु बताउँछन् ।कतिपयले भने उनी गृहमन्त्रीको कुर्सीमा रहेकाले पनि अहिलेसम्म ओलीकै कित्तामा रहिरहेको दाबा गर्छन् ।

 

Latest News