प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाले देशबासीको नाममा शुभकामना सन्देश

Print
AddThis Social Bookmark Button

१४ अप्रिल २०१९, प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ वर्षको अवसरमा देशबासीको नाममा शुभकामना सन्देश दिएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ वर्षको अवसरमा देशबासीको नाममा सम्बोधन । प्रधानमन्त्री निवास बालुवाटार परिसरबाट ओलीले सम्बोधन गरेका छन् ।

सम्बोधनको क्रममा उनले सरकारका उपलब्धीको चर्चा गरेका छन् ।प्रधानमन्त्री रोजगार कार्यक्रम, नेपालको पानी, जनताको लगानी, खोलौं बैंक खाता अभियानको सुरुआतलाई उनले उपलब्धीको रुपमा व्याख्या गरेका छन् ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सहमति, सहकार्य र एकतामा जोड दिएका छन् । मुलुकलाई सबै प्रकारको निकास दिन सहमति, सहकार्य र एकता आवश्यक रहेको देउवाको जोड छ ।

नेपाली कांग्रेसको नेतृत्वमा तीनै तहको निर्वाचन सम्पन्न भई मुलुकले संघीय समावेशी लोकतान्त्रिक गणतन्त्रतात्मक नेपालको बलियो जग खडा गरिसकेको छ । सहमति, सहकार्य र एकताको माध्यमबाट नै मुलुकले सबै प्रकारको निकास पाउनेछ ।

देश विदेशमा रहनेका नेपालीहरुलाई नयाँ वर्ष २०७६ को शुभकामना सन्देश दिँदै देउवाले नागरिकको गुणस्तरीय जीवनयापनका लागि कांग्रेस क्रियाशील रहेको उल्लेख गरेका छन् । नयाँ वर्ष शान्ति र सदभावको वर्ष हुने उनको विश्वास छ ।

देउवाले नयाँ वर्ष २०७६ ले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको संस्थागत स्थायित्व कायम गरी मुलुकलाई आर्थिक समृद्धिको मार्गमा अग्रसर बनाउन प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गरेका छन् ।

नव वर्षको शुभकामना दिइरहँदा उनले बारा पर्सामा हावाहुरीमा परेर जीवन गुमाएकाहरुलाई स्मरणसमेत गरेका छन् । हुरीबाट पीडितहरुको उद्धार र पुनस्र्थापनाको कार्यलाई प्रभावकारी ढंगले सम्पादन गरेर तिनको जीवन सहज तुल्याउने कार्य तीब्र ढंगले गर्न उनले सरकारको ध्यानाकर्षण गराएका छन् ।