Home नेपाल तथा विश्व समाचार यात्रुवाहक बस त्रिशूली नदीमा खस्दा नौ जनाले ज्यान गुमाए

यात्रुवाहक बस त्रिशूली नदीमा खस्दा नौ जनाले ज्यान गुमाए

E-mail Print PDF
AddThis Social Bookmark Button

९ अगष्त २०१९, पृथ्वी राजमार्गको धादिङ खण्डबाट शुक्रवार सबेर एउटा यात्रुवाहक बस त्रिशूली नदीमा खस्दा नौ जनाले ज्यान गुमाएका छन् भने अझै करिब २० जना बेपत्ता रहेको अधिकारीहरूले बताएका छन्।

गएको जेठ महिनामा पनि धादिङमै त्रिशूली नदीमा काँकडभिट्टाबाट राजधानी आइरहेको अर्को यात्रुवाहक बस खस्दा कम्तीमा १५ जनाको ज्यान गएको थियो।पृथ्वी राजमार्ग अन्तर्गत धादिङ र चितवन सडकखण्डका केही स्थानमा दुर्घटनाको जोखिम उच्च रहेको ठानिन्छ।

शुक्रवार बिहान तीन बजे दुर्घटनाग्रस्त भएको बस महोत्तरीबाट काठमाण्डू आइरहेको थियो।धादिङको गजुरीस्थित ट्राफिक प्रहरी प्रमुख नेत्रप्रसाद भट्टका अनुसार दुर्घटनास्थल थोरै उकालो क्षेत्रमा रहेपनि त्यहाँ कुनै घुम्ती छैन्।बसका यात्रुहरूले गाडी तीव्र गतिमा हुँइकिएको र थकानका कारण चालक निदाएको हुनसक्ने प्रहरीलाई बताएका छन्।

सरकारले दुई सय ५० किलोमिटरभन्दा लामो दुरी तय गर्दा ठूला सवारीसाधनले अनिवार्य रूपमा दुईजना चालकहरू राख्नुपर्ने व्यवस्था गरेको छ।

महोत्तरीबाट आइरहेको बसमा दुईजना चालक भएपनि एक जनाले मात्रै गाडी कुदाएको पाइएको भट्टको भनाइ छ।

लामो दुरी पार गरेर राजधानी भित्रिने क्रममा पृथ्वी राजमार्ग पार गर्दा चालकहरू निदाएका कारण दुर्घटना भएका खबरहरू बेला बेला आइरहन्छन्।यातायात व्यवसायीहरू पनि त्यसमा आंशिक सत्यता रहेको स्विकार्छन र त्यसलाई रोक्न आफूहरूले विभिन्न जानकारीमूलक अभियान चलाएको बताउँछन्।

राजधानीको जीवनसँग प्रत्यक्ष रूपमा जोडिने भएपनि दुई लेनको उक्त सडकको अवस्था लगभग जीर्ण बनिसकेको अधिकारीहरू स्विकार्छन्।अत्यधिक भार बोकेका सवारीसाधनहरूका कारणले राजधानी प्रवेश गर्ने लेनमा सडकको सतह निकै बिग्रिएको छ।

एक वर्ष धादिङमा काम गरेका एक सुरक्षा अधिकारीका अनुसार धेरै भार बोक्ने १६ देखी २० चक्के भारतीय मालवाहक ट्रकहरूको चाप बढ्दै जाँदा त्यसले सडकलाई कमजोर बनाएको देखिन्छ।राजमार्गमा सवारीसाधनले बोक्न पाउने वजनबारे सरकारी मापदण्ड रहेपनि वजनको जाँच गर्ने वा कडाइ गर्ने गरेको पाइँदैन्।

दैनिक हजारौँ सङ्ख्यामा सवारीसाधनले राजधानी प्रवेश गर्ने पृथ्वी राजमार्गमा साँघुरो घुम्तीहरू रहेका छन्।माथि अग्लो भीर र तल नदी रहेको उक्त राजमार्गमा गन्तव्यमा चाँडो पुग्ने होडबाजीले द्रुत गतिमा गाडी चलाउँदा पनि दुर्घटना हुने गरेको सुरक्षा अधिकारीहरू बताउँछन्।

सडक सुरक्षाका लागि राजमार्गमा ट्राफिक बत्ती, सङ्केत चिन्ह, सडक रेखा र अन्य पूर्वाधारहरू दुरूस्त हुनुपर्छ।तर पृथ्वी राजमार्गमा कृष्णभीरसहित पहिरोको जोखिम रहेका कैयौँ स्थानहरू छन् जहाँ त्यस्ता चिन्हहरूको अभाव रहेको अधिकारीहरू नै स्वीकार गर्छन्।

चितवनमा कालीखोला, घुमाउने, जलविरे, फिस्लिङ र कुरिनटार क्षेत्र एवम् धादिङमा बाङ्गे झोडा, हुगडी खोला मोड, खत्री पौवा, विशालटार मोड, जहरे र हिल्टेकमोडलाई दुर्घटना जोखिम क्षेत्रका रूपमा घोषणा गर्दै सावधानी अपनाउन सङ्केत चिन्हहरू राखिएका छन्।


 

 

Latest News