Home नेपाल तथा विश्व समाचार ब्रिटेनमा समयअगावै आमनिर्वाचन गराउने प्रधानमन्त्रीको प्रस्ताव अस्वीकृत

ब्रिटेनमा समयअगावै आमनिर्वाचन गराउने प्रधानमन्त्रीको प्रस्ताव अस्वीकृत

E-mail Print PDF
AddThis Social Bookmark Button

४ सेप्टेम्वर २०१९, ब्रिटेनमा समयअगावै आमनिर्वाचन गराउने प्रधानमन्त्री बोरिस जोनसनको प्रस्ताव सांसदहरूले अस्वीकृत गरेका छन्।

हाउस अफ कमन्समा भएको मतदानमा आमनिर्वाचनको पक्षमा आवश्यक दुई तिहाइ मत ल्याउन प्रधानमन्त्री विफल भएका हुन्।पक्षमा २९८ मत खसेको थियो भने विपक्षमा ५६ मत खसेको थियो। सरकारले कुल ४३४ मत ल्याउनुपर्ने थियो।

प्रधानमन्त्री जोनसनले आउँदो अक्टोबर १५ तारिखमा आमनिर्वाचन गराउने प्रस्ताव गरेका थिए।सांसदहरूले सहमति विनाको ब्रेक्जिटलाई रोक्ने विधेयक पारित गरेपछि आमनिर्वाचनका लागि प्रधानमन्त्री जोनसनले संसद्‌मा प्रस्ताव पेश गरेका थिए।यसअघि सांसदहरूले सहमति विनाको ब्रेक्जिट विलम्ब गर्ने विधेयक पारित गरेका थिए।

हाउस अफ कमन्समा सम्पन्न मतदानमा पक्षमा ३२७ मत खसेको थियो भने विपक्षमा २९९ मत खसेको थियो।प्रधानमन्त्री जोनसनले उक्त विधेयकलाई ूआत्मसमर्पण गराउने विधेयकूको सङ्ज्ञा दिएका छन्।

ब्रेक्जिट विलम्ब गर्नुपर्ने प्रस्ताव गरिएको विधेयक पहिलो मतदान प्रक्रियाबाट पारित भएको थियो।उक्त विधेयकको पक्षमा ३३० मत र विपक्षमा ३०० मत खसेको थियो।

पूर्वनिर्धारित समयतालिका अनुसार ब्रिटेनले अक्टोबर ३१ तारिखमा युरोपेली सङ्घ छाड्नुपर्ने छ।मङ्गलवार प्रधानमन्त्री बोरिस जोनसनको ब्रेक्जिट नीतिले संसद्‌मा ठूलो पराजय बेहोरेको थियो।

मङ्गलवारको मतदानमा सरकारको पक्षमा ३०१ सांसद र विपक्षमा ३२८ सांसद उभिएका थिए। प्रधानमन्त्री जोनसनले मङ्गलवार नै संसद्‌मा बहुमत गुमाएका थिए।पार्टी परिवर्तन गर्दै सत्तारुढ कन्जरभेटिभ पार्टीका सांसद फिलीप ली लिबरल डेमोक्र्याट्समा गएपछि जोनसनले संसद्‌मा बहुमत गुमाएका हुन्।

विपक्षी नेता जेरमी कोर्बिनले सहमति विनाको ब्रेक्जिट प्रक्रिया अगाडि बढाउनका निम्ति प्रधानमन्त्री जोनसनसँग संसद्‌मा बहुमत र संसद्‌को सहमति दुवै नरहेको बताएका छन्।संसद्‌मा बोल्दै कोर्बिनले युरोपेली सङ्घसँग पुनः वार्ता गर्नका लागि प्रधानमन्त्रीसँग योजना र प्रस्ताव नरहेको दाबी गरे।