परीक्षा बोर्डका सदस्य सचिव दुर्गा प्रसाद अर्यालले ग्रेडीङमा नै नतिजा आएपनि विगतमा जस्तै एउटै मापदण्डका प्रश्नपत्र सहित परीक्षा नगरिएकाले कुन ग्रेड ल्याउनेको सङ्ख्या कति छ भनेर प्रकाशन नगरिएको बताए।यसअघि चैत ६ गतेका लागि तय भएको एसईई परीक्षा कोरोनाभाइरसको महामारीका कारण जाँच हुनुभन्दा एक दिन अघि स्थगित गरिएको थियो।उक्त परीक्षामा ४ लाख ८२ हजार भन्दा बढी विद्यार्थी सहभागी हुन लागेका थिए।
परीक्षा बोर्डका अध्यक्ष पौडेलका अनुसार बोर्डले एउटै प्रश्नपत्रबाट परीक्षा नलिएका हुनाले ग्रेडीङको हिसाब गरिएको छैन।विद्यालयहरूले आन्तरिक मुल्याङ्कन गरेर पठाएको भएकाले अलग अलग विद्यालयको अलग अलग मुल्याङ्कन गरेर प्रकाशन गर्नसक्ने अवस्था रहेन। देशव्यापी रूपमा कसको कति ग्रेड भनेर हिसाब गर्नुको पनि हामीले खासै अर्थ देखेनौँ।विद्यालयहरूले अङ्कमा पठाएको प्राप्ताङ्कलाई सङ्टकालीन अवस्थामा बोर्डले प्रमाणिकरण गरिदिएर विद्यार्थीहरूलाई अघि बढ्ने बाटो खोलिदिएको उनको भनाइ छ।
नेपालमा सन् २०१६ मा पहिलो पटक ग्रेडिङ भनिने विधिबाट कक्षा १० को परीक्षाफल प्रकाशित गर्ने अभ्यास प्रारम्भ भएको थियो।कोरोनाभाइरसको महामारी जारी रहने सङ्केतसँगै सरकारले गएको जेठ २८ गते विगतमा विद्यालयहरूले गरेका आन्तरिक मुल्याङ्कनका आधारमा एसईईको नतिजा सार्वजनिक गर्ने निर्णय लिएको थियो।
बोर्डले त्यसपछि एउटा कार्यविधि तयार पारेर विशेष ढङ्गले नतिजा प्रकाशन गर्ने निर्णय लिएको थियो।त्यसअन्तर्गत विद्यालयहरूलाई आफ्ना नतिजा असार १५ गतेसम्म जिल्लामा र जिल्लालाई विद्यालयहरूका विवरणलाई असार मसान्तसम्म केन्द्रमा पठाइसक्न भनिएको थियो।
साउनको मध्यमा नै परीक्षाफल प्रकाशित गर्ने भनेर परीक्षा बोर्डले भनेको भएपनि कतिपय ठाउँबाट आन्तरिक मुल्याङ्कन विवरण प्राप्त नभएको र कतिपय विषयमा शिक्षा मन्त्रालयको उच्चतहसँग परामर्श गर्नुपरेकाले केही समय लागेको बताइन्छ।