Home नेपाल तथा विश्व समाचार माओवादीको आठौं राष्ट्रिय महाधिवेशनको उद्घाटन शुरु

माओवादीको आठौं राष्ट्रिय महाधिवेशनको उद्घाटन शुरु

E-mail Print PDF
AddThis Social Bookmark Button

२६ डिसेम्वर२०२१, माओवादीको आठौं राष्ट्रिय महाधिवेशन शुरु । उद्घाटन सत्रमा उपस्थित भएका नेता तथा कार्यकर्तादेखि अन्य दलका शीर्ष नेताले माओवादीको वास्तविक पहिचानको खोजी गरेका छन्। संघीय लोकतान्त्रिक गणतन्त्र, धर्मनिरपेक्षता, समावेशी, समानुपातिक प्रतिनिधित्वको पहलकर्ता र संस्थापनकर्ता माओवादी पछिल्ला वर्षमा रुमल्लिएको जस्तो अनुभव भइरहेका बेला राष्ट्रिय स्तरमै त्यो ब्राण्डको खोजी भएको हो।

संविधानसभाबाट संविधान माओवादीको एजेण्डा थियो, पूरा पनि भयो। नेपाली जनताले संविधानसभामार्फत संविधान निर्माण गर्ने अवसर प्राप्त गरे। नेपालमा शान्ति प्रक्रिया मौलिक ढंगले पूरा भयो। केही काम अझै बाँकी छ। त्यसलाई शीघ्र पूर्णतामा लैजानुपर्ने दायित्व माओवादीकै काँधमा छ तर ढिला भएको छ।

उद्घाटन सत्रमा उपस्थित भएका प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवादेखि उपेन्द्र यादवसम्मले माओवादीको भूमिकाको उच्च प्रशंसा गर्दै जनता र देशका पक्षमा थप क्रियाशील हुन माओवादी नेतृत्वको ध्यानकर्षण गराए।

जनयुद्धकालीन सहयात्री सिपी गजुरलले केही सर्त राख्दै फेरि पनि माओवादीहरूका बीचमा एकताको आवश्यकता औंल्याए। नेकपा ९एमाले०का महासचिव शङ्कर पोखरेलले ठूलो मेहेनतका साथ नेकपा गठन भए पनि एकता जोगाउन नसक्नुको कारण खोजी गर्नुपर्ने बताए।

नेकपा९माले० का महासचिवले त जनयुद्धकालीन एजेण्डाको स्मरण मात्रै गराएन, लक्ष्यमा कहाँकहाँ चुक्यो भनेर माओवादी नेतृत्वले खोजी गर्नुपर्ने सुझाव दिए। समग्रमा सबै नेताहरूका एउटै मनोभावना थियो, माओवादीले आफ्नो एजेण्डा के कति पूरा गर्‍यो र के कति एजेण्डा अझै बाँकी छ भन्ने खोजी गर्न ध्यानाकर्षण गराए।

टुटफुट र विभाजनको चक्रव्यूहमा फसेको भए पनि जनयुद्धकालीन माओवादी पुष्पकमल दाहाल ‘प्रचण्ड’ कै वरिपरि केन्द्रित छ भन्ने यथार्थ राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्रमा प्रष्ट देखियो। जनयुद्धकालीन १७ नेताले पार्टी छाडेको, नौ जना उच्च नेताले शहादत प्राप्त गरेको भए पनि शहीद, बेपत्ता परिवार र घाइते योद्धा सबैको आश अझै माओवादीप्रति नै छ।

एजेण्डाका हिसाबले माओवादी अब्बल देखिए पनि कार्यान्वयनको तहमा भने माओवादीले आफूले भनेअनुसार नेतृत्व गर्न सकेको छैन। यद्यपि नेपालको राजनीतिक परिवर्तनको भूमिकामा माओवादी शीर्ष स्थानमा छ। नेतृत्वमा नै छ।

यही सन्दर्भ जोड्दै प्रधानमन्त्री शेरबहादुर देउवाले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको बलमा नै संविधानसभाबाट संविधान बनेको ऐतिहासिक तथ्यलाई सम्झाए। प्रधानमन्त्रीले भने, ‘प्रचण्डजीले नेपालको राजनीतिमा धेरै योगदान दिनुभएको छ। उहाँकै बलले हामी संविधानसभामा गएका हौं। संविधानसभाबाट संविधान बनाउने कुरा २००७ सालमा कांग्रेसले गरेको हो। पछिल्लो चरणमा प्रचण्डले लिएकै अडानका कारण संविधानसभाको चुनाव भएको हो।’ माओवादीकै नेता नारायणकाजी श्रेष्ठ र मातृकाप्रसाद यादवले पनि पार्टीको चिन्ता गरे।

उनीहरूले माओवादीलाई कसरी सुधार गर्न सकिन्छ भन्ने ‘प्रेसक्रिप्सन’ प्रस्तुत गरे। साङ्गठनिक कर्मकाण्ड पूरा गर्न मात्रै माओवादीको आयोजना नगरिएको भन्दै नेता श्रेष्ठले माओवादीले गर्नुपर्ने विभिन्न पाँच वटा कामबारे उद्घाटन सत्रलाई जानकारी गराए।

अर्का नेता यादवले कोही कसैले छाड भन्दैमा क्रान्तिकारी नेतृत्वले छाड्न नमिल्ने र नेतृत्वको पुस्तान्तरण भन्ने कुरा पूँजीवादीको भएको बताए। नेता यादवले भने, ‘अहिले चलेको पुस्तान्तरणको कुरा पूँजीवादीहरूका कुरा हुन्। बुढाले छाड्नुपर्‍यो र नयाँलाई दिनपर्‍यो। स्थापित नेतालाई पाखा लगाइदिने अनि केही नजान्नेलाई नेता बनाइदिने।’ नेता यादवले पार्टी र क्रान्तिको चिन्ता गर्दै अगाडि भने, ‘फेस र एजले मात्रै नेतृत्व हुँदैन।’

नेकपा९क्रान्तिकारी माओवादी०का नेता सिपी गजुरलले पनि माओवादीको पहिचान स्मरण गर्न सुझाव दिए। उनले जनयुद्ध सुरु गर्दाको केन्द्रीय समितिले गरेको प्रतिबद्धता सम्झन विशेष गरी प्रचण्डलाई सुझाव दिए। राष्ट्रियता, जनजीविकाको विषयमा प्रष्ट भएर आए माओवादीसँग पुनः एकता हुने उनको भनाइ थियो।

जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले जनयुद्धकालीन दिनहरू स्मरण गर्दै माओवादी जनयुद्ध र मधेश जनविद्रोहको बलमा गणतन्त्र र सङ्घीयता स्थापना भएको तथ्य पेश गर्दै माओवादी जनयुद्ध र मधेश जनविद्रोहका कतिपय एजेण्डा पूरा हुन नसकेको भन्दै पहिचानको खोजी गरे।

लोकतान्त्रिक समाजवादी पार्टीका नेता अनिल झाले पनि माओवादीको मूल्य र मान्यताको खोजी गरे। उनले संविधानमा सबैथोक भए पनि केही नभएको जस्तो भएको भन्दै संविधानलाई पूर्ण बनाउन सके माओवादी नै सफल हुने धारणा राखे।

मालेका महासचिव मैनालीले त व्यवस्था बद्लिए पनि अवस्था बद्लिन नसकेकामा जनगुनासो रहेको भन्दै नेपाली राष्ट्रिय जनक्रान्तिको मौलिक बाटो कुन हो भनेर माओवादी नेतृत्वलाई नै प्रश्न गरे। सबै नेताका धारणा सुनिसकेपछि माओवादी अध्यक्ष प्रचण्डले पनि पार्टी एकता जोगाउन नसकेको र माओवादी आन्दोलन कमजोर भएको विषयमा आत्मसमीक्षा गर्ने दृढता व्यक्त गरे। माओवादी अरू कारणले होइन मेरो आफ्नै कारणले बिग्रिएको भन्दै अब आफैंबाट सच्याउन सुरु गर्ने अध्यक्ष प्रचण्डको स्वीकारोक्ति थियो।

माओवादीका स्थायी समिति सदस्य पम्फा भुसालले पनि समाजवाद–उन्मुख समाज निर्माण गर्ने आधार तयार गर्नु नै पार्टीको आठौं महाधिवेशनको मुख्य उद्देश्य रहेको भन्दै माओवादी अब खास रूपमा माओवादीको रूपमा प्रस्तुत हुने विश्वास व्यक्त गरे। पार्टीभित्रका नेतादेखि बाहिरका नेताहरूले समेत माओवादीको पहिचान खोजेको सन्दर्भमा महाधिवेशनबाट माओवादी कुन रूपमा प्रस्तुत हुन्छ भन्ने चासो र जिज्ञासा पैदा गरिदिएको छ।

माओवादी अध्यक्ष प्रचण्डका शब्दमा सुधारसहितको क्रान्तिकारी माओवादी बनाउने संकल्प आठौं महाधिवेशनले गर्नेछ। देश, जनताको विश्वासलाई कुन रूपमा माओवादीले सम्बोधन गर्ला भन्ने यतिबेला आम जनमानसमा चासो छ। कर्मकाण्डी रूपमा अधिवेशन सकिएला वा माओवादीले भने जस्तै केही नयाँ रूपमा आउला त्यो भने पुस १५ गतेसम्म पुग्दा नै स्पष्ट भइसक्नेछ।

 

 

Latest News