निर्विरोध नेतृत्व चयनको प्रस्ताव गर्दै वरिष्ठ नेता श्रेष्ठले जनयुद्ध, जनआन्दोलन, शान्ति प्रक्रिया, संविधानसभाको निर्वाचन र गणतन्त्र सहितको संविधान बनाउन नेतृत्व गरेका प्रचण्डको कार्यभार अझै बाँकी रहेको तर्क गरे । श्रेष्ठको प्रस्तावलाई महराको समर्थन र हलबाट अनुमोदन भएपछि आठौं राष्ट्रिय महाधिवेशनको मूल कार्यभार पूरा भएको छ । विशेष महाधिवेशन नभएको वा राजीनामा नदिएको अवस्थामा प्रचण्डले आगामी पाँच वर्ष माओवादी केन्द्रको नेतृत्व गर्नेछन् ।
तर प्रचण्डले निर्विरोध अध्यक्ष बन्न जस्तो प्रक्रिया अवलम्बन गरे, त्यसप्रति भने माओवादी केन्द्रकै नेताहरू सन्तुष्ट हुन सकेनन् । ‘हरेक नेतृत्वको विकल्प छ । पुरानै दोहोरिए पनि महाधिवेशन प्रतिनिधिहरुले आफ्नो विवेक प्रयोग गर्न पाउनुपर्ने र नेतृत्व दोहोरिंदा पनि कार्यकर्ताप्रति जवाफदेही बन्ने अवस्था सिर्जना हुनुपर्ने छ ।
प्रचण्ड निर्विरोध अध्यक्ष बनिरहँदा माओवादी केन्द्रले आफ्नै विधानको समेत पालना गरेन । माओवादीको पदाधिकारी चयन गर्ने अधिकार महाधिवेशन प्रतिनिधिहरूबाट निर्वाचित केन्द्रीय सदस्यलाई दिएको छ । तर प्रचण्ड निर्विरोध अध्यक्ष भइरहँदा केन्द्रीय समितिले पूर्णता पाउनै बाँकी छ । ११ पुसमा कम्युनिष्ट नेता माओको १२८औं जन्मदिवस पारेर शुरू भएको महाधिवेशन समापन गर्दै आइतबार प्रचण्डले २३६ केन्द्रीय सदस्यको नामावली वाचन गरेका थिए । जबकि माओवादी विधानले २९९ सदस्यीय केन्द्रीय कमिटीको व्यवस्था गरेको छ ।