रुद्र श्रीस मगर पोखरा
७ मार्च (२३ फाल्गुण)
कला साहित्य र संस्कृतिको संरक्षण गरौं अन्तर्राष्ट्रिय कलाकर्मीहरुसँग मित्रता बढाऔं भन्ने मूल नाराका साथ पाँचौ अन्तर्राष्ट्रिय साँस्कृतिक महोत्सव पोखरा २०६६ भोलिदेखि सुरु हुने भएको छ।
पोखरा-९ नयाँबजारस्थित पोखरा प्रदर्शनी केन्द्रमा हुने उक्त महोत्सवमा विभिन्न १२ देशका ३ सय ६८ कलाकारहरुको सहभागिता रहने महोत्सवका संयोजक प्रजापति पराजुलीले आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिनुभयो। गुरु नारायणप्रसाद पोखरेल स्मृति प्रतिष्ठानले आयोजना गरेको उक्त अन्तर्राष्ट्रिय स्तरको महोत्सव यसअघि पनि दुईपटक पोखरामा आयोजना भैसकेका छन्। पोखरामा यो तेश्रो संस्करण भएको संयोजक पराजुलीले जानकारी दिनुभयो।
महोत्सवको भोलि दिउँसो १ बजे महोत्सवको मुख्य प्रायोजक युनिटी लाइफ इन्टरनेशनलका लिडर डा. लक्ष्मणप्रसाद शर्माले उद्घाटन गर्नुहुने कार्यक्रम छ। महोत्सवका मुख्य आकर्षणका रुपमा राष्ट्रिय लोकदोहोरी प्रतियोगिता रत्यौली गीत प्रतियोगिता भजन चुड्का प्रतियोगिता नौमती बाजा प्रतियोगिता लगायत रहेका छन्। महोत्सव देशका विभिन्न प्रमुख सहरहरुमा आयोजना गरिएको छ जसअन्तर्गत पोखरामा भोलिदेखि सुरु हुने भएको हो।
२९ गते सम्म चल्ने महोत्सवमा फ्रान्स, स्लोभानिया, लिथिनिया, स्पेन, बुल्गेरिया, नेदरल्याण्ड, पोल्याण्ड, स्लोभाकिया, भारत लगायतका विभिन्न देशका कलाकारहरुको उपस्थिति रहनेछ।
९ लाख रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको महोत्सवमा कलाकारहरुको व्यवस्थापन गर्ने जिम्मा पश्चिमांचल होटल संघले लिएको जानकारी पनि गराइएको थियो। महोत्सवलाई सफलताका साथ सम्पन्न गर्नु देशकै गरिमाको कुरा भएकाले सम्पन्न गर्नका लागि आयोजकले सबैमा सहयोगको अपिल समेत गरेको छ।













