८ मार्च २०१० काठमाडौं, बैठकमा माओवादी सदस्यहरु प्रधानमन्त्री र रक्षामन्त्रीप्रति खनिएपछि कुनै निर्णय हुन नसकेको कांग्रेसका तर्फबाट सेना समायोजन विशेष समिति सदस्य रामशरण महतले जानकारी दिए। प्रधानमन्त्री कार्यालय सिंहदरवारमा झण्डै डेढ घण्टा बसेको बैठकमा समायोजन हुने लडाकुको संख्या निर्धारणलगायतबारे छलफल गर्ने कार्यक्रम भएपनि बिषय प्रवेश गर्न नपाएको महतले जानकारी दिए।
माओवादीले प्रधानमन्त्री र रक्षामन्त्रीले सेना समायोजनका बारेमा जथाभावी बोलेको भन्दै आपत्ति जनाएको छ। उसले जिम्मेवार व्यक्तिको धारणा शान्ति सम्झौताबिपरित रहेको आरोप लगायो। आइतबार बसेको सेना समायोजन विशेष समितिको बैठकमा माओवादीका तर्फबाट समिति सदस्यहरुले प्रधानमन्त्री माधवकुमार नेपाल र रक्षामन्त्री बिद्यादेवी भण्डारीको भनाइप्रति आपत्ती जनाएका हुन्। प्रधानमन्त्रीले यसअघि ३ हजार माओवादी लडाकु समायोजन गर्ने सहमति भएको अभिव्यक्ति दिएका थिए भने रक्षामन्त्री विद्या भण्डारीले माओवादीका दुई-चार बाहेक कुनै पनि लडाकु योग्य नभएको बताएकी थिइन्।
माओवादीका तर्फबाट सेना समायोजन विशेष समिति सदस्य बर्षामान पुनले माओवादी अध्यक्ष पुष्पकमल दाहाल र तत्कालिन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाबीच १५ हजार लडाकु समायोजन गर्ने सहमति भएको दाबी गरे। 'माओवादी शान्तिप्रक्रियामा आएपछि सेना, सशस्त्र र जनपद प्रहरीमा गरी ५-५ हजारका दरले माओवादी सेना समायोजनमा सहमति भएको थियो,' बैठकपछि पुनले भने, 'तीन हजारमात्र समायोजन गर्ने प्रधानमन्त्रीको भनाइ आपत्तिजनक छ।













