
हर्षविभोर स्पेनको फूटबल टीम । फोटो ः याहु
१२ जुलाई २०१०। स्पेन विश्वकपको नयाँ विजेता बनेसँगै अक्टोपस 'पल' को सबै भविष्यवाणी आइतबार राति सही सावित भएको छ। उसले स्पेनले विश्वकप जित्ने भविष्यवाणी गरेको थियो। यसअघि उसले जर्मनीको सात खेलमा गरेको भविष्यवाणी पनि मिलेको थियो। आन्द्रेस इनेस्टाले अतिरिक्त समयको अन्त्यतिर गरेको गोल मदतले स्पेनले सोमबार बिहान पहिलोपल्ट विश्वकप उपाधि जितेको छ। उसले विश्वकप २०१० को फाइनलमा नेदरल्यान्ड्सलाई १-० ले हराएर पहिलोपल्ट ट्रफी चुमेको हो। खेल गोलरहित बराबरीमा रहेको स्थितिमा विश्वकप छिनोफानो टाइब्रेकरमा हुने सम्भावना बढेको थियो। इनेस्टाले दस खेलाडीमा सीमित नेदरल्यान्ड्सविरुद्ध नजिकको दूरीबाट सेस फाब्रेगासको पासमा गोल गरे। दुई युरोपेली टिमबीचको फाइनलमा इनेस्टाले दायाँ खुट्टाको शक्तिशाली प्रहार मदतले निर्णायक गोल गरेका हुन्। युरोपेली देशले विश्वकप जितेको यो दसौं अवसर हो। बाँकी नौ संस्करण दक्षिण अमेरिकी टिमले जितेका छन्।
अक्टोपस पल विश्वकप विजेताको भविष्यवाणीमा स्पेनलाई छान्दै। फोटोः विकिपेडिया
स्पेनी टिमको प्रभुत्व रहेको खेलमा इंग्ल्यान्डका रेफ्री हवार्ड वेबले सुरुआती ९० मिनेटमा नौ पहेंलो कार्ड देखाएका थिए। अतिरिक्त समयको दोस्रो हाफमा डच डिफेन्डर जोन हेटिङ्गाले दोस्रो पहेंलो कार्डसँगै मैदान छाडे। स्पेनले विश्वकप फाइनल खेलेको पनि यो पहिलो हो। स्पेन दुई वर्षअघि युरोपेली विजेताका रूपमा दक्षिण अफ्रिका आएको थियो।
स्पेन विश्वकप जित्ने आठौं देश भएको छ। विश्वकप इतिहासमा १३ औं पल्ट खेलिरहेको स्पेनको यसअघिको उत्कृष्ट प्रदर्शन सन् १९५० मा चौथो स्थानमात्र हो। सन् १९७४ यता स्पेनले सबै विश्वकप संस्करण खेले पनि क्वाटरफाइनलभन्दा अघि बढ्न सकेको थिएन। नेदरल्यान्ड्सले अन्तिम मिनेट दस खेलाडीमा सीमित रहेर खेलेको थियो। नेदरल्यान्ड्स विश्वकप फाइनलमा हारेको यो तेस्रोपल्ट हो। यसअघि नेदरल्यान्ड्स सन् १९७४ मा पश्चिम जर्मनी र सन् १९७८ अर्जेन्टिनासँग पराजित भएको थियो। निर्धारित ९० मिनेटको खेलमा कुनै गोल हुन सकेन। त्यसमा डच फरवार्ड आर्जेन रोबेनले दुई सुन्दर अवसर गुमाएका थिए। त्यो नै नेदरल्यान्ड्सको दुर्भाग्य रह्यो।











