गत १८ पुष २०६५ शुक्रबारका दिन तराई मधेस लोकतान्त्रिक पार्टीले आफनो १३ बुंदे माग पूरा गर्न सरकारले कुनै प्रकारको पहल नगरेकोले सडकमा उत्रनका लागि आन्दोलनको कार्यक्रम तय गरिएको वताएको छ । दुई दिनदेखि सिहंदरवारमा जारी सो पार्टीको केन्द्रिय कार्यसंपादन समितिको बैठकले शुक्रवार आन्दोलन थाल्ने निर्णय गरेको हो ।
तमलोपाका वरिष्ठ नेता हृदयश त्रिपाठीले विरोध कार्यक्रम अन्तर्गत शान्तिपूर्ण धर्ना, जुलुस, घेराउ लगायतका कार्यक्रम गरिने जानकारी दिए । उनले शनिबार बिहान आठ बजे पुन: बस्ने बैठकले विरोध कार्यक्रमको तालिका सार्वजनिक गर्ने जानकारी दिए । एक महिने समयसीमा भित्र सरकारले पार्टीको १३ बुंदे माग पूरा गर्न कुनै पहल नगरेको भन्दै सो पार्टीले विरोधमा उत्रने निर्णय गरेको हो ।
नेता त्रिपाठीले विगतमा लोकतान्त्रिक मधेशी मोर्चासंग सरकारले गरेको निर्णय कार्यान्वयन नगरेको, सरकारको काम कार्वाही संतोषजनक नभएको तथा सहमति अनुसार घरजग्गा फिर्ता नभएकाले आन्दोलनमा उत्रन बाध्य भएको बताए । तमलोपाले ६ दलिय संयुक्त सरकारलाई दिएको समर्थन बिहीबार देखि फिर्ता लिने निर्णय समेत गरिसकेको छ । तमलोपा संविधानसभामा पांचौ ठूलो दल समेत हो ।