२४-चैत-२०६५,सोमवार
चन्द्रलाल गिरी
काठमाडौं।
नेपालका लागि अमेरिकी राजदूत न्यान्सी जे पावेलले गत चैत १८ गतेबाट मुस्ताङ जिल्लाको निजी भ्रमण थालेपछि त्यसले विविध आशङ्का सिर्जना गरेको छ। २०३१ सालमा नेपालको मित्र राष्ट्र चीनका विरुद्ध अमेरिकाको विख्यात जासुसी संस्था सिआइए र भारतीय जासुसी संस्था 'रअ'को सहयोगमा मुस्ताङ जिल्लामा खम्पा विद्रोह गराइएको थियो, जुन विद्रोह नियन्त्रण गर्न नेपाललाई हम्मेहम्मे परेको थियो। चीनको आर्थिक क्षमता र सैन्य शक्तिमा निरन्तर बृद्धि हुँदै गएपछि अमेरिका र कतिपय युरोपेली राष्ट्रहरूले त्यसलाई ठूलो चुनौती ठानेका छन्। यही पृष्ठभूमिमा फ्रान्स र जर्मनीका राजदूतहरूले समेत चैत ९ मा नै मुस्ताङ भ्रमण गरेका थिए।
विश्व शक्तिका रूपमा उदयमान चीनलाई कमजोर बनाउन पश्चिमा राष्ट्रहरूले अमेरिकाको नेतृत्वमा नेपालमार्फत् चीनविरुद्ध गतिविधि बढाउने गरेका छन्। त्यस गठनबन्धनमा भारतसमेत सामेल हुँदै आएको छ। भारतले तिब्बतबाट निर्वासित चीनका कट्टर विरोधी दलाई लामालाई हिमाञ्चल प्रदेशको धर्मशालामा शरण दिएर नेपालमार्फत् गतिविधि जारी राख्न प्रोत्साहित गर्दै आएको छ।
दलाई लामाले निर्वासित सरकार मात्र गठन गरेका छैनन्, नेपालमा आफ्नो 'दूत र दूतावास' नै खडा गरेका छन्। राजदूतका रूपमा नेपालमा रहेका उनका प्रतिनिधि थिन्ले ग्यान्सोसमेत मुस्ताङको भ्रमणमा छन्। स्रोतका अनुसार ग्यान्सो आजै काठमाडौं फर्कने या पोखराको तिब्बती शरणार्थी शिविरमा रहने कार्यक्रम छ।
दलाई लामाले तिब्बतमा विद्रोह गरेको ५० वर्ष पुगेको अवधिमा नेपालमा 'स्वतन्त्र तिब्बत' अभियान संचालनका लागि केही दिनअघि ठूलै कसरत भएको थियो। तर नेपाल सरकारले सुरक्षामा प्राथमिकता दिएका कारण चीनविरोधी प्रदर्शन हुन पाएको थिएन। यही परिप्रेक्ष्यमा अमेरिकी राजदूत पावेलले निजी भ्रमण भन्दै १० दिनभन्दा लामो समय मुस्ताङ भ्रमणमा खर्चनु र त्यसमा पनि तिब्बतको सीमा लोमान्थाङसम्म भ्रमणको कार्यक्रम तय गर्नुलाई सामान्य रूपमा लिन मिल्दैन। फेरि चैत १८ गते नै भारतीय सेनाको एक टोली मुस्ताङ भ्रमणमा निस्केको छ। लेफ्टिनेन्ट कर्नेल एम. एस. चौहानको नेतृत्वमा १७ सदस्यीय टोली निलगिरि हिमाल आरोहणका लागि भन्दै मुस्ताङ प्रस्थान गरेको थियो, जसलाई नेपालका लागि भारतीय राजदूत राकेश सुदले विदाइ गरेका थिए।
अमेरिकी राजदूत पावेलसँग तीन विदेशी र आमोद भट्टराई नामका एक नेपाली सहभागी छन्। मुस्ताङका प्रहरी नायब उपरीक्षक भोला रावलले सुरक्षाका लागि उनीहरूसँगै एक प्रहरी पठाएको जानकारी दिए। मुस्ताङका प्रमुख जिल्ला अधिकारी सुन्दर अर्यालले जनएकतासँग 'राजदूतको यो निजी भ्रमण हो, मिडियाले अनावश्यक रूपमा उचाल्ने काम गरेका छन्' भने पनि मुस्ताङ जिल्लाका कयौं गुम्बा, विद्यालय र धर्मशाला बनाउन भारतीय लगानी भएको स्विकारे। उनले भने, “मुक्तिनाथ क्षेत्रमा त भारतले ठूलो धर्मशाला नै निर्माण गरेको छ।”
मुस्ताङका माओवादी सभासद् वीरेन्द्र जुहार्चनका अनुसार भारतले मुस्ताङमा १५ करोड बराबरको थप लगानी गर्दैछ। कोपाङ, जोमसोङ र कागबेनीमा तीनवटा मावि स्थापना गरिएका छन्। मुक्तिनाथ क्षेत्रमा गुम्बा निर्माण भएको छ। लोमान्थाङमा बुद्धधर्मका लागि प्रशिक्षण केन्द्र स्थापना हुँदैछ। त्यसका अतिरिक्त कालीगण्डकीमा सबा ४ करोड बराबरको पुल निर्माण पनि भारतबाट नै हुनेछ।
स्रोतका अनुसार अमेरिकाले पनि मुस्ताङका केही गुम्बाहरूमा अप्रत्यक्ष रूपमा लगानी गरेको छ। थप लगानी गर्न र आफूले लगानी गरेका गुम्बाहरूको अवलोकन गर्नका लागि पावेल मुस्ताङ गएको बताइएको छ। तर दलाई लामाका नेपाल प्रतिनिधि थिन्ले ग्यान्सो किन मुस्ताङ गएका हुन्? त्यसको बारेमा प्रश्न उठिरहेका बेला एक स्रोतले दिएको जानकारी अनुसार ग्यान्सो मुस्ताङमा तिब्बती मूलका दलाई लामाका अनुयायीको डाटा संकलन गर्न गएका हुन्। ग्यान्सो र अमेरिकी राजदूतबीचमा भेटघाट भयो कि भएन भन्ने जानकारी भने प्राप्त भइसकेको छैन। अमेरिकी राजदूतको मुस्ताङ भ्रमणपछि भारतीय राजदूत राकेश सुदले पनि छिट्टै मुस्ताङको भ्रमण गर्ने कार्यक्रम छ। तर उनको भ्रमणको मिति भने गोप्य राखिएको छ।
लोमान्थाङनजिकैको चीनको सीमा ने चुङ–लेेभ्ये हो। विगतमा खम्पा विद्रोहमार्फत् स्वतन्त्र तिब्बतका लागि विद्रोह गरिएको यस ठाउँलाई चीनले संवेदनशील क्षेत्रका रूपमा लिएको छ। खम्पा विद्रोहका लागि त्यतिबेला निलगिरी हिमाल क्षेत्रलाई विशेष आधार बनाइएको थियो। खम्पा विद्रोहको ३४ वर्षपछि सोही ठाउँमा अमेरिका, फ्रान्स, जर्मनी र भारतीय टोलीको एकैपटक भएको भ्रमणलाई संयोग मात्र मान्न नहुने विज्ञहरूले बताएका छन्।
३४ वर्षअगाडिको चीन र अहिलेको चीनमा धेरै अन्तर आइसकेको छ। यतिबेला चीन आर्थिक र सैन्य हिसाबले सोझै अमेरिकालाई टक्कर दिने हैसियतमा खडा भएको छ। अबका १५–२० वर्षमा चीनले अमेरिकी अर्थतन्त्रलाई पछाडि पार्ने विश्लेषण हुँदै गर्दा चीनलाई आन्तरिक समस्यामा अल्झाइराख्न अमेरिका र पश्चिमा राष्ट्रहरूले तिब्बतको स्वतन्त्रता र मानवअधिकारको विषयलाई उठाउने गरेका छन्। त्यसका लागि नेपालजस्तो सानो र संक्रमणकालीन अवस्थामा रहेको गरिब मुलुकलाई उनीहरूले आफ्नो क्रीडास्थल बनाउँदैछन्, जसले नेपाल र चीनका बीचमा भएको असल मित्रतालाई दख्खल पार्न सक्छ। त्यसमा नेपाल सरकार चनाखो हुनु आवश्यक छ।
खम्पा विद्रोहको बेला अमेरिकाले काठमाडौंको स्युचाटारमा रेडक्रसको हेलिकप्टरबाट हतियार झार्ने र रसुवाको थम्बुचेत भएर निलगिरी (मुस्ताङ) पुर्याचउने गरेको थियो। काठमाडौंबाट ताप्लेजुङपूर्वको ओलाङचुङगोलासम्म हतियार वितरण गरिन्थ्यो। अहिले पनि नेपालका हिमाली भेगका जनतालाई प्रयोग गरेर चीनविरुद्ध विद्रोह गराउन सकिने आधार समाप्त नभएको निष्कर्ष पश्चिमाहरूको छ। नत्र अमेरिकी राजदूतलगायतले चीनको सीमासम्म जोडिएको मुस्ताङकै भ्रमण किन गर्नुपरेको? प्रश्न गम्भीर छ।














