Home विचार / दृष्टिकोण नारी दिवस र पुरुष

नारी दिवस र पुरुष

E-mail Print PDF
AddThis Social Bookmark Button

डा संजीव उप्रेती

यस पल्ट फेरी अन्तराष्ट्रिय नारी दिवस नजिक आएको छ। एक दशक अगाडी नारी दिवस कै उपलक्ष्यमा एक जना मित्रले भनेको सम्झन्छु - "यो नारी दिवसको उत्सवसंग हामी पुरुषहरुको के सरोकार? यो उनीहरुले नै मनाउने कुरा हो। अझ कति "फेमिनिष्ट" नारीबादीहरु त यस्ता उपलक्ष्यमा पुरुषहरुलाई शोषकदेखी लिएर अत्याचारी र सुकुलगुन्डाको उपनाम दिएर हाम्रो दोहली मात्र काड्छन। यस्ता उत्सवमा सहभागी हुनु भनेको आफ्नो अपमान आफै गराउन अघि सर्नु हो।" नेपालमा नारी हक र अधिकार बारे अन्तरक्रिया हुँदा समेत मैले यस्ता कुरा सुनेको छु। यस्ता अभिव्यक्तिहरुलाई पितृसतात्मक सोचको ठाडो प्रस्तुति भनेर अस्विकार गर्न मिल्दैन, बरु तिनको बैचारिक विश्लेषण गर्नु पर्दछ। आखिर नारी र पुरुष देखि तेश्रो लिंगी सम्मका कसैलाई पनि आफ्नो अपमान आफै खेप्न, सभा-समारोहहरुमा गाली सहेर बस्न पक्कै मन लाग्दैन होला। मानव प्रकृति नै कस्तो छ भने हरेकले आफ्नो प्रसंसा सुन्न चाहान्छ, आलोचनाबाट पर तर्किन खोज्छ। तर कुरो यहाँ व्यक्तिगत मान अपमानको भन्दा पनि ईतिहासको छ। मानव ईतिहासको प्रारम्भमा केहि समाजहरु मातृसत्तात्मक भएता पनि जंगलमा शिकार गर्दै हिड्ने फिरन्ते जीवन त्यागेर कृषिमा आधारित समाजहरु बिकसित हुन थालेदेखि संसार भरि नै सभ्यता र संस्कृतिहरु पितृसत्तात्मक रहदै आएका छन्। ति सबै समाजका नियम कानुनहरु प्राय सधै पुरुषले नै बनाउदै आएका र नेतृत्व पन्तिमा पनि धेरै जसो पुरुषहरु नै स्थापित भएका छन्। पाराम्पारिक समाजहरुमा पुरुषहरुले घर बाहिर गएर अर्थ आर्जन गर्ने, पैसा कमाउने काम गर्थे (अझै गर्छन) भने नारीहरुले घर भित्रका खाना पकाउने, लुगा धुने, बच्चाहरुको स्याहारसुसार गर्छन। पुरुषले घर बाहिर फ्याक्ट्री वा अफिसमा गरेको काम बापत "दाम" पाउथ्यो भने नारीले घरमा गरेको श्रमको कुनै दाम हुदैन थियो। अहिलेको आधुनिक समाजमा थुप्रै नारीहरुले घर बाहिर गएर काम गरि पैसा कमाउन थाले पनि अफिसबाट घर फर्के पछि घरको "दाम रहित" काममा पनि उत्तिकै जोतिनु पर्छ। यसकुराका अपवादहरु पक्कै छन् र कयौ पुरुषहरुले घरका काममा नारीलाई सघाउने पनि गर्छन। तर सामान्यतय प्राय गरेर कामको विभाजनको प्रकृति यस्तै देखिन्छ। यस कारणले गर्दा पनि परिवारको संरचना भित्र शक्ति सधै पुरुषकै हातमा रह्यो। त्यसैले गर्दा उनीहरु नारीको तुलनामा सामाजिक र सांस्कृतिक दृष्टिले पनि बढी शक्तिशाली भए। माक्सवादी चिन्तक फ्रेडरिक एन्जेल्सले एकपल्ट लेखेका थिए - परिवारको संरचना भित्र पुरुष यदि सामन्त हो भने नारी सर्बहारा।

 

समाजमा रहेको यसै किसिमको लैगिक असमान्ता बिरुद्द १९६० र १९७० को दशकमा पश्चिमी मुलुकमा नारीबादी आन्दोलन चर्कियो। यी दशकहरुमा नारीबादीहरुले पितृसत्ताको बिरुद्दमा थुपै लेखहरु लेखे, आधुनिक समाजमा नारीहरु किन पुरुषको तुलनामा पछि परेका छन् र यसरि पछि पर्नुका आर्थिक, राजनैतिक र सामाजिक कारकहरु के के छन् भनेर बुझ्न खोजे। ति दशकहरुमा पनि कयौ पश्यिमेली पुरुषहरुले भन्ने गर्थे। - "हामीले सधै यी नारीहरुको गाली मात्रै कति खेप्नु ? सधै पुरुषहरुले हामीलाई होच्याए, दबाए, बस्तुको रुपमा प्रयोग गरे, अत्याचार गरे, बलात्कार गरे भनेका छन्। आखिर हामी सबै अत्याचारी पनि होईनौ, बलात्कारी पनि होईनौ अनि सधै किन सुनिरहनु पर्यो यो फेमिनिष्ठारुको अविरल गनगन ?"

तर कुरा के छ भने नारी हक र अधिकारको कुरा सामाजिक न्यायका बृहत पक्षहरुसंग जोडिएको छ। कुनै समाजमा एक जना व्यक्ति माथि पनि अन्याय नहोस, सबैले जीवनका अवसरहरु खोज्ने बराबर मौका पाउन भन्ने हो। मानव समाजमा नारीहरु झैँ केहि बिशेष जाती र छालाका रंग भएका मानिस पनि उपेक्षित भएका छन्। औपनिबेशिक कालमा गोराहरूले काला खैराहरुलाई निम्न दर्जाको भनेर हेप्थे, नेपालमै पनि माथिल्लो जात भन्ठान्ने (खास गरेर पैसा भएका जात वालाहरु) ले अन्य जनजाती र आफ्नै जातका गरिबहरुलाई "तल" ठानेका कुरा पनि सत्य हो। मानव सभ्यताहरू प्राय सबै बिपरित लिंगी नियम अनुसार चल्ने हुदा समलिंगीहरुलाई पनि हेय दृष्टिले हेरियो। सपाङ्ग हरुले अपाङ्ग हरुलाई हेय दृष्टिले हेरेका छन्। यहि सामाजिक न्यायको आदेश प्रति सम्बेदनशील हुने हो भने नारी पुरुष दुबैले यी सबै किसिमका अन्यायहरु प्रति  साथसाथ र संगसगै लड्न तैयार हुनु पर्यो। आखिर अन्याय भनेको अन्याय नै हो। चाहे त्यो अन्याय बर्गीय होस् वा जातीय होस्, लैगिक होस् वा  होस् वा अरु कुनै किसिमको; अनि ईतिहासले "माथिल्लो" दर्जामा पुर्याएका सबैले (त्यो नारी,पुरुष, उपल्लो जाति भन्ठान्ने, सपाङ्ग जो पनि हुन् सक्छ) तल रहेकाहरुका "गनगन" वा तिनको असन्तोषका कुरा सुन्न अलि तैयार पनि हुनु पर्यो। अरुको कुरा सुन्न सक्ने क्षेमता ठुलो हो। यसले मानिसमा धैर्यको बिकास गर्छ। खास गरेर पुरुष, धनीमानी (त्यो नारी वा पुरुष दुवै हुन सक्छ), उपल्ल्लो जाती भन्ठान्ने  र सपाङ्ग हरुले सोच्नु पर्यो - "ईतिहासको प्रवाहले हामी सबैलाई समाजमा "माथिल्लो" ठाउहरुमा पुर्याएको छ। ईतिहासले अहिले सम्म हाम्रै आवाजमा बोलेको छ। तल परेका हरुको कुनै आवाज छैन, तिनलाई युगौ सम्म समाजले बोल्न दिएन, यदि बोलि हाले पनि तिनका आवाज ईतिहासको पन्नामा लेखिएन, तिनको आवाजलाई समाजले सधै गनगन कै रुपमा मात्रै लियो। त्यसैले यदि अहिले तिनीहरु बोली रहेका छन् भने हामी केहि बेर चुप लागौ र तिनका कुरा सुन्न धैर्यताको बिकास गरौ।

 

तर यसको साथसाथै एउटा अर्को कुरा पनि छ - १९७० को दशकको नारीवादी आन्दोलनले सामाजिक न्याय प्राप्तिको निम्ति नारीहरु संगठित हुनु पर्छ भन्ने आवाज उठायो भने 1९ ८ ० को दशक यता भने उक्त न्याय प्राप्ति निम्ति नारी मात्र नभई नारी र पुरुष दुवै साथसाथै लाग्नु पर्छ भन्ने तर्क बलियो हुदै आएको छ। अझै पनि विश्व भरि नै राजनैतिक, सामाजिक र आर्थिक संगठन र संस्थाहरुमा पुरुषहरु नै प्राय जसो नेतृत्व पंतिमा रहेका हुनाले सामाजिक न्यायको निम्ति नारीले आफै मात्र लडेर हुदैन, त्यसमा पुरुषको पनि साथ चाहिन्छ भन्ने बिचार "जेण्डरको अध्यान" को साथै बिकसित हुदै गएको छ। मुख्य बुझ्नु पर्ने कुरा के छ भने यो पुरुष बिरुद्ध नारीको संघर्ष होईन, अनि पुरुषलाई गाली गरेर मात्र पनि नारीको समश्या समाधान हुने छैंन। यो त एउटा विचार बिरुद्धको युद्ध हो। अन्यायको सिद्धान्त बिरुद्धको युद्ध हो।

 

पितृसत्ता एउटा बिचार हो। यस बिचारले नारीलाई मात्र होइन पुरुषलाई पनि उत्तिकै पिरोलेको छ। यस्तो बिचारले भन्छ - पुरुषहरु नारी बिपरित शक्तिशाली हुनु पर्छ, पुरुषले परिवारको निम्ति आर्थिक आर्जन गर्न सक्नु पर्छ, अनि जति सुकै दुख परेता पनि रुनु हुदैन किनकी रोएमा पुरुष "आईमाई जस्तो नामर्द" बन्न पुग्छ। तर हामी सबै पुरुषले एकछिन ईमान्दार भएर सोचौ त - के हामी जीवनका सबै पलहरुमा उत्तिकै साहसी, बहादुरी, आक्रामक र शक्तिशाली भैरहेका हुन्छौ त? उमेर ढल्कदै गए पछि नारीको झैँ पुरुषको पनि शारीरिक शक्ति घट्छ, कुनै रोगले च्याप्दा पनि शक्ति घट्छ। शक्ति घटेको बेला साहस पनि केहि न केहि घटेकै हुन्छ। त्यसो भए बुढो हुँदा वा बिरामी हुदाको पुरुष युवावस्थाको पुरुष वा निरोगी हुँदाको पुरुष भन्दा "कम मर्द वा "बडि नामर्द" हुन्छ होला त?

 

केहि बर्ष अगाडी एउटा समाचार प्रकासमा आयो - भारतका पश्चिमी प्रान्तका केहि गरिब किसानहरुले आत्महत्या गर्न थाले रे। किसानहरु सार्है गरिब थिए. दुई बर्ष लगातार पानी परेन, बाली उब्जेन, बैकको ऋण तिर्न सकिएन, खेत बेच्ने स्थिति आयो। यस्तो अबस्थामा कयौ गरिब पुरुष किसानहरुले आत्महत्या गरे। तर प्रश्न उठ्छ - आर्थिक मार त ति किसानका श्रीमतीहरुलाई पनि उत्तिकै परेको थियो तर तिनले किन आत्महत्या गरेनन, किन पुरुषले मात्र आत्महत्या गरे? उत्तर के भने छ पितृसत्तात्मक सोचले पुरुषलाई नै आर्थिक उपार्जन गर्नु पर्छ, परिवारको आर्थिक अबस्थालाई सुरक्षित पारेर राख्नु पर्छ भन्ने सिकाएको छ। यदि कुनै पुरुषले आफ्नो परिवारलाई आर्थिक सुरक्षा दिन सकेन, परिवारलाई खुवाउन पियाउन सकेन भने पितृसत्तात्मक शब्दावालीमा उक्त पुरुष "नामर्द" भनेर कहलाउँदछ। पछि उक्त केस बारे भएको अनुसन्धानले यस्तो पनि देखायो, परिवारको निम्ति पैसा कमाउन नसकेर "नामर्द" भयौ कि भन्ने सोचले आत्तिएका ति गरिब किसान मध्य कतिले त्यहि चिन्ताले गर्दा यौन क्षमता समेत हराउदै गएछन। अर्को शब्दमा भन्दा आर्थिक नामर्दिपनको चिन्ताले यौनिक नामर्दीलाई समेत निम्त्याउन थालेछ। अब परेन फर्साद; कि त संसारको नजरमा नामर्द भएर बाच्नु पर्यो कि त झुन्डिएर मर्नु पर्यो। त्यसैले मर्द हुनुका थुप्रै फाईदा भएता पनि मर्दका आफ्नै समस्याहरु पनि छन्। कति अबश्थामा कयौ पुरुषलाई मर्द हुनुको बोझले छातीमा राखेको ठुलो ढुंगाले जस्तै थिचेर पनि राख्छ। तर मर्दले रुनु हुदैन भनेर सिकाएको छ। त्यसैले मर्दलाई छातीमाथि ढुंगा राखी हाँस्नु पर्ने बाध्यता छ।

 

पितृसत्ताको संरचनाबाट उब्जिएका यी पुराना सोचका पर्दाहरुलाई संगसंगै मिलेर च्याते पछि मात्र नारी र पुरुष दुवै साथसाथै मुक्त हुन सक्छन। सायद त्यसपछि उनीहरु एक अर्काका निम्ति श्रीमान श्रीमती वा केटासाथी वा केटीसाथी मात्र नभएर सच्चा साथीहरु पनि हुन सक्छन। संसारमा सबैभन्दा माथीको पबित्र सम्बन्ध मित्रताको सम्बन्ध हो। त्यस पछि मात्र उनीहरु वास्तबमै एक अर्काका मित्र हुन सक्छन। आर्थिक उपार्जन गर्ने काम पुरुषको मात्र होईन, परिवारको गाडीलाई संगै मिलेर अगाडी गुडाउन चाहिने पैसा दुवै मिलेर आर्जन गरौ, अथवा स्थिति अनुसार जसले सकिन्छ उसले गरौ भन्ने बिचार लिएमा नारी र पुरुष दुवै स्वतन्त्र हुन सक्छ्न। त्यसतै गरेर घरको काम नारीको जिम्मा मात्र होईन, खाना पकाउने देखि लिएर बच्चाको स्याहार सुसार गर्ने काम पुरुषको पनि हो भनेर सोचेमा सायद दुई बिचको सम्बन्ध झन् प्रगाड र सुमुधुर हुन सक्नेछ। दुबैका शारीरिक बनावट फरक छन्, यौनाङ्गहरु फरक छन, शरीरका केहि हर्मन हरु पनि फरक छन्। तर ति फरक हरु भन्दा तिनका समानता बडी छन्। नारी र पुरुष दुवै एउटै भाषा बोल्छन, एउटै  समाजमा बस्छन र सबै भन्दा ठुलो समानता त दुवै मानव हुन। दुवै बिचको जैविक र यौनिक असमानता पक्कै छ, तर मानव हुनुको यथार्थले सिर्जित समानता झन् ठुलो छ। पुरुषहरु मंगल ग्रहबाट र नारीहरु बुध ग्रहबाट आएका होईनन, दुवै यस पृथ्वीकै निवासी हुन। एकले अर्कालाई हेर्दा वा आपसी ब्यबहार गर्दा त्यो पुरुष हो वा नारी हो भन्ने तथ्य बिर्सनु पर्छ भनेको होईन। तर नारी, पुरुष जो भएता पनि म सरहकै मानव हो तथा म सरहकै जीवनका अवसर उसले पनि पाउनु पर्छ भन्ने चेतनाको बिकास गर्ने कुरा हो। १०२ बर्षको अर्न्तर्राष्ट्रिय नारी दिवसको ईतिहासले यस किसिमको चेतनाको बिकास गर्दै नारीहरुको हक अधिकारको लागि आवाज उठाएर संसारमा नै परिबर्तन ल्याएको ईतिहास साक्षी छ। यस किसिमको चेतनाको बिकास हुन सकेमा "नारी दिवस" नारीको मात्र दिवस रहने छैन,  यो  महत्वपूर्ण दिवस पुरुषको पनि दिवस हुनेछ।

 

Latest News