तमूवानमा फर्फराउँदै छ विद्रोहको झण्डा

Print
AddThis Social Bookmark Button

कृष्ण बहादुर तामाङ

एक भाषा, एक धर्म, एक नीति, एक कर्मकाण्ड, एक चाड–पर्व र संस्कार संस्कृतिजस्तो असमान व्यवहार र नीति हिन्दू आर्यन बाहुन–क्षेत्रीहरूले नेपालका अहिन्दू मूलवासी मंगोल समुदायमाथि जबरजस्ती लादेको र आफ्नो इतिहास र भूगोल भएको राज्य खोसेका कारण अहिले आएर आफ्नै भूमिमा उपेक्षित भएको महसुस गर्दै तमुवान क्षेत्र मुस्ताङ, मनाङ, गोरखा, लमजुङ, कास्की, पर्वत, स्याङ्जा र तनहुँका तमूलगायत मंगोल समुदायका हजारौँ युवा–युवतीहरू आफ्नो समुदायको अस्तित्व र पहिचानको खोजी गर्दै मंगोल डेमोक्रेटिक पार्टीमा प्रवेश गरिरहेका छन् ।

नेपालमा लामो समयदेखि मूलवासी मंगोल समुदाय र हिन्दू आर्यन बाहुन–क्षेत्रीहरूबीच द्वन्द्वहरू भइरहेको इतिहास छ । ती द्वन्द्वहरू कुनै भौतिक त कुनै वैचारिक रूपमा भइरहेको हो । यसरी विभिन्न रूपमा विकास हुँदै आएका द्वन्द्वहरू विशेषगरी आफ्नो मौलिक राज्यमा प्रवेश गरेका हिन्दू आर्यन बाहुन–क्षेत्रीहरूले आफ्नो राज्य खोसेपछि त्यस ठाउँका मूलवासी मंगोल समुदायको भाषा, धर्म, संस्कार, संस्कृति, चाडपर्व र रीति–थीतिका साथै आफ्नो ऐतिहासिक थातथलोको सामजिक मूल्य मान्यतामाथि प्रत्यक्ष रूपमा प्रहार भएपछि हिन्दू आर्यन बाहुन–क्षेत्री र अहिन्दू मूलवासी मंगोल समुदायबीच समय–समयमा द्वन्द्वहरू हुने गरेको छ ।

प्राचीन कालदेखि मानव समुदायको विकासक्रमले निरन्तर रूपमा विभिन्न युगहरू पार गर्दै आइरहेको देखिन्छ । ढुंगे युगदेखि कृषि युग हुँदै अहिलेको औद्यागिक युगसम्म आइपुग्दा मानव समुदायले आफ्नो समुदाय र समुहसँग बस्ने अभ्यास गरिसकेको छ । त्यसैले यो युगसम्म आउँदा एउटा वर्ग वा समुदायको राज्य स्थापित हुँदै आयो । यसरी घुमन्ते–फिरन्तेदेखि विकास भएको मानव समुदायको जीवन आफ्नो उदगमस्थल छोडेर नयाँ–नयाँ ठाउँहरूमा पुगे । यसैगरी तमूहरूले हालको कास्की र लमजुङको सीमानामा पर्ने क्होंलामा समानता र सामुहिकताको व्यवहार अनुसारको राज्य स्थापना गरी अन्तिम पटक राजकाज चलाएको इतिहास पाइन्छ । क्होंलामा तमूहरूको राज्य हुन्जेलसम्म गण्डक प्रदेश वा तमुवान राज्यमा तमूहरू बाहेक अन्य कुनै पनि समुदायको बस्ती थिएन । समग्रमा गण्डक प्रदेश नै तमुहरूको रस्ति–रसाई, बस्ती–बसाई थियो । क्होंलामा आफ्नो परम्परागत राजनीतिक राज्य व्यवस्थाको राज्य विघटन भएपछि अझै त्यस वरिपरिका ठाउँहरूमा गाउँ बसाली राज्य संचालन गरेको इतिहास पाइन्छ । यसको उदाहरणको रूपमा लिगलिग राज्य गोरखा, पोंचुको राज्य लमजुङ र चुली क्हयाल्सा कास्की सिकलेस हुन् ।

त्यसैगरी अन्य नौ थुम राज्यहरू पनि थिए, यी राज्यहरू पनि अघि क्होंला आउँदासम्मको जस्तै आफ्नो मालिक क्रहोत्होको अगुवाई, पच्यू, कल्हेप्रीको पु¥यात्याई, म्हिनको सुरक्षा व्यवस्था र नियन्त्रण, म्हिउरे चुपकी जाँचबुझ, हेरचाह, दिन ल्हेका दिन–बार छुट्याउने ज्ञान र उपिङग्योपा (आमाहरू) को सीप–कौशलको आधारमा बनेको सामाजिक संरचना थियो । यसले आफ्नै मौलिक र इतिहास अनुसारको जातीय विश्वास, रीति–थीति, परम्परा आदान–प्रदान, संस्कार, संस्कृति र सामाजिक मूल्य–मान्यता भएको राजनीतिक व्यवस्थाको विकास गरेको थियो । विशेषगरी गोरखा, लमजुङ र कास्कीमा बाहिरबाट आएका हिन्दू आर्यन बाहुन–क्षेत्रीको सम्पर्क भएपछि तमुहरू तितर–बितर भए । छुट्टिने र फुट्ने क्रम बढेपछि तमूहरू सारा गण्डक प्रदेशभरि फैलिए । जसले गर्दा पछि आएका हिन्दू आर्यन बाहुन–क्षेत्रीको सामाजिक व्यवहारबाट तमु समुदाय नराम्रोसँग प्रभावित भयो । अन्तिम पटक क्होंला राज्यको विघटन भएपछि तमूहरूलाई हिन्दू आर्यन बाहुन–क्षेत्रीहरूले चार र सोह« जातमा विभाजन गरी फुटाए । क्होंला राज्यको विघटनसँगै सबभन्दा पहिला तमू समुदायमा हिन्दू आर्यन बाहुन–क्षेत्रीको प्रभाव परेको देखिन्छ । कालान्तरमा गएर त्यही प्रभाव नै सिंगो तमू समुदायका निम्ति अभिशाप बन्न पुगेको छ । एक अध्ययनले तमूहरू कहोंलामा आजभन्दा करिब १२ सय वर्षअघि बसोबास गरेको देखिन्छ ।

नेपालको इतिहासमा हिन्दू आर्यन बाहुन–क्षेत्रीको नेपाल प्रवेशसँगै यहाँको मूलवासी मंगोल समुदायको इतिहास ओझेलमा परेको देखिन्छ । यहाँ हिन्दू आर्यन बाहुन–क्षेत्रीको प्रवेश हुनुअघि र एक जाति, एक भाषा, एक धर्म, एक संस्कार, संस्कृति र एक चाड–पर्वको अवधारणा आउनुअघि पश्चिममा मगरात, गण्डकमा तमु, पूर्वमा खम्बुवान, लिम्बुवान आदि राज्यको संस्थागत रूपमा विकाश भइसकेको धेरै वर्ष भएको थियो । पछि यिनै जातीय राज्यहरूलाई हराएपछि हिन्दू आर्यन बाहुन–क्षेत्रीहरूले हरेक क्षेत्रमा आफ्नो सामन्ती र बाहुनवादी नीति अपनाए । जसले गर्दा ती जातीय राज्यहरूमा मात्र नभई, अन्य जातिहरूमा पनि नराम्रो प्रभाव प¥यो । सबै भन्दा पहिले यी हिन्दू आर्यन बाहुन–क्षेत्रीहरूले तमुवान क्षेत्रमा आफ्नो विजय सुनिश्चित गर्नका लागि यहाँका तमूहरूमा विभाजन ल्याए । यी हिन्दू आर्यन बाहुन–क्षेत्रीहरूले पहिला जाति वा समुदायलाई विभन्न नाममा विभाजन गराएपछि गाउँ, ठाउँ, खोला–नाला, हिमाल, पहाड, तराई र भन्ज्याङजस्ता स्रोत–साधन आदिको मौलिक नाम परिवर्तन गरी जबरजस्ती हिन्दू आर्यन खस भाषा अनुसार नामाकरण गरे । मूलवासीहरूको भाषा, धर्म, संस्कार, संस्कृति, चाड–पर्व र लवाई–खवाई सबैलाई ओझेलमा पार्दै आफूअनुकूल हिन्दूकरण गर्दै लगे । यसरी तमुवान राज्य प्रदेशका तमूहरूको विभाजन सँगसँगै यहाँको प्राकृतिक स्रोत–साधनको नामलाई हिन्दूकरण गरी तमुसमुदायको ऐतिहाकि पहिचान नष्ट गरिएको थियो । अझै पनि हिन्दू आर्यन बाहुन–क्षेत्रीहरू पुग्न नसकेका ठाउँहरूको नामाकरण तमू भाषामा नै पाइन्छ ।

जातीय राज्यमा स्वायत्तता, स्वशासन र आत्म–निर्णयको अधिकार हुनुलाई भाषाले पनि ठूलो भूमिका खेलेको हुन्छ । तमूहरूले हिन्दू आर्यन बाहुन–क्षेत्रीको आगमन हुनुभन्दा पहिला आफ्नो भाषामा भएको, तर यिनीहरूको आगमन भएपछि गुमेको ती गाउँ, घर, ठाउँ, नदी–नाला, पाखा–पखेरो, पहाड र हिमाल आदिको नाम पहिलेको जस्तै तमु भाषामा नै लेख्न पाउनुपर्छ, बुझ्न पाउनुपर्छ । तर यसका लागि आफूलाई दिएको कृत्तिम, नाम, थर वा जात पनि छोड्नुपर्छ, हाम्रो ठाउँको नामहरू पहिलेको जस्तै हाम्रो आफ्नै भाषामा हुनुपर्छ । हिन्दू आर्यन बाहुन–क्षेत्रीको आगमनपछि चुलिलाई सिकलेस बनाइयो, न्तोतिलाई ताङतिङ, कोटलाई घान्द्रुक, ङक्होलालाई आर्मला, पोंचुलाई घनपोखरा, क्लिनुलाई गिलुङ, पचुलाई पास गाउँ बनाइयो । यी सबै पछि बनाइएका हिन्दू भाषाका नामहरू अब हाम्रो आफ्नै भाषामा हुनुपर्छ । नामहरूले नै कुनै समुदाय र समुहहरूलाई फुटाउन र जुटाउन सक्छ । भाषा हामी नेपालका मूलवासीहरूको संस्कृतिको संबाहक हो । यसले कुनै पनि जाति वा समुदायको इतिहासको घटनाक्रमदेखि लिएर उनीहरूको संस्कार, संस्कृति, राज्यमा उनीहरूको पहुँच र अधिकारसम्मको पहिचान गराउँछ । कुनै पनि विषय–वस्तुका नामहरूमा भाषिक परिवर्तन र भाषिकीकरण भएमा त्यसभित्र सामाजिक नामहरूमा द्वन्द्व हुन सक्छ । जसले समाजलाई एकता र अनेकता दुवै बनाउनमा मद्दत गर्छ ।

यी माथिका विषय–वस्तु मात्र नभई यहाँका मूलवासी मंगोल समुदायलाई हिन्दू आर्यन बाहुन–क्षेत्रीले आफ्नो संस्कार, संस्कृति, परम्परा, धर्म आदि पनि जबरजस्ती रूपमा लादिदिएका छन् । दशैँ, तिहारजस्तो हिन्दू आर्यनहरूको चाड–पर्वलाई राष्ट्रिय चाड–पर्व बनाएर मनाउन लगाई महिनौँ सरकारी कार्यालयको काम–काज, व्यवहारहरू बन्दा गराइनु, दशैँ, तिहार, तीजजस्ता हिन्दू धर्मको मूल्य–मान्यतामा आधारित चाड–पर्वहरू आउनु दुई–तीन महिना अगावैदेखि खासगरी सरकारी, संचार माध्यमबाट यसको भजन, कीर्तन, कथा, गीतहरू सुनाउने, स्कूल, प्रहरी चौकी, व्यारेक र अन्य सरकारी कार्यालयहरूमा हिन्दू धर्म अनुसारको मठ–मन्दिरहरू बनाइनु यी सबै हिन्दूकरणका उदाहरणहरू हुन् । त्यसैले अबको तमुवान प्रदेशलगायत नेपाल राज्यमा भएका यी असमान किसिमका सामाजिक, विभेद र मूल्य–मान्यताहरूलाई हटाई सबै समुदाय, भाषा–भाषी र धर्मावलम्बीहरूको हैसियतलाई समान किसिमले लैजान यहाँका मूलवासी मंगोल समुदायले पनि यो राज्य सबैको हो भन्ने ज्ञान दिन–दिलाउनका लागि सबैले आफ्नो पहुँचलाई माथि उठाउनुपर्छ । रोबोट चेम्बसले भनेजस्तै समाजमा पछाडि परेका वर्ग, लिंग वा समुदायलाई अगाडि राखेर समाज विकासको परिकल्पना गरिनु पर्छ । राष्ट्र वा समाजमा भएका हरेक पहुँचबाट वञ्चित नेपालका मूलवासी मंगोल समुदायलाई अगाडि नराखेसम्म समाज विकासले गति पाउन सक्दैन । नेपालका मंगोल समुदाय यहाँका मूलवासी हुन जसलाई हिन्दू आर्यन बाहुन–क्षेत्रीको आगमन भएपछि उनीहरूले सबै क्षेत्रमा हस्तक्षेप गरेका कारण पछाडि परेका छन् । जो अहिले मंगोल डेमोक्रेटिक पार्टीको स्थापना गरी राज्य–सत्ता कब्जा गर्ने लक्षसहित आफ्नो अस्तित्व र पहिचानका लागि संघर्ष गरिरहेका छन् ।

हिन्दू आर्यन बाहुन–क्षेत्रीहरूले जबरजस्ती रूपमा नेपालका मूलवासी मंगोल समुदायमाथि हिन्दू आर्यन भाषा, धर्म, संस्कृति र चाड–पर्वजस्तो अति जातिवादी र अतिवादी व्यवहारहरू लादेर मूलवासी मंगोल समुदायलाई आफ्नो भूमिमा मालिक हुनबाट वञ्चित गराउने र इतिहास नै नामेट गर्ने तरिकाले नीति–नियमहरू बनाइरहेका छन् । सबै समुदाय र भाषा–भाषीहरूले राज्यमा बराबरी हैसियत पाउनुपर्छ भन्ने यहाँका मूलवासी मंगोल मसुदायको भनाइ छ । हिन्दू आर्यन बाहुन–क्षेत्रीहरू अहिले पनि नेपालका मूलवासी मंगोल समुदायलाई फुटाउनका लागि जोडदार रूपमा लागि परेका छन् । आफ्नै भूमिमा राज्य गरी बसेका तमू समुदायलाई १४औँ शताब्दीपछि मात्र नेपाल भित्रिएका हिन्दू आर्यन बाहुन–क्षेत्रीहरूले विभिन्न प्रलोभन र षड्यन्त्र गरी आफ्नो नीति–नियमभित्र बसाउन सकेको हो । त्यसअघि मनाङ, मुस्ताङ, कास्की, लमजुङ र गोर्खाका विभिन्न ठाउँहरूमा तमू समुदायको गणराज्य र कोटहरू थिए । अहिले पनि मनाङ, मुस्ताङजस्ता तमुवान राज्यको हिमाली क्षेत्रहरूमा हिन्दू आर्यन बाहुन–क्षेत्रीहरू सरकारी कामकाजले मात्र बसोबास गर्ने गरेका छन् । ती ठाउँका नामहरू अधिकांश त्यहाँको पुरानो मौलिक भाषामा नै रहेको छ । अहिले तमूवान स्वायत्त प्रदेश मुस्ताङ, मनाङ, गोरखा, लमजुङ, कास्की, पर्वत, स्याङ्जा र तनहुँका तमु समुदाय लगायत मंगोल समुदायका हजारौँ युवा–युवतीहरू मंगोल डेमोक्रेटिक पार्टीमा आबद्ध भइरहेका छन् ।