HongKongNepali.com, The Next Media

Thursday
May 25th
Home विचार / दृष्टिकोण एनआरएन अभियानको नयाँ चुनौति र अवसर

एनआरएन अभियानको नयाँ चुनौति र अवसर

E-mail Print PDF
AddThis Social Bookmark Button

गैरआवासीय नेपाली संघ स्थापना भएको दशक पूरा भइसकेको छ । रहर, बाध्यता र सम्भावनाको खोजीमा विश्वको विभिन्न कुनाकन्दरा पुगेका नेपालीहरुलाई एउटा साझा छहारी दिने उद्देश्यले सन् २००३ मा स्थापना भएको संघ बल्ल दर्ता हुने भएको छ । यो सबैको खुसीको कुरा हो । त्यसैले यतिबेला भारत आर्थिक संकटमा फसेका बेला विश्वभर रहेका एनआरआईहरुले देखाएको अग्रसरतालाई समयमै ‘क्लिक’ गर्ने भिम उदास र त्यसलाई आफ्नो नेतृत्व र व्यक्तित्वका कारण विश्वभर विस्तार गर्न सफल संस्थापक अध्यक्ष डा। उपेन्द्र महतोलाई स्मरण गर्नैपर्छ । 

रुसको राजधानीस्थित नेपाली दूतावासको सानो हलबाट सल्केको नेपालित्वको भावनाले मूर्त आकार ग्रहण गरेको छ । त्यसलाई निर्णायक विन्दुसम्म ल्याउने श्रेय निर्वतमान हुन लागेका अध्यक्ष जीवा लामिछानेले प्राप्त गरेका छन् । यो लामिछानेलाई भाग्यले दिएको किमार्थ होइन, यो अभियानको आरम्भबाटै निरन्तरको सक्रियता र नेतृत्व र अभियानप्रतिको निष्ठाको प्रतिफल हो । संस्था दश वर्षसम्म दर्ता हुन नसक्नु र लामिछाने कार्यकालमै आएर दर्ता प्रक्रियाले आकार ग्रहण गर्नु उनको शालीन र भद्र व्यक्तित्व र सबैको भावना बुझेर अघि बढ्ने क्षमता नै हो ।

सन् १०९८ तिरको कुरा हो । जतिबेला हामी इन्टरनेट सञ्जालमा नेपाली भाषा प्रवेश गराइरहेका थियौ । त्यतिबेला नेपालीहरु विश्वको विभिन्न कुनामा पुगे पनि उनीहरुलाई एकताको सूत्रमा बाँध्ने वा संगठन गर्ने कुनै माध्यम थिइन । थियो त कम्प्युटर सिस्टमले नबुझ्ने नेपाली भाषामा लेखिने कथा र कविताहरु । त्यतिबेला कुनै एक देशबाट अर्को देशमा रहेका नेपालीसँगको सम्पर्क सेतुको काम यस्तै कविता र कथाहरुले गरिरहेका थिए । सन् २००१ तिर आइपुग्दा नेपालीहरु कथा कविताबाट नेपाली भाषामै समाचार पढ्न सक्ने भए । नेपालीहरुको सञ्जाल विस्तार हुँदै समाचार नै नेपालीमा चाहिने अवस्था आयो । त्यसैले विभिन्न देशबाट नेपाली भाषाका अनलाइनहरु सुरु भए । त्यति नै बेला भारतमा एनआरआईको सम्मेलन हुनु संयोग मात्र थिएन । त्यसलाई बेलैमा क्लिक गर्नु पनि महत्वपूर्ण थियो, जुन रुसमा रहेका नेपालीहरुले गरे । अहिले नेपाली लिपी युनिकोडमा प्रवेश गरेपनि विश्वको कुनै पनि कुना दुरीविहीन बनेको छ । त्यसैले एक दशक नै सही गैरआवासीय नेपाली संघले पनि एउटा ठोस आकार ग्रहण गर्ने चरणमा प्रवेश गरेको छ ।

विदेशमा नेपाली

चालीसको दशकपछि नेपालीहरु विदेशिने क्रम ह्वात्तै बढेको हो । देशका कुनाकाप्चाबाट राजधानी आउँदा त स्थापित हुन गाह्रो छ भने भाषा, संस्कृति, ऐनकानुन सबै फरक भएका देशमा पुगेर नेपालीहरुले स्थापित हुन कम्ति पसिना बगाएका छैनन् । विदेशमा दोस्रो वा तेस्रो दर्ताको नागरिकका रुपमा व्यवहार सहेरै पनि उनीहरु स्थापित भएका छन् र कति हुने क्रममा छन् । देशमा उद्योग, कलकारखाना, व्यवसाय फस्टाउनुको साटो बन्द हुने क्रम चलिरहेकै बेला विदेशिका नेपालीहरुकै कारण अहिले पनि धेरै परिवार पालित छ । अर्थतन्त्रको मेरुदण्ड नै रेमिटान्स बनिरहेको छ । तर, त्यो रेमिटान्स भित्राउन बगाएको श्रम र पसिनाको तुलना गर्ने हो भने कुनै मूल्य छैन । तैपनि विदेशमा नेपालीले पसिना बगाउन छाडेका छैनन् । त्यो अपवाद रहर होला अन्यथा सबै बाध्यताको उपज हो । अहिले गाउँसहरमा हेर्ने हो भने बलेको चुल्हो र बालबालिकाले अर्जन गरेको शिक्षामा सातसमुद्र पार बगेको पसिनाकै सुवास आउछ । तैपनि विदेश जानु रहर वा बाध्यता जे भए पनि अहिले जुन लर्को छ त्यो नेपालको दीर्घकालीन विकासका लागि भने घातक नै हुनेमा शंका छैन ।

एनआरएन र आशाको पहाड

भारत, चीन, श्रीलंका आदि मुलुकमा गैरआवासीय अभियान आर्थिक लगानीबाटै सुरु भएको थियो । त्यसैले नेपाली गैरआवासीय एनआरएन अभियानको सुरुवाती चरणमा आर्थिक लगानीकै कुरा बढी भए । अझ नेपालमा नाता उद्योग मन्त्रालय र उद्योग वाणिज्य महासंघसँग जोडिएकाले पनि त्यसले बल प्राप्त गरेको हुनुपर्छ । सीप, ज्ञानको लगानी अर्थात बौद्धिक लगानीको कुरा धेरै पछि मात्र उठ्यो । त्यसैले द्वन्द्वको चपेटामा रहेका नेपालीहरुले पनि गैरआवासीय नेपालीहरुलाई सुरुमा ‘डलरले भरिएको बोरा’ कै रुपमा लिए । त्यसमा अहिले केही कमी आइसकेको छ । राज्यले पनि आर्थिक लगानीकै पक्षलाई मियो मान्यो । नेपाली एनआरएनको इतिहास लामो नभए पनि केही नेपालीले आफ्नो लगन र प्रतिभाका कारण थेरथोर पूँजी जुटाएकै थिए । राज्यले आकारको पूँजी सबैमा छ भन्ने भ्रम पाल्यो । नेपाली मिडियाले पनि गैरआवासीय अभियानलाई आर्थिक पृष्ठमा स्थान दियो । जुन अहिले पनि कायमै छ । एनआरएन अभियानमा भएको मुख्य गल्ती यही हो । गल्ती जसले गरेको भए पनि त्यसले गर्दा एनआरएन अभियानलाई केही भ्रम, केही अन्योल र अनिश्चयमा राख्यो । त्यसलाई चिर्न दशक समय खर्चनु परेको हुन सक्छ ।

गैरआवासीय नेपाली संघ

गैरआवासीय नेपाली संघलाई बुझ्ने पनि आआफनै दृष्टिकोण थिए र अहिले पनि त्यो कायमै छ । कतिले यसलाई ‘पूँजीपतिहरुको संगठन’ पनि भनेका छन् । कतिले ‘सबैको साझा’ पनि भनेका छन् । तर, गैरआवासीय नेपाली अभियानका अगुवाहरुले अझै पनि बुझाउन नसकेको यो अरु संस्थाजस्तो ‘प्राविधिक’ विषय मात्र यो होइन भन्ने हो । किनभने गैरआवासीय नेपाली अभियान विशुद्ध एउटा संस्था मात्र होइन, यो एउटा क्लव जस्तो मात्र पनि होइन । यो भावना हो । घरदेश छोडेर परदेशिएपछिको एउटा अभिव्यक्ति हो । यसलाई अन्य संस्थाजस्तै संस्थाको रुपमा मात्र लिने हो भने अभियानको आयु लामो नहुने निश्चित छ । यो अभियानको आयु कम हुनु भनेको कुनै व्यक्ति वा समूहको मात्र होइन सिंगो मुलुककै विकासमा धेरथोर असर पार्नेछ । त्यसैले नेतृत्वमा रहेका र लिन चाहने अगुवाहरुले यसतर्फ सोच्नु आवश्यक छ ।

भिम उदासको दिमाग चिमोट्ने र डा। महतोको व्यक्तित्व र सक्रियताको प्रभावमा विस्तार भएको गैरआवासीय नेपाली अभियान बल्ल अब सुरु भएको छ । अहिलेसम्म जोजस्ले जुनसुकै स्वार्थ राखेर वा नराखीकन अभियानमा लागे पनि मन, बचन र कर्मले लाग्ने समय बल्ल आएको छ । त्यसैले कुनै समय मस्कोस्थित दूतावासको सानो हलमा सुरु भएको अभियानलाई जीवा लामिछानेसम्मको अगुवाले सोल्टी होटलको ठुलो हलसम्म ल्याइपुराएको मात्र छन् । अब चुनौतिहरु थपिएको छ । अवसरहरुको ढोका खुलेको छ । तैपनि मियो त भिम उदास र डा। महतोहरुको पदचाप इमान्दारिताका साथ पछ्याउने बेला बल्ल आएको छ । यो घडीमा राजधानीमा भेला भएका गैरआवासीय नेपालीहरुले पनि यसलाई एउटा विशुद्ध संस्थाका रुपमा मात्र बुझ्नु गलत हुनेछ ।

नयाँ नेतृत्वको कुरा

गैरआवासीय अभियान यहाँसम्म आइपुग्दा मुख्यतः तीन जना व्यक्तित्वको नेतृत्व पाएको छ । डा। उपेन्द्र महतो, देवमान हिराचन र जीवा लामिछानेले अहिलेसम्म संघको नेतृत्व गरेका छन् । यी तीनै जना व्यक्ति गैरआवासीय नेपाली संघका संस्थापक हुन् । मन, बचन र कर्मले यो अभियानलाई शिखर चढाउन भगिरथ प्रयास गरेका व्यक्तित्व हुन् । डा। महतोलाई एक कार्यकाल जबरजस्ती अध्यक्ष बनाएर जिम्मेवारी दिइयो । अर्को कार्यकाल हिराचनले सम्होलेपछि केही जबरजस्ती गरे पनि नेतृत्व लामिछानेको काँधमा आयो । लामिछाने कार्यकालको समीक्षा अलग्गै गर्न सकिन्छ । तैपनि सामूहिक लगानीको पहल र मध्यपूर्वका नेपालीहरुको समेत पूर्ण सहयोग लिएर संघलाई कानुनी रुपमा दर्ता प्रक्रियासम्म ल्याउनु काम भएको छ । लामिछानेले उम्मेदवारी घोषणा गर्दा पनि यही कुरा उल्लेख गरेका थिए, जुन पूरा भएको मान्न सकिन्छ । वा सुरु भएको छ, त्यो पूरा गर्ने काम आगामी नेतृत्वले गर्नुपर्नेछ । उनको शालिन र भद्र स्वभावसहित उम्मेदवारी घोषणासँगै आफू एक कार्यकालमा लागि मात्र अध्यक्ष हुने घोषणा पूर्ण इमान्दारिताका साथ पूरा गर्नु पनि अर्को उपलव्धी हो । बरु राजधानीमा भेला भएका गैरआवासीय नेपालीहरु देशविदेश घुमेर धेरै कुरा जानेकाले दर्ता भएको संघको अध्यक्ष लामिछानेलाई नै बनाउने उदारता देखाए सुनमा सुगन्ध हुने हो । तैपनि यो केही प्राविधिक विषय हुन सक्छ, जुन संघका सदस्यहरुको विवेकले गर्ने निर्णय हो ।

संघमा राजनीति

मेरो बुझाईमा गैरआवासीय नेपाली संघ अरु संघजस्तै संघ होइन । त्यसैले यहाँ सबै जाति, धर्म, क्षेत्र वर्गका प्रतिनिधि रहन सक्छन् । यो अनेकताबीचको एकताको साझा चौतारी हो । विचारबिनाको मान्छे हुन नसक्ने भएकाले गैरआवासीय नेपाली संघका कुनै विचारबाट प्राभावित मान्छे हुनुहुन्न भन्ने हो भने संघ गठन हुनै सक्दैन र अघि पनि बढ्दैन । तैपनि यो प्राविधिक रुपमा कुनै विचार र स्वार्थबाट प्रेरित नभएकाले यो भावनाको एउटा समुद्र हो । देशभित्र सबैको आआफ्नो जाति, धर्म, क्षेत्रको परिचय भए पनि देश छाडेपछि मात्र नेपाली हुनुजस्तै यो सबैमा सबै भएर पनि केही नभएजस्तै हो । तर, पछिल्लो समय केही रङग विकृत देखिएका छन् । उम्मेदवारी घोषणामा देखिएको भीडलाई जिम्मेवारी लिन गरिएको पहल मान्ने हो भने पनि नेता र दलको ढोका चहार्नु र जातीय र क्षेत्रीय समूह बनाउँदै हिड्ने स्वयम व्यक्ति, संस्था र देशकै हितविपरीत हुनेछ । जुन गतिविधि पछिल्लो समय केही बाक्लो देखिएको छ । त्यसलाई न्युन गर्नेतिर सबैले सोच्नेपर्छ ।

लगानी र परोपकार

माथि नै धेरै चर्चा गरियो, गैरआवासीय नेपाली शब्दलाई विदेशमा रहेका नेपाली बुझ्ने हो भने उनीहरुकै श्रम पसिनाबाट देश चलेको छ । परिवार चलेको छ । तैपनि कतिपय आलोचकहरु निरपेक्ष ढंगले ‘केही पनि भएन’, ‘कुरा मात्र ढुला भए’ जस्ता टिप्प्णी गरिरहेका छन् । जुन सोह्रै आना गलत छ । हामीले ‘केही भएन’ भन्दै गर्दा आफैले के गरेका छौरु भन्ने कुरा बिर्सेका छौ । उनीहरुले ‘कुरा मात्र ठुला गरे’ भन्दै गर्दा हामी आफूले पनि ‘झनै ठुला कुरा मात्र’ त गरेनौं भन्ने बिर्सेका छौ । त्यसैले यो अभियान सुरु भएपछि धेरै भएका छन् । सामाजिक, सांस्कृतिक, साहित्यिक र आर्थिक क्षेत्रमा स्वस्फूर्त प्रगतिहरु भएका छन् । केही हुने जगहरु बसालिएका छन् । आर्थिक क्षेत्रमा केही मात्र भए पनि लगानी भएको छ । परोपकारका क्षेत्रमा धेरै काम भएका छन् । अझ त्योभन्दा ठुलो कुरा त आफ्नो गाउँघर र देशमा केही न केही गर्नुपर्छ भन्ने भावना विकास भएको छ । लगानीका लागि वातावरण बन्दै गएको छ । यो अभियानको एक दशकको यो उपलव्धी चानचुने होइन । हो, नेपाल र नेपालीले अपेक्षा गरेजति भएन होला । त्यो स्वभाविक हो । दुई चार दशक मात्र पुगेको गैरआवासीय अभियानले त्यो पुरा गर्न सकेन । तर, केही भएन, केही हुँदै भनेर निराशा सिर्जना गर्नुपर्ने अवस्था छैन । बरु उत्साहित भएर अघि बढ्ने अवस्था छ।

र, अन्त्यमा

गैरआवासीय नेपाली अभियानले नयाँ नेतृत्व चयन गरिरहेको छ । संघ दर्ता भएपछिको यो नै पहिलो नेतृत्व हुनेछ । त्यसैले आगामी नेतृत्वका लागि चुनौति र सम्भावना उत्तिकै बढेको छ । इमान्दारितका साथ भन्ने हो भने अब डा।महतो, हिराचन र जीवा लामिछानेहरुको नेतृत्व केही वर्षका लागि संघलाई आवश्यक देखिएको छ । तैपनि उनीहरुबाटै प्रशिक्षित अगुवाहरुले बाटो बिराएनन् भने दर्ता भएको संघले धेरै काम गर्न सक्छ । धेरै काम गर्ने वातावरण बनाउन सक्छ । त्यसैले आगामी नेतृत्वले ‘गैरआवासीय नेपाली संघ’लाई  विशुद्ध प्राविधिक ढंगले अघि बढ्नेभन्दा पनि संघलाई ‘भावनाहरुको मियो’का रुपमा अघि बढाउन सक्नुपर्छ ।

दिनेश बस्नेत

बस्नेत अनलाइन मिडिया एसोसिएसनका अध्यक्ष, एबीसी टेलिभिजनका उपसम्पादक एवं एनफएन न्युज नेटवर्कका सम्पादक हुन् ।

 

Add your comment

Your name:
Subject:
Comment:

Latest News