HongKongNepali.com, The Next Media

Thursday
May 25th
Home विचार / दृष्टिकोण सन् २०१३ र कविता यात्रा

सन् २०१३ र कविता यात्रा

E-mail Print PDF
AddThis Social Bookmark Button

उमेश राई ‘अकिञ्चन’

विराटनगर

सन् २०१३ मेरा निम्ति यात्रा वर्ष जस्तो हुन गएको छ । सन् २०१३ को सुरुवातमा नैं मेरो सरुवा जिल्ला विकास समिति, ताप्लेजुङबाट जिल्ला विकास समिति, मोरङमा भयो । कर्मचारीको जीवनमा सरुवा नियमित प्रक्रिया हो । यो प्रक्रिया कर्मचारीले निवृत्तिभरण नपाए सम्म निरन्तर चलिरहन्छ । यद्यपि, यो सन् २०१३ को शुरुवातमा नै भएकोले यस्लाई यात्राको उद्गम विन्दुको रुपमा लिएको छु । त्यस पश्चात,  जापान सरकारको ४५ दिने तालिमको लागि म जुन ५ देखि जुलाइ २० सम्म टोक्यो स्थित लोकल अटोनोमी कलेजमा प्रशिक्षार्थीको रुपमा संलग्न भएँ । ११ देशका सहभागी मित्रहरुसँग उठ्बस, अन्र्तक्रिया, आ–आफ्ना देशका स्थानीय सरकार र विधी, जापानका स्थानीय सरकारले अवलम्वन गरेका उदाहरणीय कार्यहरुसँग साक्षात्कार गरी धेरै ज्ञानगुनका खुराकहरु सिकेर जापानबाट फर्किएको दुई महिना नबित्दै पारिवारिक भ्रमणको सिलसिलामा हङकङ यात्रा गर्ने साइत जु¥यो ।

हङकङ सौन्दर्यको शहर, व्यापार र प्रविधिको शहर । आकाश छुने घरहरू, वतासको गतिमा दौडने रेल, सुविधा सम्पन्न यातायात, सुन र फेशनको विश्व प्रसिद्ध शहर । मैले करिव १० वर्ष अघि पहिलो पटक हङकङ टेकेको थिएँ । सोही समय देखि, हङकङसँग मेरो भावनात्मक साइनो गाँसिएको छ । कारण, सन् २००३ मा हङकङ भ्रमण गर्दा मेरी पत्निसँगको परिचयले नै जीवनयात्राको संयोग जु¥यायो । जीवनका रङ्गहरू समय क्रमसँगै फेरिन्छन, म पनि फेरिएको छु । पूर्णकालीन विद्यार्थी जीवनबाट व्यस्त जागिरे जीवनमा प्रवेश गरेको छु । जागिरे जीवन त्यसमाथि स्थानीय निकायमा जनप्रतिनिधि नभएको अवस्था । व्यस्तता पनि आफैमा अनौठो हँुदो रहेछ, असनको भिडभाडमा भेटिएका आफ्न्त जस्ता सम्झनाहरू आउँछन् र हराउँछन् । बाटामा फेर परेका मित्रजस्ता कविताहरू आउँछन् र विलाउँछन् । यद्यपि, साहित्यले दिएका सपनाहरू प्रिय छन् । अझ बढि,  प्रेमी कवि भएर बटुलेका अनुभूतिहरू सम्झी रहुँ जस्ता लाग्छन् ।

हङकङ शहरको उज्यालो वत्तिको झिलिमिलि माझ मैले पनि मनको सौन्दर्य पाएँ । मनको सौन्दर्य के भन्नु जीवनको सौन्दर्य भन्नु अझ उपयुक्त ठान्दछु । पियानोमा बजेका मधुर धुन र रिडमा बजेका  झंकारहरू, पाब्लो नेरुदाका प्रेमिल हरफझैं “ क्ष् यिखभ थयग कतष्िि बmयलन तजभकभ अयमि तजष्लनक। ” कुन प्रेमको परिभाषाले समाहित गर्न सक्छ , हाम्रा प्रेमका उँचाइहरू । समुद्रको चञ्चल पानी र नीलो आकाशको उँचाइ । देखिने घाम, जुन, तारा र आकाश उही भएतापनि दुई फरक भूगोल र साँस्कृतिक परिवेशबाट मायाको ताजमहल उभ्याउनु त्यति सहज थिएन । कविताको हरफले बाँधिएको जीवन, भौतिक उपभोगको मोडमा डगमगाउन पनि सक्थयो ।

जीवनका सपनामयी यात्राहरू अनवरत छन्, अनवरत चलिरहनेछन् । कर्मचारी खड्ग राज राई र स्रष्टा उमेश “अकिञ्चन”को भूमिकामा विभक्त भोगाइहरू कुन मसीले लेखुँ ? मसी जुनसुकै रङ्गको भएपनि, भोग्ने व्यक्ति एउटै हो । दशैं–तिहारको वीच विदालाई उपयोग गर्न, हङकङ टेकेको थिएँ । नेपालमा तातिदो चुनावी माहौल, चुनावी समयमा जिल्ला छोड्न नहुने उर्दीलाई, येनकेन टारेर उत्रिएको थिएँ, हङकङ । हङकङ अलिकति मेरो प्रेयसीको शहर, अलिकति इष्टमित्रको शहर । यही सिलसिलामा भाइ आशीष साम्पाङ “महेश”को सक्रियता, फुपाजु राजकुमार राईद्वारा प्रकाशित “साब्लाबुङ” पत्रिकाको आयोजनामा जिन्दगीको पहिलो एकल कविता वाचन कार्यक्रम आयोजना गरियो । १४ दिने छोटो छुट्टी विताउन हङकङ टेक्दा सम्म एकल कविता वाचनको कल्पना सम्म थिएन । तर, प्रचार प्रसारको लालसा कम राख्ने मेरो स्वभाव विपरित सात समुद्रपारिको देशमा एकल कविता वाचनको प्रस्तावले पुलकित भएँ । साहित्यमा आजकल गुणात्मक लेखनले भन्दा हल्ला गर्ने संस्कृतिले प्राथमिकता पाउदैं आएको छ । हामी कवि, लेखक पनि देशको हावा, पानी र पर्यावरणीय यथार्थ भन्दा माथि उठ्न सकेका छैनौं । हामी कलमको शक्ति भन्दा विज्ञापनले दिने लघु आनन्दलाई आफ्नो ठानिरहेछौं । म आफु पनि व्यक्तिगत कमजोरी बाट पुर्णरुपेण मुक्त छैन । यद्यपि, विरानो मुलुकमा पाएको अवसरलाई सदुपयोग गर्नु नै उचित ठाने मैले ।

सन् २०१३ अक्टोवर २७ आइतबार, कङ्गन रेस्टुरेन्टमा आयोजित एकल वाचन कार्यक्रम भव्यताका साथ सम्पन्न भयो । मलाई स्रोता महानुभावहरुको उपस्थिति ज्यादै न्यून होला कि भन्ने डर थियो । प्रथम कारणः हङकङको व्यस्तता, दोस्रो कारण ःखासै चिनजान नभएको विरानो ठाउँ, तेस्रो कारणः  छुट्टीको दिन परेकोले  धेरै कार्यक्रमहरुको आयोजना । तर, आयोजक राजकुमार फुपाजु, भाइ आशीष साम्पाङ, दिदी माया राई, जीवनप्रिया कला राईको सक्रियता र सामाजिक सम्बन्धका कारणले होला हङकङका प्रवुद्ध वर्ग, साहित्यकार, पत्रकार, सामाजिक अभियन्ता सम्पुर्णको बाक्लो उपस्थितिमा कविताहरु सुनाउन पाउँदा ज्यादै भावविभोर भएँ ।

अनन्त यात्रा हो जीवन, जो निरन्तर चलिरहन्छ । कविताको यात्रामा हिडेको १५ वर्ष व्यतित भइसकेको छ । कविता यात्राकै क्रममा नेपाली कविताको सर्वाधिक राशिको प्रतियोगितात्मक पुरस्कार प्रथम पटक जित्ने सौभाग्य मैले नै पाएँ । आजभन्दा दुई वर्ष अघि अपरिचित ठाउँ  पाँचथर रविले साहित्यिक सम्मान पनि अर्पण ग¥यो । गत वर्ष, मेरो कविता बाराक ओवामा कण्ठस्थ सुनाउने युवा मित्र पनि अचानक यात्रामा भेटे । यी यस्ता घटनाले मलाई जागिरे जीवनको व्यस्ततालाई पनि व्यवस्थापन गर्दै साहित्य विशेषत ः कविता कोरीरहन उत्प्रेरित गर्दछ । हङकङमा भएको मेरोे पहिलो एकल कविता वाचन मेरो साहित्यिक यात्राको अर्को टर्निङ प्वाइन्ट हो भन्ने मलाई लाग्दछ ।

हङकङबाट फर्किएको करिव एक महिना पश्चात अफिसमा व्यस्त भएको बेला एउटा अपरिचित नम्बरबाट फोन आयो । कार्यालयको कामले दिने तनाव सँगै सेवाग्राहीलाई दिनुपर्ने समय आफ्नो ठाउँमा थियो । फोन उठाए, गणेश रसिक दाइको रहेछ । जब सिस्नुहरु टेक्दै हिडे, दश गजामा उभिएर जस्ता कालजयी कृतिका स्रष्टाले सम्झिएर फोन गर्नु मेरा लागि आशीर्वाद सम्झिए । कार्यालयमा नै भएपनि केही समय खुलेर कुराकानी गरे । रसिक दाइसँग एक–दुईवटा साहित्यिक कार्यक्रममा भेट भएपनि म दाइको नजरमा परेको रहेछु मलाई थाहा थिएन । “भाइको फोन नं खोज्दा खोज्दा बल्ल आज पाएर फोन गरेको” दाइले स्पष्ट पार्नु भयो । मैले हङकङमा भोजपुर सेवा समाजले आयोजना गरेको गणेश रसिक एकल साँझको चर्चा म हङकङ पुग्दा पनि भएको प्रसंग उल्लेख गरे । साहित्यको विविध विषयमा कुरा गर्दा हङकङमा हालै सम्पन्न मेरो एकल वाचनको चर्चा पनि भयो । “भाइको समय मिल्यो भने, इलाममा पनि एकल कविता वाचन कार्यक्रम राख्नु पर्छ ”। गणेश रसिक दाइको मधुर वचन नै मेरो कविताको कमाइ सम्झेको छु ।

सवै ठाउँमा कविता वाचन गर्न सम्भव पनि छैन । चाहनाले वा योजनाले भन्दा पनि संयोगले जीवनमा महत्वपूर्ण भूमिका खेल्छ भन्ने मेरो ठम्याइ छ । मेरा कवि भाइ सिजन नयनको चाहना मेरो एकल वाचन धरानबाट शुरुवात गर्ने थियो, मेरो पनि त्यसमा समर्थन थियो । तर, विविध कारणले धरानमा एकल वाचन गर्न सकिएन । इलाममा पनि के हुन्छ, भविष्यले नै बताउनेछ । तर, जीवनको पहिलो कविता वाचन, हङकङबाट भव्यताका साथ सुरुवात गर्न पाउँदा हर्षित छु । आगामी दिनमा अझ गुणात्मक र सिर्जनशील साहित्यिक रचना पस्किन सकुँ, मेरो अभिलाषा यति मात्र छ । हङकङमा साब्लाबुङ प्रकाशनले प्रदान गरेको कदर पत्र र मेरा शब्द र आवाजमा समर्थन जनाउने साहित्यनुरागी महानुभावहरु प्रति यही नै सबैभन्दा ठुलो सम्मान हुने ठहर गरेको छु ।

 

 

 

 
Comments (1)
प्रतिकंृय
1 Tuesday, 07 January 2014 22:58
राज कुमार राई
उमेश राई को संस्मरण मिठो भाषा शिल्प मा कुदिएका हरफहरू मिठासपुर्ण रहेको छ ,
उनि भरोसा लाग्द कविहुन उन वाट धेरै आसाहरू गर्ने आधारहरू निर्माण गरी सकेका छन

Add your comment

Your name:
Subject:
Comment:

Latest News