HongKongNepali.com, The Next Media

Thursday
May 25th
Home विचार / दृष्टिकोण मुसा जन्ति, बिरालो बुद्ध र ध्रुबे हात्तीको बिहे

मुसा जन्ति, बिरालो बुद्ध र ध्रुबे हात्तीको बिहे

E-mail Print PDF
AddThis Social Bookmark Button

लेखक डा. तेजमान आङदेम्बे

"इतिहासमा जब जब शासकहरुले एकल अस्तित्व कायम गर्न सह–अस्तित्वमाथि प्रहार गरे, तब तब समाजलेठूल्ठूला संकटको सामना गर्नु परेको छ ।" (एउटा भनाई )

अनुहारचाहिँ मुसाको तर ‘म्याउँ’ मात्र बोल्नजान्ने मुसालाई तपाइँ  कसो भन्नुहुन्छ ? मुसो भन्नुहुन्छ कि बिरालो ? बिरालाको भाषा नबोलुँ भने बहुपहिचानको बहाना पार्दै यो देशमा बिरालो भाषा २५० बर्षदेखि १२३ वटामुसाहरुमाथि लादिएको लादिएकै छ । १२३ वटा मुसामध्ये यो साँडे बिरालाको घाँटीमा कुनचाहिँ मुसाले घण्टि झुण्ड्याएर मुसो पहिचान खोज्ने हिम्मत गर्ने अब ? बिरालाको घाँटीमा घण्टि झुण्ड्याउन सक्ने साहसी मुसामुसीहरुको अभावले गर्दा नै नेपालको संबिधान लेखनमा मुसो पहिचानको बिशाल आलु बखडा निल्नु नओकल्नु भएको कुरो कस्लाई थाहा छैन ?

 

पहिचानको सवाल पनि अचम्मै हुँदो रहेछ । २०६८ सालको कुरो हो । एकजना बिध्यार्थीले फट्याँइ गरेछ ।कार्यबाहीको लागि प्र.अ. सामु उपस्थित गराइयो । उपस्थित हुने बितिकै त्यो बिध्यार्थीलाई प्र.अ. को बाहुलीबाट एक दुइ झप्पु पुरस्कार तुरुन्तै मिली हाल्यो । नाम सोधेको त, थर ‘अर्याल’ भन्छ । यो बिध्यार्थी साँची नै फटाहा नै रहेछ भनेर फेरि दुइ झप्पु थपनी पनि भेट्यो । तर थपनी दुइ झप्पु भेट्नुमा अर्याल केटाको केहि दोष थिएन । दोष उसको नाकको रहेछ । नाकचाहिँ लिम्बुको जस्तो नेप्टो, तर लिम्बु भाषा बोल्न नै नआउँदो रहेछ । आफ्नो मातृभाषानै बोल्न नआउनेले ‘म अर्याल हुँ’ भन्नु त सोहृै आना सहि हो, तर नेप्टो नाक भएकै कारण समाजले त्यो केटाको अर्याल पहिचान ठाडै नका-यो । नेप्टो नाक बोकेर हिंड्ने जन्तुलाई लिम्बु भाषा नै नआएपछि कानुनी रुपमाबिरालो भन्दा हुने हो, तर समाजले नभन्दो रहेछ । यसरी मौलिक भाषा र संस्कृतिको मृत्युका कारण १२३ वटा मुसाहरु फटाहा मुसा वा यता न उतिका मुसा बन्न गइरहेका छन भन्ने अनुमान सजिलै गर्दो रहेछ समाजले । यो अनुमान सोहृै आना बैज्ञानिक देखिन्छ किनकि भिन्नै जाति हुनको लागि भिन्नै भाषा र संस्कृति हुनु अनिवार्य छ भन्ने कुरो सारा संसारलाई राम्ररी थाहा छ ।

 

निरंकुश भन्ने गरिएको राणाकालको अन्तपछि पनि बि.सं. २०१९ सालसम्म ‘पल्लो किरात’ भनेर चिनिएको तर राजा महेन्द्रको पञ्चायती प्रजातन्त्रले स्थानीय आदिबासी जातिहरुको पहिचानको गन्ध मेटाउन र देशभरि बिरालो पहिचान लाद्नको लागि भूगोलका आधारमा हिमाल, पहाड, तराई मिलाएर पचहतर जिल्ला र चौध अञ्चल(मेची, कोशी आदि) नामाकरण गरिएको प्रशासकीय प्रान्तमा बस्ने मुसो जाति म । मैले मेरो मुसो मातृभाषा बिर्सन लागिसकेँ छु । जात जनाउने ‘लिम्बु’ र अधिकार बिनाको ‘सुब्बा’ लेख्न रुचाउने मेरा छोराछोरी र श्रीमतिले त‘ओङदेम्बे’ भन्नु प-यो भने ‘आम्धुम्बे’ भन्न मात्र जान्दछन अहिले । मुसो भएपछि शायद सबै जाति ‘आम्धुम्बे’भइन्छ होला, एक जना मित्रले ‘गरिब भए तिम्सिना,धनी भए तिमल्सेना भइन्छ’ भने जस्तै ।

 

लिम्बु भाषामा खस नेपाली भाषालाई 'पेनी पाःन', अर्थात ‘बाहुन कुरो,’ भन्छन । मलाई बाहुन कुरो मात्र राम्ररी बोल्न आउँछ, तर दुखको कुरो मलाई कसैले बाहुन भन्दैनन । मेरो घरमा लिम्बु मौलिक कर्मकाण्ड गर्छु त भन्छु,तर मातृभाषा मर्दै गएको कारण माङदेम्बा-फोदाङमा, येबा र साम्बाहरु पनि मर्दै जाँदै रहेछन । त्यसैले, लिम्बु पुरोहितहरु पाउँन सक्दिन त म के गरुँ रु ठिकै छ, शंख नै फुक्ने फेदाङमा भएपनि ल्याँउला, तर पनि मलाई कसैले बाहुन भन्दैन त म के गरौँ ? यो मेरो हालत दोषी चस्माको कारण हो कि मेरो नेप्टे नाकको कारण हो ? अब मुसाको जन्तिमा मिलेर बिराले पहिचानको खिर खाएर बाँच्नु पर्ने कि भोकै बसेर मनुपर्ने ?

म किन मेरो भाषा जान्दिन ? किन सिक्न पनि चाहन्न ? किन घृणा गर्छु आफ्नै मातृभाषालाई ? मेरै बुध्दि नभएर हो ? किन छोराछोरीलाई खस नेपाली भाषा वा अंग्रेजी भाषा सिक्न भनेर ऋण काढेर भएपनि पढाउँछु ? तर किन‘हाम्रो भाषा बचाइदेऊ, बिराले सरकार’ भन्ने आन्दोलनमा पनि म सहभागी हुन्छु , ढुंगामुढा गर्छु र मुसो नायक हुन खोज्छु ? यो मेरो मुसो प्रबृतिको कारण के हो ? मलाई मुसो बनाउने को हो ? त्यो कारण हो ― २५० बर्ष लामो यो देशको एकल जातीय पहिचान नीति (एक भाषा, एक धर्म र एक संस्कृति) । यो एकल जातीय पहिचान अनुसार, बिरालो भाषा जान्दा मात्र यो देशमा काम चल्ने, नत्र काम अड्किने नीति भएपछि कहिँ पनि काम नलाग्ने बनाइएको मेरो मुसो मातृभाषा मैले किन सिक्ने ? मातृभाषा शिक्षा भनेर एक दुइ जनाले जर्बजस्तीे लाद्दैमा २५०बर्षदेखि बिराले नीति वा शासनको कारण कहिँ पनि काम नलाग्ने बनाइएको मेरो मातृभाषा मैले किन सिक्ने ?

बाहिर बाहिर ‘चार जात छत्तीस वर्णको फूलबारी’ फलाक्ने राष्ट्रिय एकल जातीय पहिचानबादी बिरालाहरुले यो राष्ट्रभरि २५० बर्षदेखिको एकल जातीय पहिचानलाई निरन्तरता दिन चाहन्छन होला । अर्कोतिर, प्रान्तीय एकल जातीय पहिचानबादी मुसाहरुले कम्तिमा पनि एउटा प्रान्तमा आफ्नो मुसो पहिचान बाँचोस भन्ने चाहन्छन होला ।जतिसुकै क्षमता भएपनि जुनसुकै पार्टीमा र जुनसुकै बिराले सरकारमा बसेपनि बिराला नै सबैभन्दा माथि हुनेभएका कारण कहिल्यै माथिल्लो पदमा पुग्न सफल नभएका मुसाहरुले कम्तिमा पनि स्थानीय प्रान्तहरुमा मुसो मुख्यमन्त्री हुन त सकिन्छ कि भनेर राजनैतिक अग्राधिकारको चाहना राखेका कारणपनि पहिचानको सवाल उठेको हुनसक्छ । तर यो पिर र ब्यथा स्पष्ट गरी राख्न नसक्ने नेताहरुले के को पहिचानको कुरा गर्नु ?

प्रत्येक प्रान्तमा स्थानीय जातिको पहिचान बाँच्नु भनेको बहुजातीय पहिचान हो कि होइन ? यस्तो भएमात्र यो देश चार जात छतिस वर्णको फूलबारी हुन्छ कि हुँदैन ? तर यो राष्ट्रभरि २५० बर्षदेखि एक भाषा, एक धर्म र एकसंस्कृति लादिएको घाम जतिकै छर्लंग छ । त्यो एकल जातीय पहिचान हो कि होइन ? यो देशभरि एकल जातीयपहिचान शदियौँदेखि लाद्नेले उल्टै प्रान्तहरुमा मात्र स्थानीय पहिचान खोज्नेहरुलाई एकल पहिचानबादी भनेर आरोप लगाउनु कागले आफ्नो नाम काढेको हो कि होइन ? बिरालाहरुलाई यस्तो प्रश्न गर्न नसक्ने मुसाहरुले के को पहिचानको राजनीति गर्नु ? बि.बि.सी. नेपाली सेवाको एउटा अन्तवार्तामा, ‘किन चाहियो पहिचान सहितको संघीयता ?’ भन्ने प्रश्नको जवाफमा राजनैतिक अग्राधिकारको कुरो मात्र उठाउन सफल भएको पाइयो पहिचानबादी नेताहरुले । जातीय पहिचान भनेको राजनैतिक अग्राधिकार हो ? पहिचान के हो ?किन चाहिन्छ पहिचान ? भन्ने स्पष्ट एजेण्डा नेताहरुलाई नै थाहा नभएपछि अन्धाधुन्ध आन्दोलन गर्दा मुसाहरुको पहिचान कसरी आउँछ ?

फेरि पनि दोहा-याउँछु, भिन्नै जाति हुनको लागि भिन्नै भाषा र संस्कृति हुन आवश्यक छ । देशब्यापी रुपमा एकल भाषिक नीतिले गर्दा अबको करिब ३० बर्षभित्रमा नेपालका १२३ मुसाहरुका भाषाहरु ठहरै मर्ने भविष्यवाणी भइसकेको स्थिति छ । त्यसैले मेरो भाषा बाँचोस, मेरो भाषा बाँच्यो भने मेरो संस्कृति बाच्छ । मेरो भाषा र संस्कृति बाँच्यो भने म भिन्नै जातिमा गनिन्छु । त्यसो भएपछि चार जात छत्तीस वर्णको फूलबारीमा म भिन्नै खालको सुगन्धित फूल भएर यो देशलाई सुन्दर बनाउन सहयोग पुग्छ । मैले मेरो पहिचान खोज्नु भनेको बिरालो भाषालाई निषेध गर्ने होइन जसरी बिरालो भाषा र संस्कृतिले अरु १२३ भाषा र संस्कृतिहरुलाई २५० बर्षदेखि निषेध गर्ने नीति लिएको छ । बिरालो भाषा र संस्कृति बिरालाकै दर्जामा रहन्छ । यस्तो साँढे भाषा र संस्कृतिलाई कसैले चुनौती दिन सक्दैन र चाहँदैन पनि । तर, कम्तिमा मेरो मुसो र संस्कृति भाषा पनि बाँचोस, बिरालाले नखाइदेओस, भन्ने मात्र हो भनेर बिरालाहरुको घाँटीमा घण्टी बाँध्न नसक्नु पहिचानबादी मुसाहरुको कमजोरी कसरी होइन ?

त्यसैले, प्रत्येक जातिको भाषा, धर्म र संस्कृति बचाउन प्रत्येक प्रान्तमा जातीय पहिचान चाहिएको हो भन्न कसरी नसकेको पहिचानबादी मुसाहरुले ? बिरालाको भाषामात्र बचाउँने, उसको धर्ममात्र बाँच्ने, उसको संस्कृतिमात्र बचाउँने नीतिले यो देश पूरै एकल जातीय पहिचानको मरुभूमिुमा परिणत हुँदैछ भन्ने कुरो कसरी थाहा नपाएको पहिचानबादी मुसाहरुले ? नेप्टो र चेप्टो नाकमात्र भिन्नै भएर भिन्नै जाति भइन्छ ? भाषा, धर्म र संस्कृति भने चेप्टो मात्रै भएपछि ! त्यो एकल जातीय पहिचान हो कि होइन ? मानौँ, राजनैतिक अग्राधिकार प्राप्त भएछ र लिम्बुवान भन्ने प्रान्तमा एक जना लिम्बु मुख्य मन्त्रि पनि भएछ । तर उसलाई आफ्नो भाषा नै आउँदैन, संस्कृति नै थाहा छैन । कर्मकाण्ड गर्दा शंख फुकिहिंड्छ, बिहे कार्यमा च्याब्रुङ बजाउनु पर्नेमा ब्रास ब्याण्ड बजाइ हिँड्छ भनेकहाँ रह्यो उसको जातीय पहिचान ? यस्तो जातीय पहिचान कसलाई चाहिएको हो ? पुष्प दाइको भाषामा भन्नेहो भने ‘मैले बुझ्दै बुझिन  ।’

प्रान्तहरुमा जातीय पहिचानले बिखण्डन ल्याउँछ भनेर एकतान्त्रिक एकल जातीय बिराला पहिचानवादीहरुको आरोपलाई भारत,चीन वा युरोपेली देशहरुको उदाहरण दिन नसक्नु कस्तो बिडम्बना ? कुनैपनि पनि प्रान्तमा कुनैजातिको बाहुल्यता छैन भन्ने एकतान्त्रिक एकलवादीहरुको बहाना पत्याउने हो भने २७ प्रतिशत भोट ल्याउने पार्टी नेपालको बहुमत पार्टी ठहरिन्छ, तर लिम्बुवानमा लिम्बु जाति एक्लै ३० प्रतिशत पुग्नु अल्पमत हो ? अरु २०-३० जाति जोड्दा मात्र बाँकी ७० प्रतिशत पुग्छ लिम्बुवानमा । यस्तो तर्क पेश गर्न नसक्ने पहिचानबादीहरुको मुद्दा मैले बुझ्दै बुझिन ।

त्यसो भए, बिरालाहरुको भिडमा संभव छ त मुसो पहिचान ? सपना त त्यति राम्रो छैन, दिनमा पनि अँध्यारोमात्र देखिन्छ, किनकि बिरालाको घाँटीमा कुनैपनि मुसाले अहिलेसम्म घण्टि बाँधिदिएको प्रमाण छैन । एक दुइजना मुसाले कम्मर कसेपनि, धेरै जसो मुसाहरु पशुपतिको यात्रा, देहको ब्यापारुमा लागेको देखिन्छ । बिरालाको घाँटीमा घण्टि झुन्ड्याउन नसकेपछि मुसो पहिचान कसरी संभव छ ?

बिरालाको घाँटीमा घण्टि बाँधेर पहिचान जोगाउने काममा हात्तीले चाहिँ सहयोग गर्न सक्छ । त्यो पनि ध्रुबेहात्तीले मात्र । गोराहरुको एकल जातीय पहिचान बिरुध्द बिद्रोह गर्ने दक्षिण अफ्रिकी जंगलको ध्रुबे हात्ती ९५वर्षको उमेरमा हालसालै ढल्यो, तर सफल भएर (संयुक्त राष्ट्र संघका भूपू पदाधिकारी  कुल चन्द्र न्यौपानेकोमण्डेला संबन्धी हास्यास्पद ब्याख्या बिराले बिचार मात्र मान्न सकिन्छ । )  नेपालको एकल जातीय पहिचानको बिरोध गर्न कम्मर कस्न खोज्ने नेपालको पहिलो ध्रुबे हात्ती २००७ सालमा जन्मेको थियो, तर दुइतिहाइ जनताको समर्थन पाएर पनि २०१७ सालमा १० वर्षको अल्पायुमै ढल्यो, शायद ढालियो होला । त्यसपछि उसले कहिल्यै पहिचानको सवाल उठाउने साहस गर्न सकेन । २०५२ सालदेखि रोल्पाको थबाङ राष्ट्रिय निुञ्जमा पहिचानको सवाल उठाएर बिभिन्न जातिहरुलाई बन्दुक बोकाएर, आफ्नो आन्दोलन सफल पारेर, यो देशमा भूइचालो ल्याएर,दादा हुन सफल ध्रुबे हात्ती पनि अहिलेको साल अठार बर्षपछि पसारिएको छ , तर आफ्नै कारणले ।

परिवार संख्या मध्ये आधा आकाश फुटेर गएपछि ढलिन्छ भन्ने बिश्लेषण लाटाले पनि सजिलै गरिदिन सक्छ उसलाई । त्यसैले, अरुले धाँधली गरेर पसारेको भन्ने उसको बिश्लेषण कसैले पनि पत्याइ दिन सक्दैन जस्तो लाग्छ।  तर पनि थबाङको ध्रुबे हातीले धेरै ध्रुबे छावाहरु जन्माएर मात्र पसारिएछ । यहि कारण, यो ध्रुबे हात्तीका बैध अबैध सन्तानहरुले एकलबादी बिराला माहुतेहरुलाई सञ्चसंग बस्न दिंदैनन होला भन्ने पिर यत्रतत्र छ । अर्को कुरो,थबाङ राष्ट्रिय निकुञ्जको ध्रुबे हात्ती पसारिए पनि, चितवन राष्ट्रिय निकुञ्जमा बर्षौंदेखि पहिचान खोज्ने क्रममा दर्जनौं ब्यक्ति बिताउने धुबे हात्तीलाई एक कम्पनी नेपाली सेना खटाएर कैंयौ राउन्ड गोली हानेपनि ढलेको खबर छैन । अहिले सम्म त्यो ध्रबे गायब छ । कुनै दिन फेरि देखा परेर आतंक मचाउने हो कि भनेर त्यहाँका मानिस त्रशित छन । शायद बिहे गर्नलाई चम्पाकली  खोज्न कहिँ गएको होला । यदि यो ध्रुबे हात्तीले चम्पाकली फकाउन सकेन र उसको बिहे हुन पनि  सकेन भने नेपालका १२३ जना मुसाहरुले चाहिँ आफ्नो बिहे राम्ररी देख्ने सुवर्ण मौका पाउँनेछन । त्यसपछि  नेपालका १२३ जना मुसाहरु एउटै दुलामा पस्न सजिलै सफल हुनेछन र त्यहिँ ब्ल्याकहोलमा उनिहरुको बिहे द्रौपदी मुसीसंग राम्ररी हुनेछ र उनिहरुको मुसो पहिचान सदासदाको लागि अन्त हुनेछ,आकाशका नौ लाखे ताराहरुको जस्तै ।

तर अझपनि मुसाहरुको झिनो आशा छ, चितवन राष्ट्रिय निकुञ्जको ध्रुबे हात्ती मरेको प्रमाण नेभेटिएकाले । आफ्नोमर्न लागेको पहिचान खोज्ने यो संसारको कुनैपनि ध्रुबे हात्ती मरेको वा मारिएको अहिलेसम्म कुनै प्रमाण छैन ।यति आशाले मात्र १२३ जना नेपाली मुसाहरुको निद्रा अहिले सम्म लागिरहेको छ । चेतना भया १

 

Add your comment

Your name:
Subject:
Comment:

Latest News