ज्ञान थापा
मे २८
काठमाण्डौं।
केही महिना अघि मात्र हो गिरिजा, ज्ञानेन्द्र र ओली लाइन लागेर भारत पुगेका थिए। कोही विरामी परेको निहुं पारेर अनि कोही विवाह भोजमा सहभागी हुन भनेर। र नेपालको राजनीतिमा पर्दापछाडिबाट सधैं अस्थिरताको पर्दा तान्ने भारतको तानाबानामा माओबादी नेतृत्वको सरकार ढाल्ने र ज्ञानेन्द्रलाई यो वा त्यो रूपमा राजाको रूपमा पुनर्स्थापित गर्ने योजना बुनेर फर्केका थिए। माओबादी नेतृत्वको सरकार ढाल्ने षड्यन्त्र त सफल भइसक्यो। अब बांकी छ ज्ञानेन्द्रलाई कुनै न कुनै रूपमा नारायणहिटी फर्काउने। माओबादी नेतृत्वको सरकार ढलाउनमा प्रमुख भूमिका निर्वाह गरे गिरिजाप्रसाद कोइराला र एमालेका हरूवा नेता केपी शर्मा ओली। उनीहरूले भनेजस्तै गरी भारतीय मूलका माकुने नेपालका प्रधानमन्त्री पनि बनिसकेका छन्। र यसै समयमा फेरि दुबैजना बिरामी परेका छन्। र यिनीहरूलार्इ उपचार गर्न दिल्ली नै जानुपरेको छ। विश्वमै उच्च स्तरका नेपालका डाक्टरहरूले तिनको उपचार गर्न सक्दैनन्। त्यसो त भारतकै पनि बम्बइ, बैंगलोर, भेलोर जस्ता ठाउंका नामुद डाक्टरहरूले पनि उपचार गर्न सक्दैनन्। उनीहरूको विमारको उपचार गर्ने डाक्टरहरू हुन् भारतीय प्रधानमन्त्री, गृहमन्त्री, रक्षामन्त्री तथा नेपाललाई जति सक्दो चांडो सिक्किम बनाउने षड्यन्त्रमा लागेका भारतीय अन्य नेताहरू। के अचम्म मान्नुपर्ने विषय होइन र यो? यता माकुने महोदय प्रधानमन्त्री भएपछिको भयंकर निर्णय हो माओबादी नेतृत्वको सरकारले नारायणहिटीमा बनाउने भनी निर्णय गरेको गणतन्त्र स्तम्भ रत्नपार्कमा सार्ने निर्णय। फेसबुकमा एकजना मित्रले कमेन्ट पनि लेखेका थिए। "ओली र गिरिजाको षड्यन्त्रमा प्रधानमन्त्री बनेका माधव कुमार नेपालले अब ज्ञानेन्द्रलाई नारायणहिटी फर्काउने योजना गरिरहेका छन्।" आफैलार्इ गाड्ने गणतन्त्रको त्यो स्तम्भ ज्ञानेन्द्रले किन देख्न माग्थे र त्यहि भएर माकुने पिएम बन्ने बित्तिकै सायद आदेश आयो होला, सैनिक हेडक्वार्टरबाट वा भारतीय नेताबाट। अनि त तुरून्त रत्नपार्क सार्ने निर्णय गरिहाले।
हिजो तानाशाही राजतन्त्र हुंदा राजाकै पाउमा ढोगेर उपप्रधानमन्त्री बनेको अनि भाइमारा ज्ञानेन्द्र राजा भएपछि दाम राखेर ढोगेका घटना अकस्मात र अन्जानमा भएका होलान् भनेर जनताले पत्याएनन् भलै एमालेका नेताहरूले नेता नेपालका ती सबै कर्तुतहरू दूधले पखाल्ने प्रयत्न गरे। त्यहि भएर दुई दुई ठाउंबाट हार्न पुगे माधव नेपाल।
शायद उनलाई रिस पनि होला ती मोरा जनताहरूसंग आफैलार्इ हराएकोमा। त्यसैले गणतन्त्र चाहने जनतालाई उनले चुनाव हारे पनि पिएम बनेर देखाउने चान्स पाएका छन्। र यहि हो उत्तम चान्स। उनी जनताप्रति उत्तरदायी हुनुपर्ने कुनै बाध्यता छैन। किनकि उनी जनताबाट चुनिएर आएका पनि होइनन्। जनतासंग डराउनुपर्ने पनि कुनै कारण छैन किनकि उनले देखाइसकेका छन् जनताले चुनाव नजिताए पनि पिएम बनेर।
तर उनलाई यो सबै गर्न साथ चाहिएको छ। जनताको साथ हुने त कुरै भएन। उनलाई साथ दिने भनेका अब तिनै दरबारिया जर्नेल कटवालहरू र भारतीय प्रभुहरू नै हुन्। दरबारिया जर्नेल कटवाललाई त उनले बचाउ गरेकै छन् त्यसैले उसको साथ नपाइने कुरै भएन। भारतलाई पनि उनले महाकाली बुझाएर गुन लगाएकै हुन्। साथ नपाइने पनि होइन। तर उनलाई पक्का छैन के गरेर अगाडि बढ्ने भन्ने। उनले चिन्ता गर्नुपर्ने भएन किनकि अब त गिरिजा र ओली दूवै भारतका मतियार उनको साथ छन्। त्यसैले ती दुवै विमार छन् यसबेला। र तिनलाई चाहिएको छ भारतीय नेताको षड्यन्त्रको उपचार अनि ओखति।
मलार्इ कहिले कांही ताज्जुब लाग्छ। यी बजियाहरू खुलेआम देशको अस्मितालार्इ दाउमा राखेर सत्तास्वार्थमा डुबिरहेका छन्। अनि नेपालको मिडिया चाहिं यिनीहरूको पक्षमै कुर्लि कुर्लि लेखिरहेको हुन्छ। यस्तो पनि कहीं हुन्छ र? कहीं हुंदैन। त्यसैले नेपालमै हुन्छ कहीं नहुने कुरा। षड्यन्त्रको तानाबाना भारतीय नेताबाट सिक्न विरामी पर्नु परेको छ गिरिजा र ओलीलाई। धिक्कार छ यी भारतीय मतियारहरूलाई।
This e-mail address is being protected from spambots. You need JavaScript enabled to view it














