HongKongNepali.com, The Next Media

Tuesday
Nov 21st
Home अन्तर्वार्ता "मानवीय जीवनमा भयको विश्व रूप छ।" देश सुब्बा

"मानवीय जीवनमा भयको विश्व रूप छ।" देश सुब्बा

E-mail Print PDF
AddThis Social Bookmark Button
देश सुब्बा भयवादी साहित्यकार हुन्। केही वर्षेदेखि उनले भयवाद दर्शनको विकास गरिरहेका छन्। भयवादको पहिलो प्रयोग "आदिवासी" उपन्यासमा गरेका थिए। हाल नाटक र कवितामा प्रयोग भइरहेको छ। भरखरै प्रवीण पुमाले "हेत्छाकुप्पा" नाटकमा भयवाद प्रयोग गरेका छन्। यसको राष्ट्रिय सम्मलेन अगस्ट २ तारिख २००८ मा धरानमा भइसकेको छ। उनै देश सुब्बासित सागर नेपालले लिएको अन्तरवार्ता हो यो। 
 
१. भयवाद के हो ? 

भयवाद अरू दर्शनहरू जस्तै एउटा दर्शन हो। मानवीय जीवनमा भयको विश्व रुप छ। भयको विश्व रुप भन्नाले मान्छेका स्वभाव, मान्छेका गुण र प्रत्येक वस्तुसित मान्छेलाई भय हुन्छ। आन्तरिक रुपमा आफ्नै कारणले पनि हुन्छ, बाहृय वस्तुहरू सँगको कारणले पनि। एउटा वस्तुले सबैलाई समान भयभीत बनाउँदैन। उदाहरणको लागि शंका एउटा स्वभाव हो, लोभ एउटा स्वभाव हो। यसभित्र भय हुन्छ। भूत एउटा वस्तु हो, भूत देखेर, सुनेर सबै मान्छेलाई समान भय हुँदैन। भय मान्छेको चेतना, ज्ञान, सहनशीलता, ग्रहणीय क्षमता र स-संकेतिक् प्रवृत्तिमा भर पर्दछ। स-संकेतिक प्रवृत्ति भन्नाले रसियन वैज्ञानिक पेत्रोभिच् पावलोफ्ले आविष्कार गरेको प्रवृत्ति हो। यी सबै भयहरूबाट निस्किने प्रयास, माध्यम, प्रकटहरू भयवाद हुन्। 
 
 
२. भयवादको विकास कसरी गर्नुभयो ? 

आज भन्दा दश वर्षअगाडि मसित एउटा उपन्यासको पाण्डुलिपि थियो। त्यो उपन्यास अझै प्रकाशित भएको छैन। त्यो उपन्यास मैले सुझाव संकलन गर्न साथीहरूलाई पढ्न दिएको थिएँ। दिइएका साथीहरू मध्ये एक जना साथी शरण सुब्बाले पाण्डुलिपिमा रातो मसीले अन्डर लाइन गरेर दिनु भएको थियो। रातो रेखा तानिएका धेरै शब्द मध्ये एउटा भयवाद भन्ने शब्द रहेछ। मैले यसलाई गम्भीरतापूर्वक मनन् गरेँ। किनभने यो वजनदार थियो, अनि त्यही शब्दमा विचार गर्न थालेँ, साथीहरूसँग कुरा राख्न थालेँ। यसमा छलफल भयो, बहस भयो, अन्तर क्रिया भयो, लेखहरू आउन थाले, किताब लेखेँ। अनि धरानमा भयवादमाथि राष्ट्रिय बहस पनि भयो। यसरी भयवादको विकास भएको हो। 
 
 
३. भयवाद विशुद्ध साहित्यिक वाद हो ? या जीवन र जगत् अन्य मान्यताहरूसँग पनि यस सम्बन्ध राख्दछ ? 

भयवाद साहित्यमा मात्र केन्द्रित नभएर सिङ्गो जीवन र जगतसँग सम्बन्ध राख्दछ। साहित्य जीवनको सम्पूर्ण्ता होइन, एउटा अंश हो। मैले माथि नै भने भय मानवीय जीवनको विश्व रुप हो। यसको प्रभाव सबैतिर छ। मलाई त के लाग्दछ भने सबै मानवीय स्वभावले भयको परिक्रमा गर्दछ। कला, संगीत, साहित्य, विज्ञान सबैतिर यसको उपस्थिति छ। 
 
 
४. कस्तो साहित्यलाई भयवादी साहित्य भन्नु पर्ला ? 

भय सकारात्मक सुन्दर चेतना हो। त्यसो त भय जुनसुकै साहित्यमा कुनै न कुनै रुपमा हुन्छ। कुनै आंशिक होला, कुनै बढी। सिद्धान्तको परिधिमा व्याख्या गर्नुपर्दा यो यस्तै चित्रको हुन्छ भनेर भन्न सकिन्दैन, तर जुन साहित्यमा जीवन, चेतना, ज्ञान, भय र भयवाद छ यसैलाई भयवादिय साहित्य भन्नु पर्दछ। 

 
५. भयको उत्पत्ति कसरी हुन्छ ? भयले जीवनमा कस्तो प्रभाव पर्दछ ? 

भयको उत्पत्ति चेतना, ज्ञान, प्रवृत्तिले आन्तरिक र बाहृय वस्तुसित मुटभेट गर्दा हुन्छ। चेतना सबै मान्छेमा हुन्छ, तर मान्छे सधैँ भयभीत भइरहन्दैन। उसलाई कुनै पनि वस्तुको बारेमा ज्ञान हुनुपर्दछ। जीवन एउटा ज्ञान हो, मृत्यु अर्को ज्ञान हो, रोग एउटा ज्ञान हो। आणविक हतियार एउटा ज्ञान हो। मान्छेलाई आणविक हतियारको शक्तिको ज्ञान भएन भने भय हुँदैन। उदाहरणको लागि सर्प विषालु हुन्छ भन्ने प्रवृत्तिगत अर्थ हामीले सुन्दै नआएको भए सर्प सुनेर, देखेर, भयभीत हुनुपर्ने कारण नै थिएन। हामीले सर्प विषालु, हुन्छ यसले ठुङ्गेपछि मरिन्छ भन्ने अर्थ बुझदै आएका छौँ। यही अर्थ बोकेर हाम्रो ज्ञानतन्तु, इन्द्रिय माँसपेशी मस्तिष्कमा पुग्दछन् र हामीलाई भय हुन्छ। 

भयले जीवनमा सकारात्मक र नकारात्मक दुवै प्रभाव पारेको हुन्छ। सभ्यताको विकास, विज्ञानको नयाँ आविष्कार, नयाँ नयाँ औषधिको आविष्कार, सृजना उन्नति र प्रगतिको कारक तत्व भय नै हो। त्यस्तै लोभ, शंका, हत्या, आतङ्क, षडयन्त्र, युद्ध सबै भयको कारक तत्व हो। 

 
६. प्रेममा भयको के अर्थ रहन्छ ? 

प्रेममा भयको सबैभन्दा महत्वपूण् अर्थ रहन्छ। प्रेम हुनुको पहिलो कारण भय हो। एक्लो मान्छेको जीवन अपूरो हुन्छ, जीवन पूरा गर्नको लागि कसैसित प्रेम गर्ने गर्दछ। उसको यो प्रेमसँग भविष्य जोडिन्छ, सन्तान जोडिन्छ, घर व्यवहार जोडिन्छ र संसार जोडिन्छ। प्रेम प्रेमको लागि मात्र हुँदैन, प्रेम त संसारको लागि हुन्छ। कतै एक्लै भइन्छ, दुःख पाइन्छ, मरिन्छ भन्ने भयहरूबाट सुरक्षित रहन मान्छे प्रेम गर्छ। 

 
७. के भयवाद संसारको बिल्कुलै नौलो वाद हो ? 

एकातिर विद्वानहरू संसारमा केही पनि नौलो छैन भन्छन्। जे कुरा हामी नौलो भनिरहेका हुन्छौ, त्यो त्यही हुन्छ-छेलिएको, नदेखिएको, लुकेको छोपिएको। हामीले नौलो भनेको कुरा त त्यही छेलिएको, नदेखिएको, लुकेको, छोपिएकोलाई ढुङ्गा पल्टाएर निकालेको जस्तो, चट्टान पल्टाएर निकालेको जस्तो, पानीमा डुबेर खोजेको जस्तो मात्र भन्छन्। त्यो वस्तुका रूप परिवर्तन हुन्छ, रंग परिवर्तन हुन्छ, तर वस्तु त्यही हुन्छ। यसरी मानिदिने हो भने यो नौलो कुरा होइन। किनभने भयको बारेमा आदिमकोदेखि मान्छेले अनुभूति गर्दै आए, बोल्दै आए, त्यही अनुसार व्यवहार गर्दै आए। यसमा पनि ढुङ्गा पल्टाएर हेर्ने हो भने अलि छुट्टै देखिन्छ। आदिमकालदेखि आनुवाँशिता टाँसिन्दै आएजस्तै भय मान्छेसित टाँसिन्दै आयो, तर त्यतिखेर अनुभूतिको रूपमा आयो। त्यतिखेर भय प्रमुख विषय थिएन। जीवनमा भय प्रमुख विषय हो भन्ने तर्क लिएर आउने सवालमा भने 'भयवाद' बिल्कुलै नौलो वाद हो। 

 
८. तपाई एउटा उपन्यासकार पनि हुनुहुन्छ ? के तपाईका उपन्यासहरू भयवादी छन् ? 

मैले भयवादको सोच ल्याउनु भन्दा धेरै अगाडि देखि लेख्नु थालेको हुँ। कतिपय फुटकर साहित्य लेखिएका छन्, कतिपय उपन्यास। भयवादको दर्शनबाट हेर्दा त सबै उपन्यासहरू भयवादी देखिन्छ। तर भयवादको सोच आइसकेपछि लेखिएको उपन्यास चाहिँ 'आदिवासी' मात्र हो। त्यसैले आदिवासीलाई चाहिँ भयवादी उपन्यासको प्रयोग मान्न सकिन्छ। बाँकी उपन्यासहरू भयवाद सिद्धान्तको प्रतिपादन अघि र पछि दुइ भाग गरेर हेर्न सकिन्छ। 

 
९. नेपाली समाज अहिले कुन बाटो गइरहेको जस्तो छ। भयवादी उत्तर पाउ। 
 
नेपाली समाज हिजोको कालखण्डबाट नयाँ प्रकटमा छ यतिखेर। संभावनाहरू प्रशस्त विकास भैरहेको छ। भोग, इष्र्या, लोभ, अहंम, रोगको विभिषिकाले ब्यूझाएर अगाडि बढाइएको छ। प्रशस्त बैँकहरू खुलेका छन्, विद्यालयहरू खुलेका छन्। राजनैतिक रूपमा पनि ठूलो परिवर्तन हुँदैछ। म लामो समय हङकङमा बसेर नेपाल आएँ। नेपालको प्रगति देखेर छक्क परेँ। किनभने मैले नेपाल छोड्दा केही सीमित बैंकहरू थिए। अहिले बैंक, वित्तिय र प्राविधिक शिक्षालयको बाढी नै आएको छ। सञ्चारको द्रुत गतिमा विकास भएको छ। यिनीहरू भनेको विकासको मापदण्ड र पूर्वाधार दुवै हो। म हङकङ आएपछि केही रेलमार्ग, केही सुरुङ माग, एउटा अन्तराष्ट्रिय बिमानस्थल र विमालस्थल जोडन् बाटाहरू, पुलहरू बनेका छन्। हामीलाई लाग्छ, कति छिटो विकास गरिरहेको भनेर। पहिला यहाँ प्रशस्त रोजगारीको संभावना थियो, ठूला ठूला जब मार्केटका पत्रिका निस्किन्थे, फर्म भरेर दिनासाथ तुरुन्तै त्यसको जवाफ आउँथ्यो, रोजगारी खोजिदिने संस्थाहरू प्रशस्तै थिए, सबैलाई सबैतिर काममा राखिन्थ्यो। अहिले त्यस्तो छैन। भएका वित्तिय संस्था, बैंकहरू धमाधम बन्द हुँदैछन्। यसैबाट नेपाल, नेपाली समाज कता जाँदैछ बुझन सकिन्छ। 

 
१०. तपाईलाई मन पर्ने साहित्यकारहरू को को हुन् ? 

मलाई मनपर्ने साहित्यकार धेरै छन्, उनीहरूका आ-आफ्नै विशेषता छन्। तर नामै किटेर भन्न सक्दिनँ। किनभने नामै काटेर भन्दा कसैलाई न्याय कसैलाई अन्याय हुन्छ। फेरि ठूलाठूला विदेशी साहित्यकारको नाम लिएर साहित्यिक आडम्बर पनि गर्न चाहान्नँ। सबैको साहित्य मूल्यावान छन् चाहे विदेशी होस वा स्वदेशी। उनीहरूलाई केही प्रचारप्रसारले ठूलो बनाएको छ केही उनीहरूको रचनाले। नेपाली साहित्यकारहरूलाई जे बनाएको छ उनीहरूको सृजनाले बनाएको छ। 

 
११. तपाईले भयवाद प्रतिपादन गर्नुभन्दा अगाडि पनि भयवादी साहित्य लेखिएका थिए ? 

मार्क्सवादी सिद्धान्त, उत्तर आधुनिक सिद्धान्त, अस्तित्ववादी सिद्धान्त आउनु भन्दा अगाडि ती सिद्धान्तमा मिल्ने साहित्य नै लेखिएको थिएन भन्ने मलाई लाग्दैन। प्रशस्त लेखिएका थिए, तर त्यस साहित्यलाई हेर्ने दृष्टिकोणको मात्र अभाव थियो। जब सिद्धान्तहरू आए अनि ती पुराना र नयाँ लेखोटलाई त्यो सिद्धान्तले पनि हेर्न थालियो, समालोचना गर्न थालियो। त्यस्तै भयवाद सिद्धान्त आउन अगाडि यस प्रकृतिका साहित्य लेखिएका थिएन भन्ने मलाई लाग्दैन। तर समालोचनामा भयवाद नआएकोले यसलाई यो दृष्टिकोणबाट हेरिएको थिएन। दृष्टिकोण नै नभएपछि हेर्ने कुरापनि भएन। यति मात्र फरक हो। 
 
 
१२. भयवाद बारेमा कस्तो प्रतिक्रिया पाइरहनु भएको छ ? 

प्रतिक्रिया मिश्रति छन्। कसैले नितान्त नौलो कुरा मानिरहनु भएको छ, कसैले मानिरहनु भएको छैन। यस्तो प्रतिक्रिया भयवादलाई मात्र होइन सबैलाई आउँछ। यो विचारलाई मान्नु हुने महानुभावहरूले एकदमै भावनात्मक सहयोग गरिरहनु भएको छ। उहाँहरूसित मिलेर भयवाद अध्ययन केन्द्र पनि स्थापना गरेका छौँ। किनभने भयवाद निकै ठूलो कुरा हो, मैले जति व्याख्या गरिरहेको छु, त्यो भन्दा धेरै गहन कुरा दिनदिनै आइरहेका छन्। यसैलाई अध्ययन गर्दै जाने र ती अध्ययन गरिएका विषयलाई अध्ययन गर्दै जीवन उपयोगी विभिन्न विधाहरूमा प्रयोग गर्दै लान यो केन्द्रको स्थापना भएको हो। 

 
१३.अन्त्यमा के भन्न चाहानु हुन्छ ? 

भयवाद एउटा जीवनवादी दर्शन हो। यसले धेरै मान्छेलाई मद्दत गर्दछ। अहंम, घृणा, इष्र्या, आतङ्क, षडयन्त्र, शंका, हिनता बोध, अन्तरमुखी, डिप्रेसन भयको कारणबाट हुन्छ भन्दछ। यी मान्छेका समस्या हुन्। मान्छेलाई आफ्नो समस्या थाहा भए ऊ सहज मार्गबाट निस्किने प्रयास गर्दछ। त्यसैले भयवादबारे जानकारी राख्नु, दर्शन र विज्ञानको लागि उपयोगी हुन्छ। 

अन्तरवार्ताकार सागर नेपाल
 

Add your comment

Your name:
Subject:
Comment:

Latest News