तीन सय किलोमिटर प्रतिघन्टाका दरले उडेको रकेट एक किमि उचाइसम्म पुग्यो
पानीबाट उड्ने रकेट संसारमा अहिलेसम्म बनेको थिएन
काठमाडौँ, १ फागुन
विश्वमा नै इन्धनको माग बढ्दै गएको वेला कक्षा ८ मा अध्ययनरत नेपाली विद्यार्थीले पानीबाटै चल्ने रकेट बनाएर उडाएकी छिन्। काठमाडौँ भीमसेनगोलास्थित इन्द्रधनुष माविमा अध्ययनरत विनम्रता शर्माले पानी र हावालाई इन्धनको रूपमा प्रयोग गरेर रकेट उडाएकी हुन्।
काठमाडौँ डनबस्को स्कुलमा भएको बृहत् शैक्षिक मेलामा विनम्रताले पानी र हावाकै इन्धनले रकेट उडाएकी हुन्। पाँच सयभन्दा बढी विद्यार्थी तथा अभिभावकबीच उडाइएको सो रकेट करिब एक किलोमिटर उचाइसम्म पुगेको थियो।
रकेट तीन सय किलोमिटर प्रतिघन्टाको गतिमा उडेको विद्यालय इन्द्रधनुष माविका पि्रन्सिपल बाबुराम पौडेलले बताए। रकेट बनाउन विनम्रतालाई पि्रन्सिपल पौडेल र कक्षा ९ मा अध्ययनरत साथी सजक उपाध्यायले सघाएका थिए।
'लौ नेपालको रकेट उड्यो' पानी र हावाको इन्धनले रकेट उडेपछि मेलाका सहभागीले ताली पिट्दै प्रतिक्रिया दिएका थिए। विनम्रताले बनाएको नेपाली रकेटलाई शिक्षक र निर्माताले 'पानीरकेट' नाम दिएका छन्।
रकेट बनाउन करिब तीन महिना लागेको विनम्रताले बताइन्। 'मैले बनाउँछु भनेर आँट गरेँ, स्कुलले सहयोग गर्यो, तीन महिनामा योजना सफल भयो,' उनले नयाँ पत्रिकासित भनिन्।
रकेट पानी र हावाकै भरमा उडेको बताउँदै उनले भनिन्, 'जति माथि उडाउनुपर्ने हो, त्यति धेरै पानी चाहिन्छ, पेट्रोलियम इन्धनजस्तै हो,' उनले भनिन्, 'यो त नमुना मात्र हो, स्रोत र साधन भए यही सिद्धान्तअनुसार ठूलै रकेट पनि उडाएर देखाउन सक्छु।'
रकेट बनाउन पेप्सी र कोकका जम्बो बोतल प्रयोग गरिएको छ। रकेटको पिँधमा राखिने नोजल, रकेटलन्चर र हावा हाल्ने विशेष पम्प भने विदेशबाट झिकाइएको पि्रन्सिपल पौडेलले बताए। पौडेल भन्छन्, 'त्यस्ता सामान नेपालमा नपाइएकाले विदेशबाट मगाउनुपरेको हो।' यति गर्दा पनि रकेट बनाउन २० हजार मात्र लागेको छ।
नमुनाका रूपमा तयार पारिएकोे रकेटमा अझ धेरै प्रविधि प्रयोग भए नेपालको प्रतिष्ठा बढ्ने दाबी पनि पौडेलले गरे। 'पानीबाट चल्ने रकेट विश्वमा अन्त बनेको छैन, यो नै पहिलो हुनेछ,' उनले भने।
विनम्रताले पनि पानीले चल्ने रकेट विकसित भए वातावरण संरक्षणमा पनि क्रान्ति हुने बताइन्। 'अन्य मुलुकमा रकेट उडाउन प्रयोग गर्ने इन्धनले वातावरणमा ठूलो असर पारेको छ, अब पानीबाटै चल्ने रकेट बनेपछि वातावरण संरक्षणमा ठूलै क्रान्ति आउने भएको छ,' उनले भनिन्।
आगामी वर्ष अस्ट्रेलियामा हुने प्रतियोगितामा उनले पानीरकेट प्रदर्शन गर्ने बताएकी छिन्। यसअघि उनले बैंककमा भएको प्रतियोगितामा भाग लिएकी थिइन्। यसैगरी, मेलामा
डनबस्कोमा कक्षा १० मा अध्ययनरत विद्यार्थीले रिमोटबाट चल्ने विद्युतीय एरोप्लेन उडाएका थिए। प्लेन १५ मिनेटभन्दा बढी उड्न सक्ने बताइए पनि ब्याट्रीमा चार्ज नभएकोले एक मिनेट मात्र उडेको थियो।
विद्यार्थीमा रहेको प्रतिभालाई उजागर गर्ने उद्देश्यले मेला आयोजना गरिएको डनबस्कोका पि्रन्सिपल महेन्द्र खनालले बताए। 'देशमा यति धेरै प्रतिभा लुकेका रहेछन्, सरकारले यस्ता विद्यार्थीको प्रतिभा विश्वसामु चिनाउन आवश्यक छ,' उनले भने। राजधानीका सयभन्दा बढी विद्यार्थी सहभागी उक्त मेलामा विद्यार्थीले बनाएका रोबर्ट, विद्युतीय कार, रेडियो तथा अन्य विभिन्न सामग्रीको प्रदर्शन गरिएको थियो।
श्रोत - नयाँ पत्रिका











