टोक्योमा टेकेका डोबहरु(कविता)

Print
AddThis Social Bookmark Button

उमेश राई“अकिञ्चन”

विराटनगर


हृदयलाई दुई कुना बनाएर

छोडनु छ टोक्योमा टेकेका डोबहरु

 

 

टाढा–टाढाका देशबाट एक्ला–एक्लै आएर

एउटै परिवारका सदस्य वनेका तालिमे साथीहरु

अज्ञानताको समुद्रमा ज्ञानको डुंगा तार्ने प्रोफेसरहरु

हिड्दा–डुल्दा भेटिएका जापानीहरुले बाँडेका

प्रेयसी अँगालोजस्तो आत्मिय आतिथ्यता

 

वुलेट ट्रेनको गतिसँगै

दौडने घडिका काँटाहरु

हत्केलाले छेकेर नछेकिने

शूर्यजत्रो उज्यालो बोकेर दौडिने

टोक्यो ट्रेनका यात्रीहरु

 

समुद्रको सौन्दर्य छेउ

हाँसिरहेको खुर्पेटो जून

उदियमान कलाकारले गाएका

सडक गीत

कलेज छेउमा फुलिरहेको साकुरा

टोक्यो शहरको उज्यालो जस्तै

साथीहरुका चम्किला सम्झना

जिन्दगी नामको रुमालमा

सवै–सवै भरेर

फर्किनु छ

आ–आफ्ना देश

हृदयलाई दुई कुना बनाएर ।