ईन्द्र एलजी थापामगर
आजकल,
मेरो छाती चस्स चस्स दुख्छ।
त्यसैले छाती छामि रहेको छु।
किवदन्ति जस्तै लाग्ने,
पूर्व, टिस्टा देखि पश्चिम, गढवालसम्म फुकेको मेरो छाती,
मेची र महाकाली भन्नु मात्र सुस्ता, पशुपतिनगर, टनकपुर, दाङ हुदै जताततै,
दिनदहाड मेरो छाती खुम्चिरहँदा,
मेरो रगत पानी पानी भएको छ।
त्यति मात्र हो र !
सगरमाथा जस्तो अग्लो स्वाभिमानयुक्त छाती,
निलो पासपोर्ट बोकेर एम्बेसीहरुमा पुग्दा,
आबै ! यत्न बिधि खुम्चिएर कति पुड्को भएको हो ?
कैजार विलियम तर्साउने यो छाती !
र
मेरो छाती मात्र होईन,
म स्वयं नेपालीबाट आजकल,
जाति, धर्म, क्षेत्र, वर्ग, समूह, आस्था आदि/ईत्यादिमा खुम्चिरहेको छु।
आवश्यकता भन्दा बढी,
जताततै खुम्चिरहेको छु।
यसैले त,
मेरो छाती यसवेला समस्याहरुको डंगुरमा,
हराइरहेको छ
छटपटाइरहेको छ
र
भतभत पोलिरहेको छ।













