पशुपती शर्मा बाग्लुङ हाल दोहा कतार
आज रातमा मैले सपना देखें
उत्तर तिरको शिखर मौन थियो
तराई र पहाड को निकटता टुटेझै
कतै सड्यन्त्रकारीले बलजफ्ती,
घनिष्ठता लुटेझै।
महाकालीका छालहरुले स्वतन्त्रताको माग
गरिरहेका थिए।
कोशीको बिक्षिप्त हिडाईमा ब्रेक मार्ने पराईहरु
एनजिओ आइएनजिओ द्वारा डलर भरिरहेका थिए।
फेरी कोही भने,
राष्ट्रियता, अखण्डता, स्वाधीनताको लागि,
निस्फिक्री सँग लडिरहेका छन।
बुझ्न निकै कठिन थियो,
केहीले आफ्नो नसुहाउदो अनुहार बङाउदै,
राष्ट्रको आजाद दिनहुं नङाउदै।
तिनै भन्दै थिए जनता को लागि भनेर,
हो, आज रातमा मैले यस्तो सपना देखें।
गण्डकीको हिडाई अनौठो थियो।
कर्णाली भन्दै थियो,
मेरो ईज्जत लुटाईदैछ भनी,
बागमति सुस्साउदै थियो,
मबाट मेरा परिवार छुटाइदैछ भनी।
जहाँ, भेरी,कणाली,मेची,सेती,त्रिसुली,राप्ती का,
आवाज पनि उत्तिकै थिए।
माने भञ्ज्याङ हरु नियास्स्रा देखिन्थे
झरना ताल तलैयाहरु भने अपाङ्ग भेटिन्थे।
बनमा बटुवा जिस्क्याउने कोईलीहरु बोलदैनथे।
डांफे मुनाल कालिजहरु, पहिलेझै आफुमा,
कुरा खोल्दैनथे।
वल्लो बनको चितुवा पल्लो बनमा जान नपाउनु
आज सम्म उही बनमा बसेको भालुलाई,
यो मेरो राज्य भनी, हरिणले धपाउनु,
आज रातमा मैले यस्तो सपना देखें।
नेपाली भुमि बिस्तारबादीहरूबाट दिनहु मिचिदै थियो।
साम्राज्यबादबाट न्यायिक आवाज हरु थिचिदै थियो
प्रतिगमनका बिउहरु, फेरी टुसाउदै थिए।
सत्ताधारी भनाउदाहरुले, आमाको प्वाखले धाकिएर बसेका
कुखुराका बचेँराले झैं,
साम्राज्यबादको हत्केलामुनी आफ्नो नसुहाउदो,
चेहरा लुकाउदै थिए।
बिभिन्न जात जातिहरु, आपसमा त्रसित थिए,
जुट्नमा भन्दा फुट्नमा ग्रसित थिए।
हो,आज रातमा मैले यस्तो सपना देखे।











