HongKongNepali.com, The Next Media

Sunday
Jun 25th
Home विशेष लेख मगरहरुको चाड माघी/माघे संक्रान्ती

मगरहरुको चाड माघी/माघे संक्रान्ती

E-mail Print PDF
AddThis Social Bookmark Button

 

शरण थापा मगर

अध्यक्ष केन्द्रिय समिती नेपाल प्रवासी मगर संघ दोहा कातार

माघी/माघे संक्रान्ती मगरहरुले परापुर्व काल देखी मनाउँदै आइरहेको प्रमुख चाड हो । यो चाड मगर, थारु, नेवार, लिम्बु, कुमाल, छन्त्याल, दनुवार लगायत अन्य जाती तथा समुदायले पनि आ–आफ्नै तरिकाले भव्य रुपमा मनाउने चलन रहेको छ । यो हिन्दु धर्मावलम्बीहरुले पनि सुर्य धनु राशीबाट मकर राशीमा प्रबेश गरेको हुनाले मकर संक्रान्तिको रुपमा यस चाडलाई मान्दछन । यो चाड धेरै मुल्य र मान्यता तथा इतिहास बोकेको रहे तापनि नेपाल सरकारले बि। सं। २०६५ सालमा मात्र राष्ट्रिय चाडको रुपमा मान्यता प्रदान गरेको थियो । यस चाड मगर जातीको प्रमुख चाड भएकोले मगर जातीले पनि भव्य रुपमा मान्दछन । यस चाडको यहाँ बिशेष गरेर मगरहरुले मनाउने तरिका बारेमा यहाँ चर्चा गरिएको छ । मगरहरुले पनि ठाउँ बिशेषले मनाउने तरिका भिन्नाभिन्नै हुन सक्छन ।

 

तरुल लगायत मिठो परिकार खाने

मगरहरुले यस चाडमा माघे संक्रान्ति भन्दा पहिले नै बिशेष गरेर बन तरुल लगायत अन्य तरुल जुटाएर जोहो गरि राख्छन । त्यसपछी माघे संक्रान्तिको दिन राती नै उसिनेर तयार पार्छन । त्यसपछी बिहानै नुहाई धुवाई गरेर सफासग्घर गर्छन । घरको मुलिले(नभएमा घरको अन्य पुरुष सदस्य) पितृ तथा कुलको थानमा काँचो बन तरुल चढाएपछी मात्र घरको सबै सदस्यले खान्छन । खानेबेलामा पनि काँचो बन तरुलको पहिले र त्यसपछी बन तरुलकै एउटा टुक्रा पोलेर डढाएर बनाएको अंगारको टिका बोकेपछी काँचो बन तरुल थोरै भए पनि खाएपछी मात्र बन तरुल लगायत अन्य तरुलहरु खान्छन । बन तरुल खन्न नभ्याएको या नपाएको ठाउँमा भने १÷२ किलो किनेर ल्याएर अझै यो पनि सम्भव नभएको ठाउँमा टिका बोक्नकै लागी भए पनि एक टुक्रा बन तरुल ल्याएर भए पनि बिधी पुरा गर्छन । यस चाडमा तरुल लगायत तरुलकै अचार या अन्य अचार, सेलरोटी, अन्य मिठो लाग्ने खानेकुरा खाने चलन रहेको छ ।

छोरी तथा चेलीबेटीलाई निस्रो दिने

यस चाडमा संक्रान्तिको दिन छोरी तथा चेलीबेटीहरुलाई बन तरुल र पैसा दिएर पुजा गर्ने चलन रहेको छ । यसलाई निस्रो/निकह्रा भनिन्छ । बिहे गरेका चेलीबेटीहरुलाई माइतीहरु स्वयम बोलाउन जान्छन । बिहे गरेका चेलीहरुलाई बिदा गर्ने बेलामा मात्र निकह्रा गरेर पठाउँछन । टाढाका चेलीबेटी आउन नसक्ने भएमा निकह्रा पु¥याउन जाने या पछी कुनै बेला माइत आएको बेला दिने चलन रहेको छ । बिहे गरेका चेलीहरु माइत आएको बेलामा बिशेष गरेर बन तरुल अनी तरुलकै अचारको कोशेली लिएर आउने गर्छन र टाढाका चेलीहरुले पनि माइत आउन नभ्याएमा कोशेली पठाइदिने या पछी आउने बेलामा माघीको भाग भनेर छुट्टै कोशेली थोरै भए पनि लिएर आउँछन । यस चाडमा चेलीबेटीहरु हुल बाँधेर गाउँघरमा गित गाउँदै हिँडेर केही अनाज र रकम भेला गरी अर्को दिन सँगै मिलेर माघी खाने (माघ्या ज्याकी) अनी रमाइलो गर्ने पनि चलन रहेको छ ।

बाराही पुजा गर्ने

यस चाडको पहिलो दिन बाराही पनि पुजा गर्ने चलन रहेको छ । बाराही मन्दिरहरुमा पुजा यस समयमा भिन्दै बर्ष पारेर ३ पटक गरेमा चिताएको पुग्ने र स्वर्ग पुगिन्छ भन्ने जनबिश्वास पनि रहेको छ । माघीमा पाहुना तथा दाजुभाईहरु घरमा आउने भएकोले माघी भन्दा १/२ दिन अघी या पछी पनि जाने पुजा गर्न चलन रहेको छ । बिशेष गरेर कुनै बिपत्ती तथा केही भएको बेलाको भाकल भएमा, घरको कोही सदस्यको मृत्य भएपछी उसलाइृ स्वर्ग पुगुन भन्ने कामना गर्न पनि यस समयमा गरेको बाराही पुजाले पुरा गर्छन भन्ने जनबिश्वास रहेकोले पनि यस चाडमा बराही पुजा गर्छन । धेरै ठाउँमा बराही मन्दिर नै बनाएको हुन्छ भने केही ठाउँमा सानो सानो ढुङ्गाको थुप्रो उठाएर माथी ठुलो ढुङ्गा राखेर बराही मानी पुजा गर्छन । पुजा गर्ने दिन पुजा नसकिन्जेल केही पनि खानु हुँदैन र पुजा गर्ने दिन मासुजन्य पनि खानु हँदैन भन्ने जनबिश्वास रहेको छ ।

साल ल्हेत

यस चाडमै बिहेबारी भएको बर्ष चेलीहरुले बिशेष कोशेली माइतीहरुलाई खुवाउने चलन रहेको छ । यसलाई नै साल ल्हेत भनिन्छ । यस समयमा चेलीहरुले माइतीखाल र मावलीखालहरुमा पुग्ने गरी कोशेली ल्याउनुपर्छ । माइती र मावली खालले पनि चेलीबेटीलाई घाटा नपार्ने गरी अझ निकह्रा पनि हुने गरी दान दक्षिणा दिएर बिदा गर्ने चलन रहेको छ । यस चाडमा मगर राजाको बिहे भएकोले बाजा गाजाका साथ बिहे गर्न नसक्नेले ससुरालीहरुको हातबाट टिका थापे ठुलो बिहे गरेको भन्दा राम्रो हुने जनश्रुती पनि रहेकोले माघीमा टिका थाप्ने(बिहे गर्ने) चलन पनि रहेको छ । यसै चाडमा गाउँघरको नयाँ बाली लिने दिने या बालीहरु थैली तथा कुटमा दिएको भए यस समयमा मात्र फिर्ता तथा घटबढ गर्न पाइने चलन रहेको छ । थैली फिर्ता गर्दा धनी थोरै कोशेली लिएर बारी कमाउनेकोमा जाने र थैली या कुट घटबढ गर्नुपर्दा कमाउनेवाला बारी धनीकोमा थोरै कोशेली लिएर जानुपर्छ । यो चाड मानिसकेपछी दाजुभाई भागबन्दा तथा घर छुट्ने पनि यसै समयमा गरिने चलन रहेको छ ।

तारो हान्ने

यस चाडको खेलहरुमा बिशेष गरेर तारो हान्ने नै प्रमुख हो । यस तारो हान्ने खेलमा बिजयी हुनेलाई फुलपाती लगाएर पुरस्कृत गर्ने पनि चलन रहेको छ । सम्बन्धित ठाउँमा निसाना जसले राम्रो लगाउँछ त्यो नै बिजयी हुन्छ । यो धेरै ठाउँमा आयोजना गर्ने हुनाले एक ठाउँमा सकेर अर्को ठाउँमा जाने चलन पनि रहेको छ । यस्तै खेलहरुले गर्दा बिभिन्न ठाउँहरुमा अहिले मेला पनि लाग्ने गर्दछन ।

नाचगान

यस चाडको दिन मानिसहरु दिनभरी खानपिन, भेटघाट गरिसकेपछी बेलुका भएपछी बिशेषगरी युवतीहरु होम्पई र युवा तथा बुढापाकाहरु पैंसारु नाच्ने गर्दछन । कोही दोहोरीमा मस्त हुन्छन । यस्तो दुई तिन दिन सम्म चलिरहन्छ । यसै समयमा घाटु र कौराहा उठाउने (धुर्ने) पनि गर्दछन । यसरी घाटु र कौराहा उठाउँदा भोज गर्ने चलन पनि छ । घाटु र कौराहा उठान गरि सकेपछी बैठान पनि गर्नुपर्छ यो कोहीले यसैबेला बैठान गर्छ भने कोहीले साउने संक्रान्तिमा बैठान गर्छ ।

आख्यान (जनश्रुती)

परापुर्व कालमा हाम्रा पुर्खाहरु जङ्गलमा बस्थे । जङ्गलको खानेकुराहरु सकेपछी बाँच्नलाई कठिन पथ्र्यो । धेरै जना भोकले मर्थे । बाँच्नलाई जे अनाज हुन्छ बचाउने कोशिष गरे पनि बचाउन कठिन थियो । अरु बेला जे पनि खाएर बाँच्थे । तर जब हिउँद लाग्छ सबै उजाड हुनाले खानको लागी धौ धौ हुन्थ्यो । तरुल त्यस बेलाको जता पनि पाइने एक मात्र फल थियो । त्यतीखेर काँचै खान्थे । जब हिउँद लागे पछी अनाज संकलनको लागी बनमा तरुल खन्न जान्थे धेरै दिनको संकलन पछी अलिक छिप्पेको छिप्पेको तरुल छानेर खाल्डो खनेर सराले वरीपरी चिसो नलाग्ने गर्मीले पनि नभेट्ने गरी पुरेर राख्ने र कलिलो जती तत्काल खाने गर्दथे । बन तरुल फागुन सम्म नै पाईने भएकोले यसलाई अति महत्वपर्ण खाद्य बस्तु मानेर यसको टिका लगाउन थालियो । अलिक पछी देवताले आगो दिएर गएपछी पोलेर खान थालियो यसैको स्वरुप देवताको नाममा पोलेर खाने बेलाको पनि टिका लगाईयो । अझै पछाडी चेलीबेटी तथा दाजुभाईलाई यसै चाडमा बोलाउने अनी रमाइलो गर्ने चलन आयो । यस्तो भेटघाट निकै दिन सम्म चल्थ्यो । पछी तरुल सकिने बेला अब तरुल सकियो मरिने हो कि बाँचिने भनेर भेटभाट गरी राखौं भनेर चैते दशैंमा भेटघाट गर्न थालियो । जब जेठ तिर गिठ्ठा भ्याकुर पलाउन थाल्यो अनी बाँच्ने आशा पलाउन थाल्यो र रमाउन थाल्यौं । अनी जब साउने सक्राती आउछ हामी अब सुरक्षित भयौं भनेर खुसीले साउने सक्रान्ति मनाउन थाल्यौं । त्यसैले यो माघी पुर्खौं देखी नै प्रमुख चाड मानिएको भन्ने बुढा पाकाको आख्यानमा पाइन्छ ।

माघी कि माघे संक्रान्ति

यहाँ माघी या नाम अरु नै थियो भन्नेमा कुरा उठ्न स्वभाविकै हो । संक्रान्ति शब्द तिथीबाट शुरु भएको हुन सक्छ । अहिले गाउँघरमा काँचो बन तरुलको टिका अनि काँचो बन तरुल नखाई अरु खान नपाइने जुन एक प्रकारको, माघी या माघ्या सक्रान्ति जे भने पनि, प्रचलन छ यसले कतै यो युगौं पहिले देखी मनाउँदै आइरहेको चाड त होईन ? कतै यो मार्हाङ याक(खुसीमय दिन) को अपभ्रंस त होइन यो अनुसन्धानको बिषय नै बनेको छ । तर प्रचलनको तुलना गर्ने हो भने माघे संक्रान्ति भन्दा माघी नै अझ माघ्याक न्यायगत देखिन्छ । यो सबै बहसको बिषय हो । तर जे भए पनि यो हामी मगरहरुको प्रमुख चाड हो यसमा शङ्का छैन । अहिले सहरीकरण सँगसँगै हामीले हाम्रो रितीरिवानलाई सँगाल्न नसक्नाले पनि हाम्रो धेरै कुराहरुमा असर पुगिरहेको छ । देशको राजनितीक रुपमा पनि समाबेशी, समानुपातिक जस्ता नदेख्नुले कराहरुले गर्दा राजनितीक परिवर्तन अझै बाँकी नै छ, भन्ने देखिन्छ । हामीले हाम्रो यो परम्पारिक सम्पतीलाई संरक्षण तथा संबद्र्धन गर्दै बहस पनि चलाउन आवश्यक छ ।

 

 

Add your comment

Your name:
Subject:
Comment:

Latest News