HongKongNepali.com, The Next Media

Tuesday
Nov 21st
Home विशेष लेख सेतोपाटीको लेखबारे हाम्रो प्रश्न : त्यसो भए को हुन् त नेपालका आदिवासीहरु ?

सेतोपाटीको लेखबारे हाम्रो प्रश्न : त्यसो भए को हुन् त नेपालका आदिवासीहरु ?

E-mail Print PDF
AddThis Social Bookmark Button

गोरखाली साथी

'सेतोपाटी'मा एउटा लेख आएको छ फेरी, आशय छ - नेपालमा कोही आदिवासी छैनन् वा छन् भने पनि, उही जो छन सत्तामा उनै हुन् आदिवासी, अरु कोही पनि होईनन । उक्त लेखमा टापटिपे कुरो मात्र लेखिएको छ अर्थात् लेखक महोदयको यस्तै गरी लेख्ने चलन छ । त्यहाँ त्यसरी लेख्ने लेखकहरुसंग वहस गर्ने कुनै मनसाय नै थिएन, अर्थै छैन पनि । तरै पनि केही लेखियो नै त्यसैले यहाँ पनि टासिदिइएको छ । सो, लेखमा ऐतिहासिक भाषाविज्ञानका सिद्धान्तका कुराहरुसंग मेल नखाने कुराहरुको एकसरो चर्चा गरिएको रहेछ मज्जाले। यिनै लेखकको कान्तिपुर दैनिकमा प्रकाशित 'चेम्जोङ्गलाई पढेर'मा पनि यस्तै तुक न तर्कका कुराहरु छापिएका थिए । यो तालले लेखाएर, छपाएर, लेखेर वा छापेर त भएन नि । तर, अन्य फरक मतवालाहरुको कुरो सो 'सेतोपाटीमा' आइरहेको देखिएको छैन ।

कुन ठाउमा कुन फूल कहिले फुल्यो र त्यसलाई कसले नेपाल ल्यायो, कुन किसिमको धान कहाँ फल्यो वा कुन धान, कोदो, जौ, तील वा अरु अन्न कुन कुन देशमा फले भनेर The Cambridge World History of Food भन्ने ग्रन्थको व्यहोरा लेखेर कसैको 'Indigenity' वा 'आदिवासी पहिचान'लाई कान्लाबाट झार्न खोजिनुले एकतर्फको मात्र गुणगान गरिन लागिएको त यसै बुझ्न सक्छन सबैले । किन यसरी कसरत गर्नुपरेको छ मान्छेहरुलाई हावामा भन्दा, त्यो कति बढी हुन जाला त ?

कुनै पुरातत्विक प्रमाण बिनाको काल्पनिक 'पुराण'का कथामा 'थिए रे' भनिएका मान्छेहरुको दौराको फेरोमा झुन्डिएर यसरी हल्लाखल्ला गर्नु, अन्तर्राष्ट्रिय मान्यता प्राप्त शव्द 'आदिवासी'लाई एकलौटी कुरो गरेर असहमतिका कुरा गर्ने व्यक्ति वा लेखकले नमानेर के फरक पर्छ त ? त्यसो त राजा मानदेवका नाति बसन्तदेवको थानकोटको बिक्रम सम्बत ४२८ को शिलालेखको पाचौं हरफमा 'ब्राह्मणपुरश्य' भनिएता पनि पछिका अन्य हरफहरुमा "यस गाउमा अहिले बसेका र पछि आउने ब्राह्मण लगायत अठारै जातका" भनिएको कुरोलाई एकातिर पन्छाएर त्रिभुवन विश्वविद्यालयका कम्तिमा पनि २ जना धुरन्धर विद्वान प्राध्यापकहरुले पनि "ब्राह्मण छेत्रीहरु" नेपालका आदिवासी थिए वा हुन् भनेर दावी गरिएको कुरा समेतलाई किञ्चित मतलब नगरिएको देखिन्छ  यसरी आफ्नै मात्र ठीक भन्ने एकसरो कुरो गरेर त भएन नि त, भयो र ? छाप्नेहरुले पनि किन छाप्छन - यस्ता लेखहरु ?

जो आदिवासी हो उसले आफ्नो गाउँठाउं, पहाड पर्वत वा नदी नालाको नाम राख्दछ । नेपालमा बग्ने नदीनालाहरु, गाउँठाउंहरु, पहाड पर्वतहरु, खेतबारी, मैदान, जंगल आदि इत्यादिको नाम कसको भाषामा राखिएका छन् त ? त्यो त सबैलाई जानकारी छ, हामीलाई पनि छ।

मगर भाषामा पानी वा नदी नालालाई एकथरीले 'डी' भन्दछन अर्काथरीले 'री' भन्दछन । ध्वनिविज्ञान अनुसार "डी" र 'री' दुवै एकै हुन् । यो 'डी' वा 'री' नहुने हो भने संस्कृत भाषाको 'नदी' कसरी 'नदी' बन्दछ ? सामाखुशी, सुनकोशी, तामाकोशी, दुधकोशी, सप्तकोशीहरुमा आउने 'कोशी' नेवार भाषाको नभएर कसको भाषाको हो त ? मगर भाषाको "डी" वा "री" बिना बन्नै नसक्ने संस्कृत शव्द 'नदी'को न्वारान कसरी गर्ने त अब ?

काठमाडौँ सम्बत् १६१६ मा एउटा सालको रुखबाट बनाइएको मण्डपबाट 'काठमाडौ' भएको कुरो सबैलाई थाहा छ । त्यसभन्दा पहिले काठमाडौँ, भक्तपुर र ललितपुरलाई के भनिन्थ्यो त नेवार भाषामा ? यो पनि सबैलाई थाहा भएकै कुरो हो ।

गजपति मिश्रको कल्पनाका 'ने' नाम गरेका 'मुनी' भन्दा ११ सय वर्ष पहिले अर्थात् चौथो शताव्दीमा समुद्रगुप्तको (सन् ३३५ - ३७५) हाल भारतको ईलाहवादको शिलालेखमा "नेपाल" भन्ने देशको नाम आउछ । तर, नेपाल खाल्डोलाई "ने मुनी"ले पालाना वा रक्षागरेका हुनाले मुलुकले "नेपाल"नाम प्राप्त गरेको हो भन्ने काल्पनिक कुरो त अहिलेसम्म पनि नेपालमा चलाइएकै छ तर, विचार गर्नु पर्ने कुरो के हो भने १५ औँ शताव्दीमा गजपति मिश्रद्वारा लेखिएको 'चतुरांक महाभारत'मा मात्र ुने मुनीुको नाम उपलब्ध हुन्छ । त्यो भन्दा पहिले कहिँ कतै 'ने मुनी'को नाम उपलब्ध हुदैन । यो व्यहोरा राष्ट्रिय अभिलेखालय रामशाहपथ, काठमाडौँमा सुरक्षित पुस्तक सूची, भाग १, संख्या ४४९ मा छ (मल्ल :१९८३)।

यो र यस्तै यस्तै कुराहरुबारे चर्चा नगरी धानको भात वा कोदाको रोटी कसले खाए, खाएनन् वा कुन कुन गोरा लेखकले कहाँ के के लेखे वा डा. बाबुराम भट्टराईहरुले नयाँ दिल्लीबाट के गरे, गरेनन् भनेर कुरोको उठान गर्नुमा कुनै तुक छैन ।

यसै हो भने ऋग्वेदमा ईन्द्रद्वारा छलकपट गरिएर मरिएका 'शम्बर' पहिलो किराँत राजा 'यलम्बर' थिएनन् पनि कसरी भन्ने त ? ऐतिहासिक भाषाविज्ञान वा ध्वनिविज्ञानलाई राम्ररी नकेलाई पहाडी राजा 'शम्बर' नै नेपालका पहिलो किराँत राजा 'यलम्बर' थिएनन् भनेर किटान गर्ने कसरी ?

सेतोपाटीमा(अमान्य संज्ञा 'आदिवासी') भनेर यस्तो लेख प्रकाशित भएको थियो ।

 

अमान्य संज्ञा 'आदिवासी'

राम्रै भयो संविधान नबनेको किनभने जातीय 'इन्जिनियरिङ' गरेर एउटै देशभित्र कसैलाई पहिलो दर्जाको र कसैलाई दोस्रो दर्जाको नागरिक बनाउने माओवादी धृष्टता पहिला गल्नैपर्छ। यद्यपि राज्यले दिएका अधिकार र अवसरमाथि सबैको समान पहुँच हुनुपर्छ भन्ने कुरामा शङ्का छैन। यथार्थ के भने पटक–पटक 'आदिवासी हौँ' भनेर कुर्लिरहने एक पक्षको दाबीसँग सहमत हुने ठाउँ छैन। कुरा यसरी सुरु गर्दा पाठकहरूलाई बुझ्न सजिलो पर्नेछ।

भाग पहिलो

सन् १८५० मा पाल्पाबाट एउटा फूल काठमाडौं पुगेर देशैभरि छरियो, 'दहेला फूल' अङ्ग्रेजीको दालियाबाट नेपालीकरण भएको भए पनि यतिबेला लाहुरे फूलले चिनिन्छ यो, यसको सबैभन्दा ठूलो एसियाई केन्द्र लाहोरबाट, न कि कुनै लाहुरे विशेषबाट तर थकाली भाषामा 'पाल्पु मेन्दो' भनिने यसको नाममा परेको पाल्पु शब्द पाल्पाको निम्ति होइन, काठमाडौंका निम्ति हो।

 

नेवार पुरुष र तिब्बती महिलाबाट सुरु भएको ठानिने थामीहरू सँगसँगै जस्तो बसोबास गर्ने जिरेलहरूमा त नेवार र पाल्पा थर नै हुन्छ। कलाकार अरनिकोको अर्को नाम पल्पु पनि हो, जसलाई बालकृष्ण समले संस्कृतकरण गरिदिए, बलबाहु। यी मङ्गोल सम्बन्धित तथ्यहरू हेर्दा लाग्छ, चिनियाँहरूले मध्यनेपाली पहाडी इलाकालाई राखेको एउटा पुरानो नाउँ 'पाल्पा' (खेत कुर्ने छाप्रो भएको ठाउँ) थियो। तर वि.सं. १६१६ मा काष्ठमण्डप बनेपछि यो अनौपचारिक नाउँ वर्तमान पाल्पामा अरू सीमित हुँदै गयो। यहाँनेर जिरेल र थामीहरू भएको भेग काभ्रेपलान्चोकको पला र सिन्धुपाल्चोकको पाल अंश पनि पाल्पासँग ध्वनि साम्यता राख्छन् भन्ने यथार्थ बिर्सन मिल्दैन।


खेतसँग सम्बन्धित यो शब्दलाई नियाल्ने हो भने नरेन्द्रदेवको समय, छैटौँ शताब्दीदेखि मात्रै नेपालमा धानखेती सुरु भयो र चन्दननाथले जुम्लामा ७ सय वर्ष अघिमात्रै चामल ल्याए भन्ने हाम्रा ऐतिहासिक लेखाइहरू सबै कोरा गफ हुन्। मार्सीमध्येको एउटा प्रजाति (कल्टिभार) कालो मार्सी उनले ल्याए, त्यति नै हो। यहाँनेर स्पष्ट भन्नुपर्दा चामल खानेलाई नवागन्तुक र कोदो वा अन्य खानेलाई आदिवासीमा दर्ता गर्न खोज्ने जेम्स फिसरको परोक्ष प्रयास नै हावादारी छ (ट्रान्स हिमालयन ट्रेडर्स, पृ. ९२)।


कारण स्पष्ट छ, मेक्सिकोबाट लाहुरे फूल सङ्कलन गरिएको ६० वर्षभित्रमा पाल्पाको बाटो हुँदै जंगबहादुर राणाले त्यसलाई उपत्यका भित्र्याएका थिए। बारबाडोसबाट भुइँकटहर सङ्कलित गरिएको १२ वर्षपछि नै १६६३ मा भक्तपुरमा त्यो देखा परेको थियो अर्थात् त्यस द्रुतगतिमा खाद्य वनस्पति विस्तार हुन जाने पृष्ठभूमिमा, चीनमा धानखेती सुरु भएको १३ हजार वर्ष र कोरियामा १५ हजार वर्ष भइसक्दा नेपालमा १५ सय वर्षअघि मात्र धानखेती सुरु भयो भन्नुजस्तो वंशावलीहरूको मूर्खता र चामल खानेचाहिँ नयाँ आब्रजक हुन् भन्न खोज्ने नृवंशशास्त्रीय पटमूर्खता अर्को हुनै सक्दैन।


अर्कातिर ठ्याम्मै उल्टो कुरा के भने वर्णाश्रमभित्र नपरेका विभिन्न जातजातिबीच लोकप्रिय कोदो (इल्युसिन कोकाना) को अङ्ग्रेजी नाम नै 'अफ्रिकन मिलेट' हो। किनभने त्यसको उत्पत्ति इथियोपियामा भएको हो। अनि त्यसको एसिया आगमनको प्राग्ऐतिहासिक उल्लेख ४ हजार वर्षभन्दा पुरानो छैन। लिम्बू भाषामा चिलिङसेले चिनिने कागुनो पनि पूर्वी एसियाको रैथाने हो र चीनमै पनि यसको खेती ४७ सय वर्षअघि जाँदैन। तुम्ब्री अथवा परामाले चिनिने जुनेलो भूमध्य सागरीयदेखि मध्यएसियाई हो। क्यावो अथवा साम्मोक्पाले चिनिने मीठे फापर मध्यएसियाई हो, जसको चीनमै खेती पनि ४६ सय वर्षअघि जाँदैन। रैथाने चिनु (पनिकम मिलिकम) र नाफल (पनिसेटम टाइफइडस) को खेती पूर्वमा पाइएको छैन। मार्से (अमारान्थस कडाटस) अमेरिकाबाट भित्रिएको बढीमा ४ सय वर्ष मात्र भयो र जई (अभेना साटिभा) उपत्यकामै पनि ८० वर्ष मात्र सामा (इकिनोक्ला फर्मान्सिया) तराईमा थोरै ठाउँमा मात्र पाइन्छ।


तर चामलसँगको सङ्गतले अन्य जाति हिन्दू वर्णवादको फेला पर्न पुगे भनेर ठाडै भन्ने फिसर लगायत लायोनेल कापलानजस्ता नेपालमा जातीय द्वन्द्वका प्रणेता पश्चिमाहरूले भेउ पाउन हम्मे पर्ने यथार्थ के हो भने नेपाली वर्णाश्रमको विश्वमै दुर्लभ विशेषता 'जुठो' शब्दको 'जु' चामलबाट बनेकै होइन, रैथाने जौरउवा (हर्डम भल्गार) बोधक संस्कृतको यवबाट हो। जसमा पश्चिम पहाडी भेगमा भातको बल छर्दा, यदाकदा सुनिने 'ॐ ठहाय स्वहा' को ठहा शब्द जोडिएको छ र जुन सम्भवतः हुम्लाको रातो मार्सी हुने ठेहे इलाकाको देन हो।


पूर्वी हिमाली ग्रामदेव 'पाङ' जस्तै पश्चिम हिमाली ग्रामदेव 'ठहा' हुन् पनि। ऐतिहासिक पात्र 'ठी नरेन्द्र' नाममा परेको ठीको लाक्षणिक अर्थ त्यसैले देवराजा हो भन्ने यसले सङ्केत गर्छ। यसको अर्थ हो, चामल खेतीभन्दा पनि अघिको जङ्गली अवस्थाको जौबाट पारिवारिक शुद्धता (क्लान प्युरिटी) को सूत्रपात पश्चिमी हिमालमा हुन पुगेको छ, राईहरूको पराई, परदेशी र परचक्रीले प्रवेश नपाउने सुत्तुलुङ, फुत्तुलुङ र उत्तुलुङ देव रहेको पारिवारिक अगेनाजस्तै स्पष्ट भन्नुपर्दा नेपाली वर्णाश्रमको मौलिक आधार मनुस्मृति नै होइन।

 

यही कारण हो, पहाडी वर्णाश्रमयुक्त समाजमा वैश्यको उपस्थिति छैन। भएदेखि बहादुरहरूले देखाइदिनुपर्‍यो। जस्तो कि नेवार समाजमा कोजू, फैँजू, सैँजू र श्रेष्ठ (संस्कृतको व्यापारी बोधक श्रेष्टीबाट श्रेष्ट, स्रेस्ता आदि) जस्तो वैश्य थरको स्पष्ट उपस्थिति छ र तराईमा त वर्णाश्रमका तहहरूको शृङ्खला गनेरै भ्याइँदैन। जति दक्षिण लाग्यो, उति तहहरू बढ्दै जानुको अर्थ हो, वर्णाश्रम दक्षिणी प्रभाव हो। यथार्थ के हो भने पहाडी समाज मूलतः अध्येता (भट्ट) र ग्रामरक्षक (अयडी/एडी/अरी/शत्रु सिकारी) को मात्रै हो। दलितको उपस्थितिको छुट्टै व्याख्याले नलम्याउँ त्यहीँनेर 'कालो बाहुन र गोरो दलित' भन्ने विसङ्गति पुष्करशमशेर राणाको उखान सङ्ग्रहले त्यसै दर्साएको पनि होइन। किनभने पश्चिममा मानिसहरूको आगमन भएकै कस्मिरबाट हो, न कि महम्मद घोरीको दिल्लीबाट र ती कालो हुनु। इस्लामीकरणपूर्वको अफगान संस्कृति र पश्तो भाषाको प्रभाव त्यसै दृष्टिगोचर हुने गरेको होइन।

 

शुक्ल यजुर्वेदमा उल्लिखित निवार (अराइजा निवारा) शब्दले नै पनि कोदोखेतीभन्दा धानखेतीको प्राचीनतालाई पुष्टि गर्छ। यद्यपि निवार जडान (टेम्परेट) जातिको नभएर केदार (ट्रपिकल) जातिको धान हो। ऊष्णीय भए पनि सीमसारमा छरिइने (नेवारीमा उला) भएकाले केदार लेख्नुपरेको हो र अझै पर, नेपाली वैज्ञानिकहरूले हिमालयको दक्षिण ढालबाट नै चामल र यसका इन्डिका, जापोनिका र जाभोनिकाजस्ता खेतीवर्गहरू विकसित भएको मानेका छन्। यसको अर्थ हो चीन, जापान, कोरियादेखि इन्डोनेसियासम्मको धानखेती नेपालबाट विस्तारित हँुदै गएको हो। भारतको त कुरै छोडौँ। अर्थात् रैथाने र जङ्गली युगको उवाको सांस्कृतिक उपयोगीहरू आब्रजक हुने र आयातीतको खेती गर्नेहरूचाहिँ आदिवासी हुने कुरा वैज्ञानिक हँुदै होइन। वर्णाश्रममा नपरेकाको धर्म परिवर्तन गराउने पश्चिमा रणनीतिक खेलखाल मात्रै हो।

 

भाग दोस्रो

 

यजुर्वेदको यो वाक्य पनि सम्झनामा आउनैपर्छ, 'ए औषधी तिमी साल र तेजपातको रूख नजिकै छौ।' यो औषधी भनेको पश्चिम हिमालमै पाइने कूट (सासुरिया लापा) हो। साल (सरिया रवष्टा) र तेजपात (सिनामोमम तमाला) जुध्ने वनस्पति भौगोलिक इलाका (फाइटोज्योग्राफिक रेन्ज) भारतको उत्तराञ्चलदेखि भुटानसम्म रहेको छ अवश्य, तर अर्कोे वाक्य 'वसन्त कपिञ्जल चातक हो' ले तेजपातको रूखमा गुँड लगाउने तर पूर्वी नेपालमा नपाइने जातको कैलो भङ्गेरा (हिमालयन सिन्नामोमम स्पारो याने पासर रूटिल्यान्स र कपिञ्जललाई तित्रा र चातकलाई काकाकुल मानेर 'कपिञ्जल चातक'को अर्थ लाग्दैन) हो भनेर नेपालको ९१५–१५०० मिटरको भूभागलाई स्पष्टै तोकेको छ, जो नेपाल र यसको परिवेशबाहेक संसारको अन्य कुनै भूभाग होइन। साल, तेजपात र कैलो भङ्गेराको मिश्रित 'बायोज्योग्राफिक रेञ्ज' त्यही नै हो। त्यस वाक्यको 'वसन्त' ले अझै गहिरो माने राख्छ किनभने सालको फूल फुलेपछि मात्रै वसन्त ऋतु सुरु हुन्छ 

 

सालको फूलको रङ्ग नै हो खास वासन्ती भनेको र पासर रूटिलान्सको छाती पनि वासन्ती नै हुन्छ, सिकारी चराहरूलाई झुक्याउनुपर्ने प्राकृतिक बाध्यताले। यसरी विश्वकै प्राचीनतम कृतिमै स्पष्ट देखिने गरी नेपालको जैविक सम्पदाको मूल्याङ्कन गर्न आइसकेकाहरू के साँच्चै नै एघारौँ शताब्दीमा महम्मद घोरीको आक्रमण बेहोर्न नसकेर दक्षिणबाट उत्तर भागेर' पटक–पटकको यस्तो लेखाइ देखेर तीप्रति दयाबाहेक अरू केही गर्न सकिन्न, जो आफूलाई आदिवासी दाबी गरेर कहिल्यै थाक्दैनन्। यद्यपि पङ्क्तिकार जान्दछ, यस दाबीमा जसले जिते पनि देशले चाहिँ हार्नेछ। यो केवल प्राचीनताको एक झलकका निम्ति मात्रै पाठकहरूसमक्ष उठाइएको सन्दर्भ हो।

 

अझै पर जाऊँ। ऋग्वेद (१.१६४) को एउटा शब्द छ— अश्वत्थ। यथार्थमा यो सबैभन्दा उचाइमा पाइने भोटे पीपल (पपुलस सिलिआटा) हो कुनै बेलाको, जुन हिमाली वनअश्व (इक्वस हमिनियस कियाङ) को प्रिय आहारा हो, तर भोटे पीपलसँग मिल्दोजुल्दो पीपल (फाइकस रेलिजिओसा) भएको गङ्गाको भारतीय मैदानमा गधारगदहा शब्दको जन्मसमेत भएको थिएन, १५ हजार वर्षअघि वेद बन्दा। किनभने त्यसको नामकरणको स्रोत 'गद' (भाङको रेशा) बन्नका निम्ति भाङ एसिया माइनरबाट सप्तसिन्धुसमेत छिरेको थिएन। यसैले त्यस वनस्पतिलाई अश्वत्थ र रुचाउने जनावरको नाम नै तिनले अश्वत्थामा राखिदिए। अश्व शब्द सो जनावर चर्ने ठाउँ पश्चिमको उच्च पहाडी शृङ्खलामा समेत पाइने गोब्रेसल्ला (पाइनस वालिचियाना विशेष) को पिरल अर्थात् असीबाट बन्दछ। कर्णिकार (टेरोसपर्मम एसेरिफोलियम) नेपाली भूमिमा नपाइएपछि अमेरिकी मूलको 'क्यास्काव्लेआ थेभेटिया'लाई योगी नरहरिनाथहरूसमेत मृगस्थलीको आफ्नो आश्रमअघि कर्णिकारका रूपमा रोप्न पुग्छन् भने वा अमरकोशको अपराजिता (हिविस्कस रोजा साइनेन्सिस) लाई एच.टी. कोलब्रुकहरू अमेरिकी मूलको ुक्लिटरिया टर्नासियाु लेख्न पुग्छन् भने त्यो युगमा अश्वत्थको परिचयलाई लिएर भ्रमहरू हुनु अनौठो होइन। नेपालमा कोका सङ्गमहरूको विशेषता नै हो भोटे पीपलको रूखमुनि नै पुर्खाहरूको सम्झना गरिन्छ र चढाइएका वस्तु खान हाँगामा बसेका काग (देवदूत) नै झर्नुपर्छ।

 

'अश्वत्थ' त अझै थप, वैदिक कालपूर्वको संस्कृतिको प्रतिनिधि हो। किनभने पश्चिम नेपालको अश्वत्थ हुने इलाका कोका खोला र पूर्वी नेपालको कोका सङ्गम दुवै हिमरेखामुनि (१६,००० फिट) छन्। तिनका ठीक माथि पश्चिममा कागमारा र पूर्वमा गोराकशेप (तिब्बतीमा कागमारा र गोराक

=काग, शेप = मर्नु) सिखर छन्। कोका भनेको साढे ८ हजार फिटसम्म पाइने डुमकाग ९कर्भस कर्‍याक्स० हो र कागमारा ५,९६१ मिटर एवं गोराकशेप ५,१५० मिटर अग्ला छन्। मृत शरीर खाने र आत्माका नाममा चढाइएका वस्तु खान डुमकाग (देवदूत) बस्ने भएकैले अश्वत्थको आध्यात्मिक व्याख्या र काग अमर हुन्छ भन्ने मान्यता बन्दै आएको हो। जसरी गिद्ध सिमल (वम्बाक्स साइवा) मा बस्ने भएकाले पूर्वी पहाड र तराईका जातजातिमा सिमलले भूतप्रेतको निवासको संज्ञा पाउँदै आएको छ। यसरी 'अश्वत्थ' को महत्व दर्साउने कोका सङ्गमहरू नेपालबाहेक उत्तराञ्चलदेखि आसामसम्म कतै छैनन् पनि हिमालय शृङ्खलामा।

 

यसै पनि कागको आचरणमाथि त्यो बेलाको अध्ययन नयाँ कुरा होइन नै। त्यसै वात्स्यायनको यौनविज्ञानको नाम कोकशास्त्र भएको होइन। कोकशास्त्रको अर्थ हो, अति गोप्य शास्त्र। किनभने कागको सहवास देख्नै सकिन्न र देखियो भने पनि नराम्रो हुन्छ भन्ने धारणा अझै विद्यमान छ। त्यसैले काकतालीको अर्थ हो नै अति दुर्लभ संयोग। लुकेका अक्षर वा शब्द थप्नुपर्दा दिइने चिह्नको नाम 'काकपद' नभन्दै एक यौनआसनको नाम हो र नै त्यस चिह्नमा काग योनिका रूपमा थोप्ला थपिन्छ। हुनुपर्ने गोलो हो, अर्बिसको आँखा जस्तै।

 

वेदलाई ३५ सय वर्षअघिको मान्नेदेखि १ लाख वर्षअघिका मान्ने दयानन्द सरस्वतीजस्ता पनि छन्। ४ हजार वर्षअघिको मान्ने भारतरत्न प्राप्त पी.बी. काणेहरू पनि छन्, तर पङ्क्तिकारले यहाँ १५ देखि २० हजार वर्षबीचको मान्ने मतलाई विभिन्न कारणले गर्दा लिएको छ।

 

महाभारतको घटोत्कच पुत्र 'बर्बरिक' लाई अन्यायमा परेको किराँत भनेर एकोहोरो आलाप गरिरहिएको छ। उदाहरणका रूपमा इन्द्रचोकको टाउको मात्रै भएका इन्द्रलाई 'बर्बरिक' र उपत्यकामा किराँत शासनको प्रतिनिधि मान्ने गरिएको छ। जबकि घटोत्कचको ससुरा मुरका देश हुन्, अहिलेका मोरक्को, मौरिटानियाहरू। जहाँ मुरहरू बस्छन् र जसबाट अङ्ग्रेजीको मोरोन र नेपालीको मूर्ख, मोरा, मोरी, मुरारी अर्थात् मुरहरूको शत्रु शब्द बन्दछ। अनि छोरो 'बर्बरिक' को देश हो, अहिले बर्बरहरू बस्ने लिबिया र त्यस वरिपरिका देशहरू। दुवै उत्तर अफ्रिकी छिमेकी देशहरू हुन्। यसैबाट अङ्ग्रेजीको बार्बेरिक, बार्बेरियन र उर्दुको बर्बर शब्द बनेको छ। बर्बरिकको अर्थ हो नै घुम्रिएको कपाल भएको व्यक्ति। जिउँदा प्रतिनिधि पात्र हुन्, लिवियाका कर्णेल कदाफी। के किराँतहरूको कपाल घुम्रिएको हुन्छ र लिम्बू राजमाताको रूपमा बर्बरिककी आमा हिडिम्बालाई किताबमा तोकिएको (लिम्बूवानको इतिहास) ? जबकि हिडिम्बा शब्द नुवियन मरुभूमि भनिने उत्तरी सुडानको हो। १५ सय वर्षअघि स्रङचङ गम्पोले ल्याएका घोडचढी तामाङ हामी लेखिसकेपछि 'बूढानीलकण्ठमा पाइएको ३० हजार वर्षअघिको ढुङ्गे औजार हाम्रो पुर्खाको हो' भनेर वेबसाइटमा हाल्नु कस्तो विज्ञता हो ?

 

उतातिर किराँत पुर्खा मानिएको एकलव्य आफैँमा नाम नभई सर्वनाम हो, जसको अर्थ हो एकोहोरो सीता स्वयंवरमा पहाडी उम्मेदवार मानिएका सुधन्वा पनि नाम नभई सर्वनाम हो, जसको अर्थ हो पोख्त धर्नुधारी। बरु द्रोणाचार्य नाम हो, अर्थ हो 'खोक्चिलिफु' दुनामा शिवले छाडेको शुक्रकीटबाट जन्मेकाले दुनाबोधक संस्कृत शब्द द्रोणबाट यो बनेको हो, जुन स्वाभाविक प्रक्रिया होइन। त्यसैगरी किराँत पुर्खा खोक्चिलिफुको जन्म मुन्धुमअनुसार कालान्तरमा त्यतिबेला हुनपुग्छ, जब पारूहाङले कर्कलोको पातमा शुक्रकीट पोको पारेर छाड्छन् र तिर्खाएकी निनामरिम्दुले पानी ठानेर खान्छिन्। साम्पाङमा खोको अर्थ खोँरी, खोँगी, दुना पनि हो, वान्तवामा खोक्लिको अर्थ जङ्गल, १० किराँतमध्येको एक धिमालको भाषामा त लाफाको अर्थ पात हो नै, नेवारीमा लप्तेको पनि हो। यसैले अलेक्जेन्डरको नामानुवाद हरिशचन्द्रजस्तै द्रोणाचार्यको नामानुवाद खोक्चिलिफु हुन पुग्छ, जुन ३ हजार वर्षभन्दा पर जाँदैन। महाभारतले खोक्चिलिफुलाई द्रोणाचार्यका नाममा संस्कृतकरण गरेको बुझिन्छ।

 

त्यसमाथि भारवीको किराँतार्जुनियमका किराँतहरू र अहिलेकाहरू एउटै होइनन् र अझै थप कुरा नेपालका आदिवासी 'नाग'हुन् (नागा होइन) भनेर लेखी नै सकियो। यसै पनि मेचे (भारतमा चिनियाँ प्रान्त फुजियानबाट आएको बोडो मानिने)लाई रेसम बुनाइसँग इमानसिंह चेम्जोङले जोडे, तर पूर्वी नेपालमा सिल्कको कुनै परम्परागत चलन र बुनाइ देखिँदैन। अहिले पूर्वी नेपालमा भइरहेको 'अहिंसा सिल्क' को बुनाइ हिजो मात्रै भारतको भागलपुरबाट छिरेको शिल्प हो। यसो किन भएको हो भने किरेत शब्दको तिनको अर्थ सायद सही थिएन। बरु स्वामी प्रपन्नाचार्यको 'किंकिराँत'को अर्थको खोजी निर्दोष खालको रहेको छ।

 

अरू त अरू, कम्तीमा १४ सय वर्षअघि नै मध्यपश्चिम मूलको गहुँ नेपाल भित्रिसकेको थियो। तर, पूर्वमा स्वर्गीय चन्द्रवीर गुरुङले त्यसको सुनियोजित विस्तार गर्नलाई १९६० को दशक आउनुपर्‍यो। पोलिनेसियन मूलको उखु उपत्यकामा कम्तीमा ३ हजार वर्षदेखि छ र पश्चिम नेपालका सोराडलगायत कतिपय ठाउँहरू खुदोका निम्ति जसरी प्रख्यात छन्, जसरी नेवारहरूले त्यसैबाट टोखा, टुसाल शब्दहरू जन्माएका छन्, पूर्वमा किन कहीँ पाइन्नरु यहाँसम्म कि चिनियाँ मूलको मूलाका निम्ति पश्चिम नेपालको प्युठान प्रसिद्ध छ, चिनियाँ मूलको रायो सागका निम्ति महर्जनहरूमा पाछै (चिनियाँमा पेत्साई) उपथर नै विद्यमान छ, चिनियाँ मूलको तोरीका निम्ति भक्तपुरमा तुकँबञ्जार थर नै छ। चीनबाट आएका हौँ दाबी भइरहँदा पूर्वमा चिनियाँ मूलको अदुवा (जिन्जिवर अफिसिनाल) र मञ्जुरियन मूलको भटमास (ग्लाइसिन म्याक्स) को बाहेक यी चिनियाँ खाद्य वनस्पतिसँग जोडिएका उल्लेखनीय परम्परा किन देखिँदैनरु एक जिज्ञासुलाई कौतूहल हुन्छ नै।

 

अब पनि आदिवासीको पुष्टिमै लाग्ने हो भने संविधान बन्नुभन्दा पहिले नै जातीय दाबी गरिएका इलाकाका बस्तीहरूमा पाइनसक्ने कृषिमूलक परागकण र स्पोरहरूको अध्ययन (पाइलनलजी) र त्यसको कार्बन डेटिङतिर जाऔँ। व्यक्तिका निम्ति १० वर्ष ठूलो कुरा हो, देशका निम्ति होइन। यो किन भनिरहिएको हो भने मुस्ताङकै गुफाहरूमा पनि २ हजार वर्षभन्दा अघिको अवशेष भेटिएको छैन र मुस्ताङ पारिपट्टिको झाङझुङमा २२ सय वर्षको।

 

अन्त्यमा भन्नुपर्दा एउटा नृवंश शास्त्रीय सङ्ग्रहालय खडा गर्ने प्रयास लिइयो भने त्यसले हामी सबै आदिवासी हौँ भन्ने नै पुष्टि गर्नेछ। किनभने मुस्ताङ, मनाङ र पोखरामा देखिएका सङ्ग्रहालय हेरेर चित्त बुझाउन सकिँदैन। जातीय अनुहारलाई लोकपहिरन दिँदैमा त्यो नृवंश शास्त्रीय सङ्ग्रहालय हुँदैन। अर्थात् पहाडी बाहुन–क्षत्रीले आफूलाई आदिवासी दाबी गर्छन् भने त्यो गलत हुँदै होइन।

 

Add your comment

Your name:
Subject:
Comment:

Latest News