HongKongNepali.com, The Next Media

Friday
Sep 22nd
Home विशेष लेख भगुवा खेलाडीहरु र हाम्रो हीनग्रन्थी

भगुवा खेलाडीहरु र हाम्रो हीनग्रन्थी

E-mail Print PDF
AddThis Social Bookmark Button

बाबुलाल भण्डारी

नेपाली सेपाक्ताक्रो खेलाडी अमन पोडे अहिले राष्ट्रिय–अन्तर्राष्ट्रिय मिडिया र फेसबुक वालमा छाएका छन् । नहुन् पनि किन,१७ औं एशियाडमा नेपालको प्रतिनिधित्व गर्दै दक्षिण-कोिरया पुगेका उनी मुलुककै बदनाम गर्ने गरी अलप हुने थुप्रै खेलाडी ,गायक, सङ्गितकार,अभिनेता समेतका लामो श्रृङ्खलाको पछिल्लो कडी बनेका छन् ।तर पोडेको अन्तध्र्यान लगत्तै कोरीयाली प्रहरी र सेभ द मिसनको उच्च सतर्कताको बाबजुद थप २ जना उसु खेलाडी भागेको खबर अझ रहस्यपूर्ण र सन्देहास्पद भए पनि त्यति चर्चामा छैन ।जे होस्,कोरीयाली प्रहरीहरुले सकृय म्यानहन्ट चलाएको हुदा आशा गरौं, उनीहरुको पक्राउ र सुपुर्दगी पनि होला ।

 

तर पटक पटक यसरी नेपालीहरु विदेशमा आयोजित खेलकुद प्रतियोगिता,विभिन्न कार्यक्रम र मञ्चहरुबाट एकाएक हराउनु अब एक्का दुक्का घटना नभएर एउटा परंपरा बनिसकेको छ र यसले विश्व समुदायमा नेपालको प्रतिष्ठाको क्षय भएको छ ,नूर गिरेको छ र प्रसस्त बदनामी भएको छ । खेलकुदकै सवालमा अम्याटर मात्रै होइन मुलुकलाई अन्तराष्ट्रिय पदक दिलाउने कैयौं व्यावसायिक खेलाडी समेत भागेका छन् ।यसै पृष्ठभूमिमा  नेपाली नागरिकहरु देख्ने वित्तिकै दुनियाभरका इमिग्रेसन डेस्कहरु सतर्क हुने र उनीहरुलाई किनारा गरी अकारण हैरान गर्ने घटना हुन थालेका छन् ।अन्तराष्ट्रिय जगतमा नेपालको छवि कस्तो बन्दै गइरहेको छ यसैले स्पष्ट गर्छ । तर हाम्रा निकाय भने यस्ता समस्याका कारणहरु पहिचान गर्ने र भोलीका दिनमा    यसको पुनरावृत्ति हुन नदिने तर्फ सजग हुन सकेको पाइदैन ।हालैको घटनामा पनि खेल जगत् एक अर्को निकाय तर्फ चोरऔला ठड्याएर पन्छिन खोजेको छ ।यही प्रवृत्तिले गर्दा ‘जसले हान्यो उसले जान्यो’को अवस्था रहेको छ ।संवन्धित देशको आप्रवास समस्याको कारणले हुने फिर्ता वा सुपुर्दगी वाहेक नेपाल सरकारले यसलाई रोक्ने वा अरुलाई समेत पाठ हुने गरी कुनै कार्यवाही वा पहलकदमी लिएको सुनिंदैन ।२–४ दिन मिडियामा समाचार बन्दछ र यो विषय अन्ततः त्यसै सेलाएर जान्छ अनि अघिल्लो पुस्ताको यही पदचांप नयां पुस्ताले पनि पछ्याउछ। अमन पोडे र सहभागीहरुको पछिल्लो प्रकरणमा पनि यही भएको हो ।

यसरी वाहिरिनेहरुको केही वर्षमै हैसियत फेरिन्छ तर जो इमान्दार बनेर लुरुलुरु स्वदेश फर्कन्छन् उनीहरु आफ्नो सोझोपनमा पछुताउन बाध्य हुन्छन् ।खेल जगतको चरम राजनैतिक खेलभित्र न उनीहरुको क्षमताको कदर हुन्छ न भरपर्दो वृत्ति विकासका अवसर मिल्छन् । उता , पटक–पटक यस्ता घटनाको पुनरावृत्ति र मुलुकको वेइज्जत भइरहदा पनि हामीले अझै चेतेका छैनौ ।यस्ता घटनाहरुको प्रभावकारी रोकथाम र उपचार त कता हो कता हाम्रो श्रम र परराष्ट्र मन्त्रालय अनि सम्बन्धित राजदुतावासमा समेत को, कहा, कति गैरकानुनी आवासिय नेपालीहरु रहेका छन् कुनै लगंत वा तथ्याङ्क छैन। सबै तदर्थवादमा चलेको भान हुन्छ ।

सन् १९९० को परिवर्तन पछि एउटा अभुतपूर्व परमुखापेक्षी सस्कृतिलाई हामीले हुर्काएर आयौं ।राजनीति ,अर्थतन्त्र,शैक्षिक योजना, चिकित्सा समेतका सबै क्षेत्रमा हामीमा आफ्नो पनमा भरोसा रहेन र स्वाभिमान धुलिसात भयो ।अझ श्रम ऐनमा परिवर्तन पछि वैदेशिक रोजगारीमा यसरी आकर्षण बढ्यो कि सन् २००० को अनुपातमा प्रतिदिन बाहिरिनेको सङ्ख्या हाल आएर कम्तीमा ५ गुणा बढ्यो ।वैदेशिक रोजगार ऐन २००७ जारी भए पनि यसले गैह्कानुनी रुपमा वाहिरिनेहरुको ठूलो संख्यालाई अझै समेट्न सकेको देखिन्न ।अहिले गैह्कानुनी ढङ्गले कोरिया भासिने नेपालीहरुको संङ्ख्या ५२ हजार र खाडी मुलुकमा मात्रै १ लाखको हाराहारी बताइन्छ ।ताजिकिस्तान र किर्घिस्तान पछि रेमिट्यान्समा ज्यादा भर पर्ने विश्वकै तेश्रो मुलुकमा नेपाल नै पर्छ। हालैको वाल स्ट्रिट जोर्नलको एउटा लेखमा नेपालको कूल गार्हस्थ्य उत्पादनको २५ ५ भन्दा बढी हिस्सा रेमिटेन्सले धानेको कुरा उल्लेख छ । अघिल्लो पटक इ।पी।एस्। कार्यक्रम अन्तर्गत दक्षिण।कोरियाको निम्ति रोजगारीमा जान झण्डै ६२ हजार युवाहरुले आवेदन गरेकोमा यस पटक पनि त्यसकै हाराहारीमा निवेदन परेका छन् ।दिनंहुं राहदानी बनाउन परराष्ट्रमा लाग्ने युवाहरुको लाईनले सङ्केत गर्छ,अहिले हामी आमरुपमा कुन मनोदशाबाट गुज्रीरहेका छौं ।एस्.एल् .सी. पास गर्ने देखि स्नातकोत्तर डिग्री हासिल गर्ने सबैजसो युवा राम्रो देशमा भिसा मिलाउने ध्याउन्नमा भेटिन्छन् ।विदेशमा पी।आर। हुने माथि निगरानी बढाउदा उच्च सरकारी सेवा नै त्याग्न तयार कर्मचारीको लर्को पनि सानो रहेन छ ।हुंदा हुंदा अमेरिकी डि।भी। कार्यक्रममा हाम्रा लब्धप्रतिष्ठित प्राज्ञ कहलिने विश्वविद्यालय प्राध्यापक समेत पुग्ने भएपछि त हाम्रो हिनताको ग्रन्थीले सबै सिमाहरु तोडेको देखिन्छ ।अहिले बालबालिकालाई डक्टर, इन्जिनियर बनाउने भन्दा पनि बेलायत, अमेरिका वा जापान उडाउने अभ्यन्तरको चाहना राख्न थालेका छन्,अभिभावकहरुले ।त्यही हिसाबले सन्तानको रुची ,क्षमतास्तर र प्रगतीलाई नहेरी विदेश पठाउन सहायक हुने विषय छनौट हाम्रो प्राथमिकतामा पर्न थालेको छ ।हामीलाई स्वदेशको सम्मानित पेशा भन्दा विदेशको कठोर परिश्रमको यस्तो मोह हुनुको पछाडी देशको लथालिङ्ग र भताभुङ्ग चाला प्रमुख रुपले जिम्मेवार छ ।

हिजो १० वर्षे जनयुद्घकालमा माओवादी लडाकु र सरकारी फौजबाट सुरक्षा संकट देखाएर पश्चिमी मुलुकमा सरण लिनेको तादात ठूलो थियो ।शान्ति प्रक्रिया यताका वर्षमा स्थिती अझ बदतर बनेको अनुभूती हुदैछ ।हत्या, अपहरणको श्रृङ्खलामा कमी आएको छैन र दण्डहिनता अरु बढेर गएको छ ।उद्योगधन्दाहरु सुचारु हुन नसकेको मात्र होइन भएका उद्योगहरु पनि धराशायी बनाइदै छन् र रोजगारीका नयां अवसरहरुको सिर्जना हुन सकेको छैन । मुलुक निर्माणको अग्रदस्ता भनिने ४० लाख बढी युवा हाल बेरोजगार छन् र दिनहुं घटीमा १५सय युवा विदेसिन्छन् । राष्ट्रको ढुकुटी रित्याएर सम्पन्न र अझ ठूलो धनरासी त।भ।मा खर्च भएको संविधान सभा–१ संविधान दिन असफल भएको पृष्ठभूमीमा धरातलिय यथार्थले फेरी संविधान सभा–२ को नियती पनि त्यस्तै हुने तर्फ बलियो सङ्केत गरेका छन्। राजनैतिक सहमतीको वातावरण अझ जटिल प्रतित हुदैछ र विदेशी तागतहरु अझ नाङ्गो ढङ्गले मुलुकमा हाबी हुन थालेका छन् ।जातिय र क्षेत्रिय सद्भाव विथोलिएर मुलुक इतिहासको सबैभन्दा कठीन चरणबाट गुज्रिदो छ जहां सानो असाबधानी मात्रले पनि मुलुक अनन्त जातिय र क्षेत्रिय द्वन्द्वमा फस्ने खतरा मडारिइरहेको छ ।उता,राजनैतिक दल र नेतृत्वमा अपेक्षित दुरदृष्टि ,जिम्मेवारी वोध र सहमतीय सस्कृति देखिएको छैन । समवेत स्वरहरुको नितान्त अभाव छ ।हुंदा हुंदा देशकै विखण्डनका नारा मुखरित हुन थालेका छन् र संघियताको आवरण भित्र त्यसैलाई सदर गर्ने जनमत तयार हुन थालेको छ। यस्तो परिस्थितिमा एउटा युवाले आफ्नो भविष्य यहां सुरक्षित देख्दैंन भने रिटोरिक जवाफ दिनु वा मौन सहमती जनाउनु बाहेक तपाईसंग विकल्प नै के छरु

अब फेरी अमन पोडे  र अरु भगुवा खेलाडीको प्रंसङ्गमा जाऔं ।हो,अमन पोडे र उनका भगौडा खेलाडी साथीहरु म्ुालुकको प्रशस्त बदनामीको कारण बनेका छन् र मुलुक विरुद्घ अपराध गरेका छन्, जसलाई कुनै पनि कोणबाट जायज  ठह¥याउन सकिन्न । देशपे्रमी समुदायमा उनको निकै नकारात्मक छवी बन्नु स्वाभाविक हो । तर उनको पृष्ठभूमीको एउटा अत्यन्तै अध्यारो पाटो पनि छ जो प्रकाशमा आउन सकेको देखिएन ।उनको बारेमा निश्चयात्मक धारणा बनाउनु अघि यसलाई पनि जान्नु मनासिबै हुनेछ ।

पहिलो कुरा, उनी चर्को जातिगत अभ्यास हुने समुदायको संभवतः सबैभन्दा तल्लो जाती मानिएको पोडे परिवारबाट आएका हुन् जहां माथिल्ला जाति भित्रै पनि थोरैं तलमाथी हुदा कूलपुजाबाटै बेदखल गरिन्छ ।यस्तोमा तल्लो जाती प्रतिको सामाजिक व्यवहारको सहजै अनुमान हुन सक्तछ ।दोश्रो ,उनको परिवार जग्गा जमीन र नियमित आमदानीको कुनै भरपर्दो श्रोत नभएको अति विपन्न श्रेणीभित्र पर्दछ  र भरपेट खाना मात्रको लागि पनि उनलाई गतिलो संयोग मिल्नु पर्छ ।तेश्रो कुरा, मौजुदा परिस्थितिमा कुनै चमत्कार नभए आफ्नै सामथ्र्य र बलबुतामा उनलाई कोरिया भ्रमणको अर्को यस्तो अवसरको प्राप्ति सुन्यप्रायः नै थियो । चौथों, उनी आफै एउटा विद्यार्थी पनि हुन् र सेपाक्ताक्रो संघ र ओलम्पिक कमिटिले उपलब्ध गराएको लजिष्टिक सपोर्टलाई समेत इमानदारीका साथ भिलेजमै छोडेर आफ्नो एउटा झोला पनि नहुदा साथीको झोलामा फगत् एक सरो लुगा पोको पारेर उनी हिडेका छन् ।पांँचौ र अन्तिम कुरा ,उनी उमेरको हिसाबले वालिग समेत भईसकेका देखिन्नन् ।मलाई लाग्दछ , कतै उनी आफूले गरेको  गल्ती वा कसुरको प्रकृति वा परिणाम बारे नै अनभिज्ञ पो थिए किरु अनुमान गर्छु ,तपाईको मनमा पनि कहीं उनीप्रति सानो सफ्टकर्नर हुनु पर्ने हो।

 

Add your comment

Your name:
Subject:
Comment: