HongKongNepali.com, The Next Media

Tuesday
Nov 21st
Home विशेष लेख तमू ल्होसारको साँस्कृतिक महिमा

तमू ल्होसारको साँस्कृतिक महिमा

E-mail Print PDF
AddThis Social Bookmark Button

लालबहादुर तमु

भूमिका

भौगोलिक रुपमा सानो भुपरिवेष्ठित राष्ट्र नेपाल बहुजाती, बहु भाषी, बहु धार्मिक बहुसाँस्कृतिक विविधताले सुसुजित छ । आर्य, द्रविड, मंगोलियन नश्लको संगमभूमि एवम् बहुराष्ट्रिय नेपाललाई साझा फूलबारीको रुपमा चित्रण गर्ने गरिन्छ । १२५ जातजाती १० भन्दा बढी धर्मावलम्बी, १ सय भन्दा बढी भाषा भाषी रहेको स्वर्गको उपमा पाएको राज्यमा विगत सयौ वर्ष देखि राज्यसत्ताले कसैलाई काखा र कसैलाई पाखा गरिदै आएको छ । जसले गर्दा जातीय, भाषिक, साँस्कृतिक, क्षेत्रीय, लिंगिय, वर्गीय विभेद एवम् उत्पीडनको श्रृङ्खलाको निरन्तरता यद्यपी कायम छन् । तिनै उत्पीडित आदिवासी जनजाति भित्र पर्ने तमु ९गुरुङ० समुदाय नेपालको जनगणना अनुसार ११ औं ठूलो जाती हो । मानव सभ्यताको विकासको चरणमा नेपाल राज्य निर्माण हुनुपूर्व वर्तमान कालि गण्डकी र बुढीगण्डकी विचको भूभागमा घुमन्ते शिकारी पशुपालन अवस्था पार गर्दै कृषि यूगको थालनी सँगै आफ्नो छुट्टै पृथक पहिचान झल्कने मूल्य मान्यताको विकास गरेको तमुहरुको संस्कार र संस्कृतिबाट प्रष्ट हुन्छ । पृथक साँस्कृतिक रुपमा सम्पन्न तमु समुदायले मान्ने महान् ऐतिहासिक साँस्कृतिक महिमा बोकेको ठूलो पर्व ल्होसार हो । ल्होसारको अर्थ नयाँ वर्ष हो । ल्होसारमा सबैजना एकै ठाउँमा भेला भई स्योकैं वनभोज खाएर नाचगान गरी धुमधामसँग मनाइन्छ । पछिल्लो समय तमु जातीको आफ्नो स्वतन्त्रता स्वाभिमान र अधिकारको आन्दोलनबाट ल्होसारलाई नेपाल सरकारबाट सार्वजनिक विदा दिए पछि गैर तमुहरुले पनि साझा पर्वको रुपमा ल्होसार मान्दै आएको पाउन सकिन्छ ।

 

ल्होसार के हो ?

नेपालमा तमु, तामाङ, शेर्पा, थकाली लगायतका जातीहरुले ल्होसार मान्दछन् । तर ती जातिहरुले मान्ने ल्होसार पर्व फरक फरक छन् । नेपालमा तीन प्रकारको ल्होसार मनाउने गर्दछन् । पुष १५ मा तमु समुदायले मनाउने ल्होसारलाई तोला ल्होसार भनिन्छ । त्यसैगरी माघ शुक्ला प्रतिपदामा मनाइने तामाङ लगायत पश्चिमी तिब्बतीहरुले मनाउने ल्होसारलाई सोनाम ल्होसार र फाल्गुण शुक्ला प्रतिपदामा शेर्पा लगायत पूर्वी तिब्बतीले मनाउने पर्वलाई ग्याल्पो ल्होसार भनिन्छ । तमु समुदाय प्रकृतिवादी भएकोले प्रकृतिका जीव जन्तु र पशुपंक्षीलाई साँस्कृतिक प्रतीकको रुपमा लिएको पाइन्छ । प्रकृतिका १२ वटा प्रजातिहरुलाई ल्हो –वर्ग०को प्रतिक मानेको पाइन्छ । १२ वटा वर्गमा क्रमशः मुसा –च्यु०, गाई ९ल्वों०, बाघ –तो०, बिरालो –हिय०, गिद्ध –मुप्रि०, सर्प ९सप्रि०, घोडा, ९त०, भेडा –ल्हु०, बाँदर ९प्र०, चरा –च्हय०, कुकुर ९खि० र मृग –फो० हुन् । जुन एक देखि १२ सम्म एक अर्कामा दाहिनेबाट निरन्तर हरेक वर्ष एउटा वर्गबाट अर्को वर्गमा घुमिरहन्छन् । एउटा चक्र पार गरेपछि पुनः दोहोरिएर घुमिरहन्छ । एशियाका प्राय आदिवासी जनजातिहरुमा ल्हो पद्धति प्रचलित छ । ल्होसार दुई शब्द मिलेर बनेको छ । ल्हो को अर्थ वर्ग जसलाई वर्ष मानिन्छ । र सारको अर्थ नयाँ भन्ने हुन्छ । तसर्थ ल्होसारको वास्तविक अर्थ नयाँ वर्ष हो । तिब्बती भाषामा ल्हो को अर्थ  वर्ष र सारले नयाँ जनाउँदछ । जसले गर्दा चिनियाँ तिब्बतीहरुले ल्होसारलाई नयाँ वर्षको रुपमा मनाउने गर्दछन् । तमु भाषामा लो को अर्थ वर्ग र छारले नयाँ भन्ने हुँदा ल्होछार पनि भन्ने गरेको पाइन्छ । भाषा विज्ञानका दृष्टिले तिब्बती सभ्यताको मूल शब्द ल्होसार भाषिक विकास र रुपान्तरणको चरणमा तद्भव शब्दको रुपमा ल्होछार भएको मत पनि पाइन्छ । हिन्दुहरुले बडा दशैं, विजयादशमी, तिहार, दिपावली शब्द फरक फरक प्रयोग गरेता पनि त्यसको अर्थ र संस्कृति एउटै हुन् । यी सबै शब्दहरु स्थापित भएकाले पर्यायवाचीको रुपमा लिने गर्दछन् । त्यसरी नै ल्होसार र ल्होछार शब्द फरक भए पनि अर्थ र संस्कृति तथा महिमा एउटै हो । भाषा विज्ञानको नियममा भाषा हरु तल माथि भइरहन्छन् । तसर्थ यसलाई पर्यायवाची शब्दको रुपमा ग्रहण गर्न उपयुक्त हुन्छ । यी दुई शब्दलाई लम्बेतान बहस गरी भ्रम सिर्जना गर्नु र गराउने काम हामीले गर्नु हुँदैन ।

ल्होसार कसरी मनाइन्छ ?

पुष १४ गतेको मध्य रात १२ बजेपछि पुरानो ल्हो सकेर नयाँ ल्हो को आगमन हुने हुँदा राती १२ बजे नयाँ वर्षको स्वागत गरिन्छ । क्होइवोमा वोन फायर गरी नयाँ वर्षको आगमनको संकेत गर्दछन् । पौष १५ गते बिहान १ अर्कामा शुमकामना साटासाट भेटघाट, ग्रहदशा नराम्रो रहेको बर्गले खेगीबाट रुपा लगाउने दिउँसो स्योकैं खाने नाचगान गरी धुमधामसँग ल्होसार मनाइन्छ ।

 

गाउँघरमा ल्होसार –

गाउँघरमा युवा आमा समूह भद्रभलाद्मीको अगुवाईमा स्योकंै खाने प्रचलन छ । तिहारमा देउसी भैलो खेल्ने र प्राप्त हुने रकम र अन्नपातले पुष १५ मा स्याकैं खाने गर्दछन् । यदि देउसी भैलो खेलेको छैन भने केटीहरुले चामल, रक्सी, घ्यू उठाउने र केटाहरुले मासुको व्यवस्था गरी स्योकैं खाने गर्दछन् । गाउँघरमा तमु गैर तमु सबै समुदाय सँगै ल्होसार मनाउने प्रचलन छ । ल्होसारको अवसरमा चेलीबेटी खाना खुलाउने चलन पनि रहेको छ ।

 

शहरबजार र विदेशमा ल्होसार –

शहरी इलाका र विदेशमा रहेका तमु संघ संस्थाहरुले ल्होसारको अवसरमा विभिन्न कार्यक्रमहरु खेलकुद, अन्तरक्रिया, शुभकामना आदान प्रदान, ¥याली, झाँकी, साँस्कृतिक कार्यक्रम चियापान आदि आयोजना गर्ने गर्दछन् । पुष १५ मा सामूहिक रुपमा स्याकैं खाने र धुमधामले ल्होसार मनाउँछन् । आजभोली ल्होसार पर्वलाई आफ्नो पहिचान र अधिकारको मुक्ति आन्दोलनसँग पनि जोडेर कार्यक्रमहरु आयोजना गरेको पाइन्छ ।

 

ल्होसारको वैज्ञानिक पक्ष

पश्चिमेली खगोलशास्त्री एवम् भूगोलवेत्ताहरुको अनुसार डिसेम्बर २२ तारिखका दिन पृथ्वीमा सबैभन्दा लामो रात हुन्छ । डिसेम्बर २३ देखि दिनलामो हुने क्रम शुरु हुन्छ । तमु ल्होसार पुष १५ डिसेम्बरको अन्त्यतिर पर्ने हुँदा दिन लामो हुने संकेत यसले गर्दछ । वैज्ञानिक यो मान्यता र हाम्रा तमु पुर्खाहरुको प्राचीन मान्यता करीब नजिक मान्न सकिन्छ । त्यसैगरी भारतवर्ष अनुसार माघ १ गते मात्र सूर्य मकर राशी सूर्य उत्तरायण लाग्दछ अर्थात् रात छोटो र दिन लामो हुने क्रम प्रारम्भ हुन्छ भन्ने मान्यता छ । पुष १५ र माघ १ पनि खासै फरक छैन । अरु समुदायले नयाँ वर्ष मान्ने क्रममा कसैले आफ्नो धर्मगुरुको जन्म दिन कसैले मन पर्ने राजाको सम्झनाको दिन लाई आधार मानेको देखिन्छ । तर तमु समुदायले नयाँ वर्षको दिन प्रकृति र समयको आधारलाई मानेर गरेकोले यो सान्दर्भिक मान्न उपयुक्त हुन्छ ।

ल्होसारको साँस्कृतिक पक्ष

ल्हो –वर्ग०, पार्ग हेरी कुन कुन सालमा कुन कुन वर्ग राम्रो÷नराम्रो साइत घर गोठ छाउने, बनाउने विवाह छेवर अर्घौ आदि कुन वर्गमा कुन दिन गर्ने भनी हेर्ने प्रचलन तमु समुदायमा रहेको छ । प्रकृतिवादी तमुहरुले १२ वटा जीवजन्तु र पशुपंक्षीलाई साँस्कृतिक प्रतीक मान्नु स्योकैं खाई सामूहिक मनोविज्ञान झल्काउनु, ल्होसारमा झाँकी, साँस्कृतिक नृत्य र भेषभुषा लगाउनु ग्रहदशा शान्तिको लागि रुपा लगाउनु ल्हो अर्थात वर्ग र पार्ग भिडाएर शुभ अशुभ फल बताउने चलनले प्रतीकवादको वकालत गर्दछ । तसर्थ यसको साँस्कृतिक महत्व बलियो देखिन्छ ।

यसरी मनाइदैछ प्र ल्होसार २०७२

विगतका वर्षहरुमा झै यस पटक देश विदेशमा रहेका तमु संघ संस्थाहरुले ल्होसारको अवसरमा साँस्कृतिक कार्यक्रम स्योकैं कार्यक्रम अन्तरक्रिया, खेलकुद आदि विविध कार्यक्रम आयोजना गरी मनाइरहेका छन् । यस पटक पोखरामा रहेका विभिन्न तमु सामाजिक, धार्मिक राजनीतिक साँस्कृतिक आदि संघ संस्थाहरु सामूहिक रुपमा एकजुट भई ल्होसार मनाउँदै छन् । यस पटक सबै तमु संघ संस्थाले पुष १५ सम्म आआफ्नो संस्थाको नियमित विभिन्न कार्यक्रम मनाउँदैछन् भने पौष १६ गते सामूहिक तमु प्र ल्होसार÷ल्होछार मूल समारोह समिति २०७२ को कार्यक्रमको आयोजना गरी एकता बद्ध भई ल्होसार मनाउन गइरहेको छ । यस पटक तमु ह्युल छोंजधी, गुरुङ राष्ट्रिय परिषद्, कास्की अध्यक्ष दलबहादुर गुरुङको संयोजकत्वमा तमु धिं नेपाल प्ये ल्हु संघ, बौद्ध अर्घौ सदन, ङ्योए तमु धिं लेखनाथ, गुरुङ फिल्म एशोसियसन नेपाल, तमु सञ्चारकर्मी संघ, तमु साँस्कृतिक प्रतिष्ठान, तमु प्राज्ञिक तथा व्यवसायिक मञ्च, तमु राष्ट्रिय मुक्ति मोर्चा, तमु संघ, लोकतान्त्रिक तमु संघ, तमु राष्ट्रिय मुक्ति मोर्चा ९क्रान्तिकारी०, संघीय तमु संघ, तमु प्रजातान्त्रिक संघ आदि तमु संघ संस्था यूवा विद्यार्थी महिला, मोर्चाहरु तथा विभिन्न समाजहरुको आयोजकको रुपमा रहेका छन् । पौष १६ गते चिप्लेढुंगाबाट झाँकी सहित ¥याली शुरु भई नयाँबजारको प्रदर्शनी केन्द्रमा पुगी साँस्कृतिक कार्यक्रममा परिणत हुनेछ । प्रल्होसार २०७२ को समुद्घाटन कार्यक्रममा प्रमुख अतिथिको रुपमा सम्माननीय उपराष्ट्रपति नन्द किशोर पुन –पासाङ० लाई आमन्त्रण गरिएकोछ भने सो कार्यक्रममा तमु अगुवा नेताहरुबाट शुभकामना आदानप्रदान हुनेछ । झाँकीलाई थप रौनकता थप्न आदिवासी जनजाति विच झाँकी प्रतियोगिता तमु संघ संस्था बीच सामूहिक नृत्य प्रतियोगिता सामाजिक संघ संस्थाका अगुवाहरुलाई सम्मान तमु कलाकार, खेलाडीलाई सम्मान तथा तमु कलाकारहरुको बेजोड साँस्कृतिक प्रस्तुती प्र ल्होसारको कोसेलीको रुपमा पस्कने कार्यक्रम रहेको छ ।

अन्तमा, प्र ल्होसार २०७२ ले तमु समुदायको दीर्घकालिन एकता समृद्धि विकास तथा पहिचान स्वाभिमान र स्वाधीनताको आन्दोलनलाई थप उचाईमा पु¥याउँदै सम्पूर्ण तमु लगायत उत्पीडित र विभेदमा पारिएको समुदायको राज्य सत्तामा समान पहुँच प्रतिनिधित्व र पहिचान कायम गराउन, समानुपातिक समावेशी सिद्धान्त लागु गराउन आइएलओ १६९, यूएनड्रिपको घोषणा लागु गराउन सामथ्र्यका चार आधार, पहिचानका पाँच आधारलाई राज्य पुर्नसंरचनाको आधार बनाउन दबाब दिन र वैदेशिक हस्तक्षेपको अन्त्य र सार्वभौम सत्ता सम्पन्न बहुराष्ट्रिय नेपाललाई स्वाधीन बनाउने अभियानमा देश विदेशमा रहेका सम्पूर्ण नेपालीहरुमा उर्जा मिलोस् भनी प्र ल्होछारको हार्दिक आँशिमाला ।

 

लेखक, तमु राष्ट्रिय मुक्ति मोर्चा (क्रान्तिकारी)का केन्द्रीय सचिव तथा नेपाल तमु (गुरुङ) विद्यार्थी छोज धीं को पूर्व महासचिव तथा संरक्षक परिषद्मा हुनुहुन्छ । प्रतिक्रियाका लागि laltamu77@yahoo.com, facebook.com/lbgurung

 

Add your comment

Your name:
Subject:
Comment:

Latest News