HongKongNepali.com, The Next Media

Saturday
Nov 18th
Home विशेष लेख जलवायु परिवर्तन, समस्या र चुनौती

जलवायु परिवर्तन, समस्या र चुनौती

E-mail Print PDF
AddThis Social Bookmark Button

लालबहादर गुरुङ

संसारमा विज्ञान र प्रविधिको आविष्कारसँगै विकास तीव्र रूपमा अगाडि बढेको छ । विकासको प्रभाव सकारात्मक र नकारात्मक दुवै हुने गर्दछ । यही विकासका गतिहरू तथा मानवसिर्जित क्रियाकलापका कारण वातावरणीय समस्या दिनानुदिन जटिल हुँदै गइरहेको छ । यिनै समस्याका विविध कारणहरूमध्ये जलवायु परिवर्तन पनि एक हो ।

 

छोटो समयका लागि पृथ्वीको वायुमण्डलमा हुने परिवर्तनलाई मौसम परिवर्तन भनिन्छ । जस्तै, घाम लाग्दा लाग्दै शीतल हुने, पानी पर्ने, हावा चल्ने आदि, भने लामो समयावधि देखि पृथ्वीमा चलिआएको जाडो, गर्मी, वर्षायाम र अन्य अवस्थामा आउने परिवर्तनलाई जलवायु परिवर्तन भनिन्छ । अझ यसलाई प्रष्ट्याउँदा औद्योगिकीकरण गाडीहरूको बढी प्रयोग, हातहतियारको बढ्दो प्रयोग, भौतिक पूर्वाधारहरूको निर्माणमा भएको वृद्धि, वनजंगलको विनाशका कारण जमिनमाथिको वायुमण्डलको तापक्रम बढ्दै गएको छ । जसका कारण गर्मी, वर्षा, जाडो यामहरूका समय परिवर्तन हुँदै गएका छन् । अतिवृष्टि, अनावृष्टि हुन थालेका छन् । मौसममा आएको यस किसिमको समष्टिगत परिवर्तनलाई जलवायु परिवर्तन (Climate Change) भनिन्छ ।

जलवायु परिवर्तनका कारक तत्वहरूमा ओजन तहको विनाश (Ozone Layer Depletion)  विश्वव्यापी उष्णता (Global Warming), हरितगृह प्रभाव (Green House Effect),  अम्ल वर्षा (Acid Rain) आदिलाई लिइन्छ । पृथ्वीको वायुमण्डलमा रहेको हरित गृह ग्यासले काँच वा प्लाष्टिकको जस्तै काम गरिरहेको हुन्छ । सूर्यबाट आउने प्रकाश सजिलै छिर्न दिन्छ । यसरी छिरेको ताप र प्रकाश जमिनमा पुगेपछि केही भाग जमिन, पानी र बोटबिरुवाले सोस्छन् भने धेरै जसो आकाशतिरै फर्किन्छ । यसरी फर्किएर आएको प्रकाश र तापलाई हरित गृह ग्यासले रोकेर राख्ने हुनाले पृथ्वी न्यानो र तातो हुन्छ । यसलाई हरितगृह प्रभाव भनिन्छ । यसको अभावमा पृथ्वीको औसत तापक्रम –१८ºअ पुग्ने हुनाले जीवित प्राणीको जीवन असम्भव हुन्थ्यो ।

विगत केही वर्षयता विभिन्न मानवीय क्रियाकलापका कारणले गर्दा वायुमण्डलमा हरित गृह ग्यासको मात्रा बढ्दै गइरहेको छ । जसले र्गा पृथ्वी तात्ने प्रक्रिया वा विश्व उष्णीकरण (Global Warming) को समस्या देखिएको छ । जस कारण मौसममा अस्थिरता, समुद्री सतह बढ्ने, हिमनदीहरू पग्लने, फुट्ने, हिमालको हिउँ पग्लने, कृषि उत्पादनमा कमी, नयाँ रोगका जीवाणुहरू फैलने, बाढी पहिरो, भूक्षय, खडेरी, कुवा, मूल सुक्ने आदि समस्याहरू देखिएका छन् ।

वैज्ञानिकहरूले हरित गृह ग्यास समूहमा कार्बनडाइअक्साइड CO2 नाइट्रस अक्साइड (N2O), सल्फरडाइअक्साइड (SO2),  मिथेन (CH4), परफ्लोरो कार्बन्स (PFCs),  हाइड्रोफ्लोरो कार्बन्स (HFCs),  सल्फर हेक्जा फ्लोराइड (SF6)  आदिलाई राखेका छन् । यही ग्यासहरूको अत्याधिक वृद्धिका कारण पृथ्वी तात्न गइ समस्याहरू झेल्नु परेको हो ।

यी ग्यासहरू बढ्नुका प्रमुख स्रोतहरूमा वनजंगलको विनाश, बढ्दो शहरीकरण, औद्योगिकीकरण, कोइला, खनिज, तेल र ग्यासको अत्याधिक प्रयोग, भू–उपभोगमा परिवर्तन, कृषिजन्य क्रियाकलापमा परिवर्तन, क्लोरो फ्लोरो कार्बन (CFC)  उत्पादनमा विस्तार आदिलाई मुख्य रूपमा लिन सकिन्छ । तसर्थ, विकसित राष्ट्रहरू नै बढी यसमा जिम्मेवार छन् ।

वैज्ञानिकहरूका अनुसार सन् १९०६–२००५ सम्म पृथ्वीको औसत तापक्रम ०.७४ डिग्री सेल्सियस बढेको छ । सन् २१०० को अन्तसम्ममा पृथ्वीको औसत तापक्रम १.४ देखि ५.८ डिग्री सेल्सियसले बढ्ने अनुमान गरिएको छ । पृथ्वीको ध्रुवीय क्षेत्रको हिउँको विशाल भण्डार पग्लिँदै गइरहेको छ । हिमाली क्षेमा हिउँ तथा हिमनदी पग्लिने क्रम तीव्र भइरहेको छ । जसले गर्दा समुद्रमा सतह बढेको छ । प्रतिवर्ष १.८ मिलिमिटरले समुद्रको सतह वृद्धि भइरहेको छ । समुद्रको तट तथा बीचमा रहेका टापु देशहरू जस्तै मालदिभ्स, टुभालु, फिजी डुबानमा पर्न सक्ने खतरा छ ।

जलवायु परिवर्तनसम्बन्धी क्योटो प्रोटोकल, कोपनहेगन शिखर सम्मेलन (२००९), नेपालको मन्त्रीस्तरीय कालापत्थर बैठक, बाली सम्मेलन चर्चित छन् । कार्बन उत्सर्जनमा चीन २१.५%, अमेरिका २०.२%, युरोपेली संघ १३.८%, रुस ५.५%, भारत ५.५%, जापान ४.६% र नेपाल ०.०२५% रहेका छन् (जलवायु परिवर्तन विशेषाङ्क २०६६) । तसर्थ, नेपाल कार्बन उत्सर्जन बढी गर्ने राष्ट्रबाट सहयोग पाउने सूचीमा पर्दछ । किनकि, बढी कार्बन उत्सर्जन गर्ने राष्ट्रहरूले यसको न्यूनीकरणका लागि केही बजेट खर्च गर्नुपर्ने प्रावधान रहेको छ । जस अनुसार नेपालमा CDM, REDD, UNEP, UNFCCC, 4E7, LDC, NAPA, PPCR लगायतका परियोजनाहरू सञ्चालित छन् ।

उल्लेखित समस्याहरूको समाधानका लागि अन्तर्राष्ट्रियस्तरमा विकसित राष्ट्रहरूले हरित गृह ग्यास उत्पादनमा कम गर्ने, पेट्रोलियम पदार्थ, कोइला प्रयोगमा कम गर्ने, नवीकरणीय ऊर्जा, सौर्य ऊर्जा, जलविद्युत ऊर्जाको विकास, वनजंगलको संरक्षण, वृक्षारोपण, उद्योगधन्दा र कलकारखानाको सञ्चालनमा सावधानी अपनाउने, बायो ग्यास, वायुशक्ति, बायो इञ्जिनियरिङ प्रविधिको विकास, फोहोरमैलाको पुनः नवीकरण र पुनः प्रयोग गर्ने, प्राङ्गारिक खेती, जनचेतनामूलक कार्यक्रमहरू र पीडित क्षेत्रमा समस्याको समाधान तथा व्यवस्थापनमा ध्यान दिन जरुरी छ ।

प्रतिक्रियाका लागि :

laltamu77@yahoo.com, lbgurung@facebook.com

9814125606

 

सन्दर्भ सामग्री :

-LI-BIRD, iied,वातावरण (जलवायु परिवर्तन विशेषाङ्क २०६६)

-NUO-Group on Climate Change-  जानकारीपत्र २०६५

–जलवायु परिवर्तन सेमिनार काठमाडौं र पोखरा नोट

 

 

Add your comment

Your name:
Subject:
Comment:

Latest News