विभिन्न संघसंस्थामा समेत क्रियाशील रही समाजसेवामा समेत समर्पित गोविन्द पछिल्लो समय नेपाली लोकसंगीत र मोडलिङमा उदाउँदै छन् । नेपाल मगर विद्यार्थी संघका पूर्व केन्द्रीय सदस्य एवं तमुवान इञ्चार्ज, तमुवान युथ भोलिन्टियर्स कास्कीका उपाध्यक्ष, नेपाल मगर लेखक संघ कास्कीका पूर्व सचिव, बागलुङ–पोखरा मगर समाजका पूर्व कार्यसमिति सदस्य रहेका गोविन्द अहिले पर्यटन व्यवसायी बनेका छन् । पोखरा–६, लेकसाइडस्थित टाइगर ट्राभल्स एण्ड टुर्स प्रालि, पोखरा कार्यालयका शाखा प्रबन्धक गोविन्दले स्वदेशी एवं विदेशी पर्यटकको सेवा गरिरहेका छन् ।
सानैदेखि गीत संगीत र नाचगानमा रुचि राख्ने गोविन्द सामाजिक परिवेशका कारणले गीत संगीत र नाचगानमा मोह बसेको बताउँछन् । उनी भन्छन्, ‘रहरका कारणले होस्, या कर्तव्य सम्झेर मैले नेपाली लोकसंस्कृति र लोकसंगीतलाई असाध्यै रुचाउँछु, केही गर्ने सोंच समेत आयो ।’ अहिलेका उदीयमान लोकगायक नवीन रानामगरको ‘नौतुनादेखि...’ बोलको सालैजोको म्यूजिक भिडियोमा मोडलका रूपमा गोविन्दले ‘डेब्यू’ गरेका हुन् । गायिका तारा श्रीसमगरको ‘खैंजडी बजाउँदै...’ बोलको कौह्रा गीतको शब्द लेखेका गोविन्दले आफैं मोडलिङ पनि गरेका छन् । पाण्डवखानी गाउँमा प्रचलित प्राचीन ‘सती घाँटु’ लोकनृत्यको वृत्तचित्रका निर्देशक एवं निर्माता समेत बनेर उनले निर्माण र निर्देशनमा समेत आफ्नो पाइला अघि बढाएका छन् । वृत्तचित्र सार्वजनिक भइ विभिन्न ठाउँमा प्रदर्शनीको क्रममा छ ।
‘मेरो पाण्डवखानी’ बोलको गाउँको गीत समेत लेखेका उनले म्यूजिक भिडियोको निर्माण र निर्देशन पनि आफैं गरे । युट्युबमार्फत विश्वभर सार्वजनिक भइसकेको यो म्यूजिक भिडियोको निकै प्रशंसा र चर्चा भइरहेको छ । ‘खाएछ कि कलेजो’ बोलको सालैजो बजारमा ल्याउन लागेका गोविन्दले निर्माण गरेको उक्त सालैजोको म्यूजिक भिडियोको निर्देशन र निर्माण आफैं गरेका छन् । सालैजोको शब्द र लय गोविन्द आफैंले संकलन एवं रचना गरेका हुन् । सालैजो, झ्याउरे, घाँटु, सोरठीजस्ता मौलिक लोकगीतलाई संरक्षण गर्नुपर्ने धारणा राख्छन् उनी र भन्छन्, ‘अब युवा पुस्ताले मौलिक गीत संगीत बचाउन अग्रणी भूमिका खेल्नुपर्ने बेला आयो ।’ उनले निर्देशन गरेका अरू पनि म्यूजिक भिडियो बजारमा आउने क्रममा रहेका छन् । व्यवसाय र गीत संगीत क्षेत्रमा समय कसरी मिलाउनुभएको छ ? भन्ने प्रश्नमा उनी भन्छन्, ‘समय मिलाउनै प¥यो, मैले भरखर मात्र पाइला चाल्न सुरु गरेको छु, मेरा लागि अवसर र चुनौती दुवै छन् ।’ उनलाई अहिले मोडलिङ र निर्देशनका लागि निकै अफरहरू पनि आइरहेका छन् । भावी योजना के छ ? भन्ने प्रश्नमा उनी भन्छन्, ‘घरपरिवार चलाउनका लागि व्यवसाय धान्नै प¥यो, परिवारकै सहयोगले यहाँसम्म आइपुगेको छु, नेपाली लोकसंगीतमा पनि निरन्तर लाग्ने योजना छ ।’ नेपाली लोकसंगीतमा पछिल्लो समय विकृति र विसंगति भित्रिएको भन्दै त्यस्ता विकृति हटाउने अभियानमा अहोरात्र लाग्ने उनको योजना छ । मोडलिङ र निर्देशनमा पाइला चाल्दै गरेका गोविन्द एक सम्भावना बोकेका र प्रतिभाशाली कलाकार हुन् भन्दा सायदै फरक पर्ला ।
प्रस्तुती : रूद्र श्रीसमगर
{gallery}gallery/udaya_pun_news_pkr{/gallery}