१५÷१६ वटा चलचित्र गीत समेत गरिसकेका उनी सुगम संगीत र लोकसंगीतमा उत्तिकै जम्न सफल भएका छन् । सुगम संगीत र लोकसंगीतबीच के फरक छ ? भन्ने प्रश्नमा उनी भन्छन्, ‘सुगम संगीतलाई विशेष अध्ययनको आवश्यकता छ भने लोकसंगीत गाउँ वा समाजबाट जन्मिएको संगीत हो ।’ आफ्नो सांगीतिक प्रस्तुतीका क्रममा हङकङलगायतका देशमा समेत पुगिसकेका उनले नेपालका विभिन्न शहर र गाउँमा आफ्नो प्रस्तुती दिइसकेका छन् । लोकगीतको मौलिकताबारे उनी भन्छन्, ‘सामाजिक परिवेश र हरेकको मन छुने खालको हुनुपर्छ, दिललाई प्रफुल्लित तुल्याउने हुनुपर्छ, उत्ताउलोपन लोकगीतले पचाउन सक्दैन ।’
वरिष्ठ लोकगायक नारायण रायमाझीको गीत सुनेर प्रभावित भएको बताउने उनी रायमाझीलाई अप्रत्यक्ष गुरु मान्छन् । लोक तथा दोहोरी गीतमा पछिल्लो समयमा देखा परेको विकृति र विसंगतिबारे उनको भनाइ भने यस्तो छ, ‘अहिलेको त दोहोरी गीत नै होइन, ट्रेण्ड चेञ्ज गर्नु एउटा कुरा हो तर, यहाँ त ट्रयाक नै चेञ्ज भयो ।’ लोकगीत संकलनमा कमै कलाकार लाग्ने गरेको प्रसड्डमा उनी भन्छन्, ‘अहिलेका कलाकारहरूको स्थलगत अध्ययन कम छ, गाउँ, ठाउँको परिवेश बुझेर गीत बनाउनुपर्ने हो, तर, कोठे रचनाले बढी प्राथमिकता पाउँदै गएको छ ।’
कौह्रा, सालैजोलगायतका मौलिक गीत गाउन रुचाउने उनी अहिलेका गीतमा पनि पूरानो भाका र छनक आउनुपर्नेमा जोड दिन्छन् । कौह्रा, सालैजोलगायतका मौलिक भाकालाई आफ्नै मौलिक तरिकाले आफ्नो गायकीपन प्रस्तुत गर्ने खूबी भएका उनले आगामी दिनमा पनि नेपाली लोकसंगीतको अन्वेषण र गायनलाई निरन्तरता दिने बताउँछन् । हराउँदै गएको मौलिकता फर्काउने र समयानुकूल परिमार्जन पनि गर्दै जानुपर्ने उनको मत छ ।
प्रस्तुती : रूद्र श्रीसमगर
{gallery}gallery/folk_singer_rk_gurung_story.zip{/gallery}