HongKongNepali.com, The Next Media

Friday
Jun 23rd
Home विशेष लेख दक्षिण एसियामा बन्यो दशैं बेजोडले विवादित

दक्षिण एसियामा बन्यो दशैं बेजोडले विवादित

E-mail Print PDF
AddThis Social Bookmark Button

भारतमा महिषासुर शहीद घोषित, सप्ताहव्यापी महिषासुर शहीदस्मृति कार्यक्रम आयोजना गरिने

लेखक- बि.के.राना

दक्षिण एसियाको एउटा सानो हिमाली मुलुक नेपालमा वर्षैपिच्छे राष्ट्रिय चाडकारुपमा  मनाइने बडादशैं र विशाल भारतको प्रायस्सबै प्रान्तहरुमा दुर्गापूजा, विजया दशमी, दशहरा, नवरात्री, खीर भवानी वा दुर्गोत्शव इत्यादी नामले पुकारिने र विभिन्न कार्यक्रमहरुको आयोजना गरेर  मनाईने यस पर्वका बारेमा फेरि पनि  केही कुरा लेख्नु वान्छनीय भएको छ। नेपालमा मनाइने बडादशैंको पूजा विधिविधानका बारेमा कुनै त्यस्तो गम्भिर अध्ययन गर्ने मौका पाएको नभएता पनि त्यसको ऐतिहासिकताका बारेमा अध्ययनका निम्ति प्राप्त केही सामग्रीहरुको आधारमा प्रश्तुत लेखमा केही कुराहरु मथि छलफल  गरिने छ । पूर्वमन्त्री गोरेबहादुर खपांगी मगरहरुले शुरुगर्नु भएको "दशैँ वहिष्कार" आन्दोलनमा कुनै न कुनै तरिकाबाट त्यसबेला सरिकरहेको  कारणले गर्दा र विगत दुई अढाई दशकदेखि नेपालमा  एक हिसाबले विवादित चाडका रुपमा रहदै आएको बडादशैंका बारेमा, समन्वय र सद्भावका वातावरण यथावत् पुनः कायम होओस भन्ने अभिप्रायले मैले पनि आफ्नो कलम चलाउदै आइरहेकै छु। यसै अनुरुप बिक्रम सम्बत् २०५८ साल कार्तिक ३० गते विहीबार  अर्थात् नोबेम्बर १५, २००१ मा "दशैंपछिको तिहार र आदिवासी जनजाति" भन्ने शीर्षकमा मेरो  एउटा संक्षिप्त लेख काठमाडौँबाट प्रकाशित हुने "कान्तिपुर दैनिक"मा छापियो ।यसबाहेक अन्य पत्रपत्रिकाहरुमा पनि  बडादशैंका बारेमा मेरा केही रचनाहरु प्रकाशित भएका छन् । आज यसैमेसोमा  प्राप्त ऐतिहासिक एवं पुरातात्विक प्रमाणका आधारमा यस लेखमा केही कुरा गरिनेछ ।

नेपालमा दशैंको उत्त्पतिको कुरा :

नेपालमा बडादशैं कहिलेदेखि मनाउन शुरु गरिएको हो भन्ने वारेमा यकिनका साथ भन्न सकिने अवस्थामा हामी छैनौ  । गोरखा जिल्लाको ऐतिहासिक लिगलिगकोटमा वर्सेनी "टीकाका दिन"मा राजा फेर्ने प्रचलन रहेको कुरा वन्शावालीहरुमा लेखिएको पाईन्छ ।तर, त्यो "टीकाका दिन" विजयादशमीको टीकाको दिन  हुने गर्थ्यो  वा गर्दैनथ्यो  स्पष्ट  खुल्दैन । बिक्रम सम्बत्  १६१६  भन्दापहिले गोरखा  राज्यमा बडादशैं  मनाइन्थ्यो वा  के गरिन्थ्यो त्यसबारेमा पनि केही भन्न सकिन्न । बिक्रम  सम्बत्  १६१६साल भदौ २३ गते मंगलबारको रात गंगाराम राना मगर,गणेश पाण्डे,महेश्वर पन्त, नारायण दाश अर्जेल एबम् मुरली खवासआदिको सहयोगमा गोरखाका "खड्का राजा"लाई, मारेर त्यसै रात अर्थात् बिक्रम सम्बत् १६१६ साल भदौ २४ गते बुधबार ०घडी ०१ पला जादा द्रब्य शाह गोरखाको राजगद्धीमा बसेका कुरा वंशावलीहरुमा लेखिएको छ । गोरखाको खड्का राजाको निर्मम हत्यागरी आफू राजा भएको खुशीयालीमा  द्रव्यशाहले आश्विन शुक्लपक्ष भरि रामरमिता मनाएको, रंगरेलिया गरेको हुनसक्ने र त्यसै घटनालाई वार्षिकोत्सवको रुपमा वर्षेनि मनाउदै आउने क्रममा नेपालमा दशैं संस्कृति विकसित भएको हो भन्नेअनुमान गर्न कुनै गाह्रो छैन। द्रव्यशाहका सन्तति राजा पृथ्वीनारायण शाहले पनि सन् १७६९ मा काठमाडौँमाथि विजय प्राप्तगरी  त्यहा  दशैं संस्कृति प्रवेश गराएका हुनस यसमा पनि कुनै शंका छैन । यसको प्रमाणको रूपमा काठमाडौँको नागार्जुनडाडामुनिको ‘अर्को गोरखा’बाट ल्याइने फूलपातीलाई लिन सकिन्छ । त्यो  फूलपातीलाई हनुमानढोकाको दशैं  घरमामा भित्य्राइएपछि मात्र त्यहा बडादशैंको  अरु परम्परागत पूजाआजा शुरु गरिन्छ । यसकारण पनि नेपालमा आजको बडादशैंकोउद्गमविन्दु गोरखा जिल्लाको सदरमुकामस्थित माझकोटको  गोरखा दरबारलाई मान्नु युक्तिसंगत देखिन्छ ।

प्राचीन कालमा राजा गुणकाम देवले खड्गाकारमा  कान्तिपुर शहर बसाएर  त्यसको सुरक्षाका निम्ति  भद्रकाली, नीलसरस्वती,रक्तकाली तथा स्वेतकाली स्थपाना गरेका हुन । यसको मतलब राजा गुणकाम देवले कान्तिपुरमा मातृदेवी वा अष्टमातृकाहरुको स्थापना गरेका हुन र यी देवीहरुसंग दशैंको कुनै सम्बन्ध र सरोकार रहेको देखिदैन । काठमाडौँको नेवार समुदायमा हाल प्रचलित'मोहिनी'लाई दशैँसंग तुलना गरिएको पाइएतापनि, यसको कथा विष्णुको दशावतार मध्य कच्छप अवतार र समुन्द्र मन्थनको कथार फेरि विष्णुले अर्को मोहिनीको अवतार धारण गरेको कथासंग प्रत्यक्ष सम्बन्ध भएकोले, दशैंसंग यसको  कुनै  सम्बन्ध रहेकोमान्न सकिन्न । आज पनि दक्षिण भारतका बिभिन्न राज्यहरुमा 'मोहिनी'को पूजा गरिन्छ । प्राचीन कालमा स्थापना गरिएका शक्तिपीठहरुको पूजा अर्चनासंग मध्ययुगका राजाहरुद्वारा राज्य विस्तारका निम्ति शस्त्रपूजा वा हातहतियार पूजाका निम्ति गरिनेदुर्गापूजा वा बडादशैंको  प्रत्यक्ष सम्बन्ध रहेको नपाइएकोले, नेपालमा दशैं वा बडादशैं गोरखा राज्यको विस्तार संगसंगै विकशित भएको संस्कृति हो भन्नुमा कुनै अत्युक्ति नहोला। शस्त्रपूजा वा हातहतियार पूजा गरिने भएका कारण भारतमा दशैं वा दशहरालाई क्षत्रीहरुको विशेष पर्वका रुपमा पनि लिइन्छ ।

भारतमा दशहरा  वा दशैंको प्रचीनाताको प्रश्न :

त्यसो त संक्षिप्तमा भन्नु पर्दा भारतका कतिपय राज्यहरुमा दशहरा वा दशैंको प्राचीनताको कुरा राजा राम र रावणको कथासंग जोड्ने गरिन्छ । राजाराम क्षत्रीय कूलका थिए भने महाभारतका कौरव तथा पाण्डवहरु पनि क्षत्रीय नै थिए । महाभारतको युद्धमापाण्डवहरुलाई  एकवर्ष  गुप्तवास बस्नु पर्दा आफ्ना  हतियारहरुलाई  शमीको रुखमा लुकाएर  राखिएको कुरा आउछ । अर्जुनले पनि आफ्नो गाण्डिव धनुषको सुरक्षा गरिदिएकोमा यही दशहरा वा दशमीका दिन शमीको रुखको पूजा गरेका हुन्छन । तर,योपौराणिक कथाको  प्रामाणिकता  के कति भन्ने कुरा आफ्नो ठाउमा छदैछ । भारतको झारखण्ड राज्यको झरियास्थित राजागढ़मा७५० वर्ष पहिलेदेखि   दशहरा वा दुर्गापूजा गरिदै आएको पाइन्छ भने कलकत्ता नजिकको हुगली भन्ने ठाउमा सन् १७९० मा १२ जना ब्राह्मणहरुले सबभन्दा पहिले दुर्गापूजाको सामूहिक अनुष्ठान शुरु गरेका भन्ने पनि लेखिएको छ । सन् १५८३ मा ताहिरपुर,हाल बंगालका महाराजा कंश नारायणले  सारा भारतको इतिहासमा सबभन्दा पहिले एक विशाल दुर्गापूजाको आयोजना गरेका थिए।  दक्षिण भारतीय राज्य कर्नाटकको मैशोरमा दशैंलाई जम्बो सावरी भनिन्छ र यो चाड त्यहाँ ४०० वर्षदेखि चल्दै आएको छ ।

दक्षिण एसियामा बन्यो दशैं बेजोडले विवादित :

नेपालमा मात्र बडादशैं विवादित रहेको छैन; उसको  छिमेकी मुलुक भारतको सबैजसो  प्रान्तहरुमा मनाइने "दशहरा", "दुर्गोत्सव",वा  "विजयदशमी" त्यहा पनि आज अत्यन्त विवादित बन्न गएको छ । यस सन्दर्भमा यही अक्टुबर १२ देखि अक्टुबर १७ सम्म भारतको झारखंड राज्यको गिरीडीहमा ‘प्रबुद्ध यादव संगम’द्वारा महिषासुरको  शहादतको लोकगीतहरु गाएर  ‘महिषासुर शहादतसप्ताह’ मनाउने कार्यक्रमहरु सार्वजनिक गरिएको छ । यो कार्यक्रम दुर्गापूजा वा विजया दशमीको ठीक विपरीत छ । यसकाअतिरिक्त उडिसा र उत्तर प्रदेश राज्यका बिभिन्न स्थानहरुमा बौद्ध भिक्षुहरुसमेतको सम्पूर्ण सहभागितामा  महिषासुरको  शहादत जोडतोडका साथ् मनाइदै छ । भारतमा त्यहाका बहुजनवादी अर्थात् जनजातिहरुले ब्राह्मणवादी संस्कृतिको प्रतिकार स्वरुप सन्२०११ देखि  महिषासुरको  शहादतको एकहप्ते कार्यक्रम आयोजना  गर्दैआएका छन् । तर, दशैँ नेपालमा भने झन्डै चौथाईशतकदेखि  माने विगत २५र२७ वर्षदेखि विवादित रहदै आएको छ ।

दशैं र सिन्धुघाटीको सभ्यताको कुरा :

कहाँ,कुन प्रयोजनका निम्ति, कस द्वारा र कति पहिलेदेखि दशैँ मनाउन शुरु गरिएको हो भन्ने बारेमा कुनै पुरातात्विक प्रमाण पाउन सकिएको छैन । तर निक्कै पुरानो चाड हो भन्ने जिरहगर्दै दशैंलाई  सिन्धुघाटीको सभ्यतासंग जोड्ने प्रयत्न पनि यदाकदाभएको पाइएको छ । सिन्धुघाटीको उत्खननमा धानका भुस  वा चामलका दानाहरु पाइए भन्दैमा, तिनलाई धानखेतीको कुरोसंगजोडेर नेपालका केही आदवासी जनजातिहरुद्वारा निधारमा लगाइने  चामलको "सेतो टीका"लाई "अन्नवाली भित्र्याएको" खुशियालीमनाउदाको उमंगमा लगाइएको टीका भएको वा त्यस्तै जनाएर  दशैंलाई "अन्नवाली भित्र्याउने" सांस्कृतिक पर्वका रुपमाव्याख्या गरिएको पनि भेटिएको छ । यो सर्वसम्मत व्याख्या भएन किनभने नेपालका कृषकहरुले "अन्नवाली भित्र्याउने" काम मंग्शीर महिनामा गर्दछन, असोज वा कात्तिक महीनामा गर्दैनन् । र 'नवान्नहोम यज्ञ' भनेर नया अन्न अर्थात्  धानलाई अग्निहोममा चढाएर, चामलको सेतोटीका र अन्न हवनबाट डढेकोको अन्नको 'कालो तीलक' बनाई त्यसलाई निधारमा लगाएर नुवाईखाने काम गर्दछन । यसरी सिन्धुघाटीको सभ्यतासंग जोडेर एकतर्फी कुरा गर्न यसमा मिल्दैन । त्यहा पाइएका  धानकाभुस वा चामलका दानाहरुले नेपालमा हालसम्म  मनाइने गरिएको राष्ट्रिय चाडको प्राचीनतालाई प्रमाणित र महत्वलाई स्थापित गर्नसक्दैन । यो त ऐतिहासिक अभिलेख र पुरातात्विक प्रमाणहरुको गलत उपयोग र अपव्याख्या हुन गएन ? प्रचलित मान्यता केछ भने आजभन्दा १२,००० वर्ष पहिले चीनमा धान खेती गरिन्थ्यो ।  दक्षिण  एसियाको कुरा गर्दा चाही भारतको उत्तर प्रदेशकोको ल्दिहवामा ईशापूर्व ६५७० देखि ४५३० सम्मका गोबरका गुईठामा धानका भुस भेटिएको हो भने सिन्धुघाटीमा चाही त्यसभन्दाकेहीपछि  ईशापूर्व २५०० तिरको धानको नमूना पाइएको हो । धानको कुनै नमूना पाइदैमा धानलाई मात्र "अन्नबालीकोउत्सव"को कारण ठानिनु र त्यसलाई नेपालका आदिवासी जनजातिहरुको धाननाँचको कुरोलाई दशैंसंग समानान्तर देखाइनु सहीहो भन्ने लाग्दैन ।

निष्कर्ष :

आधुनिक नेपालको इतिहासमा गोरखाका राजा द्रब्य शाह र उनका सन्ततिहरु मध्ये राजा पृथ्वी नारायण शाहले दशैलाई शस्त्र पूजार राज्य विस्तारको निम्ति गरिने धार्मिक अनुष्ठानको रुपमा विकशित गरे गराएका स्पष्ट  देखिन्छ । राजा पृथ्वी नारायण शाहले सन्१७६९ मा काठमाडौँ विजय गरेपछि त्यहा पनि  दशैं प्रवेश गराइयो भन्नै  पर्ने हुन्छ । नेपालको राष्ट्रिय एकीकरणमा  दशैंको ठूलो भूमिका रहन गएको छ । विगतमा यस चाडले सबै नेपालीहरुलाई  सांस्कृतिक एकताको शूत्रमा आवद्ध गरेकै हो । तर, आजभोलियस चाडको विरुद्ध चर्को आवाज उठाईएको छ किनभने यो चाड राज्यका साधन र श्रोतमा पहुँच  हुनेकानिम्ति मात्र भएको र बाकी अरु सर्वसाधारण जनताकानिम्ति ठूलो  "दशा"  भएको भन्ने जनगुनासो छ । यस चाडलाई सबैका निम्ति स्वीकार्य राष्ट्रियचाडका रुपमा विकशित गर्न यसमा  समसामयिक सुधार गर्नु आवस्यक भएको छ ।

सन्दर्भ सूची :

कुमार, अरुण (२०१३): महिषासुर : ब्राह्मणवादी संस्कृति के प्रतिकार का बढ़ता कारवां

पन्त, दिनेश राज (२०४१) : गोरखाको इतिहास (पहिलो भाग) - प्रकाशक दिनेश राज पन्त, वटु सबल बहाल,काठमाडौँ ,नेपाल ।

पाठक, गणेश कुमार - अभिव्यक्ति - विजया दशमीको अवशर पर शस्त्र पूजा

पुरी, मनोहर - अभिव्यक्ति - अक्टोबर ३ , २०११ - दसों पापों का हरने का त्योहार दशहरा

प्रकाश, देव  - अभिव्यक्ति -  सेप्टेम्बर  २३, २००९ - दुर्गा पूजाका का सांस्कृतिक विश्लेषण

प्रधान, प्रयागमान - CNAS  Journal - Vol 34, No. 1 -January 2007 - अष्टमातृका नृत्यमा भरैवको महत्व र कीर्तिपुरको बाघभैरव नृत्य

मणि, प्रेमकुमार - मोहल्ला - अक्टोबर ६, २०११ -  दुर्गा चंडी नहीं,“---” थी, उसकी पूजा क्‍यों करें बहुजनरु

राना, बि. के. - कान्तिपुर - कार्तिक ३०, २०५८ -  दशैंपछिको तिहार र आदिवासी जनजाति

 

 

Add your comment

Your name:
Subject:
Comment:

Latest News