HongKongNepali.com, The Next Media

Tuesday
May 23rd
Home विशेष लेख नेपाली लोकसंगीतमा उदाउँदै लोकदोहोरी गायक नवीन रानामगर

नेपाली लोकसंगीतमा उदाउँदै लोकदोहोरी गायक नवीन रानामगर

E-mail Print PDF
AddThis Social Bookmark Button

पछिल्लो समय निकै व्यस्त बनेका लोक तथा दोहोरी गायक नवीन रानामगरले, बागलुङको गलकोट, पाण्डवखानी–३ मा जन्मिएर पाण्डवखानी प्राविबाट प्रारम्भिक शिक्षा हासिल गरेका हुन् । परिवारसँगै बसाइँसराइँ गरी हाल, गलकोट, हरिचौर–२, सिमलबोटमा स्थायी रूपमा बस्दै आएका लोक तथा दोहोरी गायक नवीन आमा कल्पना राना र बाबा मतिराम रानाका कान्छा सुपुत्र हुन् ।

 

पृथ्वी उच्च मावि, हरिचौर–५ बाट एसएलसी उत्तीर्ण गरेका लोकगायक नवीनले काठमाडौंको ललितकला क्याम्पसबाट शास्त्रीय संगीतमा स्नातक उत्तीर्ण गरेका छन् । २०६९ सालमा रेडियो नेपालबाट स्वर परीक्षा उत्तीर्ण गरेका नवीनले सोही समयदेखि नेपाली लोकसंगीतको यात्रा औपचारिक रूपमा थालनी गरेका हुन् । उनको पहिलो एल्बम ‘वैंश आयो घुमेर’ कौह्रा हो । त्यसपछि उनले क्रमशः ‘नौतुनादेखि गोरखपुरसम्म’ सालैजो, ‘म त हजुर मगरको छोरो’ दोहोरी, ‘मुग्लानी शहर’ सालैजो, ‘गलकोटको ठावैँ रमाइलो’ पञ्चे बाजा, ‘भूकम्पको गीत’, ‘खाएछ कि कलेजो’ सालैजो, ‘मेरो पाण्डवखानी’ पर्यटन गीत, ‘खैंजडी बजाउँदै’ कौह्रा, ‘आएँ म त जोर मादल बोकी’ झ्याउरे, ‘रोदीघर आउँदा’ सालैजोलगायतमा स्वर एवं संगीत दिएका दिएका छन् । सुमधुर स्वरका धनी नवीनले पछिल्लो पटक ‘तीनपाने खाएसी’बोलको पञ्चे बाजा गीत बजारमा ल्याउन लागेका छन् ।

 

खासगरी, मौलिक लोकभाकाहरूप्रति विशेष रुचि राख्ने नवीनले सालैजो, कौह्राजस्ता मौलिक गीतमा बढी स्वर दिएका छन् । ‘मौलिक खालका लोकगीतमा मेरो विशेष रुचि छ’, उनी भन्छन्, ‘पूराना लोपोन्मुख भाकाको संरक्षण गर्नुपर्ने अवस्था आएको छ, हामी नयाँ पुस्ताले पूराना लोकगीतको खोज अनुसन्धान पनि गर्नु जरुरी छ ।’ मगर समुदायमा विशेष प्रचलित सोरठी पनि उनी मजाले गाउन सक्छन् । लोकदोहोरी गायकका रूपमा मात्रै उनको परिचय सीमित छैन । उनी शब्द र संगीतमा पनि उत्तिकै अब्बल देखिएका उनी संगीत संयोजनतर्फ पनि पाइला अघि बढाउँदै छन् ।

सञ्चारमाध्यममा आउन त्यति नरुचाउने उनी गीतसंगीतलाई राम्रो गर्ने ध्याउन्नमै हुन्छन् । स्थानीयस्तरमा आयोजना हुने विभिन्न दोहोरी गीत प्रतियोगितामा सहभागी भएर पुरस्कार जित्दै आएका लोकदोहोरी गायक नवीनले प्रत्यक्ष रूपमा मञ्चमा दोहोरी गाएर दर्शक, स्रोतालाई नचाउन सक्छन् । आजभोली उनी मञ्चहरूमा पनि जम्न थालेका छन् । नेपालका विभिन्न ठाउँका मेला र महोत्सवमा हजारौं दर्शक, स्रोतालाई नचाइसकेका उनको आजभोलीको दिनचर्या विगतका तुलनामा व्यस्त बन्न थालेको छ । काठमाडौंको यानीमाया दोहोरी साँझमा व्यवसायिक रूपमा गीत गाउने उनको सुमधुर स्वरलाई मन पराउनेहरूको संख्या पनि निकै छ ।

सालैजो, सोरठी, दोहोरी, झ्याउरे, कौह्राजस्ता एक दर्जनजति गीतमा स्वर, शब्द र संगीत भरेका उनी नेपाली लोकसंगीतमा पछिल्लो समय लोकप्रिय बन्दै गइरहेका छन् । पहिलेको जस्तो क्यासेट बेचेर कलाकार बाँच्ने अवस्था अहिले छैन । उनी भन्छन्, ‘पहिलेजस्तो कलाकारले एल्बम वा क्यासेट बेचेर पैसा कमाउने जमाना अहिले छैन, स्टेज कार्यक्रममा जम्न सक्यो भने मात्रै कलाकार बाँच्न सकिन्छ, अन्यथा, निकै गाह्रो छ ।’ मौलिक र कर्णप्रिय स्वरका धनी लोकदोहोरी गायक नवीन रानामगरलाई सफलताका लागि हाम्रो पनि शुभकामना ।।

प्रस्तुती : रूद्र श्रीसमगर

 

Add your comment

Your name:
Subject:
Comment:

Latest News