दीपक गजुरेल
चीन-भारत सीमाको पश्चिममा पर्ने लद्दाख क्षेत्रमा चीनियाँ सेना भारतीय भूमिमा अनधिकृत प्रवेश गर्यो भन्ने समाचार भारतीय सञ्चार माध्यमहरुले हिजोआज जोडतोडमा साथ प्रचार गर्दैछन्।
एक हप्ता अघि पुर्वको अरुणाचल प्रदेशसंग जोडिने सीमा क्षेत्रमा चीनियाँ सेना प्रवेश गरेको समाचार भारतीय टेलिभिजनहरुले प्रशारण गरेका थिए। यस्ता समाचार उत्तेजक ढंगले प्रशारण गर्ने भारतीय सञ्चार माध्यमहरुले दिएको जानकारी अनुसार चीन-भारत सीमा रेखा, लाइन अफ याक्चुअल कण्ट्रोल, नाघेर भारतीय भूमिमा प्रवेश गरेको चीनियाँ फौज केही समय भारतीय भूमिमा बसेर पुनः आफ्नै भूमि र्फकने गरेका छन्।
लद्दाखमा सीमा नाघेको चीनियाँ फौजले सीमा रेखा भन्दा डेढ किलोमिटर भित्र पसेर पहाडका ठूला ढुँगाहरुमा रातो रंगले ‘चीन’ शब्द लेखेर फर्केको जनाइएको छ। यही क्षेत्रमा केही दिन अघि चीनियाँ सैनिक हेलिकप्टर समेत भारतीय वायु क्षेत्रमा प्रवेश गरेको दावी भारतीय सञ्चार माध्यमहरुको छ। उता, अरुणाचल प्रदेश क्षेत्रमा पनि चीनियाँ सैनिक विमान भारतीय वायु क्षेत्रमा पस्ने गरेको बताइएको छ।
भारतीय सञ्चार माध्यमहरुका अनुसार केही समय अघि अरुणाचल प्रदेशमा उडानमा रहेको एउटा भारतीय लडाकू जहाज रहश्यमय ढंगले दुर्घटना भएको थियो। मानव बस्ती नरहेको चीन-भारत सीमा क्षेत्रमा झरेर ध्वस्त भएको सो वायुयान दुर्घटनामा ९ जना भारतीय सैनिक मारिएको बताइएको थियो।
सीमामा तैनाथ चीनियाँ फौजले केही महिना यता पुर्व र पश्चिममा गरी सयौँ पटक सीमा रेखा नाघेर अनधिकृत व्यवहार गरेको र्सार्वजनिक भएको छ। यस्तो संवेदनशील विषयमा भारत सरकारले केही भनेको पाइएको छैन। अर्कोतिर, चीनले पनि आधिकारिक स्तरमा केही बोलेको पाइन्न। तर भारतीय छापा तथा टेलिभिजनहरुमा हेर्दा स्थिति सन् १९६२ को युद्ध अधिका महिनाहरुमा भए झैँ गतिविधि चीन-भारत सीमा क्षेत्रमा भैराखेको पाइन्छ।सन् १९१४ मा बेलायत सरकारले निर्धारण गरिदिएको ‘म्याकमोहन लाइन’ भनिने चीन-भारत सीमा रेखा अहिले तनावको केन्द्र बनेको देखिँदैछ। दुबै देशले सीमा क्षेत्रमा अस्वभाविक रुपले सैन्य शक्ति बढाउँदै लगेका छन्। अरुणाचल प्रदेश, आसाम लगायतमा चीनसंग सीमा जोडिएका सामरिक क्षेत्रमा भारतले सैनिक सुदृढीकरण गर्दैछ भन्ने जानकारी अरुणाचल प्रदेशका गभर्नरले न्यूयोर्क टाइम्सलाई हालै दिएका छन्।
उता चीनले पनि सीमा क्षेत्रमा अस्वभाविक ढंगले सैन्य सुदृढीकरण गर्दैछ भन्ने जानकारी र्सार्वजनिक भैराखेको छ।
एशियाका ठूला शक्ति तथा परस्पर शत्रुताका थुप्रै आधार पालेर बसेका चीन र भारत बीच यतिबेला तनाव बढेको कुरा सैनिक विशेषज्ञहरुले पनि स्वीकारेका छन्।नयाँ दिल्ली स्थित सेण्टर फर पोलिसी रिर्सचका प्राध्यापक ब्रहृमा चेलानीले चीनको रणनीति तर्फ गम्भीरतापुर्वक ध्यान दिन भारत सरकारलाई सुझाव दिएका छन्। ‘चीनको सेनाले जसरी सीमा उलंघन गर्दैछ, त्यो हेर्दा भारत-चीन सीमा क्षेत्र भारत पाकिस्तान सीमा भन्दा तनावग्रस्त -हट-तातो) बन्न पुगेको छ। यसलाई संवेदनशील ढंगले हेरिनु पर्छ,’ न्यूयोर्क टाइम्स, सेप्टेम्बर ३, २००९ को एउटा विश्लेषणात्मक लेखमा चेलानीलाई उद्धृत गरिएको छ।
दक्षिण एशियामा चीनको सामरिक रणनीति -
सन् १९६२ को युद्ध पछि लामो समय सम्म त्यति धेरै तनाव नरहेको चीन-भारत सीमा क्षेत्रमा अहिले द्वन्द्व बढ्ने खतरा देखिएको छ। म्याकमोहन लाइनलाई अहिलेसम्म स्वीकार नगरेको चीनले लाखौँ वर्ग किलोमिटर भूभाग माथि आफ्नो स्वामित्व दावी गर्दै आएको छ।
तर पनि विगत् ३-४ दशकमा सीमा क्षेत्रमा यसरी सैन्य शक्ति बिस्तार गरेर धम्कीको शैलीमा व्यवहार भएको थिएन, बेइजिङबाट। र यसको जवाफ वा प्रतिकारमा नयाँ दिल्लीका तर्फबाट आधिकारिक स्तरबाट केही नआउनु आफैमा अनौठो छ। झट्ट हेर्दा सीमा विवादको कारण चीन र भारत बीच तनाव बढेको देखिन्छ। तर वृहत्त सर्न्दर्भमा केलाउँदा चीनले हिमालय दक्षिणको क्षेत्रमा आफ्नो सामरिक रणनीति व्यापक बनाउँदै छ भन्ने देखिन्छ।
‘सुतेको ड्र्यागन’ भनिने चीन, माओको नेतृत्वमा सन् १९४९ मा कम्यूनिष्ट शासन स्थापना भए पछि झण्डै साढे दुइ दशक विश्व समुदायबाट एक्लिएको थियो। सन् १९७२ मा मात्र संयुक्त राष्ट्र संघ, सुरक्षा परिषदको स्थायी सदस्यता प्राप्त गरेको -त्यतिञ्जेल चीनको विशेषाधिकार सहितको स्थायी सदस्यताको प्रयोग ताइवानले गरेको थियो) चीन विगत्मा आफै भित्र केन्द्रित थियो।
सन् १९९१ मा महाशक्ति सोभियत संघको पतन संगै अन्तराष्ट्रिय शक्ति समीकरणमा आएको परिवर्तनले चीनलाई प्रभाव पार्नु स्वभाविक थियो।
देङ्ग सियाओ पिङ्गको नीतिका कारण आर्थिक तथा प्रविधिक क्षेत्रमा झण्डै महाशक्ति बन्न पुगेको चीन अब आफ्नो सीमा बाहिर प्रभाव बिस्तार गर्ने रणनीतिमा लागेको देखिन्छ। तिब्बत, युगुर, ताइवान लगायतका मामलामा र मानव अधिकार तथा प्रजातन्त्रको मुद्दामा प्रजातान्त्रिक भनिने शक्ति राष्ट्र तथा संस्थाहरुबाट चीनले आफ्नो सुरक्षामा खतरा देखिराखेको छ। त्यसैले विगत्मा झैँ प्रतिरक्षात्मक मात्र भएर पार नपाइने निश्कर्ष बेइजिङका नीति निर्माताहरुले निकालेको आभाष पाइन्छ।
यही निश्कर्षा आधारमा चीन हिमालय पारी, दक्षिण एशिया तथा हिन्द महासागर सम्म आफ्नो प्रभाव र पकड बिस्तार गर्न लागिपरेको छ। भारतीयहरुले ‘भारतीय उप-महाद्विप’ भन्ने गरेको क्षेत्रमा बेइजिङको उपस्थिति बलियो बन्दै गएको छ। सन् २००८ को अगष्टमा चीनियाँ राजदूत झेङ्ग जियाङ्गले विश्व सम्बन्ध परिषदलाई सम्बोधन गर्दै यसो भनेका थिए, ‘नेपाल दक्षिण एशियाको उपयुक्त स्थानमा अबस्थित छ। चीनलाई दक्षिण एशियासंग जोड्ने हिसाबले पनि नेपाल हाम्रालागि महत्वपुर्ण छ’।
चीनियाँ अधिकारीको यो दृष्टिकोणलाई केही विश्लेषकले माओ त्से तुङ्गको ‘फाइभ फिङ्गर पोलिसी’ संग जोडेर हेर्ने गरेका छन्। सिक्किम, भुटान, नेपाल, अरुणाचल प्रदेश र लद्दाखलाई माओले दक्षिण एशियासंगको बफर जोन -मध्यवर्ती क्षेत्र) का रुपमा लिएका थिए भन्ने एक थरीको व्याख्या छ।
विश्व शक्ति समीकरणमा एक्लिएर बाँच्नु परेको समयमा पेकिङका लागि उक्त नीति उपयुक्त थियो होला। तर अब परिस्थिति बदलिएको छ। चीन रक्षात्मकबाट आक्रामक नीतिमा अघि बढेको देखिँदैछ, खास गरी सोभियत संघको पतन भए पछिका वर्षरुमा।
प्रतिष्ठित सुरक्षा विशेषज्ञ रिचार्ड एम. बेनेट चीनलाई संयुक्त राज्य अमेरिकाले समेत आफ्ना लागि चुनौतिका रुपमा देख्न थालेको विश्लेषण गर्छन्। ‘वाशिङ्गटनले चीनलाई आर्थिकका साथै सैनिक शक्तिका हिसाबले पनि एशिया, अफ्रिका तथा लेटिन अमेरिकामा समेत खतराका रुपमा हेर्न थालेको छ,’ ‘ग्लोबल रिर्सच’ मा प्रकाशित ‘तिब्बत द ग्रेट गेम याण्ड द सिआइए’ शिर्षको लेखमा बेनेट भन्छन्।
के गर्दैछ चीन -
विश्वको एक मात्र महाशक्ति संयुक्त राज्य अमेरिकाले समेत खतरा देखिराखेको चीन हाम्रो क्षेत्र, दक्षिण एशियामा के गर्दैछ -
हिमालय भन्दा दक्षिणका क्षेत्र तथा राष्ट्रहरुमा आफ्नो प्रभाव बिस्तार गर्न लागिपरेको छ बेइजिङ, यसबेला। ‘हामी नेपालसंग नयाँ प्रकारले सम्बन्ध बिस्तार गर्न इच्छुक छौँ’ भनेर केही अघि नेपाल आएका चीनियाँ विदेश मन्त्रीले भनेका थिए। ३-४ वर्षयता चीनियाँहरुको नेपालमा चासो कुन स्तरमा बढेको छ भन्ने कुरा आम जानकारीमा लगभग सबै आएकै छ। आउँदा दिन र महिनाहरुमा यो चीनियाँ रणनीति ‘चासो’ मा मात्र सिमित नरहने स्पष्ट संकेतहरु देखिएका छन्।
नेपाली भूमि संगै बेइजिङको आँखा र हात भारत भन्दा दक्षिणमा रहेको श्रीलङ्का सम्म पुगेको छ। झण्डै तीन दशक लामो गृहयुद्ध समाप्त पार्न श्रीलङ्का सरकारलाई चीनले गरेको सहयोग यस सर्न्दर्भमा एउटा पाटो हो। श्रीलङ्कामा चीनले ठूला विद्युत आयोजना निर्माणमा मात्र लगानी गरिराखेको छैन। सामरिक महत्वको श्रीलङ्काको हामबानतोला भन्ने स्थानमा ठूलो तथा सुबिधा सम्पन्न बन्दरगाह निर्माण गर्दैछ, चीन। यो बन्दरगाह सन् २०१० को अन्त्य सम्ममा बनेर तयार भैसक्ने बताइएको छ।
दक्षिण एशियाको पुर्व पट्टी हेर्ने हो भने म्यानमारमा चीनको उपस्थिति निकै बलियो भएको कुरा रणनीतिका विशेषज्ञहरुले स्वीकार गरेकै छन्। यो उपस्थितिलाई अझ सुदृढ पार्न म्यानमारमा ठूलो तेल प्रशोधन केन्द्र र बिशाल बन्दरगाह बनाउँदै छ, चीन। श्रीलङ्का र म्यानमारमा रहने यी सुबिधाले खाडीबाट ल्याइने तेल प्रशोधन तथा ढुवानीमा चीनलाई सजिलो हुने त छँदैछ, सामरिक रुपमा यिनको महत्व त्यो भन्दा बढी छ।
दक्षिण एशियाको पश्चिम पट्टीको गतिविधि अलि फरक छ। चीनबाट पाकिस्तानको बन्दरगाह सम्म पुग्न ४ लेनको भव्य राजमार्ग बनाएर चीनले अरब सागरबाट गरिने व्यापारलाई सजिलो पार्दैछ।
यो भन्दा महत्वपुर्ण अर्को काम चीनले यस क्षेत्रमा गर्दैछ। उत्तर पश्चिम चीनको कासगर क्षेत्र देखि पाकिस्तान नियन्त्रित कस्मिर हुँदै दक्षिण पश्चिम पाकिस्तानको ग्वादर सम्म बेइजिङ्गले निर्माण थालेको निकै चौडा तथा सुबिधायुक्त राजमार्गको सामरिक महत्व छ। लद्दाख यही राजमार्ग छेउ पर्छ, जुन भारत-चीन-पाकिस्तानको त्रिकोणात्मक सीमा क्षेत्रमा पर्छ।
दक्षिण एशियामा चीनको बढ्दो गतिविधि र रणनीतिलाई भारतीय विद्वानहरुले बुझेका छन्। दिल्ली स्थित इन्ष्टिच्यूट अफ डिफेन्स स्टडिज याण्ड एनालिसिसका सुरक्षा विशेषज्ञ गुञ्जन सिंह भन्छन, ‘हिन्द महासागरमा चीनको बढ्दो रुचिको अर्थ चीनले भारतलाई चारैतिरबाट घेर्ने रणनीति लिएको हो भन्ने बुझ्नु पर्छ’।
चीनले भारतसंगको सीमामा तनाव बढाएको मात्र हो कि, दक्षिण एशिया सहित समग्र हिन्द महासागर क्षेत्रमा आफ्नो उपस्थिति बलियो पारेको हो भन्ने प्रश्नमा धेरै दिमाग खियाउनु आवश्यक छैन।
किनभने, ‘सुतेको ड्र्यागन’ लाई जिस्क्याएर व्युँझाए पछि उसले आगो ओकल्दै दौडने तरखर गर्छ नै। ड्र्यागनले त्यसरी राइँदाइँ गर्ने क्रममा आफै नासिन्छ कि आफ्नो बाटोमा तगारो लाउन खोज्ने अरुलाई धुलिसात् गराउँछ भन्न सकिन्न। तर एउटा कुरा निश्चित छ, त्यो ड्र्यागनले जहाँ, जसरी, जे गरे पनि त्यसको परिणाम विनाश र भयङ्कर विध्वँस हुनेछ।
(लेखक-गजुरेल त्रिभूवन विश्वविद्यालयमा राजनीति शास्त्रका उपप्राध्यापक हुन्।)















