नेत्र पहराईमगर

तुङ्ग चुङ्गको भावमा स्पर्श गर्नु भन्दा अगाडि हंगकंग विश्व नगरीको एक महत्वपूर्ण व्यापारीक केन्द्रको रुपमा परिचित छ। त्यती मात्रै होइन हंगकंग एसियाको विश्व शहर र पूर्ण विकसित अवस्थामा रहेको चीनको स्वशासित क्षेत्र एक देश दुई प्रणाली भएको एक समृद्ध टापू हो जहाँ बृटिश सरकारले झण्डै एक सय बर्ष सम्म उपनिवेशको रुपमा शासन गरेर सन् १९९७ मा चीनलाई हस्तान्तरण गरी सकेको छ। बृटिश सरकारले हंगकंग चीनलाई हस्तान्तरण गर्दा ५० बर्ष सम्म हंगकंगको आधारभूत कानुनहरु परिवर्तन गर्न नपाउने शर्तमा हस्तान्तरण गरेको हो। शैक्षिक आर्थिक सामाजिक राजनीतिक जातिय समानता र अल्पसंख्यक जातिहरुलाई राजनीतिक समावेशी र स्थानीय समाजको मूल प्रवाहमा समावेश गर्दै हंगकंग विश्वको एक उदाहरणीय शहर बन्न चाहन्छ। सोही बमोजिम हंगकंग सरकार अल्पसंख्यक जातिहरुका खातिर विभिन्न सवालमा विभिन्न नीति नियम निर्माण गरेर निरन्तर रुपमा तीव्र गतिकासाथ अगाडि बढीरहेको छ।
हंगकंगमा नेपाली समाजलाइ लिँदा प्राय नेपालीहरु हंगकंग आगमन गरेको १४ - १५ बर्ष जति भयो। यधपि धेरै बर्ष बसोबास गर्ने नेपालीहरु पनि हंगकंगमा छन्। सरदरमा नेपालीहरुको हंगकंग आगमनको बाहुल्यता सन् १९९५ र १९९६ मा अधिक बढेको हो। यदि त्यसलाइ आधार मान्ने हो भने सरदरमा नेपालीहरुले १४ - १५ बर्ष हंगकंगमा व्यतित गरिसकेका छन्। तथापि युके लगायत अन्य मूलकमा जाने र नेपाल फर्किनेहरुको संख्या पनि कमी भने छैन। जो कोही नेपालीहरुको अनुभवमा हंगकंग बसाइको समय वितेको पत्तै भएन भन्ने तर्क सबैको मुखमा झुण्डिएको हुन्छ। किनकी हंगकंगलाई नेपाली समाजले सानो नेपालको रुपमा लिने गर्दछन्। त्यती मात्रै नभएर नेपालको पूर्व मेची देखि पश्चिम महाकालीबाट हंगकंग आएका विभिन्न जातिहरुको कला संस्कार संस्कृतिले हंगकंग रङ्गीनपूर्ण छ। नेपाली समुदायले आयोजना गर्ने विविध सामाजिक कार्य र अन्य कार्यक्रममा नेपालीहरुको जमघट देख्दा नेपाली समाजले हंगकंगलाई जातिय समावेशी सहित मिश्रित सानो नेपालको रुपमा चित्रण गर्दै आएको छ। यधपि हामी भित्रै पनि असमँजस स्थितिहरु समय समयमा सृजना हुन्छन् र हुनु राम्रो पनि हो। तर ती सबै असमँजस स्थितिहरु समाजको विकास र सकरात्मक हितका खातिर हुनु पर्दछ।
हंगकंगको कुल क्षेत्रफल ११०४ स्क्यारकिलोमिटर रहेको छ। हंगकंगको भूभागमा बसोबास गर्ने हंगकंगेलीहरुको जनसंख्या २००८ को जनगणना अनुसार ६.९८ मिलियन छ। तर गत महिना मात्रै विभिन्न स्थानीय संघ संस्थाहरुको सर्वेक्षणले जनाए अनुसार हंगकंगेलीहरुको जनसंख्या ७ मिलियन पुगी सकेको सार्वजनीक भएको छ यधपि सरकारी तथ्याङक आउन भने अझै बांकी नै छ। त्यही सानो तर घना वस्ती रहेको समृद्ध हंगकंग भित्र विभिन्न १८ जिल्ला र २६२ वटा साना ठूला टापू आइलन्डहरु छन्। ती मध्ये तुङ्ग चुङ्ग पनि एक हो। तुङ्ग चुङ्गमा सन् १९९७ देखी नयां बस्ती बसाल्ने कार्य र विकासको कार्य प्रारम्भ हंगकंग सरकाकारले गरेको हो। तुङ्ग चुङ्ग क्षेत्रको कुल क्षेत्रफल १५५ हेक्टर भूभाग रहेको छ जहाँ सन् २००८ को जनगणना अनुसार ७९ हजार जनता यस क्षेत्रमा बसोबास गर्दै आएका छन्। तुङ्ग चुङ्गबासीहरुको मुख्य रोजगार स्थल हंगकंग स्थित चेकलापकॊक अन्राष्ट्रिय विमानस्थल बनेको छ जहाँ १८ हजार भन्दा बढी व्यक्तिले रोजगार पाइरहेका छन। हंगकंग सरकारका अनुसार आगमी सन् २०१० सम्म झण्डै २२०००० मानिसलाई तुङ्ग चुङ्गमा बसोबासको व्यवस्था मिलाउने हंगकंग सरकारको नीति रहेको छ। आज त्यही समृद्ध स्थल हंगकंगको एउटा क्षेत्र तुङ्ग चुङ्गको वास्तविक्ता भित्र छिरेर त्यसको यथार्थ भाव निबन्ध मार्फत राख्ने प्रयत्न गर्न लागेको छु। तुङ्ग चुङ्ग आफैमा एक प्राकृतिक हरियालीले ढकमक्क छोपेर पनि फूलेको एक रमणीय भुभाग हो। त्यसमा पनि वरीपरी हरियाली र अग्ला-अग्ला डांडांहरुको काखमा टपक्क टाँसिएर रहेको नयां बस्ती तुङ्ग चुङ्ग आफैमा रमेर पनि झुलेको छ। जहाँ नेपालको झझल्को मेटाउने रहन-सहन समाज र दृश्य घर वस्ती पाल्तु जनवार जङ्गली जनावर लगायत विभिन्न प्रकारका बोटविरुवाहरु तुङ्ग चुङ्गमा एक आपसमा कुराकानी र मिलेर कानेखुसी गर्दे रमेर बसेको भान जो कोही त्यहाँ घुम्न वा बससोबासका लागि जानेलाई महसुस हुन्छ। अनि विविध प्रकारका रमणीय दृश्यहरु तुङ्गचुङ्गको एक प्रिय र अविश्मरणीय छण बनी दिन्छ र बन्दै आएको छ।
गाउँ बस्तीमा होचा र साना घरहरुका बीचमा गगनचुम्बी घरहरुले भरिएको तुङ्ग चुङ्ग आफैमा प्राकृतिक मनोरमले भरिएको एक सुन्दर बस्ती हो। तुङ्ग चुङ्ग झटट् हेर्दा धरै सुविधाहरु नभएको जस्तो देखिएता पनि हरेक सुविधाले सम्पन्न छ। त्यसमा पनि हंगकंगमा स्वास्थ्य शिक्षा र यातायतको सुविधाले गर्दा हंगकंगको जुनसुकै क्षेत्रमा गएर बस्दा पनि एक क्षेत्रबाट अर्को क्षेत्रमा जानका लागि एक घण्टा भन्दा बढी सरदर समय लाग्दैन। यधपि तुङ्ग चुङ्ग फरक दिशा तर्फ जानु पर्ने भएकोले टाढा लाग्नु स्वाभाविक भने हो नै। तुङ्ग चुङ्गमा स्थानीय चाईनिजहरु पछि भारतीय पाकिस्तानी र त्यस पछि नेपालीहरुको बाहुल्यता रहेको छ। धेरै देशका नागरिकको बसोबास रहेको तुङ्गचुङ्ग आफैमा एक सुन्दर र मिश्रित जातिय हराभराले भरीएको एक साझा फूलवारीको रुपमा परिचित पनि छ जंहा सबै जातिहरु एक आपसमा मिलेर बसेका छन्।

तुङ्ग चुङ्गका हरेक डांडा कांडाहरु अहिले छङछङ गर्दै सुसाइ रहेका छन्। त्यहाँका वोटविरुवाहरुमा लटरम्म फल लागेका छन्। त्यती मात्रै होइन जिमुर बेलौती केरा लिची मेवा उखु रुखकटहर अमिलो खुर्सा्नी गोलभेडा कुकुरदाइनी निउरो पतिना माहुरीका घार अरिगाल अनि बारुलाका चाकाहरु रुखहरुका हाँगाहरुमा ठांउ ठांउमा देख्दा नेपालको गांउ वेसीहरुमा घुमीरहेको भान जो कोहीलाई हुन्छ। ती मनोरम दृश्यहरु देख्दा नेपालको कुनै जिल्लामा घुमफिर गर्दै हिडिरहेको अनुभव हुन्छ। त्यती मात्रै होईन कल-कल र छङ-छङ गर्दै माथीका डांडाहरुबाट झर्नाहरु सुसाउँदा खोलाको रुपधारण गरेर समुन्द्रमा आफनो सामिप्यता पुष्टी गर्न र घुलमिल गर्न तल झरिरहेको मनोरम दृश्य अनी ती खोलाहरुमा रह् बनाएर पौडी खेल्दाको मज्जा छुटटै आउने। त्यती बखत पनि झस्स नेपालको सम्झना आउँछ कतै गाउँघरका खोलाहरुमा कामको थकाइले गृष्म याममा रह् बनाएर पौडी खेलिरहेको जस्तो भान हुने। तुङ्ग चुङ्गबाट अलि माथी जंङ्गलको काखमा घुम्न जादा नेपालको कुनै गांउको जङ्गलमा बर्षा याममा च्याउ खोज्न जांदा अनि घांस कांटन जांदाको स्मरण तुङ्ग चुङ्गका ती डांडा कांडाहरुले गराइ दिन्छ।
तुङ्गचुङ्गका गगन चुम्बी हरियाली डाँडाहरुले नेपालीहरुलाई मात्रै नभई सबै देशका मानिसलाई एक छिन सोचमग्न बनाइ दिन्छ। हरेक बोटविरुवामा लटरम्म फल लागेको देख्दा नेपालको वनजङ्गल पो हो की जस्तो लाग्ने तर होइन रहेछ। सबै जग्गामा त्यहाँका बासिन्दाले सरकारबाट अनुमति लिएर विभिन्न प्रकारका फलफूलहरु उत्पादन गर्दै आएका छन्। उक्त फलफूलहरु विक्री गरेर त्यहाँका स्थानिय बासिन्दाले आफनो जिवीकोपार्जन गरी रहेका छन्। त्यहाँका साना व्यक्तिगत घरहरुमा बस्ने स्थानीय बासिन्दाले ग्यालेनमा खाने पानी ओसारेको देख्दा नेपालको दू्र्गम पहाडी भेगमा गएको जस्तो अनुभव पनि हुने। यहाँका बासिन्दाले डाँडाहरुबाट छङ-छङ र कल-कल गर्दै बग्ने पानीहरु पिएको देख्दा नेपालको कुनै बजारमा गएर भारी बोकेर उकालो चढ्ने बेलामा पानी पिएको स्मरण अनि नेपालकै दुर्गम गाउँको सम्झना तुङ्ग चुङ्गले दिलाइ दिन्छ।
प्राकृतिक हरभारा र प्रकृतिले दिएको तुङ्ग चुङ्गको पानीलाई तताउन वा उमाल्न पनि नपर्ने भएकोले त्यस भेगमा बसोबास गर्ने स्थानीय बासिन्दाले उक्त बग्ने पानी पिउँदै गरेको देख्दा नेपालको लामो उकालो चढेर प्यास मेटाउन पानी खाएको सम्झना आउने। त्यहाँको बासिन्दाहरु कपडा धुन पनि खोलामा गए हुने नुहाउन पनि खोलामा गए हुने अनि त्यो देख्दा नेपालको गाउँ बस्तीका ढुङ्गेधाराहरुमा लाज शरम लागी लागी नुहाएको याद र सम्झना दिलाई दिने। धन्य तुङ्ग चुङ्ग तिमीले एसीयाको विश्व शहरको पगरी भिरेर पनि नेपाल र विभिन्न अल्प विकसित देशहरुको समझना मेटाइ दिएको मात्रै नभई ’’हेरिटिजको’’ रुपमा स्थापित भएर विदेशी मनहरुलाई भुलाइ दिएको छौ।
तुङ्गचुङ्गको याततु्ङ्गबाट करीब ५ मिनेट हिँडेर अलि भित्र पट्टी गांउ तर्फ प्रवेश गरेपछि हरेक व्यक्तिगत घरहरुको ढोका ढोकामा सुरक्षगार्ड वा पालेको रुपमा बाँधिएका कुकुरहरु मानिसको गन्ध र आवाज सुन्नसाथ भुक्न सुरु गर्दछन्। याततुङ्गबाट पश्चिम १५ मिनेट जति पर हिडने हो भने जैविक (अगार्निक) साग सब्जीहरु उत्पादनका निम्ति तयार पारिएका प्लटहरु देख्न सकिन्छ। त्यति मात्रै होइन उक्त प्लटहरुमा विभिन्न प्रकारका सब्जीहरु र अन्य विविध प्रकारका खुर्सानी आलु गोलभेंडा काउली वन्दागोभी लगायतका वस्तुहरुको उत्पादन गरिएको छ। याततुङ्गबाट माथी डाँडातिर लागियो भने निउरो कुकुर दाइनीका टुसाहरु पाइन्छन् जहाँ उक्त टुसाहरुलाई तरकारी र चट्नीका रुपमा नेपालीहरुले प्रयोग गर्दछन् । माथी डाँडाबाट तल हेरियो भने हंगकंगको अन्तराष्ट्रिय विमानस्थल र तुङ्ग चुङ्ग याततुङ्गको मनोरम दृश्य र केबलकार अनि एम टी आर (रेल) हरु आ-आफनै सुरुमा नतमष्तक घुइकिरहेको देख्न सकिन्छ। त्यस्तै राजमार्गहरुमा पनि विभिन्न प्रकारका गाडीहरु घुइकिरहेको देख्न सकिन्छ। डांडा माथी पुगे पछि तल झर्नै मन नलाग्ने मनोरम दृश्यहरु देख्न सकिन्छ जुन दृश्यका कारणले पनि समय गएको पत्तै नहुने। तुङ्गचुङ्ग याततुङ्ग हुदै अलि माथी डाँडातिर चौतर्फी हाइकीङ्गको व्यवस्था छ। हाइकीङ्गका निम्ति हंगकंगमा बसोबास गर्ने तमाम स्थानीय र गैर स्थानीय बासिन्दाहरुले प्राय दिनहरु व्यस्त बनाइ दिएका छन्। हाइकीङ्ग जांदा गाई भैंसीहरु देख्दा फेरी नेपालको झलझली सम्झना दिलाई दिन्छ। कत्तै सांढेहरु त कत्तै रांगोहरु लड्न कसिएका हुन्छन् त कत्तै तछाड मछाड गर्दै एकले अर्कोलाई उछिन्दै गोरु-गोरु र रांगो-रांगोहरु बीच भैंसी र गाईको खातिर एकले अर्कोलाई खेद्दै गरेको दृश्यहरु देख्न सकिन्छ। त्यति मात्रै नभएर अन्य विभिन्न प्रकारका जनावरहरु उक्त जंङ्गलमा हाइकीङ्गको क्रममा देख्न सकिन्छ। प्राकृतिक मनोरम र हरियालीले छोपेको कारणले पनि तुङ्गचुङ्ग हाइकीङ्गको लागि निक्कै लोकप्रिय ठांउको रुपमा हंगकंङ्गेलीहरुले लिने गर्दछन्।
हाइकीङ्गको क्रममा माथी डाडांबाट अन्तराष्ट्रिय विमानस्थलमा विभिन्न देशका जहाजहरु अवलोकन गर्न सकिन्छ। ती जहाजहरु आ-आफनै समयमा उड्ने र बस्ने वा जाने र आउने गरेको देख्दा थकित थकाइहरु आनन्द मनमा परिणत हुने गर्दछ। ती अग्ला डांडाहरुको काखमा विभिन्न पुराना मठमन्दिरहरु दईवटा अंग्रेजी भाषाका क्याम्पसहरु अन्य स्थानिय विधालय र क्याम्पसहरु र बुद्धिष्ट धर्मगुरुहरु बस्दै आएका मठ मन्दिर जस्ता घरहरु भिरालो स्थानमा टप्पक टांसीएर रहेको देख्दा नेपलाको पहाडी जिल्लाको गांउ वस्ती जस्तो लाग्ने। तुङ्गचुङ्ग अनि याततुङ्गका पुराना गांउ बस्तीहरु गगन चुम्बी नया घरहरु प्लाजाहरु र माथी डाडाबाट छङ-छङ गर्दै झरेका झरनाहरु देख्दा कत्ता कत्ता नेपालको कुनै गाउँ कुन्तरमा हराइरहेको महसूस हुन्छ।
तुङ्ग चुङ्गको माथी डांडाहरुबाट छङ-छङ र कल-कल गर्दै झरेका झरनाहरुको मनोरम दृश्यहरुमा कतै नेपाली कलाकारहरु चलचित्र निर्माणका निम्ति दृश्यहरु कैद गर्न गएका त छैनन् भन्ने भान पनि दिलाइ दिन्छ। त्यति मात्रै कहाँ हो र हरियाली र कलकल गर्दै बग्ने खोला नालाहरु र त्यस खोलामा रह बनाएर पौडी खेल्दा नेपालको खोला नालाको सम्झना र पौडी खेल्दाको मज्जा छुट्टै हुने। ती खोलाहरुमा बल्छी खेल्नेहरु बल्छी खेल्ने पौडी खेल्नेहरु पौडी खेल्ने र माछा समाउन उत्सुकहरुले माछा समाउने। त्यो दृश्य र मनोरम अनुभवले नेपालको कुनै पहाडी गाउँको खोलामा खेल्दै र घुम्दै गरेको महसूस हुन्छ।

अनि मध्यरातमा कुकुरहरु भुकेको र झम्टेको सुन्दा कतै बाघ र लुटेराहरुले आक्रमण गर्दै घरमा धनमाल लुट्न पसे की जस्तो भान हुने। अनि कतै कुखुराको खोरमा स्यालहरुले हात छिराउदै पखेटा तान्दै थुत्नै प्रयास पो गरे की जस्तो लाग्ने। विहान पख उज्यालो नहुदै भाले कुखुराहरु डाँको छोड्दै बासेको सुन्दा नेपालकै झुपडीमा थकाइका कारण मस्त निद्रामा भएको महसुस हुने धन्य तुङ्गचुङ्ग। ती भालेहरुका कारण त्यस गाउँका वरीपरी बसोबास गर्ने मानिसहरुले समयमै उठ्नका निम्ति घण्टी लगाउन पनि नपर्ने र घण्टीवाला घडी किन्न पनि नपर्ने गरी ती भालेहरु डाँको छोड्दै बास्न थाल्छन्। अनि त्यतीवेला गाउँघरको सम्झना आउँदा नेपालमै भएको भान हुनॆ धन्य छौ तुङ्गचुङ्ग तिमी। हरेक विहान र मध्यरातमा नेपालको गाउँ घरहरुको सम्झना गर्दिन भन्दा पनि हरेक दिन आफनो मातृभूमिका सम्झना गराई दिने तुङ्ग चुङ्ग याततुङ्गलाई दश औंला जोडी नमस्कार नगरिहरहन सक्दिन। म त्यही मनोरम हरियाली तु्ङ्ग चुङ्गमा रमाउदै हराएको छु।











