- अ के ला
आजको प्रस्तुति एक यस्तो व्यक्तिवारे छ जो भुटानको जातीय सफायामा परी नेपाल छिरेका थिए। यो आफ्नै नागरिकहरुसँग गरिएको भुटानी सरकारको यस्तो रामकहानी हो जसले बलियाको आडमा निर्धामाथि गरिने अनेकौँ अत्याचारका गाथाहरुको बखान गर्दछ र आफ्नो राष्ट्रियता स्वाधिनता र मौलिकता गुमाएर पनि आफुलाई सार्वभौम र गौरवान्वित ठानिरहेका हामी नेपालीका लागि केही सन्देश दिनसक्ने हुँदा आजको प्रस्तुतिमा एक अभागी भुटानी नागरिकको आफ्नै जुबानीमा व्यक्त गरिएको यो रामकहानी पस्केको छु। प्रस्तुत छ पीडितको रामकहानी।
मेरो घर सरवाङ जिल्लाको ब्लक सिङ्गे सिष्टी देउराली गाउँमा पर्छ। सरवाङ नदीको नामबाट यो जिल्लाको नाम राखिएको हो। तर यो नदीको मुहान कहाँ छ मलाई थाहा छैन। यत्ति थाहा छ-त्यो नदी भारतको सुनकेश नदीमा गएर मिसिन्छ। त्यो भारतको दक्षिणी सिमामा पर्दछ। उत्तरमा चिराङ जिल्लाको बेटिनी गाउँ जहाँ अधिकांश शेर्पा जातिको बाहुल्यता छ। त्यहाँको मुख्य खेती भनेको अलैंची आलु सुन्तला हो। सिष्टी देउराली भारतको नजिक छ। यो केही अग्लो पहाडी ईलाका हो। त्यसको ५०० मीटरको दुरीमा भारतको कछु बजार छ। हामी आफ्नो दैनिक किनमेल र ब्यापार त्यहीँ गर्दथ्यौँ। भुटानबाट भारत जान त्यतिबेला रोकतोक थिएन। हामी सबैजना आ-आफ्नो व्यापार व्यवसायमा व्यस्त थियौं। म जतिबेला जवान थिएँ त्यसबेला भुटानमा नेपाली भाषामा कक्षा ७ सम्म पढाई हुन्थ्यो। जिङमेसिङ्गे वाङचुक राजा थिए। त्यसबेलासम्म हामीलाई राज्यका तर्फबाट कुनै किसिमको दुव्र्यवहार गरिएको थिएन। हामीलाई हाम्रो देश आफ्नो भाषा भेष र आफ्नो मौलिकताप्रति निकै गर्व लाग्दथ्यॊ।
सन् १९९२ तिरको कुरा हो। सर्वाङ जिल्लाको मण्डल भुटानी भाषामा जोङ्खा थिए-रणबहादुर घले। सिष्टी देउरालीमा प्राय सुन्तलाको खेती हुने गर्दछ। हाम्रो घरबाट उत्तरमा एउटा पहाड छ-लबरभोटे। मेरो आँखाले भ्याएसम्म हेर्दाखेरी बितीनी गाउँ देखिन्छ। त्यो दारेछ भन्ने पहाडमा छ। त्यहाँ प्राय सुवेदी दाहाल थपलिया दर्जी सार्की आदि जातिहरुको बसोबास छ। भुटानको राजधानी थिम्पु जान सवाङ जिल्लाबाट बस चढेर डम्फु डम्फु हुँदै बाङ्दी र त्यहाँबाट बल्ल राजधानी पुगिन्छ। थिम्पु पुग्न भारतको बाटो पनि प्रयोग गर्नसकिन्छ। त्यसको लागि बाह्रबिसे र जयगाउँ हुँदै जानुपर्छ। त्यहाँ भारतले प्रशस्त मात्रामा विद्युतका पावर हाउस खोलेको छ। थिम्पु पुग्न त्यो बाटो पनि प्रयोग गर्नसकिन्छ।
मेरो गाउँ सिष्टी देउराली एउटा बाक्लो बस्ती भएको गाउँ हो। सुवेदी दाहाल थपलिया दर्जी सार्की आदि जातिहरुको यहाँ करिव १५ हजारको हाराहारीमा बसोबास थियो। म राजधानी थिम्पुबाट करिव १ महिनापछि मेरो गाउँमा फर्केँ। त्यतिखेर गाउँघरमा सरकारद्वारा आईमाईले कपाल पाल्न पोते लगाउन नपाईने हामीले जान्दैनजानेको जोङ्खा भाषा जुन भाषा केवल राजपरिवारले मात्र बोल्ने गर्दथे मात्र बोल्नुपर्ने जस्ता कडा नियम लगाएको थियो नाध्ने ताकत हामीमा थिएन। एक एक गर्दै सरकारले हाम्रा सबै अधिकार खोसिसकेको थियो। जतिसुकै अन्याय र अत्याचारहरु हामीमाथि थोपिईदा पनि हामीले सबै बिसे्रर आफ्नै गाउँमा बसिरहेका थियौँ। नेपाली भाषी भएकै कारणले गर्दा हामीमाथि धेरै प्रतिवन्धहरु लगाईएका थिए।
बेलुकाको रेडियोले साम्ची जिल्लाको पुलमा मानव अधिकारवादी नेता देउनारायण अधिकारीलाई भुटानी सेनाले गोली हानी मारेको समाचार प्रेषित गरेपछि हामी झन् बिचलित भयौँ। यो त्यस्तै सन् १९९२ तिरको घटना हो। गाउँघर जतासुकै सेना आएर घर टहराहरु जलाउने गाउँलेहरुको फोटो खिच्ने जग्गा जमिन घरकेा लालपूर्जाहरु नष्ट गर्ने नागरिकता प्रमाणपत्रहरु खोस्नॆ आफुखुशि देश छोडेको बयान दिन लगाउने नमान्नेलाई चरम यातना दिने चेलिबेटीहरुमाथि हातपात र जवरजस्ती गर्ने र नमान्नेलाई गोली हान्ने गर्नथालेपछि मानिसहरु धमाधम गाउँ छोड्नथाले र गाउँका गाउँ स्मसानघाट बन्यो। गाउँले ईष्टमित्र नातागोता कुटुम्वहरु को को कहाँ कहाँ गए के गरीराखेका छन् केही थाहा भएन। किनकि मेरो अवस्था पनि त्यस्तै थियो। हजारौ मानिसहरु बिना कारण देश निकालामा परॆ। म पनि कसरी कसरी लुकीछिपी भारत पसेछु।
भागेर भारतमा पस्दा मसँग एकपैसा पनि थिएन। कपडाको नाउँमा जति लगाएको थिएँ त्यत्ति मात्रै थियो। भोकतिर्खाले एकप्रकारले म मरिसकेको थिएँ। थकानले गर्दा आफु कहाँ छु भन्नेसम्म मलाई होश थिएन। त्यसरी भागेर भारत पुग्दा पनि हामीले सुख पाएनौं। भारतका सेनाले तिमीहरु राजद्रोहीको आरोपका देशनिकाला भएका भन्दै हामीलाई जबरजस्ति नेपालको सिमामा पठाउन गाडीमा चढाईयॊ र मुढे हसिमारा बिसमुरे हुँदै जलपाईगढी सिलगुढी नक्सालबाढीमा ल्याएर खानु न पिउनु त्यत्तिकै छाडियो। मैले तिर्खा लागेको छ पानी पिउन देउन भन्दाखेरी भारतीय सेनाका जवानहरुले बन्दुकको कुण्डाले यस्तरी कुटे कि म बेहोस भएछु। त्यसपछि के भयो केही पनि थाहा भएन। अचेत अवस्थामा नै हामीलाई सिलगुढी ल्याईएछ।
त्यतिखेर रातको करिव बाह्र बजेको हुँदो हो। बेस्सरी तिर्खा लागेको हुँदा नजिकै एउटा खाल्टोमा जमेको पानी अमृत मानेर पिएँ। के गर्नु कसैसँग मागेर स्वच्छ पानी पिउँ भने पनि घरहरु सबै बन्द थिए। आफु परियो-देशनिकालामा परेको र परिचय गुमाएको मान्छे। त्यसपछि हामीलाई भारतीय सेनाद्वारा सिमाको गेट खोलेर जवरजस्ति गेटबाट अगाडी बढ्ने आदेश दिईयो। नमाने गोली हान्ने धम्की दिईयो। बाध्य भएर हामी अगाडीतिर दौडियौं। आफ्नो ज्यान बचाउन भाग्दा कैयौंको खुट्टा भाँच्चियो हात भाँच्चियो। कोही आफैँ आफैँ किच्चिएर मरे। तैपनि एउटा अनिश्चित र अपरिचित बाटोतर्फ लाग्न हामी बाध्य भयौँ र लागिरह्यौँ। किनकि अर्को बिकल्प हामीसँग छँदै थिएन। अन्त्यमा हामी एउटा घनघोर जंगलमा आईपुग्यौँ। पछि मात्र थाहा भयो कि त्यो त नेपालको जंगल रहेछ। पछि पो थाहा भयो कि हामी त नेपालको सिमामा पो प्रवेश गरेका रहेछौं।
आफ्नै मातृभूमीबाट लखेटिएर नेपालमा प्रवेश गर्दासम्म पनि मरिने र बाँचिने कुरामा हामीलाई दोधारै थियो। तर नेपालका केही मानव अधिकारवादी सँस्था र विश्व रेडक्रशको सहयोगले हामीलाई केही समयपछि नेपालकै झापाको बेलडाँगी गाउँमा अस्थायी बसोबासको प्रवन्ध गरियो। पालभित्रको जीवन कष्टकर थियो। हावाहुरी वर्षा त्यसमाथि पीडादायी भोकले गर्दा हामीमध्ये सबैजनौ बिरामी परिसकेका थियौं। समयमा खान र औषधीमुलो नपाउनाले हाम्रो अवस्था नाजुक थियो। सम्झेर ल्याउँदा आज पनि जिऊ फुलेर आउँछ। त्यहाँबाट फेरी हामीलाई खुदुनाबारीमा लगियो। यूएनको विश्व खाद्य कार्यक्रमले राम्रो व्यवस्था गरे पनि त्यो पर्याप्त थिएन। खुदुनाबारीको पश्चिममा चुकेखाडी गाउँ पर्छ। पूर्वमा अर्जूनधारा दक्षिणमा अर्जूनधारा र खुदुनाबारी वडा नं। ९ मा पर्छ। यसको पूर्वपट्टि एउटा खोला छ जस्को नाम मलाई अहिले सम्झना भएन।
शरणार्थी शिविरको बीचमा एउटा सानो प्राथमिक उपचार केन्द्र थियो जहाँ हामी शरणार्थीहरुका लागि सानोतिनो उपचार गरिन्थ्यो। शिविरभित्रै डि।एस।एस। स्कूल थियो जहाँ एकदेखि सात कक्षासम्म एस।आर।ए। मा सातदेखि दससम्म र केरियट्समा दस कक्षासम्म अध्यापन गराईन्थ्यो। अर्को कुरा ग्ल्ज्ऋच् ले कक्षा एघारदेखि बाह्रसम्म अध्ययनको व्यवस्था मिलाएको थियो जहाँ राम्रा विद्यार्थीहरुका लागि तीनदेखि चार हजारसम्मको सहयोग दिईन्थ्यो।
खुदुनाबारी शिविरको भित्री भागमा एउटा शिवालय मन्दिर पनि थियो जहाँ हामीले नित्य पुजाआजा गर्दथ्यौं। युरोपियन कमिशन अमेरिका जापान जर्मनी स्विडेन तथा फिनलैण्ड जस्ता बिभिन्न राष्ट्रहरुले शिविरभित्र बिभिन्न किसिमका कि्रयाकलापहरु र सहयोगका कार्यक्रमहरु साचालन गरेका थिए। मलाई केवल यो यो सँस्थाहरुले काम गरिरहेको छ भन्ने सामान्य जानकारी मात्र थियो पुरै थिएन। शिविरभित्र बस्ने र अरु सुविधाका लागि शिविर साचालन समितिको छुट्टै कार्यालय थियो जहाँ बोरिङद्धारा खानेपानीको व्यवस्था मिलाईएको थियो। औषधोपचारको व्यवस्था बःम्ब् ले गरेको थियो। एउटा परिवारका लागि ५ धुर जति जग्गा उपलब्ध गराएर त्यसमा अस्थायी टहरोहरु बनाई दिएका थिए। त्यस्ता टहराहरु करिव बाईससय वटा थिए। पछि बैसठ्ठ सालमा आएर विश्व रेडक्रशले गर्दै आएका कामहरु ब्ीध्ँ लाई जिम्मा दिईयो। शिविरभित्र एकजनालाई पन्ध्र दिनको लागि एकसय ग्राम दाल एकपाउ चामल तेईस ग्राम चिनी एकपाउ तरकारी तेईस ग्राम तेल दिईन्थ्यो जुन एकदम अपर्याप्त थियो। तर आफ्नो घरबार र पहिचान गुमाएका हाम्रा लागि त्यो पनि पर्याप्त नै मान्नुपर्ने थियो। यो बुढो अव आफ्नो मातृभूमि खोज्न जाने कता त्यहाँ आफ्नो भन्नु नै के छ र बरु एकमुठ्ठी परान् राम्ररी गए हुन्थ्यो। बाँचेरै पो के गर्नु कस्को लागि बाँच्नु गलाअवरुद्ध भएपछि उनले अगाडि केही बोल्न चाहेनन् अस्तु।










