Home विशेष लेख नेपाली डायस्पोरा जातिविभेद र रंगविभेद

नेपाली डायस्पोरा जातिविभेद र रंगविभेद

E-mail Print PDF
जे.बि.शेर्पा

"एई भोटे....।.... तं बढ्ता बोल्छ्स्? म को हुँ चिनेको छस्? .... साले यहीं बाट तल ख़साली दिउं ...?"

जिवनमा विर्सनै नसक्ने गरि सुन्नु परेको वाक्यको एक लहर हो यो। करीब १९, २० वर्षे उमेरको हुँदा तत्कालीन बग्गिखानाका (पुतलीसड़क) एक पुलिस हाकिम साबले व्यक्त गरेको अत्यन्तै अमानविय कटु शब्दवाण हो जसले मलाई नमरुन्जेल घोची रहनेछ। वास्तवमा म त्यस बखत चिन्जानको एक प्रहरी हवल्दार दाई संग कुरा गरीरहेको थिएँ, बिना अर्थ एक निर्दोस मानिस लाई एक्कासी त्यस्तो भन्नुमा पुलिसिया अहमपन ले भन्दा पनि उ जातिविभेद को संकीर्ण मानसिकता ले पिडित लाग्थ्यो। "के गर्ने कहिले काहिँ पिए पछि हाकिम बौलाउँछ" भन्दै त्यो हवल्दार दाइले मलाई जोगाएर तल बाहिर सम्म ल्याई दिएका थिए।

शायद हामी मध्ये कमैले मात्र नेपालमा हुँदा जातिविभेद र रंगविभेद को तितो अनुभव भोग्नु नपरेको हुनसक्छ। यस अर्थमा जातिविभेद र रंगविभेद नेपाली समाजबाट हटेको र घटेको भने छैन, कुनै न कुनै रुपमा त्यो बेला बेलामा प्रकट हुन्छ, व्यक्त हुन्छ। नेपालको सन्दर्भमा भन्नु पर्दा प्राय गरी दलित जात जातिहरु जातिविभेद बाट उत्पिडित देखिन्छन्, बेला बखत छापा हरुमा आउने समाचारहरुले यहि खाले नेपाली सामाजिक चित्र प्रस्तुत गर्दछ। शहरी समाजमा भने दलित हरु त्यस्ता समस्याहरु बाट कमै पिडित छन्। तर पनि शहर बजारमै पनि बिभिन्न खाले तिरस्कारयुक्त वा विद्वेष पूर्ण व्यवहार यस पंक्तिकारले पनि केहि पटक भोगीसकेको छ। आफ्नै देशमा यस्ता खाले व्यवहार नभोग्ने शायदै कमै नेपालीहरु होलान्, जानी नजानी घट्ने यस्ता खाले दुर्व्यवहार कम हुँदै जान अझै धेरै समय लाग्नेछ। 

रंगविभेद र जातिविभेद को समस्या संसार का अति विकसित ठहरिने देशहरुमा समेत अनुभव गर्न सकिन्छ। तर यसरी पश्चिमा मुलुकहरुमा हामीहरूले अनुभव गर्नु परेको त्यस्ता व्यवहारहरु त्यति गम्भीर प्रकृतिका हुन्नन्। यस पंक्तिकारको १० वर्षे यूरोप बसाई अवधी भर कुनै एकजना गोरे ले पनि कहिल्यै एई तं बिदेशी वा फलानो भनेर निम्नस्तरको तुच्छ व्यवहार गरेको सम्झना छैन। बरु के बुझेको छु भने यिनीहरु स्वभावले नै अतिनै सहनशील र सानोतिनो झमेला वा झैझगडामा पर्न नचाहने मानसिकता लिएका मानिसहरु हुन्। भेड़ा भेडाको बथानमा, बाख्रा बाख्रा कै बथानमा भने जस्तै गोरो छाला ले गोरे नै बढी मन पराउनु अनि कालो छाला ले कालो छाला नै बढी मन पराउनु र प्राथमिकता दिनुमा मा रंगविभेदी मानसिकता र जातिविभेदी मानशिकताले भन्दा पनि स्वजातिय आकर्षणले  ले नै धेरथोर उर्जा पुर्याई रहेको हुन्छ। यो प्रकृतिजन्य व्यवहार हो र यो सर्व व्याप्त छ। 

कतिपय तेस्रो विश्वका आप्रवाशिहरु हरु जस्तै : पाकिस्तान, बंगलादेश, भारत, श्रीलंका, अफ्रीका का मानिसहरु त आएको दुई चार महिना मै के सोच्छन् भने यी गोरा छाला भएकाहरु हामीहरुलाई देख्नै चाहन्नन्, यिनीहरु रेसिस्ट हुन् इत्यादि। रोजी रोटीको या पढ़ाई लेखाइको सिलसिलामा अर्काको देशमा आएर लामो समय सम्म बस्ने प्राय विदेशीहरू न त उनीहरुको भाषा संस्कृति कै इज्जत गर्छन न त नितिनियम नै पालना गर्छन्। उदहारणको लागी : लामो समय विदेश बस्दा पनि स्थानीय जनजीवनमा भिज्न नसक्नु, भिज्न नचाहानु, आफ्नै देशमा हुंदाको फोहोरी बानीहरु, अशभ्य बानीहरु नत्याग्नु। कुनै खैरेले ए भाई चुरोटको ठुटा भुइंमा हैन त्यों भाँडोमा फाल्ने भन्दा तेरो किन टाउको दुख्यो भन्दै निहुँ खोज्ने खालका विदेशीहरुको जमातले गर्दा पनि सवै विदेशीहरु उस्तै हुन्छन् भन्ने मानसिकता बढ़ी रहेको छ। कोठा खोज्दा घरपति ले तिमी कुन देशका हौ भनेर सोध्ने सामान्य भै सकेको छ। उनीहरु विदेशीहरुको अस्वाभाविक र अव्यावहारिक रहनसहन र जीवनशैली बाट दिक्क देखिएका मात्र हुन् त्यसलाई सिधै रंगविभेद र जातिविभेद को रंगले रंग्याई हाल्नु उपयुक्त हुँदैन। यदि खैरे हरु रेसिस्टनै हुन भने पनि उनीहरु रेसिस्ट बन्ने कारक तत्व भनेको तिनै विदेशीहरुको व्यबहारले हो। तर युरोपमा भएका अन्य आप्रवासीहरुको तुलनामा नेपाली डायस्पोराले भने कमै मात्र त्यस्तो व्यवहार भोग्नु परेको सुनिन्छ र नेपालीहरुले पनि आजसम्म नेपालको र नेपालीको परिचय जोगाएर राख्न सकेका छन्।

स्वाभाविक रुपमा आफ्नो देश र गाऊं ठाऊ को मायाँ बाहिरकालाई भन्दा त्यही देशका र स्थानका मानिशहरुमा बढ़ी हुने भएपनि आफुले सहारा लिएको देश र जनता प्रति थोरै मायाँ र आदर गरिदिंदा धमिलिँदै गईरहेको विदेशीहरुको छवि र सम्बन्ध सुध्रिन्थ्यो होला तर अब झन झन त्यो तिक्तता को दुरी बढ्दै गई एक राजनितिक र सामाजिक मुद्दा समेत बनिसकेको छ। युरोपका कतिपय देशहरुमा आप्रवाशी विरोधी राजनितिक दलहरु सक्रिय र लोकप्रिय हुँदै गईरहेको छ, बेल्जियममै पनि भ्लाम्स वेलांग भनिने आप्रवासी बिरोधि दल शक्तिशाली हुँदै गैरहेको छ। भर्खरै मात्र स्विटजरल्यांड जस्तो देशका जनताहरुले मुस्लिम धर्मावलम्बी हरुको "मीनार" बनाउन नपाउने पक्षमा मतदान गरे जून आफैमा अनौठो र सोचनीय छ। 

वास्तवमा गहिरिएर सोच्ने हो भने यस्तो जातिविभेद र रंगविभेदको समस्या पश्चिमा मुलुकहरुमा नभएर हाम्रो आफ्नै देशमा सर्वव्याप्त छ। नत्र १९७२ को बुरुंडी मानव संहार र १९९४ को रुवान्डा को त्यत्रो ठूलो  मानव संहार किन भएको थियो ? त्यस बेला करीब पाँच देखि दश लाख को संख्यामा हुतू र तुत्सी जाती एक आपसमा मारकाट गरेर मारिएका थिए। कतिपय मुस्लिम रास्ट्रहरुमा सुन्नी र शिया समुदाय बिच मारकाट चलिरहेछ। भारतमै पनि बेला बेलामा ठूला ठूला सांप्रदायिक दंगाहरु भैरहन्छन्, बंगालीले गोर्खाली नेपाली, मद्रासिले यु.पि.का लाई र कुनैले पंजाबी लाई जात जातिको आधारमा गर्ने दुर्व्यवहार अति चरम अवस्थामा छ।  देश, धर्म, भाषा संस्कृति र छालाको रंग सम्म एउटै हुँदा पनी त्यस्तो आपसी विद्वेस किन ? के त्यो जातिविभेद र रंगविभेद को निकृस्ट र चरम रुप हैन ? 

हामी यूरोप अमेरिका मा बस्ने नेपालीहरु आफ्नो कुनै काम सोचे जसरी भैदिएन भने वा कुनै समस्या आईदियो, ढीलासुस्ती भैदियो भने सोझै त्यसलाई तुरुन्तै जातिवाद्को रंगमा रंगाई दिन्छौ र प्याच्च  चोर खैरेहरू...।! साला रेसिस्ट हरु...।! भनेर आफ्नो रिस र कमजोरी लाई पखाल्छौं, यदि त्यही मान्छे बाट त्यो काम भैदिएको भए वाह। क्या राम्रो मान्छे परेछ क्या देश छ, क्या सिस्टम बनेको छ, हाम्रो देशमा जस्तो हो र ? भनी हाल्छौं तर यहीं का वासिन्दा हरु स्वयं पनि कर्मचारीतंत्र बाट कती पिडित छन् आजित छन् भन्ने कुरो बुझ्न चाहिं चाहन्नौ, हामी हरुले भन्दा पनि बढ़्ता दुःख पाउने यहिंका खैरे हरु पनि छन्। जे जस्तो कामकुराहरु लाई पनि हामी पहिलो पटक मै शंकास्पद र नकारात्मक रूपले लिन्छौ यो हामीहरुको नानी देखि लागेको बानी भने झैं भैसकेको छ। जातीभेद र रंगभेद को हामी आफैं कति पक्षपाती छौं ? हामीले काठमांडू को खाली शीशी र कागज किन्ने र आलू गोभी बेच्ने वा केश काट्ने भाई भैया हरु लाई कति आत्मियता दर्शाएका थियौं ? सोझा साझा निमुखा गरीब पहाड़ी होस या प्रस्ट नेपाली बोल्न नसक्ने हिमाली, यिनीहरुलाई कहिल्यै गिज्याएका, होच्याएका थिएनौ ?

माओवादी हरु भन्ने बितिक्कै प्राय बाहुन क्षेत्री समुदायका नेपाली दाजुभाईहरुले कस्तो खाले अनुहार र मानिसहरुको चित्रण गर्छन् ? माओवादी आन्दोलन वर्गीय आन्दोलन भए पनि किन जातीय आन्दोलन जस्तो बन्दै गईरहेछ ? किन अन्य मंगोल मुलका नेपालीहरु र दलित जातिहरु बढ़ी मात्रामा भावनात्मक रुपमा माओवादीलाई आफु नजिक समझनछन् वा उनिहरु प्रति सहानुभूति राख्छन् ? साम्प्रदायिकता र जातिभेद को रंग सातसमुन्द्र पारी को दुरी पार गरे पनि त्यो किन पखालिएको सम्म पनि छैन ? यहाँ पनि हामीहरूले भन्न छाडेका छैनौ की त्यो बाहून ? त्यो नेवार ? ए त्यो भोटे ? मदिशे ? त्यो झापाली, त्यो स्याँग्जाली ? त्यो नाक चुच्चे, त्यो नाक थेप्चे। त्यो कांग्रेसी त्यो एमाले त्यो माओवादी।!!  बिडम्बना विदेशमै पनि यसरी विभिन्न राजनितिक आस्था, क्षेत्रीयता र जातजातीयता को आधारमा हामीहरु टुक्रा टुक्राहरु मा बिभाजित छौं। एक नेपालीले अर्को नेपाली लाई सिर्फ भाई बंधुत्वको नजरले मात्र हेर्न नसकेसम्म, अन्धो र कट्टर राजनीति अनि जातीयताको रडाको नत्यागे सम्म यो समस्या यथावत रहिरहनेछ वा हुन सक्छ यो झनै चर्कँदै जानेछ जुन नेपाल, नेपालीपन र नेपालीमन को परिचय भने पक्कै हैन।!!
tongmarmendok @gmail .com
 

Add your comment

Your name:
Subject:
Comment:
Banner

Good News !!!

 

नेपाली उखान टुक्का

तीलको पहाड बनाउनु

Gallery

Interaction with Journalists

Music Archive : Saalaijo

Music Archive :- Purano Hudaina Maya

Music Archive - Tapovan

Music Archive - Na Birse Timilai (Anju Panta)

Nepali Lok Pop Geet :- झरनाको चिसो पानी

free counters

(Since April 2009)