Home विशेष लेख नेपाली साहित्य प्रतिष्ठानले निर्माण गरेको इतिहासलाई छोएर हङकङ हेर्दा

नेपाली साहित्य प्रतिष्ठानले निर्माण गरेको इतिहासलाई छोएर हङकङ हेर्दा

E-mail Print PDF
AddThis Social Bookmark Button
डा. गोविन्दराज भट्टरार्इ
प्राध्यापक (अङ्ग्रेजी), त्रिभुवन विश्वविद्यालय

घरदेखि यति टाढा रहेका वन्धुवान्धवसँग भेट गर्ने सुयोग परेको यो बेला मेरो हृदय आनन्दातिरेकले नाचेको छ। यो हर्षप्रकट गर्न शब्दको अभाव भएझैँ लाग्दैछ। यहाँ आइपुगेको बेला र्सवप्रथम त हाम्रो हृदयमा एउटा साझा भूमिको कल्पनाले हुन्छ, त्यसपछि मनलाई एउटा विशाल भाषाले उनिएका छौँ भन्ने भावनाले हुन्छ। त्योभन्दा बढी त्यही भाषाको समृद्धि र निरन्तरताको लागि अनेक त्याग र तपस्यामा लाग्नुहुने तपाईंहरूको सामुन्ने उभिन पाएको छु भन्ने सम्झँदा आनन्दले मेरो मन भरिएर आउँछ। किनभने यतिखेर हामी त्यो साझा भूमिमा उभिएर यसरी हृदय पोखिहेका छैनौँ टाढा छौँ, भिन्न जस्तै छौँ, एक नोस्टालिजयाले जोडिएको सम्झँदै यहाँ यो समय भोगिरहेका छौँ। यहाँ भूगोल भिन्न छ, संस्कृति भिन्न छ, भाषा परिवार भिन्न छन्। सबै पृथकताहरूको बीचमा पनि कहिल्यै भिन्न हुन नदिने एक नेपाली चेतना छ। त्यही जातीय चेतनाले हामी जोडिएका छौँ।

आज यसरी अनेक भिन्नतामा बसोबास गर्ने नेपालीको सङ्ख्या ५० लाख पुगेको अनुमान छ। यसको सही तथ्याङ्क पत्ता लगाउन, विश्वका ५५ देशमा वितरित नेपाली जातिको अवस्थिति, परिवेश र सङ्ख्याको आँकलन गर्न एसोसिएन अव् अमेरिकन नेपलिज (आना) ले हालै एउटा कार्य-प्रस्ताव राखेको छ। त्यसले एउटा ग्लोबल नेटवर्कको स्थापना गरी देशपारीय भूभागमा छरिएका पिपल अव नेपाली ओरिजिन (पी.एन.ओ.) को साझा परिचयको स्थापना गर्नेछ। पी.एन.ओ. ले ५५ देश भनेको छ। यसमा शायद भारतीय भूमि बाहेककै नेपाली होलान्। भारतीय नेपालीको आंसिक परिचय स्थापित भइसक्यो; ती पूर्णताको लागि सङ्घर्षरत छन्। यसरी भिन्न भूभागमा अनेक अन्तर भोगेर बस्ने छरिएको जातिलाई देशपारीय समुदाय (डायास्पोरिक कम्युनिटि) भनिन्छ। यी सिङ्गै देश बन्न अथवा अर्धदेश बन्न धेरै समय लाग्ला, त्यसैले ती सांस्कृतिक समुदायको रूपमा चिनिन्छन्। भारतीयले सुरिनाम क्यानाडा, बेलायत लगायतका भूभागमा राजनीतिक सामाजिक स्थान बनाइसके, नेपाली अलिक पछि छन्। म यहाँ डायास्पोराको सोसिओ-पोलिटिकल प्रसङ्ग छोडेर केवल साहित्यको चर्चा गर्न चाहन्छु; हङकङेली डायास्पोराको नेपाली साहित्यलाई छुन चाहन्छु।

यस्तरी दुर्इ भूभागमा जोडिएका जाति, तिनीहरूका भाषा संस्कृति योजक-चिन्हित (हाइफनेटिड) भनिन्छन्। अब अमेरिकी-नेपाली, भारतीय-नेपाली, हङकङे-नेपाली योजक-चिह्नीत परिचय भइसकेका छन्। यस्ता प्रकारका योजक-चिह्नीत परादेशीय केन्द्रमा बेलायत, अमेरिका, हङकङ, मलेसिया, रुस, बर्मा, खाडी मुलुक पर्लान्। अरू अनेक नयाँ मुलक थपेर ५५ पुगेका छन्।आज म अलिकति हङकङमा अवतरण गर्न चाहन्छु। त्यो भन्दा पूर्व हाम्रो वर्तमान बँचाइलाई अर्थ्याउने विश्वपरिस्थितिको पनि चर्चा गर्न चाहन्छु।

सर्बप्रथम त म नेपाली साहित्यप्रतिष्ठान, हङकङलाई हृदयदेखि उठेको आफ्नो प्रेम अर्पण गर्न चाहन्छु। मेरो जीवनमा एक ठूलो संयोगको कुरो हो कि गतवर्ष एउटा डायास्योरिक केन्द्रबाट आरम्भ गरिएको अनलाइन प्रकाशनको दसौँ वाषिर्कोत्सवमा भाग लिन रुस पुग्ने अवसर मिलेको थियो। यशपल्ट हङकङको सबैभन्दा पुरानो संस्थाको साहित्यिक क्रियाकलापको दशवर्षे कार्यक्रममा यहाँ सहभागी हुने अवसर प्राप्त भयो। यी दशवर्षहरू नेपाली साहित्यको जस्तै मेरो मनको इतिहासमा सदा स्मरणीय रहनेछन्। 

नेपाली साहित्यको दीर्घ इतिहासमा दशवर्षको अवधि नगन्य हो त जब हङकङतिर फर्किहेर्छौं यो नवीन इतिहासको प्रथम माइलखुट्टी एक दशकसम्म अविचलित भई चलिरहनु, अनेक अभावमा, कष्टमा, वातावरण प्रतिकूल भएको स्थानमा लागिरहनु र एउटा सुदृढ भविष्यको दिशाबोध गराइरहनु सानो तपस्या होइन। सन् २००० मा रार्इचन्द्र दुमी अध्यक्ष भएको आरम्भविन्दुदेखि आज टंक सम्बाहाम्फेको पालामा आयोजित यो कार्यक्रम र यसले निर्माण गर्ने इतिहास हेर्दा हाम्रो मनमा हर्ष शिवाय केही बाँकी छैन।

त्यसो त यो मनमा 'हङकङ' शब्द कहिलेदेखि ध्वनित भयो म भन्न सक्तिन हाम्रा वरिपरि तल्ला क्याप्टन, माथ्ला क्याप्टन, सत्ताइस जस्ता सेवानिवृत्तहरू दमक वरिपरि थिए। क्याप्टेन भगतबहादुर रार्इले रोमन लिपिमा पर्वते पत्रिका लगेर मलाई देखाउँथे- हेर्नुस् गुरुजी हाम्रोमा सबै कुरा अङ्ग्रेजीमा हुन्छ। पछि १९९७ को ऐतिहासिक सन्धीकाल भोग्दै गुज्रिरहेको उद्वेलित हङकङलाई टाढाबाट हेर्‍यौँ। त्यसमा मुक्ति र बन्धनका दुवै सन्देश थिए। नेपालीको एक पुस्ताले अनुभव गर्‍यो। लेख्यो पनि।

सुदूरको इतिहासदेखि यहाँ नेपाली जाति गोर्खा भएर पसेको कथा छ। त्यसको जीवन्त प्रस्तुति छ गणेश रार्इको युद्ध एम्बुसमा राइफलको सङ्गीत। त्यो पढ्दा यो धरती नेपाली रगत पसिनाले उसैबेला भिजेको देखाउँछ तर इतिहासको परिवर्तनले कत्राकत्रा सभ्यतामा भूकम्प ल्याउँछ; त्यहाँ पहिरो चल्छ फेरि त्यहाँ नयाँ उत्तीस पलाउँछ। सायद हङकङको नेपालीलाई १९९७ ले अर्कै कालखण्डमा उतार्‍यो। पछिको हङकङ एक पहिरोपश्चात् नयाँ विरुवा पलाएको भयो। यसपाली भारत-नेपाल कविता सम्मेलनमा सहभागी भै देहरादून पुग्दा देखेँ- त्यहाँको नेपाली जाति सुगौली सन्धीको पहिरामा पलाएको उत्तीस झै छ। 

यहाँको 'बिएफबिएस' मा लामो समय सेवा गर्ने श्री किशोर गुरुङलाई पछि नेपालमा स्वागत गर्‍यौँ। रुसमा त्यस्तै भएको थियो। १९९० को परिवर्तन पश्चात् रेडियो मस्कोको नेपाली सेवा सदाको लागि बन्द भयो। एउटा मर्छ अर्को कतै पलाउँछ पनि। क्षतिपूर्ति भएकै छ। बेलायतमा, अमेरिकामा आज आफ्नै भाषामा पत्रपत्रिका, रेडियो, टि.भि. चलेको सुन्दा हामीलाई यस्तो लाग्छ।

त्यो नयाँ समयपश्चात् यहाँ स्थापित हुन थालेका मेरा पुराना विद्यार्थी टंक सम्बाहाम्फे मलाई भेट गर्न एकदिन मेरोमा (काठमाडौँ) पुग्नु भयो। त्यहाँदेखि भिडियो क्यामेरामा मेरो अन्तर्वार्ता भरेर यता ल्याई अविरामको एक अङ्कमा छाप्नु भयो। पछि चौवीसेको गोरेटोमा पनि अर्को रचना छापिदिनु भयो। ती दिनमा नेपाली साहित्य प्रतिष्ठानको स्थापना भइसकेको थियो। अघिको नेपाल पोस्टमा केही लेखेँ र भर्खरको सनराइजको प्रवेशाङ्कमा पनि लेख्न थालेको थिएँ। तर ती प्रकाशनले यतिखेर थकाइ मारिरहेका छन् जस्तो लाग्छ।

म टंक भाइका कविता पढ्न थालेँ, पछि गीत सुन्न लागेँ। एक साहित्यचेतना भएका अग्रणी युवा, निःस्वार्थ र प्रचारको मोह नगर्ने टंकको विनम्रताले मलाई अझै छोएकै छ।म यी अन्तरालका वर्षहरूमा धमीलो गरी मात्र हङकङसित जोडिएर रहेँ। यहाँबाट प्रतिष्ठानले प्रकाशित गरेका शिव श्रेष्ठको छरिएको सिन्दुर, टंक सम्बाहाम्फेको युद्धभित्र उभिएका बुद्धहरू, दिल पालुङ्वाको त्यान्द्रो, संयुक्त कथासङ्ग्रह यथार्थका चोइटाहरू जस्ता कृति पढ्दै गएँ। नेपाली माध्यमको उच्चशिक्षालय, प्रकाशन संस्थान, पुस्तकालय, विश्वविद्यालय नभएको नयाँ ठाउँमा जेजति हुन्छ त्यो सारा नेपालमै शिक्षा ग्रहण गरेर आएका जातिप्रेमीहरूले लिएको उत्साहले मात्र भएको छ। उनीहरूले कठोर श्रमबाट समय उभारेर रचेका, गाँस काटेर छपाएका कृतिको अर्थात् अँध्यारोमा जलाएका ससाना दीपकको आज ठूलो ऐतिहासिक महत्त्व छ।

विस्तारै यताका वर्षा अरू लेखकसित म कृतिमार्फत अनि व्यक्तिगत भेटमा पनि नजिकिँदै गएँ। यसैबेला साहित्य सिद्धान्तको जगत्मा नयाँ अवधारणा आयो- डायास्पोरिक लेखन, यसको विशेषता, यसको मूलधार लेखनसितको सम्बन्ध, समानता र भिन्नताका सिद्धान्त आए, यसरी म हङकङतिर तिनै दृष्टिले पनि हेर्न लागेँ। भिन्न मातृभाषी विविध संस्कृतिका स्रष्टाले गर्ने सिर्जनामा जातीयता र वहुल संस्कृतिको प्रभाव र त्यसको महङ्खवको व्याख्या गर्ने साहित्य सिद्धान्त निस्किए, सिद्धान्तकार निस्किए। म त्यसरी पनि हङकङलाई हेर्न लागेँ। गर्दागर्दै अघिदेखि नै उदाएका त्यस्ता नयाँ चेतना बोकेर आउने स्रष्टासित पनि मेरो सम्पर्क बढ्दै गयो- रामकृष्ण वान्तवाको आमा छोरी र सघन तुवाँलो (त्यसको रूपान्तरण स्रिल मिस्ट) हेरेँ; देश सुब्बाको अपमान हेरेँ, सृजनशील साहित्य समाजको हङकङमा कविता हेरेँ, हाङयुगहरूको सृजनशीलता विषयक समीक्षा हेरेँ, देश सुब्बाको भयवादको अवधारण र पछिको आदिवासी हेरेँ। नरेश सुनुवारको 'जिन्दगीको पहाड र अस्तित्वको रा“कुदेले सेक्सेलेले...' पढेँ। अन्त्यमा दीपा एवार्इ रार्इको अर्धवृत्त पढेँ। यसबिचमा मैले टंक सम्वाहाम्फे, हाङयुग, देश सुब्बा, नेपाल कुश्शा, डीवी पालुङवा, नरेश सुनुवारबारे केही बोलेको लेखेको पनि छु। उनीहरूका योगदानको चर्चा गरेको छु। यसबारे प्रकाश पार्दै आएको छु। 

अघि हङकङ बसेर अहिले बसार्इ सरेका गणेश रार्इका शक्तिशाली सिर्जना कृतिहरू र जया रार्इको डम्बरी बारे लेखेको छु, मदन माबोको बारे बोलेको छु।

सकेसम्म बुझौँ भन्छु कति सम्पर्क र समयको अभावले कति आफ्नै अज्ञानताले हङकङमा अन्धकार दिनहरूमा नेपाली संस्कृतिको जगमा ढुङ्गा चढाउनेहरू महलमा गारो लगाउनेहरू कति छोपिएका होलान्। यो ठूलो अनुसन्धानले मात्र उद्घाटन गर्न सक्तछ। म यसतर्फसचेत छु।

यसो गर्दागर्दै साइबर जगत्को उदय भयो। यहाँ समाचार र अझ साहित्यका साइटले नेपाली वाङ्मयको निर्माणमा अत्यन्तै ठूलो योग्दान गर्दैछन्- बगैँचा, सिर्जना, मूलबाटो आदि चलेका छन्। अझ कविताकुसुम ता नेसाप्रको समानान्तर उत्थापक भएर इ-विश्वमा वितरित छ। अरू छन् एचके नेपाल, नेपाल एचके, फियरिजम, लिम्बुवान- प्रत्येकले नेपालीको समाचार, सूचना, चेतना, भावना अनेक कुरा बोकेर उडिरहेका छन्। हङकङ यसप्रकारले दृश्य अदृश्य दुवै माध्यमले उठ्दै छ। यो टाढाबाट देखिने सुनिने हुँदैछ। यसरी यसलाई चिनाउने शक्ति नेपाली जातिको सङ्ख्या होइन उनीहरूमा रहेको साहित्य कला सङ्गीतप्रतिको चेतना हो जुन कुरालाई विश्वले सभ्यताको मार्ग ठान्दछ, यो तिनैको अनुशरण हो। यसतर्फलाग्ने अग्रणी चेतनामध्ये, जगको ऐतिहासिक ढुङ्गोमध्ये नेपाली साहित्य प्रतिष्ठान र यसलाई निरन्तरता दिनेहरू हुनुहुन्छ। आज म तपाईंहरू सबैप्रति सम्पूर्ण नेपाली साहित्यकारको तर्फबाट विशेष कृतज्ञता र साधुवाद अर्पण गर्दछु।

नेपाली साहित्य प्रतिष्ठानको दशौँ वाषिर्कोत्सव स्मारिकाले धेरै कुरा प्रकट गरेको छ। यसले द वेष्ट अफ हङकङलाई समाहित गरेको छ। सङ्गीत, कला, खेलकुद, पत्रकारिता लगायतका जीवनका अन्य पक्ष समेट्ने अन्य माध्यम र इतिहास होलान् तर हङकङको साहित्यको उज्यालो, यसमा लाग्ने हुर्किने एकमत हुने अनेकमतले हेर्नै सबै शक्तिलाई यहाँ भेटेँ। यो एक अत्यन्तै ठूलो महत्त्वको ऐतिहासिक प्रकाशन हो। यसमा खारिएका चिन्तक अध्येता, स्रष्टा, समालोचक, समीक्षक, पत्रकारको एउटा जुझारु एलिट समूहको उपस्थिति छ। हङकङेली साहित्य के हो, यो कसरी उठेर कता जाँदैछ, यसका विशेषता के हुन्, यसले भोगेका अभाव र अप्ठ्यारा के हुन् अनि उपलब्धी के हुन् ? ती सबै कुरा यहाँ प्रस्टिएका छन्।

हङकङ एक मार्जिनल समुदाय हो। वर्तमान परिस्थितिले हेर्दा कुनै पनि मर्जिनालिटि लोप हुनेछैन। किनभने विश्वमानवतावाद त्यहाँसम्म पुगेको छध्र त्यो अर्धविलयनसम्म पुग्छ तर त्यसले अस्तित्व रक्षाको लागि प्रयास गरिरहनु पर्दछ। यो कुरा स्वीकार्दै देश सुब्बा बोलेका छन्- "हामी यहाँको जातिको अहिले नभए पनि भविष्यमा मिसिने प्रजाति हौँ। जातिसँगै भाषा, लिपि, धर्मसंस्कार गाँसिन्छ। त्यो नै साहित्य हो।" हो पनि अहिलेको साहित्य संस्कृतिको मात्र होइन, सभ्यताकै एक पाटो यस्तो मिश्रति हुँदैछ। मस्कोमा देखेँ- नयाँ पुस्ताका नानीहरू रुसी माध्यममा पढिरहेका छन्; परिणामस्वरूप एकप्रकारको हाइब्रिड संस्कृतिको स्वीकृति चेतनाले प्रवेश गर्दैछ। फेरि अङ्ग्रेजीको प्रवेशले गर्दा विश्वको नयाँ पुस्ता झन्डै झन्डै एकाम्मे हुँदैछ। मैले यहाँका साइटतिर पनि डुल्दा देखेँ- एक नवीन पुस्ताको र्सवत्र नै उदय हुँदैछ। बेलायती-नेपाली, अमेरिकी-नेपाली आफ्ना सन्तानको अङ्ग्रेजीकरण भएकामा हर्षले उचालिएका र सँगसँगै चिन्ताले सुकेका पनि छन्। यहाँ हङकङमा, मलेसियामा, कोरिया, जापान तथा अन्य नन-इङ्ग्लिस स्पिकिङ कन्ट्रिको अभिभावकको मनमा नानीहरूको शिक्षामाध्यमप्रतिको केकस्तो चिन्ता छ मलाई थाहा छैन। यद्यपि नेपाली साहित्य प्रतिष्ठान हङकङको एघारौँ उद्देश्यमा भनिएको छ- हङकङ सरकारसँग नेपाली भाषा पढ्न पाउने व्यवस्थाका लागि आवश्यक पहल गर्ने।

वास्तवमा तपाईंहरूका अनेक गन्तव्यमध्ये एक यही हो। बेलायतका पुराना यति नेपाल एसोसिएसन नेपाली साहित्य विकास परिषद अनि हालैको नेपाली प्रतिभा प्रतिष्ठानले पनि यस्तै एक उद्देश्य राखेका छन् भने अनेसासले आफ्ना मूल अभियानमा एक यही राखेको छ। त्यतातिर काम गर्दैछ। यतिखेर अमेरिकी-नेपाली भाषा संस्कृतिको विस्तार हुन थालेको र बेलायतमा त्यसको तयारी हुन थालेको कुराले हामीलाई कत्रो आनन्द दिन्छ !

प्रत्येक डायास्पोराले आफ्नो प्रकृतिको भाषा, साहित्य, संस्कृति- सभ्यताका सबै पक्षको स्थापना र विस्तारमा लागिपर्नु पर्ने हुन्छ। हङकङको साहित्यले पनि त्यही भन्छ। यसैले गर्दा भोलि भाषिक मान्यता भएपछि आफ्नो माध्यमका आफ्नो जलवायुमा हुर्केका पाठ्यपुस्तकदेखि यावत सामग्री तपाईहरूद्वारा उत्पादित नै प्रयोग हुने छन्। गतवर्षसिलाङको यात्रामा देखेँ- स्थानीय विद्यालयदेखि विश्वविद्यालयसम्मका पाठयसामग्री उनीहरू आफैले बनाएका छन्। हङकङ पनि भोलि यसरी इन्डिपेन्डेन्ट र आत्मनिर्भर बन्ने दिन आउनेछ।

त्यसैले आज हङकङले उत्पादन गरेको एकएक अक्षरको भोलि पूजा हुनेछ। यसले कथा, कविता, उपन्यास, उत्पादन गरेको छ। यसबाट निबन्ध, समालोचना, यात्रा संस्मरणलगायतका विविध विधामा आफ्ना स्रष्टा उभ्याउनु पर्दछ। यसपाली पाँचथर जाँदा पनि मोहन दुखुनसित भेट भयो- भारतीय नेपाली साहित्यको उचाइ देखाउन उनलाई भारतीय-नेपाली साहित्यका महाकवि पदवी प्रदान गरिएको थियो। पारसमणि प्रधानले नेपाली भाषाको मान्यता खोज्दा अङ्ग्रेजले दिएनन्, तर आज भारतीय-नेपाली हरेक विधामा बराबरी छ। हङकङमा, बेलायतमा, अमेरिका सम्पूर्ण नेपाली डायास्पोरामा यही नियम लागू हुनेछ।

तपाईंहरू यो ठाउँमा रहँदा कतिपल्ट अन्तरात्माको पुकारले साहित्यमा लाग्नु भयो, कति जातीय पहिचानको लागि पनि। यस सन्दर्भमा भोगेन एक्लेका शब्द मननीय छन्- हङकङको दशकभन्दा लामो बसाइमा रसिलो महसूस भएको छ त केवल साहित्यले गर्दा। यसरी सृष्टिको एकान्तिकतामा पनि मानव साहित्यसँग संवाद गर्दै बाँच्ने उपाय गर्दछ। अशोक रार्इको तथ्याङ्क छ- हङकङेली डायास्पोरामा ९५ प्रतिशतभन्दा ज्यादा नेपाली आदिवासी छन् र उनीहरूको सामाजिक, वैचारिक र सांस्कृतिक आग्रहलाई साहित्यको माध्यमले वकालत गरिरहेका छन्। यसरी एकतिर व्यक्तिगत अभिव्यञ्जना र सामाजिक वाणी भएर साहित्य उभिएको छ भने अर्कातिर साहित्यको माध्यम भएर अत्यन्तै उच्च समयातीत मूल्य बोक्ने सिर्जनाहरू आउँदैछन्। यहीँको भाषासाहित्यले अभ्यास गर्दागर्दै जन्माएका राम्रा चिन्तकहरू तपाईंमाझ देखेँ मैले। डीवी पालुङ्वाको भनाइमा रहेको शास्वतताले हामीलाई अल्टिमेट र इन्फीनिट गोलतिर लान्छ- साहित्य आफैमा सुन्दर विचार र आदर्श बोकेर आएको सभ्य र सुसंस्कृत शब्द हो। साहित्यलाई स्वीकार गर्नु भनेको सभ्य शिक्षित र सुसंस्कृत समाजलाई स्वीकार्नु जस्तै हो। अथवा जीवन र जगत्लाई हेर्ने अनेकौँ प्रविधिमध्ये एक उच्च र विशिष्ट खाले माध्यम शायद साहित्य नै हुनुपर्छ। यस्तो सोच्नेहरू के हङकङेली साहित्यले जन्माएका प्रतिभा होइनन् ?त्यसैगरी डीबी पालुङवाको हृदय गम्भीरताले छाएको छ- हाम्रो भाषा, लिपि र धर्मविनाको कुनै तुक छैन। विमल र्राईको भावनामा पनि तात्कालिकभन्दा परका, जीवनको कठोर यथार्थका आस्तित्विक प्रश्न उठेका छन्।

 हङकङमा नेपाली जातिको अस्तित्व चिन्तनमा समर्पित प्रकारान्तरले नेपाली वाङमयको श्रीवृद्धिमा चिन्तित चन्द्र रार्इ दुमी, टंक सम्वाहाम्फे, क्रान्ति वनेम, शिव प्रधान, देश सुब्बा, शरण सुब्बा, बसन्त निरौला, जया रार्इ, विमल रार्इ, दिल पालुङवा, राम अङ्दम्बे, विमला सुच्चा रार्इहरूको चेतना परिस्कृत छ।

नरेश सुनुवार, हाङयुग अज्ञात, प्रकाश केसी, प्रदीप कन्दङ्बा, भोगेन एक्ले, अशोक रार्इ, चन्द्र मादेन, हनेसाभित्रका, बाहिरका जता रहेर पनि हङकङमा नेपाली जातिको चिन्तामा समर्पितहरूप्रति हृदयले सम्मान र प्रेम अर्पण गर्दछु।

कति स्रष्टाले हङकङेली साहित्यमा स्तरीयताको अभावको चिन्ता पनि गर्नु भएको सुन्दैछु। तर अहिले त्यस्तो भावनालाई स्थान दिनु हुँदैन। चरीको सवाइदेखि अनेक प्रकारका लहरी साहित्य र स्तोत्रावलीबाट सुरु भएको नेपाली साहित्यले आज एकैचोटी एउटा भिन्न भूभागबाट उपन्यास, कथा, कविताका सङ्ग्रह पाउनु सानो कुरा होइन। यतिखेर गुणात्मकभन्दा बढी यहाँका प्रयत्नलाई र सङ्ख्यालाई नै आधार मान्नु पर्छ। वाङमय विकासको उपयुक्त वातावरण नभएको यस्तो ठाउँबाट जीवनका विविध कटु यथार्थता झेल्दै साहित्यमा गरिएको लगानी प्रशंसनीय छ। बरु यहाँ हङकङेली समालोचना, नाटक, काव्य, महाकाव्य, जीवनी, बालसाहित्य र यहीँको जीवनलाई छोएर लेखिएका अरू कृति चाहिएका छन्। यतिबेला प्रत्येक डायास्पोरिक केन्द्रले सबै विधामा आफ्नो शक्ति उत्पन्न गर्नु पर्दछ। आज गरिएको कर्म प्रथम हुनेबेला छ, प्रथम कार्य गर्नेलाई प्रोत्साहन गर्नुपर्ने बेला छ। भयवाद र आदिवासीसँग सम्बद्ध एक रचना प्रकाशनपश्चात प्रकाश केसीले आफ्ना केही आलोचनात्मक धारणा प्रस्तुत गर्नु भएको थियो। त्यसमा मेरा केही अनभिज्ञता पनि पनि थिए, तर डायास्पोरामा दुःखमा हुर्किरहेकाहरू, भौतिकबाट सांस्कृतिक आध्यात्मिक मार्गतिर समर्पितहरूको प्रथम यात्रा हो। कटु आलोचनाले त्यो कोपिलैमा ओइलाउने डर हुन्छ, यसप्रति म सधैँ सचेत छु। 

विश्वपरिस्थितिको नवीन प्रभावमा परेर नेपाली साहित्यले देखाएको दिशापरिवर्तनको चेष्टाबारे मैले उत्तरआधुनिक ऐना (२०६२) मा अवगत गराएको थिएँ। त्यसका नयाँ सिमाना अन्तर्गतका रचनाले त्यो बताउँछन्। नयाँ वाङमयिक केन्द्रहरूको विस्तार शीर्षक रचनाको अन्त्यमा लेखेको थिएँ अब यस्तो प्रकृतिको साहित्यलाई डायास्पोरिक साहित्यको विशेषता अनुसार अध्ययन र विश्लेषण गर्नुपर्दछ।। यसको समालोचना समेत फरकै हुन्छ।

नयाँ दिशा बुझाउने प्रत्यनमा म निरन्तर लागिरहेँ। अन्तरार्ष्ट्रिय नेपाली समुदायाबट अरू प्रोत्साहन र प्रेरणा प्राप्त गरें। त्यसको दुर्इवर्ष पश्चात प्रकाशित उत्तरआधुनिक विमर्श (२०६४) मा डायास्पोरा/आप्रवासी साहित्य शीर्षक एउटा लामो खण्ड समर्पित गरेँ। त्यसैमा हङकङेली साहित्यबारे पनि केही चर्चा प्रस्तुत गरेको छु। ती दिनमा पनि ममा अध्ययनको कमी थियो। धेरै स्रोत मैले कवि भाई हाङयुगबाट लिएँ। लेखको एउटा सारांश छ- हङकङेली साहित्यकारहरू विविध रुचिका हुनाले संस्था धेरै खुल्छन्; धेरै निष्क्रिय रहन्छन्। तर त्यस्तो सारांशमा टुङ्ग्याउनु हुँदैन थियो जस्तो ठान्दछु किनकि बहुलताको समयमा हामीले जगत्को विविधतालाई प्रोत्साहित गर्नु पर्छ। धेरैबाट प्रतिस्पर्धाले, प्रतियोगिताले छानेर समयले आफै राम्रो विरुवा हुर्किन्छ। यो चिन्ताको विषय होइन। करिब एक दशकको प्रयत्न पश्चात् डायास्पोरा साहित्य त्रिभुवन विश्वविद्यालको दृष्टिमा पर्न थालेको छ। एउटा विद्यावारिधी प्रदान भइसकेको छ भने एम.ए. लेभलको शोधार्थीले यस कार्यको थालनीसमेत गरेका छन्।

यस बर्ष देखि त्रि.वि. नेपाली केन्द्रीय विभागमा डायास्पोरा अध्ययन कक्ष खुल्ने र एम.फिल., पिएचडी तहको शोधार्थीको लागि एनआएन र अनेसासले छात्रवृत्ति दिने घोषणा गरेको छ, यो ऐतिहासिक निर्णयको नेपालीविश्वले स्वागत गरिरहेको छ। 

त्यसकारण तपाईंहरू उत्साहित भइरहनोस्। भोलि तपाईंका प्रत्येक साहित्यिक योगदानको मूल्याङ्कन र सम्मान हुनेछ। मेरो दृष्टिमा अमेरिका, बेलायत पछि हङकङ डायास्पोराको स्थान आउँछ। लेख्नुहोस्, पढ्नुहोस्, प्रिन्ट र इलेक्ट्रोनिक दुवै माध्यममा जानुहोस्, हङकङलाई साहित्यका सबै विधाले भर्नोस्- संस्थाहरू अरू बढाउनोस्, हङकङप्रति विश्वनेपालीले सदा गौरब गर्नेछन्। हङकङ अत्यन्तै सचेत स्रष्टा चिन्तक र बौद्धिक व्यक्तित्वले भरिएको लाग्यो।

अर्को एउटा गौरव गर्नयोग्य प्रमाण छ- हङकङका आभाङगार्डहरू। यसको सन्दर्भमा म तीन जनाको नाम लिन चाहन्छु- हाङयुग अज्ञात, देश सुब्बा र हालैकी दीपा रार्इ। त्यसो त हाङयुगले सिर्जनशील साहित्य समाजको स्थापना र विस्तार नेपालमै गरेर आएका हुन्, तर त्यस व्यानरसबाट यहाँको केन्द्र विस्तारमा अत्यन्तै ठूलो योगदान पुर्‍याएका छन्। हङकङकै माटोमा सिर्जनालाई आकार दिँदै आएका देश सुब्बा एक अविष्कारक चेतना भएका चिन्तक स्रष्टा हुन्। उनको भयवाद नेपाली साहित्यिक आन्दोलनमा एक महत्वपूर्ण विषय भएर आएको छ। उनमा पनि गहिरो दर्शन चेतना छ। दर्शनबेगरको सिर्जना दिशाहीन शब्दजङ्गल मात्र हुन्छ। करिब तीन दर्जन साहित्यिक आन्दोलनमा भारतभूमीबाट दुर्इवटा जन्मिए समुद्रपारबाट सोचिएको भयवाद पहिलो हो। नेपाली साहित्यको अमर इतिहासमा देश कहिल्यै नमर्ने गरी रहने छन्। सृजनशीलताको पनि सम्पोषण त यहीँबाट हुँदैछ भने हालै मात्र प्रकाशमा आएको दीपा रार्इको अर्धवृत्त, मोतीराम भट्टको मोतीमण्डलीदेखि आज सम्मको इतिहासमा जन्मेको पहिलो नारी स्रष्टाद्वारा आविष्कृत एक नवीनतम विचार हो। यो कुरा पनि नेपाली इतिहासमा अमर भै रहनेछ। यसबाट हामीलाई नेपाली साहित्य आज कहाँ पुग्यो, यसले कत्रा फड्का नाघ्दै छ यो थाहा हुनेछ यस्ता उपलब्धी सम्झिँदा हृदय गौरवले भरिन्छ। हाङयुग, देश, दीपा तीनै विचारक असल दर्जाका मौलिक स्रष्टा पनि हुन्।

अन्त्यमा, यी सबैभन्दा फरक, कतै कुनै फलको आशा नगरी केवल त्याग र तपस्याको मात्रै भावले नेपाली साहित्यको सेवामा लागिरहने टंक सम्बाहाम्फेप्रतिको स्नेह, प्रेम र प्रसंशाभावले यो हृदय भरिएको छ। आज खुसी, आनन्द र हर्षको अपार तरङ्ग उठेको बेला तपाईंहरू सम्पूर्ण हङकङे नेपालीप्रति शिर निहुराउँदै म यहीँ रोकिन्छु। धन्यवाद। 

(नेपाली साहित्य प्रतिष्ठान हङकङको दसौँ वार्षिकोत्सवको उपलक्ष्यमा १ फागुन २०६६ (१३ फेव्रुवरी २०१०) को दिन हङकङमा प्रस्तुत विचारपत्र)

१५ माघ २०६६ 
कीर्तिपुर, काठमाडौँ, नेपाल