Home विशेष लेख हङकङेली नेपाली भाषा र साहित्य

हङकङेली नेपाली भाषा र साहित्य

E-mail Print PDF
AddThis Social Bookmark Button

नेपाली साहित्य प्रतिष्ठान हङकङमा आयोजित कार्यक्रममा प्रस्तुत पत्र २०१०।०२।१३

प्रा.डा. टङ्कप्रसाद न्यौपाने
महेन्द्र बहुमुखी क्याम्पस, धरान

अहिलेका लोकतान्त्रिक युगमा संसारभरि सबै किसिमका एकल पहिचान, एकल चिन्तन, एकल दर्शन, एकल शासकीय राजनीति वा एकल अस्तित्वको अन्त्य भएका लहरले अवशिष्ट क्षेत्रहरूलाई पनि छोइसकेको छ। हरेक समाजमा शुद्धतावाद प्रतिगामी हुन्छ, यसले पुरातनमार्गतिर मानवीय सभ्यतालाई तान्दै अग्रगमनतिर जान रोक्छ। विविधता नै प्रकृति हो। सयौँ किसिमका चराचुरुङ्गीहरूका कलरवले, रङ्गीचङ्गी वनकुसुमले नै वनजङ्गलको छटा आच्छादित हुन्छ। उन्नत समाजको प्रकृति पनि विषमरूपी हुन्छ। यहाँ बाहुन, छेत्री, लिम्बू, राई, मगर, नेवार, सुनुवार, तामाङ जस्ता सयौं थुङ्गाबाट नेपाली समाजको माला बुनिएको छ। यी सबैको आफ्नो पहिचान हुँदाहुँदै पनि यिनीहरूका समष्टिबाट एउटा देश बन्छ, नेपाल बन्छ, बनेको छ। नेपाली आफैंमा एउटा मौलिकपन हो। जहाँ विभिन्न जात, जाति, जनजाति, रहन्छन्, त्यहीं नेपाली मौलिक परिचयले बाँचेका हुन्छन्। यस्तै बहुलवाद र बहुकेन्द्रबाट देशको निर्माण हुन्छ। हङकङेली नेपाली समाज पनि लाग्दछ, नेपाल जस्तै बहुजाति, बहुसंस्कृति र बहुभाषाबाट बनेको एउटा विषमरूपी समाज हो। यहाँ आएर पनि यी सबै जात-जाति-जनजातिले स्वपहिचानसहित नेपाली भाषा र संस्कृतिलई विकसित गर्दै जानामा यस्तै विविधताभित्रको मनःसांस्कृतिक एकत्वको भूमिका देखिएको छ। यस्तै बानी साहित्यबाट मुखरित हुन थालेको छ र समाचारबाट बोलिरहेको छ। भनौं, सबै किसिमका श्रव्यदृश्य सिर्जनाबाट अभिव्यक्त भएको छ। हामी हाँस्छौं नेपालीमा, रुन्छौं नेपालीमा, सपना देख्छौं नेपालीमा, गाली गर्र्छौ नेपालीमा र कल्पन्छौं नेपालीमा नै। म हङकङमा त्यही सुनिरहेछु, देखिरहेछु।

किसन राई, हाडयुग अज्ञात, देश सुब्बादेखि हाल चम्किली देखिएकी दीपा एवाई राईसम्मका अनुभूतिहरू-अभिव्यक्तिहरू यसै माध्यममा पोखिएको पढिरहेछु। यसरी हङहङमा नेपाली साहित्य निकै मौलाउँदै गएको देखिरहेछु। भाषा र साहित्यका माध्यमबाट राष्ट्रियताको विकास गर्ने यस महायात्रामा विशेषतः जनजातिहरू अभियन्ता बनेको देख्दछु, नेपाली साहित्यका अभावहरू, रिक्तताहरू भर्न हङकङेली नेपाली स्रष्टाहरू लागिपरेको देखिरहेछु। यस कारण एउटा नेपाली भएका नाताले, नेपाली भाषा र साहित्यका प्राध्यापक भएका नाताले म ती सम्पूण स्रष्टाहरूप्रति न्यानो अभिवादन चढाउँछु। मैले देखें सम्पूण हङकङेली समाजको अहिलेको पुस्ता कि त एकभाषिक छ, कि त द्वैभाषिक छ। दुवै अवस्थामा नेपाली नै एउटा भाषिक माध्यम छ। विषमजातिभाषिक समाजको स्थिति र आवश्यकता पनि यही हो। हङकङमा मात्र होइन बेलायत, अमेरिका, मलेसिया, दुबई, भारत जहाँ पनि हामी यस्तै स्थिति भेट्दछौं। वर्तमान आधुनिक र विश्व एउटै सञ्जालभित्र समेटिन थालेका युगमा आधुनिकताका तीव्र लहरको परिणाम हो यो, जसलाई अस्वीकार गर्दा हामी आफैं छलिन्छौं र थलिन्छौं। त्यसैले यो समुदाय आधुनिकिकरणका निम्ति नेपाली साहित्यका क्षेत्रमा प्रवेश गरेको देखिन्छ। यसका प्रवेशले समुदाय आफैंलाई र नेपाली भाषा र साहित्यका क्षेत्रलाई समेत उन्नत बनाएको छ। जहाँ भाषिक साहित्यिक विविधता हुन्छ त्यहाँ भाषा र साहित्य दुवै उत्तिकै जीवन्त हुन्छन् भन्ने कुरा अङ्ग्रेजी भाषा र साहित्यले पनि प्रमाणित गरेको छ। यस्तो विविधता शब्द, वाक्य वा व्याकरणमा मात्र नभएर विषयवस्तुमा पनि स्वतः हुन पुग्छ। यसैले गर्दा यो भाषा खस भाषा होइन, नेपाली नै हो भन्ने कुरा तपाईहरू आफैंले प्रमाणित गरिसक्नु भएको छ। 

आज नेपालभित्र र बाहिर नेपाली भाषा र साहित्यलाई हेर्ने दुइ धारहरू देखिएका छन् एउटा रामचन्द्र, कृष्ण, सीता, रूपमती, इन्दिराहरूबाट प्रभावित धार जुन हिन्दू परम्परावादी छ, शुद्धतावादी छ, जातीय स्वर वा मिथकहरूदेखि अपरिचित तथा आशङ्कित हुँदै साधनाशील छ। अर्को धार युगौंदेखि थिचिएका, जाति, भाषा र संस्कृतिको पहिचान गुमाइएको बुझेर स्वपहिचानका निम्ति आन्दोलित र आक्रोशित हुँदै आएको छ र यस भाषालाई खस भाषा भन्न रुचाउँछ। यस दोस्रा धारलाई मार्जिनल विश्व पनि भन्ने गरिन्छ। यी दुवै अतिवादी धार देखिएका छन् किनभने यस दोस्रा धारले पनि त्यस निषेधलाई पनि निषेधित गरेको छ। यी दुइ धार एक अर्काका ठिक विपरीत दिशामा रहेका छन्। यी दुवै धारका बीचबाट तेस्रो धार देखिन थालेको छ जसलाई राम्ररी पहिचान गर्न सकिएको छैन। यस तेस्रा धारभित्र नेपालभित्र र बाहिरका थुप्रै नेपालीहरू जानीनजानी, भनौं मनोनिर्देशले स्वतः छिरेका छन्, छिर्दै छन्। यो तेस्रो धार नयाँ स्वरूपमा देखा पर्न लागेको धार हो। यसले नेपालभित्र र बाहिर हङकङ, बेलायत, अमेरिका, सिङ्गापुर, दुबई, मलेसिया जहाँ रहेर पनि एउटै भाषा र साहित्यमा सिर्जना प्रवाहित गर्दैछ। उनीहरूले भूगोलका अवरोधलाई पन्छाएर आँखामा नेपाल भलझली देखेका छन् र जाति तथा देशलाई यसरी चिनेका छन् :

 

मेरो जाति मैले बुझेको भन्दा पनि गहिरो रहेछ। 

मेरो देश मैले देखेको भन्दा पनि ठूलो रहेछ। 

उनीहरूले त मेरो जाति टुक्राउने कुरा गरिरहेका थिए। 

मेरो अंशवण्डा गरिरहेका थिए। 

मैले थाहा नै नपाई आँखाको तलाउ सुकेर कतिखेरदेखि 

ह्वारह्वारती आगो बल्न थालेछ। 

                   -देश सुब्बा (जाति) 

 

साहित्यसँगै भाषा टाँसिन्छ, यी दुवै एकै वस्तुका आत्मा हुन् जसलाई छुट्याउँ“दा एकातिर भौतिक संरचना मात्र हुन्छ, अर्कातिर अमूर्त चेतना। साहित्यमा विकास हुनु भनेकै भाषा समृद्ध हुनु हो। नेपाली जनजातिहरूको प्रवेश र विकास नेपाली साहित्यमा हु“दा स्वतः नेपाली भाषाको पनि विकास हुन्छ। आजका नेपाली साहित्यलाई नेपालभित्र र बाहिर कुना कुनामा विस्तारित गर्दै नेपाली माध्यममा विविधतापूण् चामत्कारिक सृजनाहरू ल्याउने पहिलो पुस्ता होइन, पछिल्लो पुस्ता हो। हेर्दैमा चिल्लापाते यस समसामयिक पुस्ताको पहिलो भाषा नेपाली होइन, यो दोस्रो लक्ष्य भाषाका रूपमा नेपाली स्वीकार गर्नेहरूको ठूलो रहरलाग्दो जमात हो। यस जमातमा एकपछि अर्का स्रष्टाहरू छिर्दैछन्, जसले नेपाली भाषालाई सम्पर्क भाषा भन्दा माथि पुर्‍याउँदै कोइने भाषाका स्तरमा प्रतिष्ठित गरेका छन्। यसो हुँदा यो भाषा खस, पर्वते गोर्खाली होइन भन्ने स्पष्ट हुन पुगेको छ। यस जनजातीय स्रष्टा समूहले विश्वसाहित्यमा उडान भर्न लागेको यस भाषालाई खस, पर्वते र गोर्खाली जस्ता जातीय, नस्लीय, एकल राजनैतिक वा क्षेत्रीय नाममा सीमित गर्न खोज्नु यस भाषा र साहित्यमा ठूलो योगदान गरिरहेका स्रष्टा प्रतिभाको अवमूल्यन हुनेछ र यसै भनियो भने भविष्यले ती स्रष्टाप्रतिभाहरूप्रति नकारात्मक मूल्याङ्कन गर्ने सम्भावना देखिन्छ। जहाँसम्म नेपालका विभिन्न भाषाहरूमा लेखिएका साहित्यको प्रश्न छ, ती भाषा र साहित्यलाई नेपालेली भन्नु उपयुक्त हुन्छ जसले नेपालका सबै मातृभाषा र तिनमा रचिएका साहित्यलाई समान हैसियतमा प्रतिष्ठित गराउँछ। 

 

एउटै भाषा विशिष्ट आमूल परिवर्तनकारी कारणविना भिन्नाभिन्नै नामले चिनाइँदा पाठक, श्रोता र समाजशास्त्रीलाई कति कठिन होला - उही बोली भारत, हङकङ, अमेरिकामा नेपाली तर नेपालमा चाहिँ खस भनियो भने यो दुवैका भेदलाई भाषाशास्त्रले कसरी खुट्याउने होला -यस भाषाका मान्यताका निम्ति हङकङ लगायत विदेशमा भएका आन्दोलनको मूल्याङ्कन कसरी गर्ने -नेपाली भाषाका मान्यताका निमित गरिएका आन्दोलनका परिणामस्वरुप २००३ सन् मा पञ्जीकृत हङकङ नेपाली पाठ्यक्रम विकास परिषदबाट छ विषयमध्ये एक विषयका रुपमा दिइएको मान्यता, १९९६ देखिका सशक्त संघर्षका परिणामस्वरूप २००५ देखि २२ वटा प्रा.वि., मा.वि तथा उच्च मा.विलाई डेजिक्नेटेड स्कुलक रुपमा छुट्याई नेपाली विषय र माध्यम दुवैका पठन-पाठनमा हङकङ सरकारबाट दिइएको स्वीकृति, यहाँ संचालित हुँदै आएका भानुजयन्ती, देवकोटा जयन्ती, पूर्खा दिवस जस्ता सांस्कृतिक कार्यक्रमहरूमा भइरहेका नेपाली माध्यमको प्रयोग जस्ता उपलब्धि र साहित्य प्रतिष्ठानका अघि नेपाली शब्द राख्ने परिकल्पनाकारहरू, संस्थापक अध्यक्ष राई चन्द्र दुमी लगायतका प्रतिभाहरूका योगदानलाई के भन्ने -यस्तो लामो परम्परा भइसकेका यस स्थितिमा भोगिएको इतिहास र भोग्दै गरेका वर्तमानबाट हामीले विश्वग्राममा चिनिन र लोकल कलरसहित वा प्रत्येक जनजातीय पहिचान लिएर आधुनिकीकरणमा फ्युजन खोजिरहेको देखिन्छ अर्थात् हामीले जातीय/नस्लीय संस्कार पनि अभिव्यक्त गर्नुछ र सिङ्गो नेपाली पनि हुनु छ। यस अभियानमा सक्रिय सहभागिता मात्र नभएर नेतृत्वका अग्र पङ्क्तिमा उभिने श्रेय नेपालबाहिर हङकङले लिएको देखिन्छ। हङकङेली नेपाली साहित्यको यस्तो प्रवृत्ति अत्यन्तै आशलाग्दो उज्यालो भविष्यको शुभसङ्केत हो। यसै परिप्रेक्ष्यमा हङकङेली नेपाली सहित्यको अध्ययन अपेक्षित हुन्छ।यसै सिलसिलामा केवलपुरे किसान पुस्तकालय खुल्नुले यसको गरिमालाई झनै बढाएको छ। 

अब नेपाल र नेपाली काठमाडौं, भक्तपुर र ललितपुर वा नेपालभित्र मात्र बाँधिन सकेनन्। यिनीहरूका आयामहरू विस्तारित भएका छन्, क्षितिजहरू फराकिएका छन्। एउटै भाषा र साहित्य बहुरङ्गले रङिएकोछ। यो नौरङी डाँफे वा सप्तरङ्गी इन्द्रेणी भएको छ। यसमा विभिन्न जातजाति र जनजातिका आस्थाहरू प्रकट हुन थालेका छन्, बन्धनहरू खुकुलिँदै छन्। अब बिसे नगर्चीको गुनासो सुनिन थालेको छ, रामभरोसाको पीडा पोखिन थालेको छ, यलम्बर-बलिहाङहरू बोल्न थालेका छन्, निसाम (आदिवासी उपन्यासको नायक) ले भयको कारण बुझदै त्यसबाट मुक्ति पाउने उपाय पनि बुझ्न थालेको छ। यसरी नेपालीमा जनजातीय साहित्य र समालोचनाहरू लेखिन थालेका छन्, गीत, सङ्गीतहरू गुन्जिन थालेका छन्। लाग्छः नेपाली गायन र वादन त जनजातिको एकाधिकार जस्तै हुन पुगेको छ। हराउन लागेका टुङ्ना, मर्चुङ्गा, विनायोहरूको पुनर्निर्माण सुरु भएको छ। 

 

म डायस्पोरा साहित्यबाट निकै टाढा रहेको र पुरानो शास्त्रीयताले थिचिएको मान्छे। हङकङेली नेपाली साहित्यसँग मेरो कुनै सम्पर्क पनि थिएन तर सम्पर्क गाँसियो देश सुब्बाजीको अपमान उपन्यासबाट। २०६४ मा धरानको होटल अम्बेसेडरमा प्रदीप मेन्याङबोका संयोजकत्वमा आयोजित परिचर्चाबाट मैले हङकङको साहित्यिक गतिविधिबारे थोरै जानकारी पाएको हुँ तर त्यहाँ हङहङको भन्दा अपमान उपन्यासको चर्चा बढी भएको थियो। त्यसपछि धरानमा पत्रकार महासंघको कार्यालयमा डि.बी. पालुङ्वाको आलाप सि.डी.को विमोचन, देश सुब्बाका भयवाद र आदिवासीको राष्ट्रिय बहस, भयवादः वैचारिक चिन्तनप्रतिको अन्तक्रिया, दिल पालुङ्वाको छोटो फ्रक, नेपाली साहित्य प्रतिष्ठानबाट प्रकाशित यथार्थका चोइटाहरू र दीपा एवाई राईको समुच्च विचार र त्यसका यात्रामा प्रकाशित अर्धवृत्त हुँदै म हङकङेली नेपाली साहित्य र समाजस“ग नजिकिन आइपुगेको हुँ। यसै क्रममा काठमाडौंमा भरखरै परिचित उपेन्द्र सुब्बा, सिर्जनशील साहित्य तथा हङकङमा कविता र भर्खरै विमोचित नेपाली साहित्य प्रतिष्ठानको दसौं वाषिर्क स्मारिकाबाट हङकङेली नेपालीलाई चिन्न थालेको छु। परिचयका यी स्रोतबाट मलाई के लाग्यो भने हङकङले छुट्टै तर फराकिदै गएको आफ्नै नेपाली साहित्यको केन्द्र बनाउन थालेको रहेछ जसमा नेपाली साहित्य प्रतिष्ठान र यसका पदाधिकारी, प्रेरकहरू राई चन्द्र दुमी, गणेश राई, प्रकाश छाङ्छा राई, क्रान्ति सुब्बा, टङ्क सम्बाहाङ्फे, देश सुब्बा, शरण सुब्बा, वसन्त निरौला, डि.बी. पालुङ्वा, बिमल राई, अशोक राई, नरेन्द्र सेन्दाङ, नरेश सुनुवारका योगदानमा यहाँका भाषिक-साहित्यिक गतिविधिहरू फस्टाउँदै गएका देखिन्छन्। 

 

राईफल, गैंती, बेल्चा उचाल्दै बेलायती दासत्वमा बाँच्ने बाध्यतामा पिरोलिएर पनि पर्वते पत्रिकादेखि नै उदाउन थालेका नेपाली सिर्जनशील व्यक्तित्वले विशेषतः बेलायतले छाडेर चीनका मातहतमा, त्यसमा पनि एक देश दुइ नीति अन्तर्गत हङकङको शासकीय व्यवस्थापन सुरु भएपछि हङकङेली नेपाली साहित्य फस्टाउन थालेको देखिन्छ। भूपेन्द्र चेम्जोङ, चन्द्र मादेन आन्छन्हरूका नेतृत्वमा सन् १९९८ डिसेम्बर १३ का दिन बायोनियल हल, मङ्ककमा पहिलो कवितागोष्ठी भएका परिणामतः टङ्क सम्बाहाङ्फे अनुसार २००० मार्च ५ तारिखका दिन साहित्यकार, गीतकार र पत्रकारमाझ स्थापित नेपाली साहित्य प्रतिष्ठानले जातीय, क्षेत्रीय, सामाजिक तथा राजनैतिक संस्थाबाट एकदमै पृथक् रहेर साझा नेपाली साहित्यको विचार प्रवाह गर्दै आएको सुन्दा मलाई नेपाली हुनुको गौरवको आभास भएको छ। त्यसमा पनि संस्थामा आबद्ध भएर आफू पनि लेख्ने र अरूलाई पनि लेख्न प्रोत्साहन दिने परिपाटी बसाइएको कुरा थाहा पाउँदा मेरो छाती गर्वले फराकिलो भएको छ र शिर उचालिएको छ। यस दश वर्षा छोटा अवधिमा हङकङेली नेपाली भाषा र साहित्यले संस्था, पत्रपत्रिका, फुटकर तथा पुस्तकाकार कृतिहरू, डट कम र वेभ सइटहरू, विविध विधा र माध्यमबाट आफूलाई विस्तारित गरेको छ। पूवक्षितिज ( प्र.सं. राई चन्द् दुमी), अविराम (सं. क्रान्ति सुब्बा) , जनजाति, चौबिसेका गोरेटाहरू, यलम्बर, सेक्मुरी, सम्वाद, एभरेस्ट (सं. किसिन राई ), सनराइज (सं. भूपेन्द्र चेमजोङ), परदेशी, पाहुर, नेपालपोष्ट ओभरसिज, भरखरै प्रकाशन सुरु गरेको साप्लाबुङ, नमस्ते हङकङ जस्ता नियमित-अनियमित पत्रपत्रिकाहरूबाट धेरै नेपालीको सिर्जना मुखरित भएको छ। यसै गरी नेपाल डट.कम, एचकेनेपाल, कविता कुसुम, स्रष्टा ब्लगहरूका योगदानको पनि यस बेला कदर गर्नुपर्ने हुन्छ। नेपाली साहित्य प्रतिष्ठानका अतिरिक्त सिर्जनशील साहित्य समाज, जनजाति साहित्य समूह, आदिवासी गीतकार समाज, नेपाली कला मन्दिर, नेपाली साहित्य परिषद्जस्ता झन्डै एक दर्जन संस्थाहरूले प्रतिभाहरूलाई एक सिर्जनाका लिकमा हिंडाएका छन्। यसका साथै विद्यालय र छात्रछात्राहरूलाई सक्रिय सहभागी गराउँदै देवकोटा जयन्ती लगायत विविध कार्यक्रमहरू गर्दै रहेका देवराज राई र उनका सहयोगीहरूका क्रियाकलापबाट पनि यहाँ नेपाली भाषा र साहित्यका विकासमा राम्रो वातावरणको निर्माण गरेको छ। 

 

एकातिर देश सुब्बा, गणेश राई, हाङयुग अज्ञात, शरण सुब्बा, टङ्क सम्बाहाङ्फे, भोगेन एक्ले, नरजीत राई, महेश साम्पाङ, हिमकला राई, जया राई, देवेन्द्र खेरेस, विमल राई, प्रकाश के.सी., प्रदीप कन्दङबा, राई चन्द्र दुमी, नरेश सुनुवार, भूपेन्द्र चेम्जोङ, शिव प्रधान, मालिकराम राई, राजाराम शाही, अशोक गहतराज, भवानी मास्के, सुरेन लिम्बू, कमल पौडेल, डि.बी. पालुङ्वा, दिल पालुङवाहरू यहाँका पुराना प्रतिभाहरू देखिन्छन् भने यसै वर्ष नयाँ विचार र अर्धवृत्त कविता सङ्ग्रहबाट चिनिएकी दीपा राई स्थापित भइसकेकी छन्। अर्कातिर किन्दर राई भगत सुब्बा, लोक सिङ्गक, जितबहादुर राई, इप्सु थापा जस्ता बीसौं व्यक्तित्वहरू स्थापनाका चरणमा छन्। हङकङले कविता, गीत, कथा, उपन्यास र समालोचना क्षेत्रमा उपलब्धिपूण् काम गरेको देखिन्छ। हाङयुग अज्ञात, रामकृष्ण बान्तवा, प्रदीप कन्दङ्वा, नरेश सुनुवारका दरा समालोचक पनि देखिएका छन्। उपन्यासका क्षेत्रमा देश सुब्बाको आदिवासी नेपाली साहित्यकै एक क्षेत्रको विशिष्ट उदाहरण हुन पुगेको छ। यसले अपमान (२०५२) बाट प्रस्तुत जनजातीय-नस्लीयबोधलाई भयवादका दार्शनिक धरातलमा जातिसांस्कृतिक उपन्यासका रूपमा उचालेको छ। पुस्तक प्रकाशनमा पनि हङकङ उतिकै सक्रिय देखिएको छ। प्रकाश छाङ्छा राई ( पराजित अनुहारहरू २०३५, १९वर्षो युद्धः २०३६, भग्नावशेष मायाका छालहरूः २०४५, अभिव्यक्ति केही आवाजः २०४७, र पुल तरेपछि हराएको मान्छेः २०६४), देश सुब्बा - दोषी कर्मः २०५०, अपमानः २०५२, शहीदः २०५६ र आदिवासीः २०६४),शिव प्रधान (छरिएको सिन्दूरः २०५६), गणेश राई ( राइफलको नालबाट जीवन नियाल्दा), रामकृष्ण बान्तवा ( सघन तुवालो), टङ्क सम्बाहाङ्फे ( युद्धभित्र उभिएका बुद्धहरू), प्रद्वय अर्थात् प्रकाश के.सी. र प्रदीप कन्दङ्वा ( शब्दघोष जिजीविषा), नरेश सुनुवार ( अस्तित्वको राँकुदेले सेक्सेलेले), नेपाल कुश्शा ( त्यान्द्रोः २०५९ र छोटो फ्रक, मालिकराम राई ( सयपत्री), भोगेन एक्ले ( बेनाम), दीपा एवाई राई ( अर्धवृत्तः २०६६) लगायत एक सगर दुइ तारा, जिन्दगीको पहाड, यथार्थका चोइटाहरू, ककफिक, मिशाल, आकाश खोज्दै जाँदा, हङकङमा कविता, सृजनशील साहित्य, रुङरीको बयान र नदी किनारा जस्ता पुस्तकहरू उल्लेखनीय देखिएका छन्। गीतका क्षेत्रमा पनि टङ्क सम्बाहाङ्फे, विमल राई, डि.बी. पालुङ्वाहरू सक्रिय देखिएका छन्। 

यी र यस्ता रचनाहरूबाट नेपाली साहित्यमा निम्नलिखित उपलब्धि भएका देखिन्छन् 

- विदेशमा बसेर पनि नेपाल र नेपालीका पीडाको अभिव्यक्ति

- जनजातीय लेखन

- कवितामा नयाँ शिल्प र शैली (जस्तैः मोटा अक्षर, शब्द, अक्षर र पंक्तिविन्यासमा नवीनता, अंक, चक्र र रङ्ग कविता)।

- संगठित रूपमा साहित्य-कलाको प्रचारप्रसार

- उत्तरआधुनिक समालोचनामा विवादित लेखकको मृत्यु सम्बन्धी हाङयुग अज्ञातको नया“ व्याख्या

र प्रदीप कन्दङ्वाबाट नयाँ पाठकको जन्म सम्बन्धी विचारको पूवतयारी

- सबैभन्दा ठूलो प्राप्ति देश सुब्बाको भय दर्शन र दीपा राईको समुच्च विचारको प्रतिपादन \

यसरी हङकङले हङकङ र नेपाल मात्र होइन, विश्वलाई नै दृष्टिकोण, विचार र दर्शन दिएको छ। उच्चतम प्राप्तिको मूल्याङ्कन अझै भइसकेको छैन तथापि हङकङलाई नेपालले अब पढ्न पढाउन थालिसकेको छ। भर्खरै यसै बर्षेखि लागू नेपाली पाठ्यक्रममा हङकङेली डायस्पोराको पनि समावेश गरिएको छ। यसकारण सबै स्रष्टाहरू, चिन्तकहरू र हङकङेली नेपालीहरूलाई बधाई दिन्छु र यस चिन्तन, लेखन र संस्थापनमा हङकङ एउटा आदर्श बन्न सकोस् भन्ने समेत शुभकामना।