Home विशेष लेख चक्काजामले विथोलेको नेपाल यात्रा (टंक सम्वाहाम्फे)

चक्काजामले विथोलेको नेपाल यात्रा (टंक सम्वाहाम्फे)

E-mail Print PDF
AddThis Social Bookmark Button
टंक सम्वाहाम्फे

२०१० अक्टोवर १२, गत जुलाई ५,२००८ शनिवारका दिन एक वर्ष अगाडिदेखि वनाएको योजनाको फत्ते हुने दिन थियो र भयो पनि। त्यो योजना ३ वर्ष पछिको नेपाल यात्रा अथवा संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको पहिलो यात्रा। साथमा संलग्न थिए, जीवन संगीनी कमला, सालो ईन्द्र र छोरा विश्वास।

गाउँघर र परिवारको सम्झनाले हङकङबाट उता नेपालमा जाऊँ जाऊँ लागे पनि समयले ३ वर्षको फड्को मारिदियो। तीन वर्षअगाडि नेपाललाई माओवादी जनयुद्घले आक्रान्त पारेको थियो तर यसपालि भने म निक्कै ढुक्क थिएँ। किनभने माओवादीहरु शान्तिपूर्ण तरिकाले सहमतिको राजनीतिक सहतमा उत्रेर संविधानसभाको चुनावमा समेत सबैभन्दा ठूलो दलको रुपमा अवतरण तथा स्थापित भैसकेको थियो। त्यसैले शान्ति सुरक्षाको लागि मैले वा मेरो परिवारजनले गम्भीर रुपले सोच्नु पर्ने वा चिन्ता लिनु पर्ने स्थिति थिएन। तैपनि, मन मधेशको हिंसात्मक आन्दोलनले गर्दा कता कता नकुँडिएको होइन। किनकि पहाड गाउँसम्म पुग्नको लागि त्यही मधेशको बाटो हुँदै जानु पर्ने हुन्छ। तर सर्वत्र शान्ति छाएको अनुभूतिले ती कुराहरु गौण भएर गए। २४० वर्षसम्म शासन सत्तामा रहेको शाही शासनको अन्तसँगै नयाँ नेपालको उदयले हामी सबै सपरिवार निर्धक्क आफन्तहरु भेट्न देशतिर हुइँकिएका थियौं।

तीन वर्षअगाडि नेपाल जाँदा यति सहज रुपले यात्रा तय गर्न सकिएन किनभने त्यसबेला हत्या आतङ्क व्याप्त थियो देशमा। त्यसैले हरेक प्रकारको जोखिम वहन गर्नुपथ्र्यो साथै अनेकौ प्रकारको मानसिक पीडा लिएर जानु पथ्र्यो। हङकङ जस्तो शान्तिमय शहरमा बस्दा सँधै नेपालमा यहाँको जस्तै शान्ति छाइदिए चाइनिजहरुको गुलाम गर्नुभन्दा सदाका लागि आफ्नै मुलुकमा सानोतिनो ब्यापार ब्यवसाय वा खेतीपाती नै गरेर भए पनि जीवनयापन गर्ने विचारहरु मनभरि उम्लन्थ्यो। यस्तो ईच्छा सायद मेरो मात्र नभएर सारा विदेशिएका नेपालीहरुको मनमा उम्लिएर आउँछ नै। किनकि नेपालीलाई देशको मायाँ हुन्छ, प्रेम हुन्छ, संसारको जुनसुकै कुनामा किन नपुगुँ ? वा संसारको जुनसुकै ध्रुव किन नटेकुँ ?
 
राजनैतिक परिवर्तनले नेपालमा नसोचेको शान्ति मौलायो तब स्वदेश तथा विदेश बस्ने सारा नेपालीहरुको मनोकांक्षा पूरा भयो। फलस्वरुप हरेक नेपालीको मनमा र मुटुमा शान्ति मौलाउँदै गयो, लहराउँदै गयो। दशकौसम्म द्वन्द्वको पीडा ब्यहोर्नु पर्दा लाग्थ्यो, श्रीलङ्काले झैं अरु धेरै युद्घ लड्दै जानुपर्ने हो कि ? तर कारणवस भनौ वा नेपालीको भाग्यवस, त्यसको विपरीत शान्ति नै छाएकोले हामी नेपालीको अहोभाग्य उदाएको सम्झनुपर्छ। झण्डै १५ हजारको हाराहारीमा नेपाली जनताले नयाँ नेपालको लागि ज्यान अर्पिए भन्दा अत्युक्ति नहोला। किनभने सरकारी प्रतिवेदनले १२ देखि १३ हजार बीचको मृतक संख्या सार्वजानिक गरेको थियो। त्यसपछि कति घाइतेहरु बिते त कति सरकारी प्रतिवेदनमा समावेश नै भएनन् होला। त्यसैले मैले मेरै अन्दाजी प्रतिवेदनमा १५ हजारको मृतक संख्या प्रस्तुत गरेको हुँ। यसमा विस्थापित र प्रताडितको कुरा त वाँकी नै छ। नयाँ नेपालको नयाँ सरकारले ती सबै समस्याहरुको समाधान गर्दै जानेछ भन्ने कुरामा हामी सवै नेपाली आशावादी हुनुपर्छ। द्वन्द्व पछिको शान्ति प्रकृया अझै पनि संस्थागत गर्न वाँकी नै छ। किनभने हालसालै भएको संविधानसभाको चुनावले नयाँ सम्विधान बनाउने तयारी मात्रै तय गरिरहेछ र त्यसको म्यान्डेड पनि त्यही नै हो। सम्विधान निर्माण गरेर लागू गर्न केही समय कुर्नै पर्ने हुन्छ। तसर्थ हामीले आशा गर्ने ठाउँ र समय पूरै भविष्यको गर्भभित्र लुकेको छ।

मानिसको मन मिले र गर्न चाहेमा के हुदैन रहेछ र ? हिजो कसले सोचेको थियो, नेपालका यति चाडै शाही शासनको अन्त हुन्छ भनेर ? भन्नेहरु त भन्दै थिए, शाही शासन अझै सय वर्षसम्म रहन्छ भनेर। तर आज त्यो मिथ्या भएर गयो अथवा इतिहासमा परिणत भएर गयो। साथै माओवादी द्वन्द्व पनि यति चाँडै ब्यवस्थापन होला भनेर कसैले सोचेका थिएनन्। वास्तवमा ती सवै समयले जुराउँदै ल्यायो र त अहिले पुरानो नेपालबाट नयाँ नेपालको शुरुआत भएको छ।

यस्तै विभिन्न कुराहरु मनमा खेलाउँदा खेलाउँदै सन २००८ जुलाई ५को साँझ १० बजे थाहै नपाई नयाँ नेपालको राजधानी काठमाडौ पो टेक्न पुगिएछ। पोकापन्तुरा निकाल्न शाही शासनको जस्तै झन्झट होला भन्ने सोचेको थिएँ तर कुनै झन्झट भएन। त्यसैले मलाई लाग्यो अध्यागमन विभागमा पनि लोकतन्त्र आएछ। ससुरालीतिर बास बस्न सपरिवारै ट्याक्सीमा चढेर हुइकियौं। भोलिपल्टको विहानीसँगै आँखा खोल्दा नयाँ नेपालको राजधानीको दृश्यले एक्कासी अङ्गालो हाल्यो। चारैतिर आँखा डुलाएँ, तब लाग्यो काठमाडौले अलि प्रगति गरेछ जताभावी घरहरु बाक्ल्याएर। तर सडक त्यस्तै जीर्ण थियो, ३ वर्षअगाडि जस्तो मैले देखेको थिएँ। त्यहाँ सरसफाइ थिएन फोहोर मैला डंगुर थुप्रिएका थिए, अझै पनि छ। विजुली बत्ति त्यस्तै ४ घण्टा जस्तो आउँथ्यो, त्यो पनि अहिले लोडसेडिङ्ग बढेर समय घट्यो होला। बेरोजगार, आम हड्ताल, चक्का जाम आदि आदि। काठमाडौ छोडेर विराटनगर हुँदै धरान पुग्दा पहिलो पटक चक्का जामले स्वागत गर्यो मलाई। त्यसलाई छल्दै लुक्दै जेनतेन पुगियो जन्मेको ठाउँ, हर्ुर्केको गाउँ, चौविसे कुरुले तेनुपा।

गाउँको एक हप्ते आनन्दपूर्ण बसाइँमा साउने दायीसम्म भ्याएर पोखराको सम्मको यात्रा तय भयो। बुढेसकाल लागेका बुवाआमाको डुल्ने इच्छा पूरा गर्न सपरिवारै त्यतातिर मोडियौं। आफ्नो हङकङको बसाइँ भएकोले फेरि फेरि मौका मिल्ला कि नमिल्ला भन्ने सम्झेर हामी पनि त्यता जान हौसियौं। तर इटहरीको जक्का जामले बिथोलेर विराटनगरदेखि काठमाडौंको उडान नै छुट्यो, जसले गर्दा विराटनगरमा एकरात बिताउन त्यसै वाध्य हुनु पर्यो। काठमाडौ पुगेपछि अचानक वृद्घ वुवाआमाको स्वास्थ्यमा खरावी आयो। तै पनि पोखरा डुल्ने उहाँहरुको इच्छा मरेन। अन्ततः स्वस्थ्य खरावीको वावजूद पनि पोखरा प्रस्थान गर्यौं। र्फकदा अचानक मुङ्लिन बजारको चक्का जामले झण्डै त्यतै वास बसायो। चक्का जामसँग पुन जुझ्दै छलिँदै पोखराको यात्रालाई काठमाडौंमा ल्याएर टुङग्यायौं। केही दिनको आरामपश्चात बुवाआमालाई गाउँ फिर्ता पठाउने कार्य भएपछि म काठमाडौको ब्यक्तिगत भेटघाट र कामकाजको लागि पौठेचोरी खेल्न थाले चक्का जामसंगै।

तेलको अभाव खेप्दै गुडेका गाडीहरुमा कहिले घेप्टिएर, चेप्टिएर, नेप्टिएर कहिले हुटमा बसेर यात्रा गर्नुपर्थ्यो। किनकि नेपालमा प्राय दिनहुँजस्तो चक्का जाम हुने गर्थ्यो र अहिले पनि हुँदैछ। कहिलेकाहिँ विहान काममा जाँदा चक्का जाम हुँदैनथ्यो र साँझ घर र्फकँदा चक्का जाम, फसाद परेन त ? पैसा भएर पनि घर पुग्न नसकिने स्थिति सिर्जना भैदिन्थ्यो। हिँडेर जाऊँ, पुग्न सकिन्न, बास बसौ, भएन, हरिविजोगमा परिन्थ्यो। रुनु न हाँस्नु भइन्थ्यो। चक्का जाम त हाम्रो देशको संस्कार नै भैसक्यो। सरकारले पनि चक्का जाम नगरेसम्म कान हल्लाउँदैन, जनता त जनतै भैगए। हरेक पार्टीले, समूहले आफ्नो माग पूरा गर्ने माध्यमै बनेको छ चक्का जाम। तर चक्का जामले नेपालको अर्थतन्त्रमा कति घाटा पुर्याएको छ भन्ने कुरा न त जनतालाई मतलव छ न त कुर्सीमा आसीन नेतालाई नै। घाटा त सबैलाई छ देशलाई छ। यही तरिकाले निरन्तर नेपालमा चक्का जाम भैरहने हो भने नयाँ नेपाल केवल नाम मात्रको नयाँ नेपाल हुन के वेर ? किनकि नेपालमा चक्का जाम नै नेपाली अर्थतन्त्रको मूलवाधक हो। अर्थतन्त्र भनेको देशको मेरुदण्ड हो। जहाँ मेरुदण्ड नै भाँच्चिएपछि देशले कसरी सग्लो भएर उभिन सक्छ ? देशले कसरी विकास गर्न सक्छ ? यदि देशलाई विकास पथतिर लैजाने नै हो भने कडाभन्दा कडा कानून बनाएर चक्का जामलाई तुरुन्त रोक्नु आवश्यक छ, जरुरी छ।

यसरी चक्का जामसँग लड्दै, जुझ्दै, भिड्दै बस्नु पर्दा केही दिन नेपाल बसौं भन्ने मानसिकता पनि छोटिएर गयो। दुईचार दिन देशमा आफन्तहरु भेट्न जाँदा यत्तिका सास्ती खप्नु परेपछि मलाई त पर्नुसम्म पीर पर्यो। अझ सँधै नेपाल बस्नेलाई झन् कति सास्ती होला ? झन कति पीर होला ? भनेर साध्यै छैन। नेपालमा शान्ति स्थापना भएपश्चात जे जति रमाइलो हुन्छ वा गरिन्छ भनेर सोचेको थिएँ, त्यो चक्का जामले त्यसै बिथोलिदियो। चाहेर पनि भनेको ठाउँमा पुग्न सकिएन र भेट्न खोजेका आफन्त र चिनजानकालाई भेट्न सकिएन। समग्रमा चक्का जानले लक्ष्यमा तगारो हाल्ने काम गर्यो। जति नै कष्टपूर्ण भए पनि नेपालमा शान्ति स्थापनाको संक्रमणकालीन भएकोले त्यति निरासै हुनु पर्ने स्थिति चाहिँ देख्दिँन। आशावादी हुनै पर्छ, आफ्नो देश जनता र विकासको लागि। किनभने सुविधा सम्पन्न शहर हङकङमा बसिएकोले होला, ती पक्कै पनि नराम्रा र अप्ठ्यारा लागेका हुन्। हङकङ र्फकँदा माथि आकाशमा उडेको हवाइ जहाजबाट काठमाडौंलाई नियाँल्दै सोचेँ “हरे, नेपालमा यो चक्का जाम हटिदिए कति राम्रो हुन्थ्यो !”

हङकङ आएको पछिल्लो दिन म निक्कै डराएँ, किनभने चक्का जाममा पो परिने हो कि भनेर ? यसो बाहिर निस्केको त हङकङ पो रहेछ। मलाई त नेपालको चक्का जामको ह्याङ्गओभरले पो छोडेको थिएन रहेछ। यहाँ त ट्राफिक जामको रातो बत्ति बल्दा र दुर्घटना हुँदाबाहेक चक्का जाम नै हुँदैन। कति मजा ! कति शान्ति ! कति आनन्द हङकङ ! यस्तै भै दिए कति राम्रो हुन्थ्यो हाम्रो नेपाल !!