परदेशी दाजुलाई तिहारको चिठी

Print
AddThis Social Bookmark Button
मिना थापा मगर, पोखरा

दाजु सायद तपाईँलाई लागेको होला यो सालको तिहारमा पनि बहिनीको हातबाट टीका लगाउन पाइन सप्तरङ्गी टीका र बहिनीले उनेको मखमली फुलको माला गलामा पहिरिन पाइन। सम्झँदै हुनुहुन्छ होला तिहारको अँधेरी रातमा तपाइँको नेतृत्वमा चार भाज्याङ् काटेर पुरानो गउँमा देउसे खेल्दै हिँडेको अनि सम्झदै हुनुहुन्छ होला "यो तिहारमा पनि म भएको भए अझ कत्ति रमाइलो हुने थियो हँ।"

दिँउसो घरको काम सकेर भोक शोक अनि निन्द्रा मारेर बेलुकीपख झ्याउँकिरीको सुमधुर आवाजसँगै शुरु हुन्थ्यो हाम्रो देउसुरे। आँगनको दिलमा लहरै बसी देउसे फलाक्दै मादलुको तालमा घँुगरुको छमछमसँगै पालैपालो नाँच्थ्यौँ हामी बलिराजाको दुत भएर। आफ्नै कोकिल आवाजका भट्याई प्रत्येक गाउँका घरधुरीमा खन्किन्थे हाम्रा देउसुरे। गाउँलेहरु हाम्रो देउसे आएको थाहा पाएपछि आधारातमा भएपनि लाल्टिन बाल्दै झर्थे। हामी झन् हौसिन्थ्यौं बलिराजाको नाम लिँदै देउसे भैलो फलाक्न। पारि गाउँको मास्टरकी आमाले भनेको भर्खरै जस्तो लाग्छ "नानी हो अर्को साल पनि यसरी नै तिमीहरुको देउसे लिएर आउ है।"

आज म पनि सम्झन्छु त्यो हाम्रो रमाइलो तिहारको क्षण। हरेक वर्षको तिहार आउँदा म त्यसरीनै दोहोर् याइ दोहोर् याइ सम्झने गर्छु र आफैँभित्र रमाउछु ति दिनको कल्पना गरेर। साँच्चै कति रमाइलो थियो त्यो क्षण साथीभाइ एकआपसमा सुमधुर प्रेमभावमयी तरिकाले खेल्दा हाम्रो त्यस क्षणको रौनकता नै आनन्दमय हुन्थ्यो। अनि तपाईंलाई यो पनि लागेको होला ुअहिलेको तिहारमा पनि गाउँमा दाजुभाइ दिदीबहिनी त्यसरी नै देउसे फलाक्दै रमाउँदै होलान् अनि म पनि त्यहाँ भएको भए अझ कति रमाइलो गरिन्थ्यो होला हँ ु तर दाजु हाम्रो परम्पारगत संस्कार र सस्कृतिमा परिवर्तन आएको छ। हुनत समाज परिवर्तन भन्नाले दुइ थरी बुझाउँछ उन्नति र अवन्नति। तर आधुनिधकताको नाउँमा हाम्रो विशुद्ध संस्कार र संस्कृतिमा नसुहाउने तरिकाले विकृति भित्रिएको छ। साथीभाइ बीच एक आपसमा भाइचारको सम्बन्ध राखी पारस्परिक प्रेमको प्रतीकको रुपमा मान्ने चाडपर्व आजभोलि परम्परागत संस्कृतिमा रमाउने भन्दा जुवा तास र मादक पर्दाथमा रम्ने भएका छन् अनि कलह झैझगडा गरी आफ्नो आडम्बरी शक्ति प्रदर्शनको होड बढेको छ आजभोलि। देउसे भैलो खेल्ने नाममा तिहारको दउसे शब्दलाई चटक्कै बिसे्रर साह्रै नसुहाउने तरिकाले कुनै डान्स बारमा झै हिन्दी डिस्को पप र र् यापमा रक्सी र वियरको तालमा हल्लिरहेका छन् आजका भैलिनीहरु। लेखिएका यी शब्दभन्दा देखिएका दृष्यहरु अनि हाम्रो मौलिक संस्कारमाथि गरिएका प्रहारहरुले अति नै मर्माहत पारहेको छ आज।
 
मेरै हातले उनेकी थिएँ दाजु तपाईँको लागि सयपत्री र मखमली फुलको माला जुन हाम्रै आँगनको डिलमा तिहारको मौसममा तपाईँकै लागि फुलेका थिए। तर आज बिडम्बना नेपाली चेलीले आफ्नो दाजुभाइका लागि सयपत्री फुलको माला बिदेशबाट किन्नुपर्ने बाध्यता भएको छ। एकातिर आधुनिक परिकारको रुपमा बनेको भोजनमा विभिन्न सडेगलेका खाद्यसामाग्रीको मिसावटले मानिसको स्वास्थ्य स्थितिलाई झन् कस्तो अवस्थामा पुर् याउने हो सोचनीय विषय बनेको छ। व्यापारीहरुलाई परम्परागत संकृति जोगाउने भन्दा चाडपर्वको अवसरमा कालो बजारी गर्नमा नै हतार छ। अनि मानिसहरुको बढ्दो चहलपहलसँगै गिरोहलाई दोस्रो धन्दा ओसार पसार गर्नमै भ्याइनभ्याइ छ। देउसी र मादलुको सुमधुर आवाज घन्किने गाउँमा अहिले पटका र बुलेट जस्ता विष्फोटक आवाजले रुग्ण छ। त्यतिमात्र कहाँ हो र भोकमरी हैजा र महामारीले नेपालीहरु आक्रान्त बनेका छन्। पहिला पहिला सुनेको थिए महामारी भनेको त डरलाग्दो विनास काल हो रे भनेर तर आज त्यो अवस्था नेपाली नागरिक भोगिरहेका छन्। हैजा भोकमरी र महामारिका कारण कैयौं मानिसहरुले ज्यान गुमाउनु परेको छ भने कति विचल्लीमा परिरहेका छन्। नेपालीहरुको महान पर्व दशैं तिहारमाको बखत उनीहरु जीवन रक्षाको लागि भिख मागिरहेका छन् भने कैयौं मानिस खुल्ला आकासमुनि एक घुड्को पानीमा नै रमाउनु पर्ने बाध्य भएका छन्। मुलुकमा राजनीतिक अस्थिरता दिनप्रतिदिन बढ्दै गएको छ दाजु सधैँ असहमतीको राजनीति। प्रमुख राजनीतिक दलमा बढेको असमझदारी दशैपछि समाधान हुने आश्वासन दिएका थिए जनतालाई त्यो पूरा हुनु त परै जाओस् लगत्तै नेताहरुलाई फेरि तिहारको रौनकताले छोइसकेछ क्यारे। फेरि तिहार पछि राजनीतिक निकासा खोजिने आश्वासन बाँडेका छन् जनतालाई। यसरी नेताका लागि दशैंतिहार जनताको जिज्ञासा र उत्सुकतालाई केही हदसम्म साम्य बनाउने माध्यम बनेको छ दाजु।

लक्ष्मीको पूजाआरधना गर्ने यमराज र यमुनाको जस्तो सम्बन्ध स्थापना गर्ने बलिराजाको स्तुती गाउने मानव तथा मानवेतर प्राणीको पूजा गरी धुमधाम सँग मनाउने पर्व तिहार सांस्कृति धार्मिक दार्शनिक महत्व रहनुका साथै दाजुभाइ दिदीबहिनीबीच दुख सुख बाँडी स्नेहको गाठो दरिलो बनाउने मिलन दिवस हो तिहार। यस्तो पवित्र पर्वलाई विक्रृत बोझिलो र दुखदमय बनाउने यस्ता कु-संस्कृति भित्रिँदै छ आज।

खै यस्तो बेलामा गाउँमा तिहारको के रौनकता छ भनूँ दाजु तपाईँ नेपाल हुँदाको जस्ता तिहार अहिले कहाँ छ र त्यो बेलाको जस्तो परम्परागत सांस्कृतिक मौलिकपन साथीभाइबीचको बन्धुत्व उत्साहमय बातावरण सबै पलायन भए दाजु। त्यसैले नेपालीहरुको महान पर्व तिहार सम्झेर पछुताउनु पर्दैन दाजु।

बस यति मात्र हो कि यो तिहारमा पनि तपाईं र मेरो दुरी टाढा हुने भयो। यो साल पनि बहिनीको हातबाट निधारमा सप्तरङ्गी टीका अनि गलामा मखमली र सयपत्री फूलको माला पहिरिन पाउनुभएन। भन्नुभएको थियो पोहोर साल "यो वर्ष त छुट्टी पाइन बहिनी अर्को वर्ष सकेसम्म मिलाउँछु" भनेर। मलाई थाहा छ दाजु हाम्रो लागि नुनपानीको जोहो गर्न विदेशीको इसारामा उनीहरुको चाकरी र धन्दामानै आफूलाई होम्न बाध्य हुनुभएको छ। परिवारसँग खुसीसाथ रमाउने ईच्छा आकांक्षालाई मृद्ध हाँसोले पचाउनुभएको छ। त्यसैले म पनि भन्न विवश छु ठीकै छ अर्को सालको तिहारमा त अवश्य पनि घर आउने छुट्टी मिलाउनु होला। आशा लिएको छ देशको परिस्थितिले पनि नयाँ मोड लिनेछ। अनि पारी गाउँको माष्टरकी आमाको निम्तो पनि पुरा हुनेछ।

उही परदेशीकी बहिनी
मिना थापा मगर
पोखरा