Home विशेष लेख बाई बाई शांघाई एक्स्पो (यात्रा सँस्मरण)

बाई बाई शांघाई एक्स्पो (यात्रा सँस्मरण)

E-mail Print PDF
AddThis Social Bookmark Button
डीबू मगर

वालकृष्ण समले भने जस्तै 'नियमित आकस्मिकता' भनौं या के भनौं कहिले काहीं यस्तै हुँदो रैुछ त नि। साँच्चै सोंचेको कुरा हुँदैन नसोंचेको कुरा भैराखेको हुन्छ। यसो भैदिए हुन्थ्यो भन्ने चाहना राख्ने हामी थुप्रै हुन्छौं तर सोंचे जस्तो कहाँ हुन्छ र यदि मनचिन्ते कुरा पुग्देुको भए संसार आज यस्तोपनि हुन्थेुन होला। जे भएपनि आकस्मिकता जस्तै भयो हाम्रो शांघाई भ्रमण। फुर्सद भएको बेला घुम्न जाने भन्दा पनि खाएर बस्ने अनि पारिवारिक सदस्यहरुको भेटघाट र भलाकुसारीमा रमाउने परम्परामा हुर्किएका हामी नेपालीको भ्रमण तालिका कहिल्यै प्राथमिकतामा परेको हुँदैन। त्यसमाथि दैनिकी धान्नलाई अहोरात्र खटिराख्ने हामीलाई समय कहाँ मिल्छ र घुमफिर गर्न ? पाएसम्म रुची राख्ने मान्छे म तर जीवन चक्र घुमाउने नियतिले हरपल पिरोली राखेकै हुन्छ। के गर्नु बेसाहा जोकाढ गर्नै पर्यो हैन ? तथापि मौका मिले वेजिङ्ग र ग्रेटवालको नम्वर लगाई राखेको शांघाईको भने थिएन। तर नम्वर त शांघाईको पो लाग्यो। यदि वल्र्ड एक्स्पो नभएको भए त्यहाँ पनि लाग्ने थिएन। धन्य हो 'वर्ल्र्ड एक्स्पो'। अनि धन्य हुन् हङकङ सरकार र मगर संघ हङकङ तथा जनजाति महासंघका अध्यक्ष हाम्रा एम.बी. थापा मगर। वल्र्ड एक्स्पो अवलोकन गर्ने मैले सपनामा पनि चिताएको थिइन।
 
१९ अक्टोवर २०१०
 
भ्रमणमा को को सहभागी छन् भन्ने पत्तो थिएन। उडान कति बजेको हो थाहा थिएन। विमानास्थल पुगेपछि जाने साथीहरु थाहा लाग्यो। कतिजना भन्ने अझै पत्तो भएन। कोही गफ गर्दै थिए। कोही थकाइ मार्दै थिए। कोही गनगन गर्दै थिए। यसो हुनुको कारण थियो सबै खरखजाना अध्यक्षसंगै हुनु। खासमा सजिलोको लागि कागजपत्र एकमुष्ठ वहाँले राख्नु भाथ्यो। सबैभन्दा ढिलो वहाँ नै हुनुभयो। त्यसबेला थाहा भयो हामीमध्ये का एघारजना 'चाइना इष्टर्न एअरलाइन्स' को अघिल्लो उडान र बाँकी पछिल्लोमा जाँदै रहेछौं। तर अघिल्लो साढे एक को उडान साढे दुई र हाम्रो साढे दुईको उडान साढे तीनमा सर्यो। पर्खाई झनै लम्वियो। 'नेपाली भनेसी अरु ठाउँको जहाजले पनि ढिलो गर्दो रहेछ' भन्दै साथीहरुले व्यँग्य कसे। नभन्दै उडाउन चाहि उडायो है। तीन तीस मा उडेको जहाजले पाँच पैंतालिसमा उत्रने तरखर गर्दै थियो। क्याप्टेनले हामी अब चाँडै उत्रदैछौं भन्ने उद्घोष गरे लगतै मैले झ्यालवाट यसो तल चियाएँ। हामी वादलमाथि नै थियौं। जहाज क्रमशः झर्दै वादलमा डुब्दै गयो। निष्पट्ट अँध्यारो कुहिरीमण्डलमा जहाज हराउँदै गयो। जहाज धिमा गतिमा उड्न थाल्यो उडेको हो कि नउडेको जस्तो गरेर। मानिलिउँ पाइलटले छाम्दै बाटो खोज्दै जहाज उडाउँदै छ। त्यत्तिबेला मैले नेपालका डाँडाकाँडा सम्झें। हाम्रो बाटोमा त्यस्ता पहाड छन् कि छैनन् होला गम्दै गएँ। सम्हालिँदा सम्हालिँदैपनि मेरो मन भारी भएर आयो। छात्ति फुल्यो एक किसिमले। जहाज बाटो खोतल्दै ओरालो झर्दै थियो। बाहिर पानी परिरहेको रहेछ। त्यसले पनि केही अप्ठ्यारो त पार्ने नै भयो। तर धन्न पानी घट्दै गयो अनि वादलपनि हट्दै गयो। केहीबेरपछि विमानास्थलका बत्तिहरु देखिन थाले। हाम्रो जहाज सकुशल उत्रियो पु दोंग विमानास्थलमा। अध्यागमन विभागको चेकजाँच अघि पछि भएका साथीहरु भेटिने क्रम र होटलसम्म कसरी जाने भन्ने अन्यौलले केही समय त्यसै खेर गयो। ट्याक्सीमा जाने भन्दा भन्दै एउटा टुरिष्ट बस पाइयो। त्यसैमा हुँइकियौं होटलतिर। हामी जति जति शहर भित्रिदै गयौं उति उति हर्षले उचालिदै गयौं। आहा कति राम्रँे। ल हेर घरहरुपनि नेपाल कै जस्ता। पुलमा बत्ति हेर हेर आदि आदि। वसका भ्ाु्यालवाट जसले जे देखे त्यही भने। म भने त्यो बेला बत्तिको सजावटमा हराएँ। बत्तिको सजावट हेर्दा यस्तो लाग्थ्यो मानौं शांघाई एउटा बत्ति नै बत्तिको सुन्दर शहर हो। होटल पुग्दा निक्कै अबेर भैसकेको थियो। बन्दोबस्त गरिएको होटल रहेछ प्यासिफिक ब्रीज होटल। चार तारे अरे भन्थे तर व्यवस्थापन हेर्दा लाग्थ्यो तारचािहं कागजमा मात्रै होलान्। कोठा लिने क्रममा झनै ढिलो भयो। सबैका पासपोर्टका नक्कल राख्तारहेछन्। त्यो साँझको खाना सबैले आ आफ्नै चाँजोपाँजोमा खाए। कोही साथीहरु चिनियाँ मेनुको खाना अर्डर गर्न अप्ठ्यारो भएकोले अलमलमा परे। यता पसे उता भौंतारिए। कोहीले नक्सा हेरेर मागे। कोहीले मीठो भनेर मागेका नमीठोमा परे। हामीले भने केएफसी तोड्यौं।

 
२० अक्टोवर २०१०
 
अघिल्लो साँझ नै भोलि विहान साढे सात देखि साढे आठ भित्र खाजा खाइसक्ने अनि नौ बजे गाडी चढ्ने उर्दी भएको थियो। गाडी भने नौ वीस मा मात्रै छुट्यो। हाम्रो गाइड थियो चिनियाँ अधवैशे रकि। गाडीले हामीलाई दश पन्ध्र बजे प्रदर्शनी स्थल ओराल्यो। त्यहाँ भैराखेको वर्लड एक्स्पो अर्थात विश्व प्रदर्शनी अवलोकन गर्नु नै हाम्रो प्रमुख उद्देश्य थियो। प्रतिव्यक्ति टिकट १६० आरएमबी लाग्दो रहेछ। प्रदर्शनी स्थलमा पुगेपछि हामीले हाम्रो भ्रमणको व्यानर सहित सामुहिक तस्वीर खिच्यौं खिचायौं। चिनियाँ सुरक्षा अधिकारीहरुले व्यानरलाई खुबै निद्याए। उनीहरुको बारेमा नकारात्मक सन्देस दिने केही नलेखिएकोले छोडिदिए। मूल गेटवाट छिर्नुभन्दा पहिले कडा सुरक्षा जाँच गर्दा रहेछन्। रकिले हामीलाई सबैभन्दा पहिले नेपाली मण्डपमा पुर्यायो। थुप्रै मान्छे लाम लागिरहेका थिए। तर हामी भने नेपाली भएकाले अर्कोतिरवाट समूहमा नै भित्र छिर्ने व्यवस्था मिलाइयो। 'टेल्स अभ काठमाण्डौ सिकिङ्ग द सउल अभ द सिटी' भन्ने मुख्य विषय बस्तुलाई आधार मानेर मण्डप तयार पारिएको रहेछ। कुमारी घरलाई बीचमा पारेर दुवैतिर चार चारवटा पुराना शैलीका कलाकृत घरहरु निर्माण गरिएका रहेछन्। पृष्ठभूमिमा स्वयम्भूको स्तुप। स्तुपको गोलाई ३२ मिटर रहेछ भने उचाइ २४ मिटर। स्तुपलाई फन्को मार्दै माथि जाने हाम्रो शव्दमा भर्याङ्ग तयार गरिएको। कुमारी घरको भित्रपट्टि चोकको छेउ अनि स्वयम्भूको फेदीमा बुद्ध मूर्ति राखिएको रहेछ। बुद्ध धर्ममा आस्था राख्ने चिनियाँहरुले थुप्रै भेटी चढाएको देखिन्थ्यो। मण्डप निर्माणको आधिकारिक एजेण्ट इम्प्लिमेण्टिङ्ग एक्स्पर्ट ग्रुपका अध्यक्ष अमृत रत्न शाक्यका अनुसार सहभागी २४६ देश तथा अन्तर्राष्ट्रि्य संघ संस्थानहरु मध्ये अहिलेसम्मको मूल्याङ्कनमा नेपाल प्रथम दशभित्र परेको रहेछ। यो लेखुाजेलसम्ममा प्रधानमन्त्री माधव कुमार नेपाल पूर्व प्रम पुष्प कमल दाहाल र राष्ट्रपती रामवरण यादव पूर्वमन्त्री गोरे बहादुर खपांगी मगरले प्रदर्शनी स्थल अवलोकन गरिसकेका रहेछन्। हाम्रो अर्को प्रमुख गन्तव्य थियो चिनियाँ मण्डप तर त्यहाँ जान पहिले नै समय लिन पर्ने रहेछ। त्यसो भएकोले हामी जान सकेनौं। त्यसपछि हामी सबै छिन्न भिन्न भयौं। सबै आफू खुशी लागे। आफू खुशी अवलोकन गरे। कुनैपनि मण्डपमा सजिलै जान सिकंदैनथ्यो। लामो लाइनमा धीरतापूर्वक पर्खनु पथ्र्यो। सबै पस्न सक्ने कुरै भएन। हाम्रो समूहले भने प्रायः एकिकृत मण्डपहरु अवलोकन गर्यो। सबैका आ आफ्नै विशेषता थिए जुन यहाँ वर्णन गरी साध्य छैन। छिचिमिरा जस्तै मान्छे यत्रतत्र छरिएका थिए। मान्छे सबैतिरबाट त्यहीं उल्टिएका भएपनि व्यवस्थापन राम्रो भएको जस्तो लाग्थ्यो। प्रदर्शनीस्थल वरिपरि एक ठाउँवाट अर्को ठाउँसम्म जान धुँवारहित शटल बसहरु सन्चालित थिए। स्थाई तथा घुम्ती चर्पीहरु थिए। बेलुकीपख निकालिएको शांघाई परेड प्रशंसा गर्न लायक थियो। साँझ पर्न लाग्यो। घुम्दा घुम्दै लखतरान भएर जम्मा भए साथीहरु बेलुकी उही नेपाली मण्डपनेर। त्यसपछि हामी पंजावी रेष्टुरेण्टमा खाना खाएर होटलतिर लाग्यौं। बस गाडीमा साथीहरुले दोहोरी गाउँदै रमाइलो गरॆ।

 
२१ अक्टोवर २०१०
 
यो दिन शांघाईको प्रमुख पर्यटकीय स्थलहरु घुम्नको लागि छुट्याइएको थियो। आजका हाम्रा गाइड थिइन् चिनियाँ युवती स्टेला। यिनले आफुलाई अलि कम अनुभवी बताउँथिन् र हामीलाई पनि पछि त्यस्तै लाग्यो। शुरुमा जेड बुको मन्दिर घुमाएर शुभस्थलबाट यात्रा सुरु गरिएपनि पछि यु यान गार्डन लगेरमात्रै अन्य स्थल तिर लगेपछि थाहा लाग्यो उनले हामीलाई उल्टो घुमाइछन्। यो गार्डन नराम्रो भन्न खोजेको होइन तर यो शांघाईको अति राम्रो पुरानो टोल सस्तो सामान किन्न पाइने स्थान पनि रहेछ। यहाँ अन्तिममा आउनु पर्ने रहेछ या हामी आफै आउनु पर्ने रहेछ। खासमा मन्दिर शैलीका घरहरुको सुन्दर जंगल रहेछ यो टोल। त्यसपछि हामीलाई बण्ड लगियो। हुआङ्गपु नदीको किनारामा बसेर सबैले फोटे खिचे खिचाए। त्यहाँबाट शांघाई शहरको अवलोकन गरिनु निकै मनोरम र आनन्ददायक थियो। त्यही दिन शांघाई म्यूजियम र पर्ल टावर घुम्ने सबैको चाहना थियो तर समय ढिलो भैसकेकोले म्यूजियम जान सम्भव भएन। ओरियण्टल पर्ल टिभी टावरतिर लागियो। सन् १९९५ मा निर्माण कार्य पूरा गरिएको यस टावरको उचाइ ४६८ मिटर अर्थात १५३५ फिट रहेछ। एशियाको पहिलो र संसारको तेस्रो अग्लो टावर रहेछ यो खाले। जम्मा १५ स्थुनवाट वाहिर अवलोकन गर्न सकिने यस टावरमा तीनवटा भने ठूला ठूला स्फेयर गोलाकार फुकेका भाग छन्। ती पनि ९० मीटर २६३ मीटर ३५०मीटर को फरकमा तलदेखि माथि क्रमशः सानो हुदै गएका छन्। यो टावरको अघिल्ला दुई स्फेअरसम्म हामी गयौं। टावर जाँदा रमाइलो त भयो नै तर अरु बढी रमाइलोपनि भयो। त्यो थियो प्रवेश शुल्क बारे। प्रवेश शुल्क कति हो कसैलाई थाहा थिएन। गाइडलाई नै जिम्मा दिइयो। पछि प्रति व्यक्ति १०० को दरले ४४०० लाग्यो भन्ने थाहा भएपछि सबै छक्क परे। भ्रमण सम्बन्धि जिम्मेवार व्यक्तिका अनुसार हाम्रा गाइड स्टेलाले टिकटको १०० लाग्छ भनिन् रे र हाम्रो बुझाई भएछ जम्मा जम्मी १०० त्यसैले उनैलाई टिकट काट्ने जिम्मेवारी सुम्पिइयो। वेलुका छुट्ने बेला उनले टिकटको भुक्तानी माग्दामात्रै छाँगावाट खसेछन्। खासमा माथि कहाँसम्म जाने हो त्यही अनुसारको रकम लाग्दो रहेछ। साथीहरुको गुनासो चाँहि त्यति धेरै पैसा लाग्दो रहेछ त धीत मरुाज्याल हेरिन्थ्यो नि भन्ने हो। त्यसपछि हामी उइघुर चाइनिज मुसलमानी रेष्टुरेण्टमा खान गयौं। त्यहाँ रमाइलो नृत्य हेर्दै खान पाइने रहेछ। खाना पनि सबैले रुचाए। पीरो पीरो नेपालीलाई मन पर्ने खाले रहेछ भन्थे हाम्रा साथीहरु सबै। मलाई भने गोरुको या ऊटको मासु पर्ला भन्ने डरले सताई रह्यो। धन्न हाम्रो समूहमा एउटी बहिनी थिइन् उनलाई चिनियाँ भाषा राम्ररी आउने हुनाले उनैलाई के को मासु हो सोध्न लगाउँदै खाइयो। डर नमान्नेलाई त मज्जा नै भयो। त्यसपछि गाडीले हामीलाई होटलमा छोडिदियो।

 
२२ अक्टोवर,२०१०
 
यो दिन आफू खुशी घुम्ने कार्यक्रम थियो। को कता पर्ने हो कता जाने हो केही थाहा थिएन। सबै आफनै खुशीमा लागे। हाम्रो पनि १२ जनाको टिम बन्यो अन्दाजमा। योजना बन्यो म्यूजियम हेर्ने सबैभन्दा पहिले त्यसपछि देखाजायगा। हामी त्यहाँको मेट्रो (यहाँको एमटिआर जस्तोलाई त्यहाँ मेट्रो भन्दारहेछन्) चढेर पिपल्स स्वायर हुँदै शांघाई म्युजियम गयौं। चिनियाँ बौद्घ गुम्वाहरुमा राखिने धुपौरोको आकारमा बनाइएको यो म्युजियम अवलोकन गर्नु निकै शिक्षाप्रद लाग्यो। प्राचीन धातुका मुद्रा गोलाकार हुन्थे अनि वीचमा प्वाल हुन्थ्यो जसलाई उनेर सजिलै एक ठाउँबाट अर्को ठाउँ पुर्याउन सकिन्थ्यो भन्ने पढिएको थियो। प्राचीन समयमा माटाका मुद्राहरु प्रचलनमा थिए भन्नेपनि पढिएको हो। धातुका मुद्रा हतियारजस्ता पनि थिएछन् भन्ने त्यहीं हेरेपछि थाहा लाग्यो। एकछेउमा झुण्ड्याउनको लागि गोलाइएको अनि प्वाल पारिएको अनि त्यसैलाई लम्व्याएर हतियार आकारको बनाइएको। मेरो विचारमा त्यसको खास अर्थपनि छ। जस्तै पैसा भनेको सम्पत्ति हो। त्यो पैसा बोकेर हिँड्न सजिलोको लागि झुण्ड्याउन प्वाल र कसैले अक्रमण गर्न आएमा त्यसैलाई हतियारको रुपमा प्रयोग गर्न धारिलो रुप। म्युजियमपछि चिडियाखाना जाने योजना बन्यो तर जादै गर्दा त्यो योजना बाटैमा तुह्यो। हामी अघि बढ्दै गर्दा बाटोमा 'बीग बस' भेट्यौं। यो सिटी टूर बस रहेछ। प्रतिव्यक्ति १०० डलर तिरेपछि दुई घण्टासम्म पूरै शहर अवलोकन गर्न पाइने। पछि घुम्दै जाँदा थाहा भयो हामीले जे गर्यौं ठीक गरेछौं।

यो बसले शांघाई शहरको पूरै मुख्य मुख्य स्थानहरुमा लैजाँदो रहेछ। त्यस स्थानको बारेमा जानकारी दिँदो रहेछ। हामी कुनैपनि आफुले चाहेको स्थानमा ओर्लन सक्ने अनि घुमेर फेरि बस चढ्न सक्ने रहेछौं। एक किसिम शहर घुम्ने सजिलो माध्यम यो रहेछ। हामीलाई पहिले नै थाहा भएको भए अरु दुःख हुने थिएन। हामी भने केही स्थानहरु अगाडि नै डुलिसकेकोले बसको खुल्ला छतबाटै दुई घण्टासम्म रमाइलोमा डुबिरह्यौं। त्यो बेला हामी कति प्रफुल्लित थियौं भनि साध्य छैन। घुम्दा घुम्दै दिन घर्कीसकेको थियो। हाम्रा केही साथीहरु वण्ड हेर्न गए। केही भने होटलतिर लाग्यौं। आयोजकले त्यो साँझ नेपाली रेष्टुरेण्ट जान सकिने जानकारी गराएकाले होटल गइयो तर कार्यक्रम रद्द भैसकेको रहेछ। थाहा पाए अनुसार कारण थियो महंगी। त्यसपछि हामी आफ्नै प्रकारले खाना खाने सुरमा भौंतारियौं। त्यही बेला हाम्रो ६ जनाको समूह बन्यो र लाग्यौं एउटा चिनियाँकोमा। त्यहाँपनि रमाइलै भयो। साथीहरुले हरियो खोसा्रनी खान चाहनु भयो माग्दा एक प्लेट खोर्सानी लिएर आयो थामी नसक्नुको हाँसो छुट्यो। त्यहीं साथीहरुले गधाको मासुलाई समेत चुनौति दिए। मैले त सकिन है। होटेल पुगेपछि अघि छुटेर वण्ड जाने साथीहरु संग भेट भयो। वहाँहरुका अनुसार वण्ड नजानु हामीले गल्ति गर्यौं। हामी थकथकायौं। त्यस दिन थकथकाउने धेरै थिए किनभने एउटा समूहले अनुभव गरेका कुरा अर्को समूहले गर्न पाएको थिएन। जस्तो कि वीग बसमा घुम्ने सौभाग्य हामीले मात्रै पाएका थियौं। वण्ड हेर्ने मौका वहाँहरु र अरु केहीले मात्रै पाएका थिए। कोहीले साइन्स म्यूजियम हेर्ने अवसर पाएका थिए कसैले सेन्च्युरी पार्क घुम्ने। कसैले सस्तोमा किनमेल गर्न पाए भने कसैले तस्वीर कुँदाउन पाए जुन हामीले पाएनौं। अघिल्लै दिन चर्चा चलेकोले शांघाई म्युजियम हेर्ने भने बढी थिए।

 
२३ अक्टोवर २०१०
 
यो दिनपनि हामी जाँदाकै दिन जस्तो दुई समूहमा विभाजित भयौं। ११ जनाको समूह विहानै हङकङ लागे। हामी पछिल्लो उडानमा जानेहरुलाई भने केही समय बचत रहेको ले किनमेलको लागि कुदाकुद भयो। सबै हातमा पोका पन्तरा बोक्दै कुदाकुद गर्दै गरेको देखिन्थ्यो। कोही ट्याक्सीमा लागे। हामी हिजोकै समूहमा केही थपिएर मेट्रो मार्फत लाग्यौं। होंग कियाओ विमानास्थलवाट करीव ६ बजेतिर हङकङ आइपुगियो।

 
शांघाई बारे
 
'बेटर सिटी बेटर लाइफ' भन्ने मूल नारामा उनिएको शांघाई एक्स्पो अहिले त समापन भैसकेको छ। प्राप्त जानकारी अनुसार यो विश्वकै सर्वाधिक मान्छेले अवलोकन गरेको एक्स्पो भयो रे। पछिल्लो तथ्यांक अनुसार ७ करोडभन्दा बढी (७३.०८ मिलियन) मान्छेले अवलोकन गरे। १ मे देखि ३१ अक्टोवर २०१० (१८४ दिन) सम्म सन्चालित एक्स्पोमा सबैभन्दा बढी आगन्तुक १६ अक्टोवरको दिन भयो रे। यस दिन १०३२८०० जनाले अवलोकन गरे।

हङकङ र बेजिँगको समदूरीमा रहेको शांघाई एउटा ग्लोबल शहर हो। ६२१८ वर्ग किलोमिटर भू सीमानामा फैलिएको शांघाईको जनसंख्या झण्डै दुई करोड रहेछ अर्थात १९२१३२०० मान्छेको बसोबास। सन् २००८ को अनुमानित तथ्याङ्क अनुसार चीनको जनसंख्या १.३ बिलयन छ अर्थात संसारको जनसंख्याको २० प्रतिशत। नेपालको अनुमानित २८९०१७९० र पछिल्लो जनगणना अनुसार हङकङको ७० लाख जनसंख्या रहेको छ। शांघाई चीनको सबैभन्दा बढी जनसंख्या भएको शहर हो। व्यापारमा हङकङ र खासाका भन्दा यहाँका मान्छे केही मिलनसार लागे। परम्परागत रुपमा पसल चलाएर बस्ने हङकङेहरु कति किच्चक छन् भन्ने कुरा त तपाइँ हामीलाई थाहा भएकै कुरा हो। दाम सोध्दा रिसाउने केही सस्तो देउन भन्दा रिसाउने सामान हेर्न खोज्दा रिसाउने आदि आदि। रिसाउने मात्रै नभएर गाली पो गर्छन् त। त्यस्तै छन् खासाका व्यापारीहरु पनि। एक ठाउँमा सामान सोधेर अर्को ठाउँ गयो भने धुवाँ धुवाँ हुने। अझ पहिले पहिले त कुट्न छोप्थे रे। तर शांघाईबासीहरु त्यस्तो पाइएन। हामीले वार्गेनिङ्ग गरेको कुनैपनि पसलेले नराम्रो व्यवहार देखाएनन्। ट्राफिक नियम भने बुझ्न हामीलाई अलि गाह्रो भयो। त्यहाँ दाहिनेतिर गाडी कुदाउँदा रहेछन्। मुख्य मुख्य सडक हुँदो साइकल या मोटरसाइकलको लागि छुट्टै लेन बनाइएको रहेछ। तर स्कुटर कुदाउनेहरु खासै नियममा बाँधिएका देखिदैनथे। हेल्मेट नलगाइ कुदाउने, ऐनासैना नभएपनि कुदाउने आदि। यस शहरलाई हुआंगपू नदिले दुई भागमा छुट्याएको छ। शांघाईको आर्थिक प्रगतिमा अति महत्वपूर्ण भूमिका राख्ने यस नदिमाथि बनेको लुपू पुल रातको समयमा कम राम्रो देखिदैंन। यहाँ होंग कियाओ र पु दोंग गरी दुईवटा अन्तर्राष्ट्रि्य विमानास्थल सन्चालित छन्।

सन् १८४२ को नानिकंग सम्झौतापछि बृटिश अमेरिका फ्रान्स जापान आदि सबै आ आफ्नो व्यावसायिक प्रभुत्व जमाउन प्रयासरत रहेको इतिहास रहेछ। तर २७ मे १९४९ मा शांघाई शहर लिबरेशन आर्मीको नियन्त्रणमा आएपछि भने धेरैजसो फर्महरु हङकङ सरेका रहेछन्। समग्रमा भन्नु पर्दा व्यापार व्यवसाय कलाकृति फेशन डिजाईनंग आदि कुनैपनि दृष्टिकोणवाट शांघाई शहर सफल रहेछ र सकेसम्म एक पटक पुग्नै पर्ने रहेछ। 

अहिलेको लागि बाई बाई शांघाई।